काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना (कोभिड १९) को जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेका हुन् ।
उनले कोरोना संक्रमणबाट जोगिनका लागि एकीकृत कार्यसञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । विश्वको अवस्था हेर्दा नेपाल अहिलेसम्म सुखद अवस्थामा रहेपनि जोखिममा रहेकाले थप शतर्कता अपनाउनुपर्ने उनले बताए । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै चेकजाँचमा कडाई गर्न उनले सुझाव दिए ।
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलिको नियम ७१ बमोजिम सांसद थापाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका हुन् । “हाम्रो सीमाको चेकजाँचमा रहेका कमजोरी र स्वास्थ्य क्षेत्रमा रहेको कमजोर अवस्थाले पनि जोखिममा छौं । अहिले गरिहाल्नुपर्ने, तयारीमा रहनुपर्ने केही काम छन्। त्यो काम सरकारको मात्रै होइन, संसदको मात्रै होइन, र समुदायको जिम्मेवारी छ,” सांसद थापाले संकल्प प्रस्ताव प्रस्तुत गर्दै भने । उनले यूएईले इरानबाट आउन रोक लगाएको, भारतले जापान र इरानका भिसा पाइसकेका नागरिकलाई समेत रोक भन्दै नेपाल आउनेहरूबारे पनि सचेत हुनुपर्ने धारणा राखे । सांसद थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमा “विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ , अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरू सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने उल्लेख छ ।
नेपालमा एक साता मात्र हेरियो भने १३ सय ७८ जना नेपाल प्रवेश गरेको भन्दै उनले उनीहरू कहाँ छन् भन्ने बारे तथ्यांक नरहेको बताए । उनले भने, “नागरिकलाई सचेत गर्न एउटा प्लेटफर्म चाहियो। यसबारे त्यसले मात्रै बोल्नुपर्छ । बढी सूचनाले मान्छे त्रसित छ । गलत र बढी सूचनाले त्रसित हुन्छ । त्यसलाई सबै सञ्चारमाध्यमले सहयोग गर्नुपर्छ । ”
सांसद थापाले मन्त्रालय अनुसारका कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र दुविधा बढाएको भन्दै एकद्वार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गनुपर्ने बताए । विवाह व्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुला भएको, संसद बैठक सञ्चालन भइरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्वार प्रणालीबाट सुचना सम्प्रेषण गर्न र विदेशबाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गरे । “नागरिकलाई बाहिर जानु हुँदैन भनेको छ। वनमन्त्री घुम्न जानु भएको छ । एकजनाले एउटा भन्ने, अर्कोले अर्को गर्ने काम भइरहेको छ,” थापाले भने ।
उनले कालाबजारी अन्त्य गर्नका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह गर्दै नतर्सन बरु सचेत रहनुपर्ने बताए । “सचेत रहने हो तर्सने होइन । नागरिकलाई नर्तसाउँ । भयभीत पनि नबनाउँ । नेपालका एउटा मात्रै केस नदेखिएको कुराले आनन्दले नबसौ ,” उनले भने, “हामीले समयको सुविधा पायौ । इरानले पाएन । कोरियाले पाएन । तर कोरियासंग क्षमता थियो । हामीले पाएका छौ । हामीले अहिलेकति मात्रै सुझबुझ पु¥यायौ भने आत्तिनु पर्देन । ”
सांसद थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सांसदहरू सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गरेका छन् ।
मास्क लुकाउनेलाई जेल हालौं
प्रस्तावको समर्थन गर्दै सांसद राजभण्डारीले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चीन सरकारसँग वार्ता गरी अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको भन्दै उनले आपत्ती जनाए ।
त्यस्तै, उनले मास्क लुकाउने, औषधि लुकाउनेलाई २ लाख रुपैया मात्रै होइन जेल हाल्नुपर्ने बताए । “मास्क बजारमा जति छ । सरकारले नियन्त्रण गर्नुहोस् । सेनिटाईजर पनि बजारमा बन्द भईसकेको छ । नेपालमा उत्पादन हुनसक्छ । ४८ घण्टा भित्र लाईसेन्स दिनुहोस् र उत्पाद सुरु गर्नुहोस् । जनतामा त्रास धेरै छ । यो त्रासलाई हटाउन हामी सबै एक होऔ ,” उनले भने ।
त्यसैगरी अर्का समर्थक सासद राजेन्द्रकुमार केसीले प्रस्तावको समर्थन गर्दै सरकारले केही तयारी गरेपनि पर्याप्त नभएको भन्दै समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । धेरै साधन सम्पन्न मुलुकमा स्कुल बन्द भइसकेको अवस्था रहेको उल्लेख गर्दै उनले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्नेतर्फ सचेत हुन आग्रह गरे ।
अर्का समर्थक नारायण खड्काले कोरोना संक्रमण नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंसा गरे । कोरोना संक्रमणको त्रासले बजारमा औषधि , मास्क र सेनिटाइजरसँगै दैनिक खाद्य सामग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे । उनले आवश्यक तयारीबारे जानकारी गराउँदै सदन सञ्चालनबारे पनि सोच्न आग्रह गरे ।