site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बरको हाँगामा चढेँ र हाम्फालेँ
SkywellSkywell



तुलसी दिवश/कवि तथा संस्कृतिविद्
राजेश खनाल
उनी धनकुटामा जन्मिए । बाल्यकाल र किशोरकाल पनि धनकुटामै बिताए । बाल्यकालको केही समय मावल चैनपुरमा बिताउनु परिस्थितिजन्य उपज थियो ।

बुझ्ने भएपछि आफ्नै थातथलो झरे, धनकुटाको मनोरम भूमिमा उनी गीत, संगीत, कला, काव्य, नाटक र संस्कृतिसँग घुलमिल हुँदै हुर्किए । ‘‘हुर्किएँ मात्रै के भन्नु यी सारा कुरा जीवनमा आत्मसात गर्दै हिँडें,’’ उनले भने ।

त्यसैले नै होला, उनी आज पनि ‘सहर’ भित्रको ‘गाउँ’ मा बस्छन् । जहाँ उनलाई बिहानै ब्युँझाउन चराहरू चिरबिर चिरबिर गर्छन् । वसन्तमा कोइलीको कुहुँ कुहुँसँगै निद्रा टुट्छ ।

KFC Island Ad
NIC Asia

साँझ पर्न लागेको आभाष पनि चराहरूले नै दिन्छन् । ‘‘चराहरूको गुँड तिरको यात्रा र तिनको आवाजमा आउने भिन्नताले साँझ परेको संकेत मिल्छ । घडी हेर्नु पर्दैन ।’’

रातिमा झ्याउँकिरीको बिरसिलो आवाज उनका लागि अप्रिय छैन । चाकुपाट चुली राजधानीभित्रै गाउँ हो । सहर भित्रको गाउँमा उनको समय बित्छ । ललितपुरको चाकुपाट चुली, जहाँ उनले गाउँकै शान्ति र मिठास पाइरहेका छन् ।

Royal Enfield Island Ad

कवि, साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवशसँग कुराकानी गरिरहँदा  सहकर्मी सुनील प्रधान र म चराहरूको चिरबिर सुनिरहेका थियौं । दिउँसै !

उमेरले ८० मा दगुरिरहेका कवि साहित्यकार तुलसी दिवश भन्छन्, “यतिबेला यस्तो चिरबिर सुनिन्छ ! साँझ बिहान कस्तो होला ? तिमी अनुमान गर्न सक्छौ ।”

भन्न त मानिस उनी बसेको ठाउँलाई चाकुपाट हाइट भन्छन् । तर, उनी ‘चाकुपाट चुली’ भन्छन् । चुली भनिरहँदा उनलाई यो ठाउँ अझै बढी आफ्नो जस्तो लाग्छ । 

चाकुपाटमा रहेको उनको घर कम्पाउन्डमा रूखहरू प्रशस्त छन् । जति बेला उनी चाकुपाट हाइटमा आए, त्यसबेला रूख थिएनन् । खेतै मात्र थियो । त्यहाँ जग्गा लिएर घर बनाए । उनकी आमाले रूख रोपिन् ।

उनका भाइले पनि रोपे । एकएक गरेर सबैले रोप्दै गए । यसरी चारैतिर रूखैरूख भरियो । तीनै रूखहरूमा आएका चराचुरुङ्गीहरूले आफूसँग आएर कुराकानी गरेको अनुभूत गर्छन्, दिवश ।

यो प्राकृतिक निकटताले उनलाई धनकुटा नै पुर्‍याइरहेको अनुभुति गर्छन् उनी । यी रुख र चराचुरुङगीसँग गहिरो गरी जोडिएका छन्, तुलसी ।

उनी भन्छन्, “कहिले काँही मालीले आएर यी रूख छाँट्दा पनि मलाई कतै दुखेर आउँछ ! त्यो स्मृति अविछिन्नरूपले ममा जोडिएको छ । यो ठाउँ मैले आफैंले बनाएँ । धनकुटाको त्यो घरबारी बुवाको सिर्जना थियो ।”

० ० ०
जन्मथलो धनकुटामा रहँदा पनि उनको दैनिकी यस्तै प्रकृतिको काखमै रमाएर बित्थ्यो । त्यसैले धनकुटा, आज पनि उनको स्मृतिमा ताजा छ । 

तुलसी दिवश पूर्वस्मृतिमा रमाउँछन्, “आफू जन्मी हुर्की बढेको ठाउँ बिर्सने त कुरै आउँदैन । धनकुटा आज पनि सम्झनामा आइरहन्छ । सपनीमा पनि र विपनीमा पनि । त्यहाँ पुग्न नसके पछि त सम्झनाको विकल्प पनि त रहँदैन !”

किशोरकालदेखि नै उनको रुची साहित्य, संगीत, कविता, कला अनि संस्कृतिमा रह्यो । उनी नाटकमा सक्रिय भए । लोकगीत⁄लोकसंगीत र लोक संस्कृतिका विविध कार्यक्रम गर्नथाले । यसरी उनको यस क्षेत्रमा  क्रियाशीलता बढ्दै गयो ।

उनी सम्झिँदै थिए, धनकुटाको सिरानमा रहेको आफ्नो घर । नजिकैको सल्लेरी वन । त्यतैतिर सल्लाघारीको छेउछाउमा हरियो घाँसमा पल्टेर ‘अज्ञेय’ को ‘हरी घाँस पर क्षणभर’ कविता पढेको उनी सम्झिन्छन् । यद्यपि राजधानीको भिडभित्रको चुलीले धनकुटालाई पूर्णरूपेण ‘कम्प्लिमेन्ट’ नगरे पनि जोडेर ल्याएको उनको तर्क छ ।

कवि दिवशका पुर्खा भक्तपुरबाट पूर्वतिर बसाइँ सरेको कथा उनका पिताजी महाप्रसाद जोशीले आफूलाई सुनाएको सम्झिन्छन् । उनका पिताजी सरकारी जागिरमा थिए । जागिरे जीवन, कहिले कता कहिले कता जानुपर्ने ।

त्यसैले पनि उनको बाल्यकालको केही वर्ष मावल चैनपुरमा बितेको हो । केही वर्ष उनले चैनपुरकै स्कुलमा पढे । जब २००७ सालतिर उनी चैनपुरबाट धनकुटा आए, त्यसपछि उनको पढाइसँगै सांस्कृतिक क्रियाकलापमा रुची बढ्दै गयो । अनि धनकुटासँगै त्यहाँको कला, संस्कृति, नाटक, लोकगीत र संगीतसँग लपक्कै भिजे । 

त्यसैले पनि धनकुटा बजारसँगको भावनात्मक सम्बन्ध अत्यन्त घनिष्ट रहेको उनी बताउँछन् । लालुपातेको घोडा चढेको, दसैं तिहारमा लिङगे पिङ्ग/रोटे पिङ्ग मच्चिएको आज पनि उनको स्मृतिमा ताजा छ ।

उनले सम्झिए, धनकुटाको फेदीमा निरन्तर बगिरहने तमोर नदी । धनकुटाकै सेरोफेरोमा रहेको उत्तर बाहिनी र धनकुटा खोला । उतिबेला धनकुटामा मर्दापर्दा तमोर किनारमा गएर संस्कार गर्ने चलन थियो ।
धनकुटालाई यसरी स्मृति बिम्बमा ऊने उनले– “धनकुटा बजार आफ्नो खुट्टा तमोर नदीमा दैनन्दिन धोएर वा स्नान गरेर, कहिले उत्तानो र कहिले कोल्टो परेर बसिरहेकी एउटी युवती जस्ती, अनि माथिको त्यो सल्लेरी वन तिनैले सुकाउन फिँजाएको केश जस्तो लाग्छ ।”

जीवन तमोर जस्तै बगिरहनु पर्ने रहेछ । रूख जस्तो एकै ठाउँमा जडवत् रहिरहन नसक्ने उनी बताउँछन् । तुलसी दिवश पनि निरन्तर बगिरहने तमोर नदीजस्तै, अनेक आरोहअवरोह पार गर्दै जीवनको यो उत्तरार्धमा ।

कला संस्कृतिमा भिजेको परिवार । चित्रकला, संगीत, भजन गायन, नाटक मञ्चन आदि कार्यमा उनका पिताजी र काकाहरू सक्रिय थिए । सबै रमाउँथे यस काममा । त्यसले कवि तुलसी दिवशलाई पनि सानै उमेरदेखि आफूतिर आकर्षित गर्दै लग्यो । 

दिवशका हजुरबुवाका दुई परिवार । पिताजी जेठो छोरा । छुट्टिएर बसेका थिए । नाति न परे कहिले तल्लो त कहिले माथिल्लो घर गरिरहन्थे दिवश । उनका लागि सबै आफ्नै घर थिए । 

उनी बस्ने घरमा घरबेटीकी छोरी पनि थिइन् । उनीसँग खेल्थे तुलसी । एक पटक खेल्ने क्रममा बारीमा फलेको काँक्राको चिचिला टिपेर ल्याइयो, पुतलीको बिहे भोजका लागि भनेर । चिचिला तुलसी आफैले ल्याएका हुन वा घरबेटीकी छोरीले ल्याएकी हुन्, उनलाई हेक्का छैन । तर, त्यो चिचिलो ल्याएपछि घरबेटी आमा बेस्मारी कराइन् । के के भनिन् ।

त्यसबेला तुलसीको मनमा गढ्यो, ‘यो मेरो घर होइन रहेछ’ । आफ्नो घर भएको भए कसैले यसरी गाली गर्ने थिएनन् ! बाल्यकालको यो स्मृति आज पनि उनको मनमा तरोताजा छ ।

त्यसको केही समयपछि उनका पिताजीले त्यही घरको मास्तिर आफ्नो घर बनाए । उनी भन्छन्, “त्यो घर बनेपछि सबैभन्दा धेरै खुसी म भएको थिएँ ।” यो भनिरहँदा तुलसी दिवशको अनुहार चहकिलो भएको थियो । 

० ० ०

गीत संगीत र रंगकलामा मात्रै होइन, उनी खेलकुदमा पनि पारङ्त थिए । उनी फुटबल, भलिबल खुबै खेल्थे । खेलकुदमा पनि उनलाई अथाह रुची थियो । लंगजम्प हाइजम्प खेल्न पनि रुचाउँने उनी फुटबलमा गोलकिपरको जिम्मेवारीमा बस्थे । कहिले काँही फुटबल खेल्नै, धरान विराटनगर हुँदै कटिहार र फार्बिसगन्जसम्म पनि पुगेको स्मरण गर्छन्, उनी ।

सबैतिर सक्रिय तुलसी दिवशको यो आत्मीय स्वभावले गर्दा उनको सम्पर्क आफूभन्दा उमेरले पाका मानिसहरूसँग बढी हुँदै गयो । साना उमेरकाहरूसँग माया प्रेम त हुन्थ्यो, तर सामान्य ।  

तुलसी दिवशको दैनन्दिनी यसरी नै गुज्रिँदै थियो । दैनिक साहित्य, कला, संस्कृति, संगीत, लोकसंगीतकै सेरोफेरोमा बित्दो थियो, पढाइसँगै । त्यसमाथि नेतृत्व लिने बानी पनि उनमा विकसित हुँदै गयो । विभिन्न कार्यक्रम गरेर सिंगै धनकुटाबजारलाई उचाल्थे उनी । चाहे माथिको टोल होस् वा मुनिको टोल ।

पढाइ अगाडि बढ्दै थियो नै, त्योसँगै कला/साहित्य/संस्कृतिमा उनकोे निवेश आफ्नै किसिमबाट हुँदै गएको थियो । यही लगावले नै पछि उनलाई सांस्कृतिक कार्यक्रममा मेची, कोशी र सगरमाथाबाट सांस्कृतिक कार्यक्रमको नेतृत्व लिँदै काठमाडौंसम्मको यात्रा गराएको थियो ।

तुलसीले किशोरकालमै धनकुटामा पुस्तकालयहरू स्थापना गर्दै गए । पुस्तकालयहरूको व्यवस्थापनमा उनी सक्रिय भएर लागेका थिए । त्यसैबेलादेखि आफूलाई अक्षरहरूले आफूतिर तान्दै लगेको उनी बताउँछन् । उनी अक्षरहरूको नजिक हुँदै गए । घनिष्ट हुँदै गए । त्यस पछि, उनले कथा कविताका मार्फत अक्षरको खेती गर्दै गए । र यही अक्षरको खेती गरेर त्यसको फल आजसम्म प्राप्त गरिरहेको उनी बताउँछन् । 

तुलसी भन्छन्, “म अक्षरसँगको सम्बन्ध, अक्षरसँगको नातालाई बाँट्दै थिए, बाबियोको डोरी सरी । जुन डोरी पिङ्गका रूपमा बरको रूखको हाँगामा झुण्डिएको थियो । म पनि त्यही अक्षरहरूलाई बाक्लो र घनिष्ट बनाउँदै बाँट्दै गइरहेको थिएँ ।”

तुलसी दिवश, आज त्यो सन्दर्भ सम्झिँदा रोमाञ्चित हुन्छन् । दशैंताका बरको हाँगामा पिङ्ग टाँगिन्थ्यो । उनी त्यो बाँटेको डोरीलाई खुबै ध्यानले हेर्थे । डोरीले उनलाई अतिनै आकर्षित गरेको थियो । ‘यो डोरी पाए त कति रमाइलो हुनेथियो होला !’ यही सोच्थे उनी ।

एक पटक पिङ्गमा त्यो डोरी हाल्नेले भनेछन्, “यो हाँगाबाट जो हाम्फाल्छ, यो डोरी म उसैलाई दिन्छु ।” 

तुलसी भन्छन्, “मलाई के नै चाहियो र । मैले पनि दायाँबायाँ हेरिनँ । न त केही सोचेँ नै । बस, बरको हाँगामा चढेँ र तल तिर हाम्फालेँ । अन्ततः बाबियाको डोरी हात पारेँ ।” उनको मुहारमा मृदुमुस्कान फैलियो ।

० ० ०

मामाघर चैनपुरबाट धनकुटा आएपछि उनले धनकुटामा नै पढ्न सुरु गरे । चार कक्षामा भर्ना भए । फाइनल जाँच पछि डबल प्रोमोसन लिँदै छ कक्षामा पुगे । 

कक्षा ९ मा पढ्दाको कुरा हो । स्कुलमा उनले अप्सनल विषयमा बायोलोजी विषय लिएका थिए । किनभने साहित्य कला संस्कृतिमा लागे पनि कालान्तरमा साइन्स पढेर डाक्टर हुने सोच उनको थियो । 

तर बायोलोजीको शिक्षकले कक्षामा त्यति राम्रो नपढाएकाले उनीहरूले ट्युसन पढाइदिन पनि आग्रह गरे । तर टिचर मानेन् । त्यसपछि आफूहरूले टुप्पी कसेर पढेको उनी सम्झिन्छन् । जसले सार्थक नतिजा दियो । 

अर्थात् उनीहरूले २०१२/०१३ सालमा धनकुटास्थित गोकुन्डेश्वर हाइस्कुलबाट एसएलसी पास गरे ।

एसएलसी पछि तुलसी दिवश आईएससी पढ्नै भनेर राजधानी भित्रिए । त्रिचन्द्र कलेज र पब्लिक साइन्स अर्थात् अमृत साइन्स कलेजमा साइन्स पढाइन्थ्यो । उनले त्रिचन्द्रमा नाम निस्के पनि एडमिसन लिएनन् । उनलाई पब्लिक साइन्स कलेजमा नै पढ्ने इच्छा थियो ।

पब्लिक साइन्स कलेजको इन्ट्रान्सको रिजल्ट आउन बाँकी थियो । एडमिसनका लागि उनी गोजीमा पैसा बोेकेरै हिँड्थे । एकपटक एकजना उतैको मानिस भेट भए । उनलाई थाहा थियो, तुलसीसँग पैसा छ भन्ने । त्यसैले तिनले पैसा खाँचो भएकाले केही दिनपछि दिने सर्तमा मागे । 

तुलसीले पनि ठिकै छ भन्दै ‘आफूलाई एडमिसनका लागि चाहिने भएकाले त्यस बेला दिनुपर्छ है’ भन्दै सापटी दिए । 

केही दिनपछि उनको नाम निस्कियो पब्लिक साइन्स कलेजमा । तर ती मानिसले आज भोलि भन्दै महिना दुई महिना झुलाए । तिनले पैसा फिर्ता दिएनन् । अन्ततः उनी अमृत साइन्समा एडमिसन लिन नसकेर धनकुटा फर्किए ।

संस्कृतिविद् दिवश भन्छन्, “आफूले चाहेर वा आफूले इच्छा गरेर मात्रै नहुने रहेछ । ती मानिस सम्पन्न मानिस हुन् । उसलाई दुई तीन हजार कुनै ठूलो कुरो थिएन । तर त्यो पैसा उनले दिएनन् ! यसैले गर्दा मेरो  आईएससीको पढाइ रोकियो ।”

अर्को वर्ष पनि उनी फेरि काठमाडौं उक्लिए, साइन्स पढ्नका लागि । यतिबेला अमृत साइन्समै एडमिसन लिए । पढ्दै गए । सेन्टअप पनि भए । तर कला, संस्कृति, नाटक र साहित्यमा निथु्रक्क भिजेका तुलसी दिवशलाई पछि गएर ‘साइन्स मेरो मार्ग होइन’ भन्ने लाग्यो । र उनले साइन्सको फाइनल नदिएर आर्ट फ्याकल्टीको परीक्षा दिए । र आईएससी होइन, आइए पास गरे । 

साइन्सको पढाइ कठिन त हुन्थ्यो नै । त्यसका लागि समय पनि अधिक दिनुपर्दथ्यो । उनी लालदरबारस्थित सेन्ट्रल होस्टल बस्थे । त्यहींबाटै उनी कहिले भारतीय पुस्तकालयमा गएर साहित्य पढ्थे भने बेलाबेलामा  काठमाडौंमा हुने कवि गोष्ठीहरूमा भाग लिइरहन्थे ।

यसरी साइन्स पढ्ने एउटा विद्यार्थी कहिले कता त कहिले कता गएर कविता वाचन गर्थे । उनी किताबमा झुम्मिन्थे । अक्षरमा रमाउँथे । फलतः उनको साइन्स पढ्ने सोचमा तगारो नै तेर्सियो ! 

एक पटक काठमाडौंमा भएको एउटा कविता गोष्ठीमा नाट्यकर्मी बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविता वाचन गरेको उनलाई सम्झना छ ।

गोष्ठीमा तुलसीले पनि कविता वाचन गरे । अरुका कवितामा वाह वाह र ताली खुब आएको थियो । तर उनको कवितामा न त वाह वाह आयो । न त ताली । उनी खिस्रिक्क भए !

तर, कार्यक्रम सकिएपछि समले भनेछन्, ‘बाबु तपाईंको कविता राम्रो थियो ।’ समले यति भनेपछि उनको मन ढक्क फुल्यो ! समजी गए । त्यसपछि देवकोटाले पनि तुलसीलाई ‘तपाईंको कविता राम्रो थियो,’ भने । 
अनि तुलसी दिवशलाई लाग्यो, ओहो ‘वाह वाह’ न आए पनि, ‘ताली’ नबजे पनि कविता राम्रो हुँदो रहेछ । यही सोचले उनलाई झनै प्रेरित गर्‍यो, साहित्यमा निरन्तर लागिरहन ।

उनी हाँसे । भने, “यस्ता साहित्यिक कार्यक्रमहरूले मलाई के डाक्टर बन्न दिन्थ्यो र ! आइए पास गरेर धनकुटा फर्किएँ ।”

० ० ०

धनकुटामा बाल मन्दिर स्थापना गर्ने अवधारणा अगाडि आयो । त्यसले पूर्णता पनि पायो । र धनकुटामा बाल मन्दिरको स्थापना गरिँदै तुलसी दिवशलाई त्यहाँको संस्थापन प्रधान्याध्यापक बनाइयो ।

बालमन्दिरको अवधारणा नितान्त नौलो विषय थियो । जहाँ बालबालिकाहरुको पढाइ हुन्थ्यो । त्योसँगै धनकुटामा उनले कविता गोष्ठी आयोजन गर्दै कविता वाचन परम्पराको थालनी गरे । खुला ठाउँमा कविता वाचन कार्यक्रम आयोजना हुन थाल्यो । त्यस गोष्ठीमा सानादेखि ठूला पाका कविहरू पनि कविता वाचन गर्न आउँथे ।

तुलसी दिवशका अनुसार खगेन्द्र प्रधानाङ्ग, हेमचन्द्र पोखरेल, नरपति शर्मा पोखरेललगायतका पाका व्यक्तिहरू कविता वाचन गर्न आउँथे । यसरी धनकुटामा साहित्यिक वातावरण मौलाउँदै गयो । 

धनकुटा क्याम्पसमा पढाउँदै गर्दा उनले त्यहाँ पनि कविता गोष्ठीको परम्परा चलाए । र कलेजमा त्यहीँका विद्यार्थीहरूबाट नाटक खेलाउने प्रथा पनि सुरु गरे । उनी आफै नाटक निर्देशन गर्थे । 

तुलसी दिवश भन्छन्, “त्यसअघि महिलाले नाटकमा भाग लिन्थेनन् । पुरुषले नै महिलाको भूमिका निर्वाह गर्थे । तर मैले क्याम्पसका महिला विद्यार्थीलाई महिला पात्र र पुरुष विद्यार्थीलाई पुरुष पात्रको भूमिका दिएर नाटक मञ्चन गराएँ । र यसरी पुरानो परम्परा तोडेँ ।” 

अर्थात्, आफूमा विद्यमान नयाँ सोच र चिन्तनलाई यथार्थमा परिणत गर्दै लगें उनले । त्यसले उनलाई छिटो स्थापित गर्दै लग्यो । 

यद्यपि उनको अक्षर यात्रा जारी थियो । अक्षरकै खेतीमा लागेर उनले कविता मात्रै होइन, कथा र उपन्यास पनि लेखे । उनका कति कथा त छापिए पनि । तर पछि गएर उनले आफूलाई कवितामा मात्रै केन्द्रित गर्दै लगे ।

कविता लेख्दै र सुनाउँदै जाँदा उनले अखिल नेपाल साहित्य सम्मेलनमा भएको कवि गोष्ठीमा प्रथम पुरस्कार प्राप्त गरे । 

० ० ०

बीए पास गरेर धनकुटा कलेजमै नेपाली पढाउन सुरु गरेका तुलसी दिवशले त्यही योग्यताले काठमाडौं आएर पद्मकन्या क्याम्पसमा पढाउन थाले । पछि मात्रै उनले एमए पास गरे । 

पद्म कन्या क्याम्पसमा नेपालीका साथै लोकसंगीत पनि पढाए । लोकसंगीतको पाठ्यक्रम विकासमा पनि उनको सक्रियता रह्यो । त्यसभन्दा अगाडि संगीतलाई प्राज्ञिकरूपमा पढाउन सुरु भएको थिएन । 

लामो कुराकानीका क्रममा तुलसी दिवशले कविता वाचन शैलीको चर्चा गर्दै भने, “सबैभन्दा पहिले कविता, कविता हुनुपर्छ । अर्थात् कविता राम्रो हुनुपर्छ । त्यसपछि मात्रै त्यसलाई वाचन कलाले सुन्दर बनाउनु पर्छ । वाचन मात्रै राम्रो भएर कविता राम्रो हुँदैन । वास्तवमा यो देश किसानहरूको देश हो । हामी अक्षरको खेती गर्ने किसान हौँ । हाम्रो सीमित बारी वा खेत हुँदैन । हामीले यहाँ रोपेको खेतको बाली युरोप अमेरिकामा गएर उठाउँदै आएका छौं । अक्षरको खेती भनेको त्यस्तो हो !”

 ० ० ०
२१ वर्षको उमेरदेखि विद्यार्थीलाई पढाउन सुरु गरेका कवि तुलसी दिवशका जीवनमा अनगिन्ती आरोहअवरोह सिर्जना भए । हुन त उनी आफूले सोचेको काम गर्दै हिँडे । चाहेको काममा उनको सक्रियता रह्यो पनि । तथापि, सोचेजस्तो नहुने उनी बताउँछन् । उनले साइन्सको पढाईलाई पूर्णता दिन सकेनन् । चिकित्सक बन्ने सोचाइ त्यागे । चित्रकार हुन खोजे, त्यो पनि पूरा भएन । 

यसरी एउटा सोच्यो अर्को भइदिन्छ ! र यस्तै कतिपय प्रसंगले पीडा पनि दिइरहेको हुन्छ । ‘जिन्दगी हामीले सोचेकोभन्दा नसोचेको ज्यादा हुँदोरहेछ । हामीले खोजेकोभन्दा नखोजेको ज्यादा हुँदोरहेछ !’, भन्छन् उनी । उनका अनुसार हामी भन्नलाई त आफ्नो जिन्दगी आफैं बनाउँ भन्छौं । तर त्यो नहुन सक्छ । 

२०६४ सालमा उनले दुखद् घटना व्यहोर्नु पर्‍यो । उनले आफ्नै परिवारभित्रका भाइ, बहिनीसहित परिवारका पाँच जना सदस्य गुमाउनु पर्‍यो । यो दुर्घटनाले पीडा र दुःख दिनु स्वाभाविक थियो ।

कवि तुलसी दिवशले गम्भीर भएर भनेँ, “हरेक मानिसले आफ्नो उद्वेग र भावनाको व्यवस्थापन गर्नु अत्यन्त आवश्यक छ । सायद त्यो व्यवस्थापन नगरेको भए आज म यो अवस्थामा रहने थिइनँ ! 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro