काठमाडौं । लामो समयको निलम्बनपछि नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ कार्यसमिति आयो । सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीको निलम्बनमा परेको क्यान फुकुवाको पहिलो बाटोका रूपमा हेरीएको साधारणसभाबाट चतुरबहादुर चन्दको प्यानल विजयी भयो ।
क्यानविनाको नेपाली क्रिकेट निलम्बनको समय केही आशा लाग्दो प्रदर्शन गरिरहँदा नेपाली क्रिकेटको अभिभावकका रूपमा रहेको क्यान पुनः फर्किएपछि नेपाली क्रिकेटको स्तरका सुधार हुने आशा गरिएको थियो । तर, त्यो आशा क्यान आएपछि निराशामा बदलिँदै पूर्ण रूपमा विपरीत भएको छ ।
निर्वाचनपछि पूर्ण रूपमा आईसीसीको निलम्बन हटाउने पहिलो एजेन्डा बताउने नयाँ कार्यसमितिले हालसम्म त्यो पनि गर्न सकेको छैन । यसअघि नेपाली क्यानमाथिको निलम्बन गत अक्टोबरमा फुकुवा हुने बताइएको थियो । असोज १० र ११ गते हुने साधारणसभापछि क्यानमाथिको निलम्बन फुकुवा हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले समेत दाबी गरेका थिए । उनले अक्टोबरमा बस्ने आईसीसीको बोर्ड बैठकले नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवा गर्ने दाबी गरेका थिए ।
नयाँ कार्यसमिति आएको ६ महिना बितिसक्दा पनि क्यानमाथिको निलम्बन फुकुवा गर्न सकेको छैन । यतिखेर आएर क्यानका सचिव अशोकनाथ प्याकुरेलले क्यान फुकुवाको मिति सारेका छन् । उनले जुनमा बस्ने आईसीसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन पूर्ण रूपमा फुकुवा हुने दाबी गरेका छन् । तर, क्यानको सुस्त गतिका कारण प्याकुरेलको दाबी पनि होला÷नहोला भन्न सकिँदैन ।
थाइल्यान्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टी–ट्वान्टी प्रतियोगितामा नेपाली क्रिकेट टोलीले खराब प्रदर्शन गरिरहँदा क्यानले चर्को आवाज उठाएको थियो । प्रतियोगिताबाट खेलाडी फर्किएपछि खेलको समीक्षा गरेरै छोड्ने दाबी गरेको क्यान पुनः सुस्त छ ।
पछिलो समय नेपाली क्रिकेटले टी–ट्वान्टीमा निरन्तर खराब प्रदर्शन गर्दै आइरहेको छ । उपाधि लक्ष्यसहित थाइल्यान्ड पुगेको नेपाली टोलीले सुरुवाती दुई खेल गुमाउँदै लक्ष्यबाट टाढियो । त्यसपछि क्यान स्वयंले नेपाली टोलीको प्रदर्शनमाथि प्रश्न चिह्न खडा गरिरह्यो । टोलीको प्रदर्शनलाई लिएर चिन्तित बनेको क्यानले नयाँ कदम चाल्ने र प्रदर्शनको समीक्षा गर्ने बताएको थियो ।
टोलीको प्रदर्शन खस्किँदा क्यान चुप नलाग्ने र अहिलेसम्म भएको खेलको समीक्षा गर्ने अध्यक्ष चन्दले दाबी गरेका थिए । तर, खेलाडी प्रतियोगिताबाट शनिबार स्वदेश फर्किसकेका छन् । प्रदर्शनका बेला तातेको क्यान अहिले भने सुुस्त छ । त्यसबारे अहिले केही निर्णय नगरेको अध्यक्ष स्वयंले बाह्ररखरीलाई बताए । उनले केही निर्णय नहुनुको दोष कोरोनालाई दिइरहेका छन् । “अहिले केही निर्णय गरेको छैनौं । हामीले नेपाली टोली फर्केको एक साताभित्र नयाँ केही निर्णय लिन्छौं भनेका थियौं । तर कोरोना भाइरसका कारणले हाम्रो छलफल पनि रोकिएको छ,” क्यान अध्यक्ष चन्दले भने, “नयाँ निर्णय पनि गर्न सकेका छैनौं । आउँदो चैतको पहिलो सातातिर बैठक बस्नेछौं र केही निर्णय गर्नेछौं । अहिले तत्काल केही निर्णय हुने सम्भावना मैले देखेको छैन ।”
यसअघि उनले अन्य प्रतियोगिता र इस्टर्न रिजनको नतिजाबारे समेत क्यानले छुट्टै समीक्षा गर्ने बताएका थिए । उनले नेपाली टिम फर्किएपछि टिम म्यानेजरको रिपोर्ट बुझ्दै क्यानले थप कदम चाल्ने बताएका थिए । तर, चन्द यतिबेला भ्यालीबाहिर छन् ।
आउने महिना नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिज खेल्दै छ । उक्त सिरिजमा नेपालसँगै स्कटल्यान्ड र नामिबिया छन् । त्यसका लागि पनि क्यान नयाँ प्रशिक्षको खोजीमा छ । घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिज पछि टोलीको प्रशिक्षकबाट उमेश पटवालले राजीनामा दिएका थिए । त्यसपछि थाइल्यान्ड भ्रमणका बेला टोलीको प्रशिक्षण जगत टमटाले सम्हालेका थिए ।