site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नदी र सम्बन्ध

स्नेहसहितको सम्बन्ध यो 
जहाँ सद्भाव, सद्गुण र समर्पण बाँधिएका छन्
किनारका पहराझैँ
जहाँ माया मात्र होइन, मर्म पनि मिसिएको हुन्छ
सुनमा बालुवा मिसिएझैँ ।

साँझसँगै सुनौलो सूर्य अस्ताउँछ
मुस्कानले मन मस्त हुन्छ 
समर्पणले सम्बन्ध सशक्त बन्छ
सन्ध्यामा सम्झनाले संवेदना झन् खास लाग्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनन्त आदर, आत्मीय आकर्षण, 
अपनत्वको अनुपम अभिव्यक्ति हो, सम्बन्ध
सम्झनाका सागरमा सँगै डुबुल्की मार्ने
दुःखका धागोमा सँगै गाँसिने
सुखका सपना सँगै बुनेर साँचिने
यही हो साँचो साथको सार, कहिल्यै ननासिने ।

शब्द–संगीतसरि मिठास मिसिएको 
स्नेह–समर्पणसरि सन्तुलन साधिएको
सपनाले बाटो देखाएको, सँगै साँचिएका सपना र सुन्दर
समर्पणको उपमा बनेर सुवास दिन्छ यो ।

नदी बगिरहन्छ
कहिले चट्टानसँग ठोक्किन्छ
कहिले फाँटमा रमाउँछ 
सम्बन्ध पनि त्यस्तै हो
कहिले तर्कले त कहिले तारतम्यले
तर
सधैँ लक्ष्य भेट्ने चाहनाले अघि बढिरहन्छ, नदीझैँ ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्