दुईवटा प्रतिनिधि घटनालाई उल्लेख गरेर अहिलेको अवस्थाको चित्रण गरौँ ।
पहिलो, एउटा फोटो सोसियल मिडियामा भाइरल भएको छ । प्रहरीले एक व्यक्तिलाई ग्यासको सिलिन्डर बोकाएर उठबस गराइरहेको देखिन्छ । उक्त व्यक्ति ग्यास खोज्न हिँडेको सहजै अनुमान गर्न सकिन्छ । तर, प्रहरीलाई उसको घरमा आज खाना पाक्ने नपाक्नेसँग होइन ‘लकडाउन’ सफल देखाउनसँग मतलब छ ।
दोस्रो घटना, काठमाडौंको एयरपोर्टको बाटोको जस्तो देखिन्छ । धेरै बाटोमा हिँडेका व्यक्तिलाई प्रहरीले टाढैबाट नियन्त्रणमा लिने यन्त्रको सहायताले छुट्टाछुट्टै उभ्याएर राखेको छ । सबैजना आफू कुनै न कुनै जरुरी काममा हिँडेको भन्दै तर्क दिइरहेका छन् तर प्रहरीले खासै वास्ता गरेको देखिँदैन ।
यी दुवै घटना प्रतिनिधि उदाहरणमात्र हुन् । सुरक्षाकर्मी बन्दाबन्दी (लकडाउन) सफल बनाउन कति दबाबमा छन् र जनता कति सकस र पीडामा छन् भन्ने वस्तुस्थितिका । यस्ता घटनामा प्रहरीको ठूलो निन्दा भएको छ । प्रहरी प्रमुखले नै शारीरिक दण्ड दिने कर्मचारीलाई कारवाही हुने बताईंरहँदा किन यस्तो घटना हुन्छ र यसको समाधान के हो भन्ने विषयमा खासै छलफल भएको देखिँदैन । वास्तवमा लकडाउनको उद्देश्यलाई सफल पार्ने हो भने विगत सात दिनको अनुभवको आधारमा नीतिगत तहमा छलफल हुनु जरुरी देखिएको छ ।
सरकारले चैत्र १८ गतेसम्म लागु गरेको लकडाउनको समयावधि बढाएर चैत्र २५ सम्म पुर्याएको छ । पहिलो सात दिनमा लकडाउनको असर के भयो, कस्तो भयो भन्ने विषयमा सम्बद्ध निकायले कुनै न कुनै रुपमा समीक्षा गरेको होला । कोरोना संक्रमितको संख्या अहिलेसम्म देशभर केबल पाँच जनामात्र भेटिएका कारणले लकडाउन सफल भएको अनुमान धेरैले गरेका छन् । तर, कोरोना संक्रमण देखिने सामान्य अवधि १४ दिन (कतिपय अवस्थामा २१ दिनसम्म पनि) भएकाले अहिल्यै नेपालमा कोरोना कम देखियो भनेर ठोकुवा गर्न सकिने अवस्था भने छैन । सरकारले सार्वजनिक गरेको तथ्यांकलाई नै मान्दा पनि कोरोनाको संक्रमणको विस्फोटन नहोला भन्ने निष्कर्ष निकाली हाल्न सकिँदैन । किनभने नेपालसँग पर्याप्त मात्रामा कोरोना जाँच गर्ने किट उपलब्ध छैन ।
लकडाउनको समय जति बढ्दै जान्छ त्यतिनै गरिब, निमुखा र विपन्नलाई घरभित्रै बसेर जीवनयापन गर्न कठिन हुँदै जान्छ । दैनिक ज्यालादारी गरेर जीवन चलाउने वा आफूले पाएको तलबले कहिल्यै महिना नपुग्ने वर्गलाई घरमै बसेर अनलाइनबाट खानेकुरा अर्डर गर्ने सुविधाको कुनै अर्थ छैन । सहरका घरघरमा एउटै कोठामा ५–७ जनासम्म डेरामा बस्ने र त्यहीँ एउटा कुनामा खाना बनाएर खाने समूह निकै ठूलो छ । यिनलाई लामो समय अब थुनेर राख्न सकिँदैन । गएको एक साता त यिनले जसोतसो बिताए होलान् । अब मुखमा माड लगाउनुभन्दा पहिले काम खोज्नुपर्ने अवस्था धेरैको आइसकेको छ । पेटको आगो निभाउन नसक्ने अवस्था आयो भने रोगको डढेलोले संसार सिध्याउँछ भन्ने सोचले कोही रोकिँदैन । त्यसैले आउँदो समयमा लकडाउनलाई कसरी सफल पार्ने भन्ने विषयमा निकै गहन छलफल र मन्थन हुन जरुरी छ ।
लकडाउनको पहिलो साता सरकारले घोषणा गरेको कोरोना संक्रमणको तथ्यांक एकदम कम छ । यो खुसीको कुरा हो । तर, यो लकडाउन सशक्त ढंगले लागूभएको कारणले भएको भने होइन । काठमाडौंको मात्र उदाहरण दिने हो भने पनि यहाँका सडक खाली छन्, निजी तथा सार्वजनिक यातायात चलेका छैनन् तर गल्ली र चोकमा मानिस बग्रेल्ती हिँंडिरहेका र कतिपय ठाउँमा त कोरोनासम्बन्धी गफ गर्नमा व्यस्त देखिन्छन् । यसरी सातवटा घरबाट सातजना युवा एकै ठाउँमा भेला भएर गफ चुट्छन र तीमध्ये एक जनालाई पनि संक्रमण भइसकेको रहेछ भने (संक्रमण भएको थाहै नहुँदा पनि कोभिड–१९ अरूमा सर्नसक्छ ) त्यस्तो एक समूहले ६ परिवारमा रोग सल्काउन सक्छन् । त्यसैले कोरोनाको विस्फोट लकडाउनले टारिसकेको छैन ।
दोस्रो सातामा गुज्रिँदै गर्दा हामीसँग कोरोना टेस्ट गर्ने रिएजेन्ट पनि अलि बढी उपलब्ध भएको कारणले संक्रमितको संख्या केही बढ्ने अनुमान गर्न सकिन्छ । अर्थात्, नेपालमा कोरोनाको प्रकोप देखिने हो भने दोस्रो साताको अन्त्यसम्ममा संकेत देखा पर्न थालिसक्नेछ । यस्तो भयो भने के लकडाउन अझै कडा गर्ने हो त ?
अहिलेको भन्दा कडा लकडाउन भनेको कर्फ्युनै हो । नेपालीलाई अनुशासित बनाउन कफ्र्युनै चाहिने हो कि अरु कुनै उपाय अपनाउने हो भन्ने छलफलनै यो लेखको मुख्य उद्देश्य हो ।
हुनत, विदेशबाट कोरोना ल्याउनेको संख्या न्यून रहेछ भने अहिले लागु गरेको सार्वजनिक यातायात बन्दाबन्दी र सम्पूर्ण स्कूल, कलेज, अफिस बन्द गरेको कारण हामीले यो समस्याबाट तत्कालका लागि आंशिक मुक्ति पनि पाउन सक्छौँ । त्यस्तो अवस्था भयो भने कर्फ्युनै लगाएर जनतालाई अनुशासित गर्नुपर्छ वा पर्दैन भन्ने छलफलको उपादेयता नरहन पनि सक्छ ।
कामना गरौँ, हामीले दोस्रो साताको लकडाउन सकिए पश्चात कोरोनाको प्रकोपको डर मान्नु नपरोस् । तर, यसबाट सधैंका लागि मुक्ति पाइयो भनेर ढुक्क हुन भने मिल्दैन । किनभने, चीनमा फेरि फाट्टफुट्ट विदेशबाट आयातित संक्रमण देखिन थालेको छ । बारम्बार कोरोनाको संक्रमण देखियो भने बारम्बार लकडाउन वा कर्फ्यु लगाउन आर्थिक र सामाजिक आधारमा पनि संभव हुँदैन ।
कोरोना भाइरसको औषधि वा भ्याक्सिन पत्ता नलाग्दासम्म र त्यस्तो औषधि नेपालजस्तो मुलुकमा सर्वसुलभ नहुँदासम्म नेपालीले सशक्त ढंगले पालना गर्नुपर्ने भनेको सामाजिक दूरी (वा व्यक्तिगत दूरी) नै हो । पहिलो साताको लकडाउनको अवस्थामा नेपालीहरू घर, परिवार, फ्ल्याट, चोकमा जम्मा भएर जसरी लकडाउनलाई सफल पार्दै सामाजिक दूरीको मन्त्रलाई असफल पारे सोही क्रम निरन्तर रह्योभने पछि कर्फ्युनै लगाए पनि संक्रमण नियन्त्रण गर्न सहज हुँदैन ।
सुरक्षा निकायलाई पनि लकडाउन वा कर्फ्युनै पनि सफल बनाउन व्यक्तिव्यक्तिबीचको दूरी कायम राख्न सक्नुपर्छ भन्ने तालिम दिनु जरुरी छ । तिनलाई बल प्रयोग गरेर तिनको बानी सुधार्न सकिन्छ भन्ने भ्रममा सुरक्षाकर्मी पनि रहनु हुँदैन । कुनै व्यक्ति अरुसँग एउटा दूरी बनाएर सडकमा हिँड्छ, सामान खरिद गर्छ र बेलाबेलामा हात धुन्छ भने उसले संक्रमण बढ्न नदिन निकै सहयोग गरेको हुन्छ । सडकमा कहिल्यै ननिस्कने तर साथीभाइसँग कुनै भित्री चोक वा कोठामा बसेर रोग सार्ने वातावरण बनाउँछन् भने त्यस्ता व्यक्ति देश र समाजका लागि बढी खतरनाक हुन्छन् । यस्ता व्यक्तिलाई त कर्फ्युले नियन्त्रित गर्न सकिँदैन । बरु चेतना जगाएर संयमित र अनुशासित बनाउन सकिन्छ ।
औषधि वा भ्याक्सिन पत्तो नलाग्दासम्म सबै सर्वसाधारणले सामाजिक दूरीलाई निकै महत्त्वका साथ पालना गर्नुको विकल्प देखिँदैन । त्यसैले अहिले नै लकडाउनको समयमा लकडाउन कडा गर्दै लग्नुभन्दा सामाजिक दूरीको अवधारणा हरेक व्यक्ति–व्यक्तिसम्म पुर्याउन अत्यन्त जरुरी छ । यस कार्यका लागि स्थानीय सरकारले जिम्मेवारी लिएर स्थानीय नेता, युवा र विद्यार्थीलाई आआफ्नो क्षेत्रमा परिचालन गर्न सक्छ । यस्ता समूह परिचालित गराउन सके अत्यन्त आवश्यक खाद्यान्न, तरकारीजस्ता पसल अधिक समयसम्म संचालन गरेर र सबैलाई एक दूरी कायम गरेर सामान खरिद र बिक्री गर्न उत्प्रेरित गर्न सकिन्छ । यो रोगको संक्रमण कम गर्ने जिम्मेवारी सरकारको मात्र होइन सबै व्यक्तिको हो र सबैले सरकारलाई सहयोग गर्न व्यक्तिगत वा सामाजिक दूरी कायम गरेर सामाजिक क्रियाकलापमा संलग्न हुन सक्नुपर्छ भन्ने ज्ञान दिन जरुरी भएको छ । तर, लकडाउनको विकल्प धेरैले सोचेजस्तो कर्फ्यु नहुन सक्छ ।