site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘षडयन्त्रको तानाबाना’बाट जितिरहेका ओली, हारिरहेको लोकतन्त्र : अब फुटाइने पालो कसको ?
SkywellSkywell

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले २०४८–५१ मा स्थापित गरेको एउटा संसदीय अभ्यास हो – सरकार सत्तापक्षको, सदन प्रतिपक्षको ।

एकजना मात्रै पनि सांसद सदनमै उभिए भने उनको माग सम्बोधन गरेरमात्रै कामकारबाही अघि बढाउनुपर्छ भन्ने मान्यता उनको थियो । व्यवहारमै लागु गरे पनि । 

अझ प्रमुख प्रतिपक्ष त ‘वेटिङ इन गभर्मेन्ट’ भएकाले उसले गर्ने विरोधको आवाज सरकारले सबैभन्दा चनाखो भएर सुन्नुपर्छ र माग सम्बोधन भएपछि मात्रै सदन चलाउनुपर्छ भन्ने उनको मान्यता थियो ।

KFC Island Ad
NIC Asia

पूर्वसभामुख ढुंगानाको उक्त मान्यताको सबैभन्दा बढी फाइदा उठाउने दल हो नेकपा (एमाले) । 

उनी सभामुख भएका बेला प्रमुख प्रतिपक्षमा रहेको एमालेले सरकारलाई सबैभन्दा बढी महत्त्वपूर्ण विषयमा रोस्ट्रममा उभ्याएर जवाफ दिन बाध्यमात्रै पारेन, सरकारका कतिपय निर्णय फिर्ता लिनुपर्ने अवस्थामा पुर्‍यायो ।

Royal Enfield Island Ad

नेपालको संसदीय इतिहास साक्षी छ – सरकारलाई बाध्य पार्न र आफ्ना माग पूरा गराउन सबैभन्दा बढी समय संसद् अवरुद्ध गर्ने दलमा एमाले नै पर्छ ।  प्रतिपक्षको एमाले कस्तो हुन्छ भन्ने उसले देखाइसकेको छ । यतिखेर एमाले सरकारमा पनि छ, सदनको नेतृत्वमा अर्थात् सभामुखमा पनि उसकै प्रतिनिधि छन् ।

वर्तमान सभामुख देवराज घिमिरे ढुंगानाभन्दा ठीक उल्टो बाटोमा छन् । उनी एमालेको छायाबाट बाहिर निस्कनै सकेका छैनन् । पार्टीका निकायबाट राजीनामा त दिए तर व्यवहारमा बाहिर निस्केनन् । 

कतिसम्म भने प्रधानमन्त्री बोलिसकेपछि जवाफ दिन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समय पनि दिए । अघिल्लो गठबन्धनका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले बोली सकेपछि प्रतिवाद गर्न ओलीलाई समय दिँदा सभामुखले चर्को आलोचना खपेका थिए ।

प्रमुख प्रतिपक्षले सदन अवरोध गरिरहँदा सत्तापक्षका नेताले आसनबाट ‘आँखा झिम्क्याएकै भरमा’मा सदनको कामकारबाही लगातार अघि बढाइरहे । उनले वेलमा के भइरहेको छ भन्ने वास्तै गरेनन् । 

पछिल्ला दिनमा त प्रतिपक्षको आवाज पनि दबाइदिए । बोल्नसम्म दिएनन् । सदन पनि सत्तापक्षकै कब्जामा राख्न सभामुख षडयन्त्रमूलक भूमिकामा प्रस्तुत भए आफ्नो ओज कमजोर पार्दै । सभामुखको भूमिका के हुने ? राज्यको महत्त्वपूर्ण अंग संसद्को शक्ति कति हुन्छ ? भन्ने उनले आकलन पनि गर्न सकेनन् ।

संसद्लाई ब्यारेकजस्तो बनाएर विरोधका बीच ‘इतिहासमा दर्ज हुने गरी’ कलंक बोक्दै विश्वासको मत लिनुपर्‍यो  प्रधानमन्त्री दाहालले । प्रधानमन्त्रीले भन्दा पनि ओलीले चाहेकै यही थियो । आवरणमा त प्रधानमन्त्री थिए पर्दा पछाडिबाट खेल खेलिरहेका थिए केपी ओलीले ।

गृहमन्त्रीलाई बोल्न दिइएको छ तर संसदीय समिति माग गरिरहेको कांग्रेसको बोली बन्द गराइँदैछ सदनमा । सदन चलेलगत्तै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्नुपर्ने कांग्रेसको नियमित नियति नै बनेको छ । कांग्रेस यतिबेला सदनको प्रमुख प्रतिपक्ष त हो नै सबैभन्दा ठूलो दल पनि हो । 

विश्वासको मत लिन हतारो केही थिएन थियो त डरमात्रै । अर्थात्, प्रधानमन्त्रीलाई देखाइएको थियो विश्वासको मत प्राप्त हुन नसक्ने डर । संविधानअनुसार कुनै पनि सरकारमा रहेको राजनीतिक दलले समर्थन फिर्ता लिए एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

सरकारमा सहभागी उपेन्द्र यादव विदेश भएको मौका छोपी उनको पार्टीलाई काखमा राखेर सरकारले नै कोखामा छुरी हानी दिएपछि बाहिरिनुपरेको थियो । त्यसपछि सरकारबाटै अन्याय भएको भन्दै हारगुहारका लागि यादव सर्वोच्च अदालत गुहार्न पुगे । सर्वोच्चमा रिट पेसीमा चढेकै समयमा आदेशले विश्वासको मत रोकिन सक्ने डर प्रधानमन्त्रीमा देखाइयो ।

विश्वासको मत लिन ढिला गर्ने हो भने सर्वोच्च अदालतबाट आउने आदेशले सरकार तलमाथि पर्नसक्ने भयमा प्रधानमन्त्रीलाई पारियो ।

राजनीतिलाई नै भद्रगोल बनाउँदै गोल हान्न माहिर खेलाडी हुन् केपी शर्मा ओली । लोकतन्त्रका लागि जतिसुकै खतरा होस् उनी आफ्नो शकुनी खेल कौशल प्रदर्शन गर्न रुचाउँछन् उनी । प्रधानमन्त्रीलाई वाम एकताको कुरा गरेर होस् वा गृहमन्त्री रवि लामिछानेका कमजोरीलाई तत्काल ढाकछोप गरिदिएर अलमल्याउने र पछि उल्टो पारिदिने योजना देखिन्छ उनको ।

यसैमा छ पनि उनको राजनीतिक भविष्य । 

किन आइरहेको छ यस्तो अवस्था ?  कस्तो थियो विगत ?

पहिले निकट अतीतलाई नै हेरौँ 

गत २०७९ को निर्वाचनपछि संसदीय दलको नेता चयन नहुन्जेलसम्म दाहाललाई पहिलोपल्ट सरकारको नेतृत्व गर्न दिन शेरबहादुर देउवा तयार थिए ।

तर गगन थापालाई संसदीय दलमा चुनाव हराएको भोलिपल्ट दाहाललाई देउवाले भने– पार्टीमा प्रेसर आयो । पहिला म सरकारको नेतृत्व गर्छु । त्यसपछि तपाईँलाई हस्तान्तरण गरौँला ।

विसं २०७९ पुसको पहिलो साता दुई नेताबीच कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद बढ्दै थियो । 

अन्ततः एकले अर्कालाई गलाउने रणनीति अख्तियार गरे । दुवैतर्फका नेताले एमाले अध्यक्ष केपी शर्मा ओली र उनको समूहबीच पनि कुराकानी गरिरहेका थिए । ओलीले दुवैलाई आश्वासन दिएका थिए । त्यसैले देउवा र दाहालले एक अर्कालाई गलाउने रणनीति अन्तिमसम्म पनि छाडेनन् । 

विसं २०७९ पुस १० गते बालुवाटारमा देउवासँग सहमति नभएपछि निस्किएका दाहाल सोझै बालकोट गए । नयाँ गठबन्धन बन्यो, बालुवाटार आउने भनी बाचा गरेका ओलीले पनि धोका दिए, देउवा हेरेकोहेर्‍यै भए ।

दाहालको त्यो निर्णयले देउवा ‘सक्ड’ भए । ओली र दाहालबीच गठबन्धन हुन्छ भन्ने कल्पना पनि देउवाले गरेका थिएनन् । चुनावी गठबन्धन तोडियो, बालकोटमा नयाँ गठबन्धन बन्यो । तर, त्यो गठबन्धन ओलीको दबाब र दाहालको अस्थिर मानसिकताका कारण धेरै टिक्न सकेन ।

दाहाल नेतृत्वमा सहभागी नारायणकाजी श्रेष्ठले बिहानै बेलुका कांग्रेससँग कुरा गर्नुपर्‍यो  – ओलीको दबाब झेल्न सकिँदैन भनेको भन्यै गरेको प्रचण्डले गठबन्धन फेरेलगत्तैको भेटमा कांग्रेसका नेताहरूलाई सुनाएका थिए ।

नयाँ गठबन्धन बनेपछि देउवा र दाहालबीचको सम्बन्ध यस्तो बन्यो कि दुई पार्टीमा बाँकी नेताहरू नै एकअर्काले भुल्न थाले । पारिवारिक सम्बन्ध पनि त्यस्तै बन्यो । प्रचण्डपुत्री गंगा दाहाल र देउवा पत्नी आरजु राणाबीचको सम्बन्ध पनि उस्तै देखिन थाल्यो । 

प्रचण्डले कांग्रेसकै नेताहरूको सल्लाह मान्न थाले । गगन थापालगायतका नेताहरूसँग दैनिक भेट्न थाले । सरकारलाई कसरी अघि बढाउने भन्ने विषयमा राम्रै छलफल चलिरहेको हुन्थ्यो ।

थापासहितको टिमले ‘देखिने सरकार’ को योजना बनाए, प्रधानमन्त्री दाहाल बिहान १० बजे नै सिंहदरबार प्रवेश गर्न थाले । दिनभर सिंहरदरबारमा बसेर काम गर्न थाले । देउवालाई इतर समूह प्रचण्डसँग नजिक भएको पनि मन परेको थिएन भने अर्कोतिर नक्कली भुटानी शरणार्थी प्रकरण आफ्नै घरभित्र प्रवेश गर्न सक्ने भय थियो । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन देउवाले पटकपटक प्रधानमन्त्रीलाई दबाब दिए ।  दबाबको सुरुवात त्यहाँबाट गर्न थाले देउवाले, त्यो स्टक एक्सचेन्जसम्म पुग्यो । त्यसपछि प्रचण्डले बाटो परिवर्तनको योजना बनाए । ती त केवल बहाना थिए योजना थियो त पाँचै वर्ष सरकारको नेतृत्व गर्ने ! उनी जसरी पनि पाँचै वर्ष सरकारको नेतृत्व गर्न चाहन्छन् ।

घटनाक्रमलाई ओलीले निकै नजिकबाट नियालिरहेका थिए । त्यसैबीचमा देउवालाई भेट्ने अनेकौं प्रयास गरे । तर, आउन लागेको सत्ताको नेतृत्व फुत्किन सक्ने डरले देउवाले ओलीको आग्रह बेवास्ता गरे, भेट्नै मानेनन् ।

पाँचैवर्ष सरकारको नेतृत्व गर्ने योजना बनाएका दाहालले शान्ति प्रक्रियाका बाँकी काम पनि टुंगो लगाउन प्रतिपक्षको सहयोग आवश्यक पर्ने कारण देखाउँदै ओलीलाई लगातार सिंहदरबार बोलाउन थाले ।
एकदुई भेटमै दाहालले ओलीको ‘नाडी छामिसकेका’ थिए । 

प्रचण्डसँगको दुई तीनवटा भेटपछि ओलीले नै भन्न थाले -  “कमरेड ! यसैगरी चलाउने हो सरकार ?”

ओलीले ‘नेपालमा कम्युनिस्ट बलियो हुनेगरी गठबन्धन नबनाउने हो भने कम्युनिस्ट आन्दोलन पश्चिम बंगालको जस्तो हुन्छ’ भन्दै प्रचण्डलाई उक्साउन थाले । 

जतिबेला देउवाले स्टकको लाइसेन्स नदिए गठबन्धन नै परिवर्तन गरिदिन्छु भनेर दाहाललाई दबाब दिइरहेका थिए, त्यसबेला ओलीको ‘इन्ट्री’ भएको थियो 'टीआरसी' टुङ्ग्याउने नाममा ।

दाहाललाई कांग्रेससँग सम्बन्ध तोड्नु थियो । त्यसैले कहिले मन्त्री परिवर्तनको कुरा गरे त कहिले मन्त्रीले असहयोग गरेको ।

प्रचण्ड अति दोधारमा थिए । दुवैतिर उत्तिकै डर थियो र सम्भावना पनि । तर, बिस्तारै ओली र लामिछानेतिर ढल्किँदै गए अनि देउवा र कांग्रेसलाई पेल्दै गए ।

जानकारहरु भन्छन् – अन्तर्राष्ट्रिय शक्तिहरूको चाहना पनि यस्तै थियो ।

सबै कुरा मिलिसकेपछि दाहाल गठबन्धनको काँध फेर्ने स्थितिमा पुगे । कांग्रेसलाई सरकारबाट फालिदिए, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भित्र्याए । तत्काल राष्ट्रिय सभाको अध्यक्ष, महत्त्वपूर्ण मन्त्रालय र एक वर्षपछि सरकारको नेतृत्व देखिरहेको कांग्रेस ‘घाइते’ भयो दाहालको ‘पार्टनर’ फेर्ने निर्णयले ।

दाहालको उक्त निर्णयमा केपी ओलीले साथ दिए - ‘एमालेले केही माग गर्दैन, जे दिए पनि हुन्छ’ शैलीमा । किनभने ओलीले निकै परसम्मको राजनीति हेरेका थिए । बाहिरै रहे पनि सत्ता त आफ्नो हातमा थियो नै अब सरकार पनि आयो ।

राज्यका अंग प्रत्यंगमा आफ्ना मान्छेको नियुक्ति र सरुवामार्फत् बलियोगरी कब्जा जमाएका ओलीलाई अब सरकार पनि आफ्नै भयो । सामान्य खालका मन्त्रालय लिए, मागेका जति माओवादी र रास्वपालाई दिए । उनीहरु पनि दंग !

धेरैलाई त्यसबेला लागेको थियो– ओलीले अब माओवादीलाई धोका दिएर कांग्रेससँग सहकार्य गर्दैछन् । तर, कांग्रेससँग सहकार्य गर्न लागेको आरोप लगाउँदै उपेन्द्र यादवको पार्टी नै फुटाइदिन सरकार तयार भयो । 

उपेन्द्र यादवलाई काखमा राखेर घाँटी रेटिदिन तयार भए ओली र दाहाल, साक्षीको रुपमा रहे रवि लामिछाने ।

ओली, दाहाल र लामिछाने सिंहदरबारमा लामो बैठक बसेको भोलिपल्टै जसपा नेपालको एउटा समूह निर्वाचन आयोग पुग्यो, २० घन्टा नहुँदै नयाँ दलको मान्यता पनि पायो । न चाहियो रुजु, न चाहियो सनाखत र कानुन ! 

त्यसपछि माधव नेपाललाई घुमाउरो तरिकाले चेतावनी दिइयो– अब सरकारको विरोध गरे उपेन्द्र यादव बनाइदिन्छौँ शैलीमा ।

चर्को विरोधमा रहेका नेपालको स्वर सुक्यो, आत्तिए पनि । त्यही मौकामा सदनमा रहेको राजनीतिक दलसम्बन्धी विधेयक सरकारले फिर्ता लियो ।

अध्यादेश ल्याएर अर्को पार्टी या नेता रेट्न तयार भएर बसेको छ सरकार । कांग्रेसले विरोध गरेको बहाना छँदैछ, जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता पनि छ । कांग्रेसले चल्न दिएन भन्ने बहानामा संसद्को अधिवेशन अन्त्य हुनेछ । अध्यादेशबाट बजेट र सरकारको योजनाअनुसारका कानुन आउनेछन् । 

त्यसपछि काखैमा रहेका दल रेटिने हुन् कि बाहिर रहेका त्यो भने समयले बताउँदै जानेछ ।  षडयन्त्रको यो तानाबाना यतिमै सकिनेछैन । 

पछिल्ला राजनीतिक परिघटना पनि आकस्मिक होइनन् । यी त योजनाबद्ध तरिकाले गरिएका निर्णय हुन् ।

सरसर्ती हेर्दा राजनीतिमा प्रधानमन्त्री दाहालले जितेका छन् । किनभने विश्वासको मत पाए, उनलाई लागेको छ एमालेले धोका दिएको दिन कांग्रेस आइहाल्छ । 

गृहमन्त्री लामिछानेले पनि जिते । उनले लामो समयदेखि माग गर्दै आए सदनको रोस्ट्रममा उभिएर राख्न पाए । भलै रोस्ट्रमलाई कसरी प्रयोग गरे संसदीय इतिहासले समीक्षा गर्ला । गृहमन्त्रीको हैसियतमा के धारणा राख्ने के नराख्ने भन्ने बिर्सिएर भिडियो फेरि ‘रि प्ले’ गरेर सुन्ने हो भने उनैलाई लाज लाग्न सक्छ ।

पाँचैवर्ष सरकारको नेतृत्वको सपना देखेका दाहाल यतिबेला ओलीको सहयोग पाएको देखेर दंग पनि छन् । लामिछानेले पनि काखमा लुटपुटिन पाउँदा ‘भोलि देखेका’ छैनन् ।

जसपा नेपालबाट पुराना एमालेहरूलाई छुट्टयाइएको छ । माधव नेपाललाई एक्ल्याएर नेकपा (एस)को कार्यालयलाई ‘भूत बंगला’ बनाइदिने त सार्वजनिक अभिव्यक्ति नै आएको छ ।

भोलि रेटिने पालो नेकपा (एस)को हुने सम्भावना नै धेरै छ । सरकारबाहिर रहेका दल पनि त हुन सक्छन् !

अब नेकपा (एस)का जतिजना सांसद तयार हुन्छन् सोहीअनुसार अध्यादेश नआउला भन्न कसरी सकिन्छ र ? मिल्ने जति सबैलाई मिलाएर ठूलो पार्टी बनाउने योजना जो छ ओलीको ।

ओली त्यसबेलासम्म पर्खनेछन् जतिबेलासम्म प्रचण्ड र कांग्रेसबीच फेरि नजिक पनि पुग्नै नसक्ने गरी दूरी बढोस् ।  त्यसैको पूर्वाभ्यास हो सोमवार विश्वासको मत लिने बेला संसद्मा देखिएको दृश्य र वेलमा विरोध गरिरहेका कांग्रेस सांसद हप्काउन ओली आफैँ पुग्ने अवस्था । 

संसदीय अभ्यासको मर्यादालाई धूलिसात् पार्न चाहन्छन् ओली । राजनीति धमिल्याएर संसद् विघटन गर्ने अवस्था आओस् र हिजो आफूले गरेको विघटन सही थियो भनी त्यसको औचित्य साबित होस् भन्ने चाहना आज पनि उनीमा उत्कट छ ।

लामिछानेलाई पनि अहिले संसदीय समिति गठनमा अलमल्याएर ‘डेमोक्रेटिक अलायन्स’बाट टाढै राख्न चाहन्छन् ।  लामिछाने र रास्वपाका सांसदले के बुझेका छैनन् भने केपी ओलीले चाहेको १० मिनेटमै छानबिन समिति बन्न सक्छ ।

ओली त्यसबेलामात्रै तयार हुनेछन् वेलमा जति नै कराए पनि माग पूरा नभएर कांग्रेस थकित भएर बालकोट धाउनेछ । ओलीको दाउ त्यसबेलासम्म रहनेछ थकित कांग्रेसले भनोस् – अब सरकारको नेतृत्व एमालेले नै लिए हुन्छ हामी सहयोग गर्छौँ । 

त्यो नहुने अवस्थामा ठूलो दल बन्ने अर्को योजना पनि उनीसँगै छ । पुराना एमालेलाई पार्टीमा भित्र्याएर संविधानको धारा ७६(३) मा जाने र सरकारको नेतृत्व गर्ने ओलीको रणनीतिको कति जानकार होलान् दाहाल र लामिछाने !

यस्तो योजना नहुँदो हो त उनी प्रधानमन्त्रीलाई भन्न सक्थे – सदनको अवरोध नहट्दासम्म विश्वासको मत नलिनूस् । प्रमुख प्रतिपक्षलाई पेलेर जाँदा कस्तो हुन्छ भन्ने उनीमा अनुभव नभएको होइन । त्यो पीडा कांग्रेसले पनि महसुस गरोस् भन्ने चाहना छ । 

प्रधानमन्त्रीलाई कांग्रेससँग जति टाढा राख्न सक्यो त्यति फाइदा छ भने रविलाई 'डेमोक्रेटिक अलाइन्स'मा रोक्न सकिँदा ६० अर्ब बढीको चलखेल भएको अनुमान गरिएको गिरीबन्धुसहितका प्रकरण पनि सेलाउनेछन् ।

सरकारबाट अकस्मात बाहिरिँदा घाइते अवस्थामा पुगेको कांग्रेसलाई त्यही सहकारी प्रकरणले लटपट्याओस् ता कि ऊ अन्य प्रकरणमा प्रवेश गर्न पनि नपाओस् ओलीको अर्को चाहना हुनसक्छ ।

अहिले सदनमा बोल्न नपाएको अवस्था होस् कि सरकारको पेलानमा परेको अवस्था यसले सत्तापक्षलाई कमजोर त बनाएको छ नै कांग्रेसको आन्तरिक विवादलाई मत्थर पारेको छ । जनताका आवाज कसरी उठाउने भन्ने बिर्सिइसकेको कांग्रेसले सबक पनि सिकेको छ ।

संसदीय छानबिन समिति बनाउन जति ढिला हुनेछ सहकारी पीडितहरू पनि विपक्षसँगै संगठित हुँदै जानेछन् भने मानिसको मन मस्तिष्कमा गृहमन्त्री लामिछाने ‘सहकारी ठग’ नै रहेछन् भन्ने स्थापित हुनेछ । 

समिति छिट्टै बने लामिछानेमाथि नैतिक संकट देखा पर्नेछ, त्यस्तो बेलामा सरकार अल्पमतमा पर्ने अर्को भय छ । 

आफैमाथि अनुसन्धान गर्न बनेको संसदीय छानबिन समितिका अगाडि सरकारमा कसरी बस्नू ? पुराना दलको व्यवहारबाट वाक्क भएका जनताले दिएको मत हो नयाँ अर्थात् रास्वपालाई । 

यस्तो बेलामा रास्वपाले भन्न सक्नुपर्थ्यो – जनतालाई पीडा दिएर हामी सरकारमा बस्नुको औचित्य के ? छानबिनका लागि संसदीय समिति होइन न्यायिक आयोग नै बनाउँदा पनि फरक पर्ने छैन । तर, नयाँले पनि व्यवहारमै देखाए –  ‘हामी पनि उस्तै त हो नि ब्रो’ !

यी सबै घटना पटाक्षेप हुँदा पनि जितिरहने एकमात्रै खेलाडी हुन् ओली । बाँकीले त हार्ने दिनमा मात्रै कांग्रेसले जस्तै चेत पाउनेछन् ! तर, त्यसबेलासम्म लोकतन्त्रका अवयवहरू भने निकै शिथिल भइसक्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro