site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धुवाँको बाटो
Sarbottam CementSarbottam Cement

सुदनकुमार ओली 
केवरीबाट दमाईको एक हुल आइपुग्यो । एकै छिनपछि थुनीकोटबाट बाहुन बाजे पनि आइपुगे । यसअघि नै गाउँका गन्नेमान्नेसहितका व्यक्तिहरुको उपस्थिति हाम्रो घरको आँगनमा भइसकेको थियो । 

घरभन्दा अलि परको थुम्कोमा उभिएर हापल्जा बाजे अझै पनि चिच्याउँदै थिए– ‘सेलाजुका जेठाबा रहनु भएन, सबैजना आइजौ हो...।’ 

र, त्यै आवाजले मलाई ब्युँझायो । म आँखा मिच्दै उठेँ । म अर्धनिद्रामै थिएँ । अक्सर त म बिहानै ब्युँझिन्छु । आज ढिलो भएछ । घरको दलानमा धुवाँसिएर बसेको त्यो पुरानो भित्ते घडीमा मेरो नजर पोखिँदा मोटोवाला सुइ सात अङ्कमा गएर अडिएको थियो । र, मेरा आँखा भने घरको आँगनमा अडिएको थियो । आज अचानक मेरो घरको आँगनमा यति धेरै मान्छे किन छन् ? कुलपूजा पनि अस्ति भर्खरै सकिएको हो । दाइँ सकिएर आँगनको माथिल्लो बारीमा टौवा ठडिएको अस्ति भर्खरै हो । कसैको बिहेवारीको कुरा पनि मैले त सुनेको थिएन । फेरि किन धैरै मान्छे हाम्रो घरको आँगनमा ? जिज्ञासु बन्दै म घरको मझेरीबाट आँगनमा निस्कन्छु । र, मान्छेका अनुहारहरु हेर्छु । निरास छन् सब । आँगनमा मैले बुराँसेबाट आएका कान्छा बालाई देखेँ, माइला बालाई देखेँ र हापल्जाका काकाहरुलाई पनि देखेँ । त्यसैगरी थानेकोटका सदस्य ठूलाबा र अरु धेरै छिमेकीलाई पनि देखेँ । तर प्रत्येक दिन म उठिसकेपछि मैले पहिलो दर्शन पाउने मेरै बाजेलाई भने देखिनँ । 

Prabhu Bank
Agni Group
NIC Asia

म माइलादाइको नजिकै गएँ र सोधेँ– बाजे खै त ? केही बोलेनन् । बरु उल्टै घोप्टो परी बसे । म भीडबाट घुस्रिँदै अगाडि पुगेँ । बाजे त आगँनमा पो सुतिरहेका रहेछन् । तर बाजे त सधैं चुलोपारिको खाटमा सुत्नुहुन्थ्यो । आज किन आँगनमा सुतेछन् ? मेरो बालमस्तिष्कले केही ठम्याउन सकेन । यतिकैमा बाहुनबाजे केही गुनगुनाउन थाले । मन्त्र पढेका रहेछन् । र, बाबाले बाजेलाई पैयुँको एक मुठो पातले हम्की रहनुभएको थियो । त्यसपछि भानसिंह दमाई बाजेले हातमा सहनाइ समाए र फुक्नुभन्दा अगाडी उर्दी जारी गरे– सबैले मन दरो बनाउनु होला । कोही नरुनु होला । रुने किन ? रुनु पर्ने कारण के छ ? म बुझ्दिनँ । 

सहनाइ र शङ्ख एकैपटक बज्न थाले । मलाई अचम्म लाग्यो । सहनाइले र त्यो शङ्खले एकोहोरो धुन फालिरहेको छ । र, यस्तो लाग्दैछ– त्यही धुनले त्यो आँगनमा उपस्थित भएजति सबैलाई रुन प्रेरित गरिरहेको छ । म ज्याइको नजिकै पुगेँ । ज्याइका आँखा पहिल्यै पिलपिलाएका छन् । मैले ज्याइलाई सोधेँ, किन ?  बाजे बित्नु भयो । ज्याइँको आँखाबाट दुई थोपा आँसु खस्यो र मेरो हातमा पर्याे । 

Global Ime bank

बाजे बिते !

मेरो मन भक्कानियो । अधीर भयो । आकाश हेरेँ । गुम्सिएको छ । आफ्नै मन हेरेँ– निसास्सिएको छ । सहनाइको एकोहोरो धुनले त्यसै विरह फ्याँकिरहेको छ । दमाहको उल्टो ध्वनिले एकैछिनमा वातावरण कारुणिक बनायो । 

एक धर्सो सेतो कपडाको बाटोसँगै बाजेलाई आँगनको बीचमा सुताइएको छ । मानिसहरु भने अनेकन कुरा गरिरहेका छन् । 

मेरा बाजे गाउँभरिका पुजारी थिए । माछामासु कहिले नै छुनुभएन । उहाँले कहिले पनि घरबाहिर खानुभएन । खाना खाने बेला उहाँ जसरी नि घरमा आउनु हुन्थ्यो । उहाँलाई सबैले जेठाबा भनेर सम्मान गर्थे । 

म बाजेको एकदम प्यारो थिएँ । मेरो अधिकांश समय बाजेसँगै बिताउँथे । कसैको घरमा देउता उठाउन जाँदा मलाई सँगै लग्नु हुन्थ्यो । मलाई पनि आनन्द लाग्थ्यो बाजेसँग जाँदा । बाजेसँग हिँड्दा मेरा साना पाइतला दुख्थे, उहाँले मलाई काँधमा हालेर हिँड्नु हुन्थ्यो र भन्नु हुन्थ्यो– न आ भन्दा मानिनस् अहिले मलाई दुःख दिन्छस् ! म चुप लागेर सुन्थेँ मात्र । बाजेको काँधमा बस्दा खुब मज्जा लाग्थ्यो । 

मलाई केरा असाध्यै मन पथ्र्यो । हाम्रो घरमा केराबारी छ । तर सबै केरा पाकेको हुँदैन । म केरा खानको लागि मात्र भए पनि बाजेसँग गाउँ जान्थे । पूजा गर्ने प्रायःजसो सबैको घरमा केरा उपलब्ध हुन्थ्यो । बाख्रा चराउन जाने समय भयो कि बाजेले मलाई कराउन थाल्नु हुन्थ्यो । दिनको दुई पटक बाख्रा चराउनु पथ्र्यो । म बिहानको समय बाख्रा चराउन जाँदा अलि अल्छी गर्थें र दाइ जानु हुन्थ्यो । 

बाजेसँग सधैं लडिबुडी गरिरहन्थेँ । उहाँको त्यो न्यानो काखमा बसेर हुक्काको गुटुटु गुटुटु आवाजमा रमाउनुको आनन्द अरु कहाँ ? मैले धेरै पटक बाजेको हुक्का खाने चिलिम फुटाएको पनि छु । र, त्यसको बदलामा रामधुलाई पनि । तर एकै छिनपछि फेरि उहाँले आफैं फकाउनु हुन्थ्यो । र, भन्नु हुन्थ्यो– तैंले मेरो चिलिम फुटाइस नि, अब तेसो नगरेस् है ! 

बाजेलाई सबैले सम्मान गर्दै भेटमा दुई हात जोडेर नमस्कार गर्थे । कहिलेकाहीँ भन्नु हुन्थ्यो– मानिसले सबैलाई नमस्कार गर्दैनन् । नमस्कार खानको लागि सबैलाई माया र सहयोग गर्नु पर्छ । तैंले पनि मेरो जस्तै नमस्कार खाने हो भने सधैं राम्रो काम गर्नु । बाजेले भनेका कुराहरु म केही बुझ्दैनथेँ । मेरो बाल मस्तिष्कमा ती कुरा अटाउँदैनथ्यो । र, चुलबुल चुलबुल गर्दै सोध्थेँ– बाजे त्यो राम्रो काम भनेको के हो ? उहाँले मेरो प्रश्नको सजिलो तरिकाले उत्तर दिनु हुन्थ्यो । भन्नु हुन्थ्यो– त्यो राम्रो काम भनेको कसैलाई नरुवाउनु हो । कसैलाई न कुटनु र कसैलाई नढाँट्नु हो । हामीले कहिले पनि कसैलाई दुःख दिनु हुँदैन । 

उहाँको कुरा नसकिँदै म अर्को प्रश्न थपिहाल्थेँ । बाजे यदि मैले कसैलाई दुःख दिएँ भने के हुन्छ ? बाजे हल्का रिसाएको जस्तै गरी भन्नु हुन्थ्यो– कति कराको चुप लागेर बस् । उहाँको अलि ठूलो स्वर सुनेर म हच्किन्थेँ । एक छिनपछि फेरि त्यस्तै प्रश्न दोहोर्‍याइहाल्थेँ । र, मेरा प्रश्नहरुको कहिले उत्तर दिनु हुन्थ्यो त कहिले नदिई बस्नु हुन्थ्यो । 

माउल (मामाघर) जाँदा बाजेसँगै हुँदा मलाई सबैभन्दा मज्जा लाग्थ्यो । जहिले जहिले हामी माउल जान्थ्यौं, त्यहाँ जाँदा बाटोमा दोकान पथ्र्यो । दोकानमा बाजेले माउल लैजानको लागि बिस्कुट किन्दा मलाई पनि चक्लेट दिनु हुन्थ्यो । कहिले आफैं पैसा दिएर किन्नु हुन्थ्यो त कहिले पसलवालाले आफैं ल ! कान्छा चक्लेट खा भनेर दिन्थे । म आनन्दित हुँदै खान्थेँ । हामी बाटोभरि केके कुरा गर्दै जान्थ्यौं । 

आज मलाई असाध्य माया गर्ने बाजे बितेका छन् । एकैछिनमा आफन्तहरु र गाउँका सबै जना आए । कसैले चोयाको सानासाना टुक्रा पारेर लट्ठी बनाइरहेका थिए । कसैले चोयाको लट्ठीमा कपडा गाँठो पारिरहेका थिए । मैले सम्झेँ, अस्ति पारि गाउँमा एकजना मान्छे मर्दा पनि सेतो कपडाको लामो बाटो बनाएर लगेको देखेको थिएँ । सायद यो तयारी पनि त्यसको लागि थियो । 

ल्याल्मा माइलाबाले र उपल्लो घर कान्छाबाले चन्दनको काठ काटेर ल्याउनु भयो । चन्दनको रुख हाम्रो गोठ जाने बाटोमा छ । कलिला हाँगाहरु थिए त्यसका । सायद ती हाँगाहरु नै ढालेर ल्याउनु भयो होला, मनमनै सोचेँ । अब काठको भर्‍याङ तयार भयो । दमाईहरुले बजाउन थाले । बाजेको त्यो सुतेको शरीरलाई बाबा र काकाहरुले काठको भर्‍याङमा राख्नु भयो । सबैजना डाँको छोडेर रुन थाले । म अक्न न बक्क परेँ । म बोल्न केही सकिरहेको थिइनँ । मैले केही बुझिरहेको पनि थिइनँ । तर खै कुन्नि मेरा आँखाबाट बलिन्द्र आँसु बग्न थालिहाले । 

एकैछिनमा कसैले कपडाको बाटो समाएर घरपारिको खोर्रेमा लगे । कसैले सल्लाको झर्को तयार गरे । कसैले खर बोकेका थिए भने कसैले दाउरा बोक्न थाले । लोग्ने मान्छेहरु अगाडि लागे । बाबा, कान्छा काका बा, माइला बा र ल्याल्मा माइलाबा गरी चारजनाले बाजेलाई राखेको काठ्को भ¥याङ काँधमा राखे । सबैभन्दा पहिला कपडाको बाटो बोकेका मान्छेहरु अघि लागे । त्यसपछि क्रमैसँग सामान बोकेका मान्छेहरु । त्यसैगरी दमाईहरु र बाहुन बाजे । बाजेको त्यो चिर निद्रामा रहेको शरीरलाई बोकेर लागे सबैजना घरपारिको जङ्गलतिर ।

म र ज्याइ बेलौतीको रुखमा रुँदै बस्यौं । छेउमा आएर कुकुर पनि बस्यो । एकैछिनमा बाजेलाई लिएर गएका मान्छेहरुले घरपारिको डाँडा पार गरे । आकास तुवाँलोमय भएको थियो । घरको आँगन शून्य थियो । एकैछिनमा नौधारे खोलाबाट आगोको धुवाँ उड्यो माथिमाथि आकाशतिर । ज्याइले मलाई औँलाले देखाउँदै भन्नु भयो– ऊ ! बाजे जानु भयो, त्यो धुवाँको बाटो भएर । उहाँ फेरि डाँको छोडेर रुन थाल्नुभयो, उहाँको रुवाइले मलाई चुप बस्न दिएन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय