थालनी दुर्गा बराल ‘वात्स्यायान’को एउटा कार्टुनबाट गरौँ । हामी नेपाली कुनै पनि घटनामा कसरी आफैँलाई हानि पुर्याउने व्यवहार गर्छौँ भन्ने त्यो कार्टुनमा देखाइएको छ ।
विसं २०६१ साल भदौ १६ गते सम्पूर्ण नेपालीको लागि अत्यन्त भयानक र दुःखद दिन बन्यो । इराकमा काम गर्न गएका १२ जना नेपालीको साह्रै अमानवीय तवरले इराकका कट्टरपन्थी आतंकवादीले एकै ठाउँमा हत्या गरे । त्यस नृशंश हत्याको विरोध नेपालमा अनौठो तरिकाले गरियो । देशभरी र मुख्यतः काठमाडौंमा रहेका सम्पूर्ण वैदेशिक रोजगारीका कार्यालयमा तोडफोड र आगजनी गरियो । सोही घटनाको विषयमा वात्स्यायानले कार्टुन बनाए । कान्तिपुरमा प्रकाशित सो कार्टुनमा इराकमा नेपाली मारिएको समाचार बजिरहेको टीभी लठ्ठीले फोर्दै एक नेपाली युवा “लौ खा !” भनिरहेका थिए । अर्थात्, इराकमा नेपालीको नरसंहार भएको विरोधमा हामी नेपाली आफैँलाई हानिनोक्सानी पुर्याउने काम गर्छौ भनेर कार्टुनिस्टले सटीकरूपमा व्यक्त गरेका छन् ।
अहिले कोरोना भाइरसले चीनमा र करिब संसारभर नै आतंक फैलाएको अवस्थामा नेपालीले गरेका कतिपय काम कारवाही वात्स्यायानको कार्टुनमा त्यो युवाले गरेको विरोध वा प्रतिकारजस्तै देखिएको छ ।
आजसम्मको अवस्था के हो भने नेपालमा प्रमाणितरुपमा कोरोना भाइरसबाट संक्रमित कोही पनि भेटिएका छैनन् ।
जति व्यक्तिलाई कोरोना (कोभिड –१९)को संक्रमणको शंकामा परीक्षण गरिएको छ करिब ती सबैजनामा सो भाइरस नभएको पुष्टि पनि भएको छ । एकजनामा संक्रमण देखिएको थियो तर तिनले रोगलाई पराजित गरेर स्वस्थ जीवनयापन गरिरहेका छन् ।
चीनको वुहानमा रहेका १ सय ८५ नेपालीलाई करिब १७ दिन क्वारेन्टाइनमा राखेर घर फिर्ता पठाइसकिएको छ । यस्तो अवस्थामा अहिले रोगसँग लड्ने नाममा हामीले गरिरहेको कामकारबाही कति प्रत्युदपादक छ सोको लेखाजोखा गर्न ढिला भइसकेको देखिन्छ ।
नेपाल सरकारलाई सबैतिरबाट दबाब दिने काम भयो । सर्वोच्च अदालतले समेत अन्तर्राष्ट्रिय उडान बन्द गराउन आदेश जारी गर्यो । सरकार आफैँले सबै सभा, समारोह बन्द गर्न गराउन उर्दी जारी गर्यो । भोज, भतेरहरू नगर्नसमेत सबैलाई अपिल गरिएको छ । धेरै जना जम्मा भएको ठाउँमा नजानका लागि सबैलाई “सुसूचित” गरिएको छ । सबैलाई मास्क लगाएर हिँड्न भनिएको छ । छिनछिनमा हात नधोएको खण्डमा भाइरस हातको माध्यमबाट मुखमा तुरुन्तै पुग्ने डर छ । मान्छेहरू हात मिलाउन छाडेर मुड्की जोड्ने, मुड्की उजाएर लाल सलाम भन्ने, जय नेपाल भन्ने र नमस्कार गर्ने बानी विकास गर्न प्रयास गर्दैछन् ।
त्यतिमात्र होइन नेपालको ठूलो क्रिकेट लिग ईपीएलले अनिश्चितकालका लागि प्रतियोगिता रोकेको छ । सिनेमाकर्मीहरूले अहिले सबै सुटिङ्ग रोकेका छन् । स्कूलहरू चाँडोभन्दा चाँडो परीक्षा समाप्त गरेर लामो बिदामा जाने तयारी गर्दैछन् । यति सबै गरेर हामी के गर्दैछौँ ? सबैले हेर्दा रोगलाई भित्रिन नदिनका लागि रोकथाम गर्दैछौँ । तर, माथिका सबै व्यवहार देशभर कडाइसाथ लागू गर्ने हो भने हामी भोकमरीको तयारी गर्दैछौँ ।
रोगको रोकथाम गर्दा केही दिन अर्थतन्त्रमा असर पर्छ भने त्यसलाई सहनु पर्छ अन्यथा जनधनमा ठूलो क्षति हुन्छ भन्ने धेरैको सोच छ । साँचो हो । तर, रोगै नआई हामी सम्पूर्णरुपमा चीनको वुहानमा गरेजस्तो रोकथामका उपायमा लाग्ने हो भने अर्थतन्त्रको अवस्था कस्तो होला ? अहिल्यै एसियाली विकास बैंकले कोरोनाभाइरसको कारण नेपालको अर्थतन्त्रलाई ४ अर्बसम्मको क्षति हुने जनाइसकेको छ । नेपाली जनताले राजधानीमा देखाएको त्रास देख्दा अर्थतन्त्रमा ठानिएभन्दा ठूलो भ्वाङ् पर्ने निश्चित देखिन्छ ।
सभा, समारोह नगर्ने, सिनेमा हल नचल्ने, खेलकुद कार्यक्रम नहुने, स्कूल बन्द हुने, कलकारखाना बन्द हुने, पसलमा सामान सकिने, कालो बजारियाले दाल, चामल, नुन, ग्यासको भाउ बेपत्ता बढाउने अवस्था अझ एक महिना रहने हो भने लुटपाटको स्थिति आउन सक्छ ।
कुनै निर्माणको काम नहुने, रेस्टुरेन्ट नचल्ने, होटलमा विदेशी नआउने, विवाह ब्रतबन्ध नहुने, ट्याक्सी र बसमा कोही नचढ्ने अवस्था भयो भने न्यून वेतनभोगी कर्मचारीले कसरी दैनिक उपभोग्य सामानको जोहो गर्ने ? सरकारसँग यस्तो अवस्थामा गरिबलाई सहयोग गर्नसक्ने आर्थिक क्षमता त छँदै छैन । अझ, आयात कम भएर र कर कम उठेर सरकार आफ्नै कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्दैछ । सरकारले पुँजीगत खर्च गर्न नसकेर आर्थिक मन्दी देखापरिसकेको छ । अब पुँजीगत खर्चले सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था भयो भने देशको आर्थिक अवस्था कस्तो होला ?
कलकारखानामा यसै पनि चीनबाट कच्चा पदार्थ नआएर उत्पादनमा ठूलै कटौती हुनथालेको छ । कपडा, भान्साका सामान, फर्निचर, इलेक्ट्रोनिक्सका सामान आदि आउन यसै बन्द भएको छ । सरकारले निर्माण र विकासका पैसा खर्च गर्न नसकेर बन्दै जस्ता छन् । बैंकमा भएको पैसा ऋण लिन आउने मान्छे भेटिन गाह्रो भइसकेको छ ।
यस्तो अवस्थामा सरकार आफैँले इटलीमा जस्तै सबैलाई क्वारेन्टाइनमा राख्ने कोसिस गर्नु प्रत्युत्पादक हुनसक्छ । किनभने नेपालमा यो भाइरसको संक्रमण देखिएकै छैन । संक्रमण बढेर गयो, मृत्युदर बढेर गयो भने पो त्यसरी क्वारेन्टाइनमा राख्नु स्वाभाविक होला त । तर, अहिले जुन तवरले नेपालको सम्पूर्ण आर्थिक गतिविधिमा ताल्चा लगाउने कोसिस हुँदैछ त्यसले त नेपालमा कोरोना संक्रमण हुनुअघि नै आर्थिक डावाँडोलको अवस्थामा पुगिने देखिन्छ ।
मास्क लगाउने र भीडमा नजाने सल्लाहले धेरै मानिसलाई त्रसित बनाएको छ । वास्तवमा मास्क लगाउने कार्य संक्रमित व्यक्तिले गर्नु पर्छ । जसलाई रुघाखोकी लागेको छ उसले अनिवार्य रुपमा मास्क लगाएर हिँड्ने र खल्तीमा स्यानिटाइजर (हातमा लगाउने औषधि) बोकेर हिँड्ने हो भने कोरोना नै भएको व्यक्ति भए पनि अरुमा फैलन पाउँदैन । बरु सरकारले रुघाखोकीको लक्षण देखिनेबित्तिकै सकभर घरबाट बाहिर नआउन र सावधानी अपनाउन सल्लाह दिए हुन्छ ।
कमजोर शरीर भएका बूढाबुढी र केटाकेटीलाई सकभर बाहिर ननिस्कन कडाइ गर्नु पनि स्वाभाविक होला । तर, काम गरेर खानुपर्ने, देशको अर्थतन्त्र चलाउनुपर्ने र स्वस्थ व्यक्तिलाई नै त्रस्त बनाएर घरभित्र थुनेर राख्ने प्रकारको जुन वातावरण बनेको छ त्यसले धेरै न्यून आय भएका व्यक्तिलाई त कोरोनाभन्दा पहिले भोकमरीले सिध्याउन सक्छ । मध्यम आय भएका व्यक्ति पनि व्यायाम र पोसिलो खानेकुरा खान नपाउने अवस्थामा पुग्दै गएपछि कोरोनाभन्दा अघि अरु रोगले आक्रान्त बन्ने जोखिम बढदै जान्छ ।
अहिलेको अवस्था भनेको सकभर चलायमान हुने । स्वस्थ व्यक्ति सबैजनाले आर्थिक क्रियाकलाप गर्ने । कसैलाई रुघाखोकी लागेको छ भने घरभित्र बस्ने सल्लाह दिने र बाहिर निस्कदा मास्क लगाएर निस्कन अनुरोध गर्ने हो ।
कुनै शत्रुदेशले आक्रमण गर्यो भने जसरी बूढापाका र बालबालिकालाई सुरक्षित स्थानमा राखेर युवा लडाइँको मैदानमा उत्रनुपर्छ त्यस्तै सम्झेर अहिले आर्थिक क्रियाकलापलाई अघि बढाउन र जनतामा त्रासको वातावरण कम गरेर जिम्मेवार हुन सिकाउनु पर्छ ।