काठमाडौं– करिब तीन वर्ष अगाडिको कुरा हो मिलन राई काठमाडौं उपत्यका प्रदूषित भयो भनेर सांकेतिक विरोधका लागि सडकमा ग्यास मास्क लगाएर निस्किए । त्यही समयदेखि नै उनी वातावरणमा भएको प्रदूषण रोक्न विभिन्न अभियानमा सक्रिय देखिएका छन् ।
राई वातावरण जोगाउन लाग्ने अभियान्ताभन्दा सामाजिक कार्यमा कलाको प्रयोग गर्ने व्यक्तित्व हुन् । चित्रकलाबाट यात्रा प्रारम्भ गरेका राई कला क्यानभास र एउटा कोठामात्र सीमित नराखी संसार भर नै फैलाउनु पर्छ भन्ने योजनामा छन् । त्यसैले सहरका सार्वजनिक स्थल र बाटोका भित्ताहरूमा सेतो पुतली टाँस्दै हिँड्छन् । उनले टाँसेका सेता पुतली विश्वका धेरैवटा सहरमा शान्तिको प्रतीक बनेर पुगेका छन् ।
साक्षर मिलन हार्वड विश्वविद्यालयमा आफ्नो कलाकारिताको अनुभव बाँड्न पुगेका छन् ।
मिलनको अहिलेको अभियान वातावरण संरक्षण बनेको छ । मोफसलमा जन्मी हुर्किएका उनी उपत्यकालाई नै आफ्नो कर्म थलो बनाउँछन् । यो सहरलाई कसरी सुन्दर बजाउन सकिन्छ भन्ने उनको अभियान छ ।
काठमाडौंलाई प्रदूषणमुक्त बनाउन ग्यास माक्स र झाडु लिएर सडकमा निस्किएका मिलन हिजोआज साना–साना पार्क बनाउन जुटेका छन् ।
सत्यको बाटोमा सधैँ एक्ले हिँड्नु पर्दैन । तीन वर्षको अभियानले मिस नेपाल शृङ्खला खतिवडा, निमा मार्टिन, विराज खड्का, मीन बाम लगातका विशेष व्यक्तित्व पनि जोडिन आएका छन् । अब उनीहरूले ‘वृक्ष फाउन्डेसन’ संस्था नै सुरु गरेका छन् । पुल्चोकमा बनेको पकेट पार्क त्यसकै सुरुवात हो ।
“ग्यास मास्क लगाएर रूख रोप्ने अभियानमा लागे पनि त्यसलाई व्यवस्थित गर्न सकिएको थिएन । बाटोका छेउमा अव्यवस्थित रूख रोप्नु हरियालीका नाममा सहरलाई कुरुप बनाउनु थियो । फेरि जथाभावी रूख रोप्दा यात्रालाई असहज बनाउने निश्चित थियो । त्यसैले खाली रहेका सरकारी जग्गालाई पार्कमा परिवर्तन गर्ने सोचले काम गर्न लागें ।” उनी पार्क बनाउनुको कारण बुझाउँदै थिए ।
सुरुमा तीनकुनेको खाली ठाउँलाई पार्कमा बदल्न पटक–पटक महानगरपालिका पुगेका मिलन महानगरको असहयोगले आफ्नो योजनामा सफल त भएनन् तर त्यसले धेरै कुरा सिक्न पाएको बताउँछन् ।
त्यतिमात्रै होइन काठमाडौंको खाली जग्गालाई पार्क बनाउने विस्तृत योजना नै लिएर महानगरपालिका पुगेका मिलन मेयरलाई भेट्न नै नपाई निरास हुँदै फर्किनु परेको तितो अनुभव सुनाउँछन् ।
त्यसपछि उनी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबुको कार्यालयमा पुगे । मेयरले मिलनको कुरामा सहमति जनाउँदै कार्य क्षेत्रमा जनसहभागिताको अपेक्षा राखे ।
“पार्क रूख बिरुवा र बस्ने ठाउँ मात्र होइन, समुदायलाई प्रतिनिधित्व गर्ने आधार स्थल भएकाले मैले पनि स्थानीयको सहभागिता होस् भनेर काम गरें । तर, थोरै स्थानीयले मात्र पार्क बनाउने काममा सहभागिता जनाए” मिलनले सुनाए ।
“सहरको जीवन एकदमै तनावपूर्ण छ । सहरमा त्यस्ता पार्क बने भने बटुवा एकछिन बसेर सुस्केरा हाल्ने ठाउँ पाउँछन् । बुढाबुढीले बसेर कुरा गर्दै समय कटाउने अवसर पाउँछन् । सानासाना नानीहरूले खेल्ने ठाउँ पाउँछन् । यसका साथै सहरको वातावरण राम्रो त हुने नै भयो ।” उनले पकेट पार्क बनाउनुको उद्देश्य प्रष्टयाए ।
उनले सानो ठाउँलाई असल कलाकारिता प्रस्तुत गर्दै मानिस खेल्न, कुद्न मिल्ने गरी बनाएका छन् । पार्क साङ्गका लागि मात्रै होइन फरक क्षमता भएकाहरूका लागि पनि उपयुक्त हुनै पर्छ । ह्बिल चेयर मैत्रीमात्र होइन आँखा नदेख्ने मानिसले त्यसको सुगन्ध लिन पाउने गरी व्यवस्था मिलाएका छन् । पार्क बनाउन मिलनले ए फर अर्किटेक्चर टिमसँग सहकार्य गरेका हुन् ।
पार्कमा समी, पैयु, निगालो लगायतका कम पानी चाहिने बिरुवा लगाएका छन् । उनले पार्कलाई हेर्दा राम्रो देखियोस् र बलियो पनि होस् भनेर साइकलको आकारमा फलामे बार बनाएका छन् ।
उनी खुसी देखिन्छन् । कुनै समयसँगै काम गरौं भनेर बोलाउँदा पनि नआएका स्थानीयहरू अहिले त त्यहाँ आएर बस्न थालेका छन् । उनले बनाएको पार्कलाई राम्रो भनेका छन् ।
त्यो सरकारी जमिन स्थानीय एक जनाले ओगटेको ठाउँलाई पार्कमा बदल्न राम्रै संघर्ष गर्नु परेको उनी बताउँछन् । उनी थप्छन्, ‘‘भ्यालीमा व्यक्तिले ओगटेका सार्वजनिक जग्गा धेरै छन् । ती ठाउँहरूलाई मात्रै पनि पार्कका बदल्न सक्यौं भने काठमाडौं भ्यालीको वातावरण स्वस्थ हुने उनको बुझाइ छ ।
पुल्चोकको पकेट पार्कपछि उनी निकै उत्साहित देखिएका छन् । अब त्योभन्दा ठूला दुई पार्क बनाउने तयारीमा उनी लागेका छन् ।