site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीवन्त सहरको परिकल्पना गर्दै किरण 
SkywellSkywell

काठमाडौं । केही समयअघि प्राध्यापक केदारभक्त माथेमाले मार्टिन चौतारीमा आयोजित एक कार्यक्रममा भनेका थिए– ‘आर्टबिनाको सहर मृत सहर हो ।’ पहिले सहरका भित्ताहरू राजनीतिक नाराले कुरूप देखिन्थे । ती नाराले मानिसको राजनीतिक चेतनालाई बढावा पक्कै दियो तर धेरैको भावना भने समेट्न सकेन ।

पछिल्लो समय काठमाडौंका बाटाछेउ राजनीतिक नाराभन्दा पनि मनमोहक चित्रले सबैलाई लोभ्याउँछ । हिजोआज बटुवाले पनि राजनीतिक नाराभन्दा कलात्मक चित्रहरू हेर्दै हिँड्न पाउनु खुसीको कुरा हो । हामीलाई पनि मनमा यस्ता कलात्मक चित्र बनाउने को होला ? भन्ने लाग्नु स्वभाविकै हो । मौका परे ती भित्तामा चित्र बनाउनेको नाम खोज्ने पनि गरिन्छ । तर, चित्र बनाउनेको नाम भने देख्न पाइँदैन । तर अंग्रेजीमा ‘एच११२३५’ लेखेको भने देख्न पाइन्छ । यो चित्र बनाउनेको परिचय हो । प्रायः चित्र बनाउनेले आफ्ना चित्रमा नाम राख्ने गर्छन् । यी भित्तामा कोरिएका चित्रमा भने नामको साटो ‘एच११२३५’ लेखिएको पाउन सकिन्छ । सायद यो चित्र बनाउनेको परिचय हुनुपर्छ । 


०००
हो, ‘एच११२३५’ परिचय भित्तामा चित्र बनाउनेकै हो । उनले आफूले बनाएका सबै चित्रमा यही परिचय राख्छन् । यस्तो परिचयलाई आर्टको संसारमा ‘ट्याग नेम’ भनिन्छ । यही ट्याग नेमबाट भित्तामा सुन्दर चित्र कोर्ने व्यक्ति भने किरण महर्जन हुन् । तर उनका चित्रमा नामभन्दा ट्याग नेम देख्न पाइन्छ । 

KFC Island Ad
NIC Asia

किरणसँगको भेटसँगै मैले पनि उनको नामकै प्रशंगबाट कुरा उठान गरें । “आर्ट सुरु गर्दा आफ्नो नाम के राख्ने भन्नेमै कन्फ्युज थिएँ,’ आर्टमा आफ्नो न्वारानबारे किरण सुनाउँछन्, “मलाइ मेरो आर्टमा कन्ट्रास्टको कुरा देखाउन मन पर्थ्यो । अनि एच ११२३५ राखें ।”

उनले आफ्नो परिचयअघिको एच शब्द रोबर्ट लुइस इस्टेबेन्सनको पुस्तकको एउटा पात्र हाइडबाट लिएका हुन् । त्यसको स्वभाव मनमौजी थियो । ११२३५ भने ‘फिबोनाची’ श्रेणी अर्थात् गोल्डेन नम्बर रहेको उनले सुनाए । यी शब्द जोड्दा गोल्डेन रेसियोमा अगाडि बढ्दो रहेछन् । यही रेसियो (अनुपात) फूल फूल्नेदेखि संसार घुम्छ भन्दै किरण सुनाउँछन्, “मैले त्यही मनामौंजी र गोल्डेन अर्डरलाई नै नाम दिएँ ।”

Royal Enfield Island Ad

०००
पाटनमा जन्मिएका किरणले पाटनको एम्स स्कुलबाट एसएलसीसम्मको अध्ययन सके । त्यही स्कुलमा उनले बाबुराजा देउला ‘बारा’ सर भेटे । त्यसपछि किरणको जीवनले नयाँ मोड लियो । साथीभाइसँग झगडा गर्ने झगडालु स्वभावका किरण बारासँग भेटपछि चित्र कोर्नै व्यस्त हुन थाले ।

शिक्षक बाराको सल्लाहमै उनले प्लस टु र काठमाडौं विश्वविद्यालयबाट आर्टमा स्नातकसम्मको अध्ययन सके । कलेजमा पढ्दा उनको दैनिकी खासै सहज भएन– कारण उनको परिवारले पढाइका लागि घरबाटै हेरेका थिए । ‘प्यासन’ कै लागि भने उनी आफैंले खर्च जुटाउनुपर्‍यो । 

बिहान कलेज, दिउँसो आफन्तको जुत्ता पसलमा काम अनि साँझ आर्ट क्लास नै उनको दैनिकी हुन थाल्यो । झम्सीखेलमा उनकै कोर आर्ट स्टुडियो विगत सम्झँदै किरण नोस्टाल्जिक भए । उनको चित्रको आरम्भ ग्राफिटीबाट भयो । जुन ग्राफिटी उनले स्केप बोर्ड गेममा देखेका थिए । “मैले सुरु सुरुमा ग्राफिटी लेटर लेख्ने र ग्राफिटी चित्र बनाउँथें,” उनी सुनाउँछन्, “मलाई त्यति बेला ग्यालरीमा बसेरै गरिने आर्ट मूलधारको लाग्थ्यो भने स्ट्रिट आर्ट, ग्राफिटी भने बेग्लै लाग्थ्यो ।”

०००
एक दिन आफूले बनाएको चित्र ‘कलेक्सन’ बोकेर ठमेलको ग्यालरी र पसलहरू चहारे । जुन दिनलाई अझै भुल्न सकेका छैनन् । सायद भुल्ने पनि छैनन् । मूल कारण थियो– ‘तिमीले गरेको आर्ट भएन’ साहुहरूको यही शब्द । जहाँ आर्ट देखिन्छ भनेर गएको त्यहाँबाटै नकारात्मक प्रतिक्रिया आएपछि उनको एकमनले कामै छाडिदिउँ कि भन्ने भयो यद्यपि यस्तो भने गरेनन् । त्यसैले त उनी अहिले स्ट्रिट चित्रकलामा उम्दा कलाकार भएर निस्किएका छन् । उनलाई चिन्नेहरू पनि बढ्दै गएका छन् ।

“होटल र ग्यालरीहरूले मेरो आर्ट नराखे के भयो त ? अब म यस्तो ठाउँमा आर्ट गर्छु जहाँ यसको मूल्य तोकिँदैन,” उनले सुनाए, “मैले त्यही बेलादेखि भित्तामा ग्राफिटी र भित्ते चित्र बनाउने गर्ने निधो गरें ।” 

त्यसपछि सुरु भयो उनको भित्तेचित्रको यात्रा । जसको लागि ‘स्प्रे पेन्ट’ उनले रोजे । पहिलो भित्तेचित्र उनले अहिलेको लबिम मलअगाडिको आकासे पुलमुनि बनाए, तर अहिले छैन । “बजारबाट स्प्रे पेन्ट किनेर ल्याउँथें र आफ्नै घरकै भित्तामा प्राक्टिस गर्थें,” उनले सुनाए, “घरमै बसेर पेन्ट गर्दा धेरै नै स्प्रे सकेको छु ।” त्यतिबेला ‘आर्ट ल्याब’ भर्खरै सुरु भएको थियो । किरणलाई आदित्य आर्यालले काम सँगै गर्न बोलाए । आर्ट ल्याबबाट भित्तामा चित्र बनाउनेदेखि विभिन्न जनचेतनामूलक काम गरेको उनी सम्झन्छन् । 

प्रसाद प्रोजेक्ट
उनी दीक्षित (ग्राजुएट) भएको तेस्रो दिनमै आर्ट गर्न वीरगन्ज पुगेका थिए ‘प्रसाद प्रोजेक्ट’ लिएर । यो एउटा स्थानीय हिरोलाई चिनाउने अभियान थियो । सधैं संसारमा नाम कमाएका अनुहारको मात्र चित्र बनाउनुभन्दा स्थानीय समाजमै केही राम्रो काम गरेका मानिसको चित्र बनाउनु त्यो अभियानको उद्देश्य थियो ।

“सम्भावनाको खोजी गर्दै युवाहरू बिदेसिएका छन् । तर हामीले आफ्नै ठाउँमा बसेर उदाहरणीय काम गर्नेलाई प्रोत्साहन होस् भन्दै उनैका भित्तेचित्र बनाएका थियौं । यस्तो आर्ट गर्नुको कारण यिनीहरूले गरेको कामलाई प्रोत्साहन गर्नु हो,” उनले भने, “यसका लागि हामी पोखरा वीरगन्ज, धरान बेनी र काठमाडौंलगायत ठाउँहरूको भित्तामा चित्र बनाएका थियौं ।’ 

प्रसाद प्रोजेक्ट उनीहरू दुई वर्ष देशका विभिन्न गाउँ–सहर पुगे । त्यहाँका भित्ता रंगाए । किरणको टिमले खुला चौर, भित्ता र खाली ठाउँलाई प्रदर्शनी स्थल बनाए । सँगै उनीहरूले स्थानीय युवाहरूलाई पनि ग्राफिटी र भित्तेचित्रको प्रशिक्षण पनि चलाए । चित्रकलाको ज्ञान बाँड्दै हिँडेकाले यो अभियानलाई उनीहरूले ‘प्रसाद’ नाम राखे ।

कोर स्टुडियो
लामो समय ‘आर्ट ल्याब’ मा काम गरेका किरणले साथीहरूसँग मिलेर स्टुडियो पनि चलाएका छन् । नाम राखेका छन्– ‘कोर आर्ट कलेक्टिभ’ । “कोर भनेको केही कोर्नु हो,” उनी स्टुडियोको नामको बारे प्रस्ट्याउँछन्, “कोर भनेको हाम्रो मानवको भित्री प्रवृत्ति पनि हो । त्यसैले स्टुडियोको नामै कोर राख्यौं ।” 

केही समयअघि कोरले पान नेपालसँगको सहकार्यमा ‘अनौठो आठ’ अभियान गरेको थियो । “यो अभियान विनाशविनाको विकास भन्ने नारा लिएर थालिएको हो,” उनी थप्छन्, “यो आर्ट निजगढ विमानस्थल बनाउने बहानामा त्यहाँका रुख काट्ने बद्नियत हुँदा त्यो रोकिनुपर्छ भनेर अनौठो आठ गरेको थियौं ।”

०००
कुनै समय नेपालमा थाहा, खोज, प्रेमवादजस्ता नाराहरू गाउँ–गाउँमा पुगेको र तिनीहरूले सर्वसाधारणलाई जागरुक गराउने काम गरेको किरण सुनाउँछन् । मानिसलाई नाराले बुझाउनुभन्दा पनि प्रतीकात्मक चित्रकै माध्यमबाट बुझाउने प्रयत्न गरियो भने धेरैले बुझ्नेमा उनको विश्वास छ ।

०००
अभियानको आरम्भमा भित्ताहरूमा आर्ट गर्न जाँदा मानिसहरू प्रश्न गर्थे– ‘केको विज्ञापन गर्दै हो ?’ किरण जवाफ दिन्थे, ‘होइन, हामीले सित्तैमा गरेको हो । सबैको लागि गरेका हौं ।’ यो सुनेर सर्वसाधारण पनि अचम्म मान्दै किरण र उनका साथीहरूलाई नियाल्थे । “त्यति बेला भित्तामा कुनै कम्पनीले विज्ञापनका लागि मात्र पेन्ट गर्थे,” अहिले आर्टप्रति हेर्ने नजर बदलिएको सुनाउँदै किरण भन्छन्, “अब मानिसले आर्टलाई बुझ्न थालेका छन् ।”

क्यानभास घुमाउन मिल्छ तर भित्तेचित्र न घुमाउन मिल्छ न जाँगर चलेन भनेर आधैमा छाड्न मिल्छ । यसर्थ पनि कलाकारमा धैर्य हुन आवश्यक रहेको सुनाउँछन् किरण । “क्यानभासमा चित्र बनाउनु र भित्तामा चित्र बनाउनुमा धेरै फरक छ,” उनी कहन्छन् । सुरु–सुरुमा उनले ब्लाक एन्ड ह्वाइट पोट्रेटमा रातो रङको क्यालिग्राफी गरी चित्र बनाउँथे । त्यसरी उनले धेरै भित्ते चित्र बनाए । अझ भनौं प्रसाद प्रोजेक्टको प्रायः सबै चित्र त्यसरी नै बनाए । तर उनलाई त्यो कन्सेप्ट उनलाई सबै चित्रमा निरन्तरता दिन मन लागेन । अचेल उनी ‘डी कन्स्ट्रक्सन’ तर्फ आकर्षित बनेका छन् ।

अहिले उनको चित्रमा मानिस र अन्य जीवजन्तु जोडेको पाउन सकिन्छ । मानिस र अन्य जीवको चित्र जोडेर बनाउनुको कारण दुवैको आत्मा हुन्छ । दुवै फरक भए पनि केही गुण मिल्ने भएकैले यसतर्फ उनको आकर्षण बढेको हो । “हामी जति विकसित भए पनि मानिसको उत्पत्ति जीवजन्तुसँगै ओडारमै बसेर आएको त हो नि,” उनले सुनाए ।

समाज परिवर्तन सम्भव छ ?
आफूले बनाएको चित्रले केही न केही सन्देश देओस् भन्ने उनको अपेक्षा छ । “कलाकारले आफ्नो चित्रमार्फत के देखाउने भन्ने कुरामा स्वतन्त्रता हुन्छ,” उनले बाह्रखरीसँग भने, “वर्षौंसम्म एउटै विचारधारामा बाँचेको मानिस एउटा चित्र देखेकै भरमा सोचाइमा परिवर्तन हुन्छन् भन्ने छैन ।” मानिसले जीवनभर विद्यालयमा पढेर समाजमा बाँचेर परिवर्तन हुन नसकेको सोच एउटा चित्र देख्दैमा परिवर्तन हुन्छ नै भन्नेमा उनी विश्वास राख्दैनन् ।

उनी भन्छन्, “भित्ते चित्र परिवर्तनको संवाहक त हो तर व्यक्तिगत चाहनाको कारण यसको उद्देश्यमा परिवर्तन आउँदै छ ।” भित्ते चित्र सदाका लागि रहँदैनन् । ती चित्र त समयको बहावसँगै मेटिँदै जान्छन् त्यसैले उनले बनाएको धेरै चित्र अहिले छैनन् । 

आफैंले सिर्जना गरेको चित्र केही समयपछि नदेख्दा उनको मन कुँडिन्छ । “भित्ते चित्र त कला देखाउने अस्थायी माध्यम मात्र हो, कोही एकजनाले रंग्याएको भित्तामा अर्कोले रंग्याउने चलन त पहिलेदेखि नै चलिआएको हो,” उनको दुखेसो छ, “मैले चित्र बनाएको भित्ताहरू एक वर्ष नबित्दै मानिसले भत्काएका छन् ।”

उनले बनाएका चित्र मेटिएका छन्, भित्ता भत्किएका छन् । “बालुवाको थुप्रो भएको भित्तालाई सफा गरी चित्र बनाएका थियौं, पछि त्यहाँका बासिन्दाले गमला राखेर झन् सुन्दर बनाइदिएछन्,” प्रसाद प्रोजेक्ट अभियान गर्दा वीरगन्जको ठाकुरराम क्याम्पसअघि गरेको आर्ट सम्झँदै किरण सुनाउँछन्, “जबसम्म म त्यो भित्तामा चित्र बनाउँदै हुन्छु त्यस बेलासम्म त्यसमाथि मेरो पूर्ण अधिकार हुन्छ ।” आफूले चित्र बनाइसकेपछि भने त्यो समाजकै सम्पत्ति हुने उनको बुझाइ छ । “त्यो चित्र जोगाउने वा नष्ट गर्ने, त्यसको पूर्णाधिकार भने समाजकै हो,” कुराकानी बिट मार्दै किरणले सुनाए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro