नेपाली फिल्म मेकरको एउटै गुनासो छ– सरकारले सहयोग गरेन । के गरेन ? उनीहरू भन्छन्, पहिलो गुनासो : कमर्सियललाई परेन तर मौलिक विषय उठान गरेका चलचित्रलाई सरकारले सहयोग गरिदिनुपर्यो ।
दोस्रो गुनासो : सरकारले नेपाली चलचित्रका लागि विदेशी बजार खोजेन । कला–साहित्यलाई सिर्जना होइन मनोरञ्जनका रूपमा मात्रै लियो ।
चलचित्रकर्मीले भनेजस्तो सरकारले चलचित्रलाई सहयोग गरेको छैन । विदेशमा बजार खोजेको छैन । तर पनि केही काम भने अवश्य गरेको छ । चलचित्र विकास बोर्ड छ । उसलाई सीमित भए पनि चलचित्र क्षेत्रका लागि भनेर बजेट विनियोजन गरिरहेको छ । चालु आवको बजेटमै काठमाडौं वा आसपासमा इनडोर स्टुडियो बनाउन बजेट विनियोजन गरेको छ ।
अर्कोथरी मेकर छन्, जो नेपाली चलचित्रले नेपालमै बजार बनाउन सकेको छैन भने विदेशमा बजार भएन भन्नु आफैंमा ‘वाहियात’ हो । नेपाली दर्शकले नै नेपाली चलचित्र मन नपराएर बलिउड र हलिउडका चलचित्रलाई पहिलो रोजाइमा राखिरहेका बेला विदेशमा बजार खोजिएन भन्नु र यसमा सरकारलाई दोष दिन खोज्नु आफैंमा गलत हो ।
गत साता काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा नेपाली मेकरले आफ्ना चलचित्रले अन्तर्राष्ट्रिय प्लेटफर्म नपाएको गुनासो गरे । उनीहरूले योपटक गुनासो सरकारसँग नभएर चलचित्रका अन्तर्राष्ट्रिय प्लेटफर्मका प्रतिनिधिहरूसँग गरेका थिए । हलिउडको डिज्ने स्टुडियोमा एनिमेटरका रूपमा काम गरेका किरणभक्त जोशी, अमेरिकी फिल्म मेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डी फ्रोबिल र अस्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलनहफसामु नेपाली चलचित्रको बजार नपाएको बताएका थिए ।
नेटफ्लिक्स, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभका रूपमा काम गरिसकेका डेमियन डी फ्रोबिले बजारभन्दा विषय ठूलो भए बताए । नेपाली फिल्म मेकर बजार भएन भनेर गुनासो गरिरहेका बेला उनको अनपेक्षित जवाफ थियो । डेमियन डी फ्रोबिले बिषय ठूलो भएको मात्रै बताएन अगाडि थपे, “यदि तपाईंसँग विश्वले हेर्न चाहिरहेको विषय छ भने तपाईंहरूको फिल्ममा पनि नेटफ्लिक्स वा अमेजनले चासो लिन्छ । उनीहरूले तोकेको क्वालिटी पुगेको हुनुप¥यो ।”
डेमियनको तर्कमा हो मा हो मिलाए ज्याक स्टेन्जले पनि । उनको जोड थियो मौलिक कथामा । नेपालकै कला, संस्कृति र साहित्यलाई नेपाली चलचित्रले समेट्न सके विदेशीको नजरमा पुग्नेमा उनको जोड थियो । नेपाल भौगोलिक र सांस्कृतिक रूपमा सुन्दर रहेकाले नेपाली फिल्म मेकरले यहींका कथा भन्न बल गर्नुपर्ने उनले बताएका थिए ।
“विश्वमा नेपालीको पहिचान गोर्खालीका रूपमा छ । विश्व सिनेमामा नेपालीको यो कथामा धेरैलाई रुचि हुन सक्छ,” ज्याकले थपे, “वा नेपालको शेर्पाले अमेरिकाको हिमाल चढ्न गरेको संघर्ष पनि धेरैका लागि चखिलो हुनसक्छ । विश्व सिनेमालाई लोभ्याउन नेपालले यस्ता विषयमा पनि फिल्म बनाउन सक्छ ।”
उनीहरूले अहिले सक्रिय रहेका स्ट्रिमिङ साइटको प्राथमिकता राम्रा चलचित्रमा रहेको भन्दै नेपालले पनि राम्रो चलचित्र बनाए त्यस्ता ठाउँमा स्थान पाउने उनीहरू ढुक्क सुनिए ।
“तपाईंलाई आफ्नो कथामा विश्वास छ भने उनीहरू आउने बाटो नकुर्नुस् । उनीहरूको ढोका ढकढक्याउन जानुस्,” सुझाव थियो । अर्थ थियो, कोही नेपाली मेकरले राम्रो चलचित्र बनाएको छ । यो फिल्म नेटफ्लिक्स वा अमेजनले लिन्छ भन्ने आत्मविश्वास छ भने खबर गर्नुस् । साँच्चै राम्रो छ भने निराश हुनु पर्दैन ।
चलचित्र राम्रो बनाऊ, राम्रो चलचित्रले बजार आफैं खोज्छ भन्ने उनीहरूको जवाफ पाएका नेपाली फिल्म मेकरको अपेक्षा थियो, उनीहरूले नेपाली चलचित्र बनाउन केही सहयोगको प्रतिबद्धता पो जनाउँछन् कि ! तर उनीहरूले उल्टै भने– निर्माण गर्न तयार छ भने हामी पनि तयार छौं (निर्देशन गर्न) । फ्लोरमा रहेका निर्देशक तथा निर्माताहरू गुनगुन सुनियो– कथा र निर्देशकीय क्षमता त हामीसँगै छ नि ग्रान्ट (विदेशी लगानी) पो चाहिएको हो त ।
निर्देशक दीपेन्द्र के. खनाल नेपालमा कथा र त्यसलाई भन्न सक्ने निर्देशकीय क्षमता भएका निर्देशकको अभाव नरहेको, मात्रै लगानीको खाँचो रहेको बताउँछन् । उनी आफूले बनाउन खोजेको हिँडेर अमेरिका जाने चलचित्रको प्रोडक्सन डिजाइन हलिउड अथवा बलिउडजस्तो भए ओस्कार जित्ने चलचित्र बनाउने दाबी गर्छन् ।
“हामीसँग कथा अथाह छन् । जहाँ अभाव, गरिबी, पीडा, द्वन्द्व हुन्छ त्यहाँ कथाको चाङ हुन्छ । त्यो कथा भन्न सक्ने क्षमतावान् निर्देशक पनि हुनुहुन्छ । तर त्यो कथा भन्ने निर्देशकलाई पूर्वाधार छैन ।
अन्तर्राष्ट्रिय बजारमा जान क्वालिटीको चलचित्र चाहिन्छ,” निर्देशक खनाल भन्छन्, “तर लगानी गर्ने निर्माता नै छैन । जति पनि निर्माता आउनुहुन्छ नेपाली बजारकै लागि आउनुहुन्छ । चार करोड लाग्ने ठाउँमा १० करोड लगाऔं । अन्तर्राष्ट्रिय बजारमा जाऔं भन्ने भिजन भएको निर्माता मैले आजसम्म देखेको छैन । फिल्म मेकिङ भनेको प्यासन हो, लगानी गर्नुपर्छ । मकिङको हिसाबले ठूलो हुनुपर्ने बाध्यता आइसक्यो, तर बजार जहाँको त्यहीँ छ । अनि कसरी बन्छ राम्रो चलचित्र ।”
अहिले हलमा चलचित्र हल रिलिज गर्नुपर्ने बाध्यता छैन । हल रिटर्न्सभन्दा राम्रो आम्दानीका स्रोत डिजिटल प्लेटफर्म बनिसके । नेटफ्लिक्स यसको एउटा उदाहरण हो । फेस्टिभलमा नेटफ्लिक्समा पुग्न हामीले के गर्नुपर्छ भन्ने नेपाली मेकरको प्रश्न थियो । डिजिटल प्लेटफर्मकै लागि भनेर चलचित्र बन्न थालिसके । एकैपटक विश्वभरका दर्शकसामु पुगिने र पैसा पनि निरन्तर आउने भएपछि यसमा नेपाली मेकरको पनि आँखा परेको हो ।
“चलचित्र भिजुअल ल्याङग्वेजको माध्यम हो । साउन्ड म्युट गरे पनि दृश्यबाटै दर्शकले बुझ्ने चलचित्र हुनुपर्छ । प्यारासाइट यसको उदाहरण हो,” दीपेन्द्र भन्छन्, “सबटाइटल मुभीले पनि ओस्कार जित्यो । यसबाट हामीले पनि सिक्नुपर्छ ।”
प्यारासाइटले सबटाइटल मुभीले पनि ओस्कार अवार्ड जित्नसक्नै हैसियत राख्दो रहेछ भन्ने उदाहरण पेस ग¥यो । यसलाई धेरैले अबको वर्षौंसम्म ‘मास्टर एक्जाम्पल’का रूपमा पेस गरिरहनेछन् ।
तर, यो प्यारासाइटको उदाहरण दिइरहँदा धेरैले भने दक्षिण कोरियाली सरकारले चलचित्रमा गरेको लगानी पनि भुल्नु हुन्न । हो पनि । जुन देशमा जुन क्षेत्रमा सरकारका चासो, सहयोग र लगानी हुँदैन त्यो क्षेत्रको अपेक्षित विकास पनि हुँदैन । हो पनि । नेपालमा पनि सानै भए पनि केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेका चलचित्रका निर्देशकहरू प्रायः फिल्म स्कुल पढेका÷पढाउने निर्देशक छन् । ‘कालो पोथी’ निर्देशक मीन भाम, ‘डाइङ क्यान्डल’ निर्देशक नरेशकुमार केसी फिल्म कलेज पढेका हुन् । ‘बुलबुल’ निर्देशक विनोद पौडेल फिल्म कलेजका सञ्चालक तथा शिक्षक हुन् । उनीहरूका फिल्मले सानातिना फेस्टिबलको अनुभव सँगालेका छन् ।
चलचित्र दृश्य भाषाको माध्यम हो । चलचित्र पढ्नेले यसलाई अझै विस्तृतमा बुझेका हुन्छन् भन्ने आम बुझाइ हो । तर फिल्म पढेका व्यक्तिले नै बनाइरहेका कतिपय चलचित्रमा दृश्य भन्दा डाइलगको सहयोग लिइरहेका छन् । फिल्म पढिरहेका मात्रै होइन अनुभवी र अपेक्षित निर्देशकले पनि डाइलगकै प्रयोगमा जोड दिइरहेका छन् । संस्कृतिमा विविधता छ । हाम्रा आफ्नै सयौं धुन छन् । तर अझै पनि हामी बलिउड र हलिउडका साउन्ड क्लिप्समै भर परिरहेका छौं । अनि कसरी बन्छ राम्रो चलचित्र ? सरकारले अपेक्षित सहयोग गरेको छैन । दुईमत छैन । तर, हामी आफैं पनि इमानदार प्रयास किन गर्दैनौं ? चलचित्र प्यासन हो भने वर्षमा दुईवटा फिल्म निर्देशन र चारवटामा अभिनय गर्न किन हतारिन्छौं । चलचित्र कला हो भने कलाकै रूपमा बुझौं । कला राम्रो भयो भने त्यसमै बिजनेस हुन्छ भन्ने भुल्नु भएन । चलचित्र फगत ‘सटकट मनी’को सजिलो बाटो मात्रै हो भन्ने नबुझौं ।