site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भोक लाग्दा यता आऊ है बड्डा !
Sarbottam CementSarbottam Cement

केशवराज ज्ञवाली
अमेरिका आएको ठ्याक्कै दुई महिना पुग्यो । अझै काम गरेको छैन । चार दिनअघि मात्रै सोसल सेक्युरिटी कार्ड आयो । यो नभै यहाँ काम गर्न नमिल्ने रै’छ । ल्याएको पैसा सकिनै लाग्यो । एउटा बेडरुमको अपार्टमेन्टमा म र रमेश बस्छौं । देवीजीले मिलाइदिएको । 

‘नआत्तिनु, एक–दुई सातामा काम पनि पाइन्छ । मेरै ठाउँमा पनि खाली होला जस्तो छ ।’ देवीजीले भरोसा दिए । 

उनैले लिन आए एयरपोर्ट । डीभी परेदेखि नै साथीको साथी मार्फत फेसबुकमा चिनेको । सोसल सेक्युरिटी अफिस यताउति पनि लगिदिए । देवीजी र रमेश, एउटै ग्यास–स्टेसनमा काम गर्ने ।

Prabhu Bank
Agni Group
NIC Asia

यसो झ्यालबाहिर हेर्छु । केटाकेटीहरु खेलिरहेका छन् ‘स्विमिङ पुल’वरिपरि । एकजना बालक साबुनको फिँजजस्तो फोका उडाइरहेको छ हावामा । मुखले कुनै सानो कुरा फुक्छ । फोका उड्न थाल्छ हावामा । तिनै फोकाको पछि दौडिन्छ बालक । यो क्रम दोहोरिइरहन्छ  । म तिनै फोकाहरुको पछि आँखा दौडाउँछु । मनभरि फोकाहरु उठ्छन्, सम्झनाका । म सम्झनाको पछि दौडन्छु ।

सम्झन्छु, हुलका हुल खच्चर घण्टी बजाउँदै हिँडेको । हामी त्यो भीड छिचोल्दैै पुग्थ्यौं बजारको टुप्पोसम्म । म सानै थिएँ । बाजुरा, मार्तडी छोड्दा । 

Global Ime bank

सुत्नुअघि सधैं घुस्थेँ बाको काखमा र सोधिरहन्थेँ मनभरिका प्रश्न । लाग्थ्यो, मेरा बाले नजानेको केही छैन । सोच्थेँ, म पनि बा जस्तै हुन्छु । मेरा बा चन्द्रवीर तिरुवा, जिल्ला हुलाक कार्यालयका पियन ।

बा भन्थे– ‘मैले धौधौ गरिकन अक्षर रायाँ । तमीले बेस्कन पढ्नु पढ्न्याँ हो । पढे मान हँुदो छ ।’  अफिसका पत्रिका पुराना भएपछि घर ल्याउँथे र पढ् भन्थे ।

एकदिन मैले बालाई  भनेँ– ‘मलाई राम्याँले दिनै डुम भन्छ ।’ बा भोलिपल्टै स्कुल पुगे । हेडसरलाई भेटेँ । मैले रामेलाई भनेँ– ‘मेरा बा राजाका मान्ठ हुन् । फेरि केइ भनिछै भन्या बाकन भनी तोकन झ्यालखानामा हुल्याउँन्याँ हौं ।’

टोलभरिका मान्छे बाको कुरा सुन्थे । केही पयो भने सोध्न आउँथे । बा भन्थे– ‘आफूले सक्न्याँ जति सबैकन मद्दत दिनु निको ।’

प्रष्टै सम्झन्छु त्यो दिन । स्कुलबाट फर्किंदा घरको आँगनभरि मान्छे थिए । माथिल्लो टोलका महेन्द्र र अरुले बालाई घेरा हालेका थिए । उनीहरु कराएको आवाज पर–परसम्म पुगेको थियो । त्यो आवाज पछ्याउँदै आइपुगेका थिए रमितेहरु, केटाकेटीहरु ।

औंला ठड्याउँदै महेन्द्र गर्जिए– ‘डुम साल्या, बढी बोल्दो ।’
बा चिच्याए– ‘मैले क्या गर्‍याँ ?’

बाको ज्यानमा लात र हात परिसकेका थिए ।

बा दौडे उकालो ‘तमी सप्पैकन झ्यालखाना जाक्न्याँ हौं, हेला हन्र्या ।’

‘जे गर्न सक्छस् गर् । तिमीहरु सबलाई खाल्टो खनेर पुर्न सकिन भने ।’ उताबाट पनि उस्तै ।

बा दौडे, पुलिस थानातिर । म पछि लागेँ । थानामा हाकिम भेटिए ।

बाले एक सासमा भने ‘मकन हान्याँ । मार्न खोज्या । सुरक्षा चाहियो । उजुर लेख्न पर्‍यो हजुर ।’

‘के भयो ?’

‘महेन्द्रकोे छोरा र मेरी छोरी एकाइ कलास पड्दाछन् । छोट्या छोट्टी स्कुल छाडीकन हिड्याका रयाछन । छोट्याका बाले भेटाया ।’

‘तिमीसँग किन झगडा गरेको ?’ हाकिमले थप सोधे–
‘हेला हर्‍याको तल्ला जातको भनिकन । उजुर हाल्न पर्‍यो ।’

‘केटाकेटी कहाँ छन् ऐले ?’

‘मेरी छोरी घरमै छ । उनुको छोरो मलाई क्या था ।’

‘ल ल म बुझ्छु, अनि जे गर्नपर्छ गरौंला ।’

‘हजुर, जात्ती अन्याय भया । कारवाही गर्न पर्‍यो । तल्लो जात भनिकण्ट अर्काका घर आइवर हान्न पाइँदो हो कि ?’

‘मैले बुझ्छु, भोलि म बोलाउँला दुवै पक्षलाई ।’ पुलिसलाई हतार थिएन । त्यो रातभरि बा–आमाले दिदीलाई गाली गरिरहे । जैसरा केही बोलिन । घुँक्कघुँक्क गरिरही ।

भोलि बिहानै घरमा एकजना पुलिस आइपुगे । ‘चन्द्रवीर भन्ने को हो ? थानामा बोलाको छ तिमीलाई ।’

म बाको पछि लागेँ । थानामा पुग्दा महेन्द्र र हाकिम अफिस बाहिर घाम ताप्दै थिए  । हामी पुगेपछि हाकिम उठे र अफिसभित्र छिरे । महेन्द्र र बा पनि पछि लागे । अफिसभित्र हाकिम र महेन्द्र कुर्सीमा बसे । बा भुइँमा बसे । म उभिएँ ढोकाको छेवैमा ।

‘चन्द्रवीर, सबै कुरा तिम्रै मिलेमतोमा भएको हो रे । तिमीलाई किटानी गरेरै उजुर गरेको छ । के भन्छौ ?’

बा जुरुक्क उठे र चिच्याए ।

‘यो त उल्टो भयो । मेरा घर आइकन मैकन हान्याँ, अज दोष मैकन ? पुलिस पनि उतै मिल्याको ? पुलिस, कति रुपियाँमा बिक्यौ तमी ?’

हाकिम उठ्यो आफ्नो कुर्सीबाट र चिच्यायो– ‘बढ्ता बोल्छस् !’
बा रिसले थर्रर कापे । म रुन थालेँ ।

‘पर्ख, पर्ख तम्रो काम म सबैकन भन्न्या हौ । यो ठाउँमा कानुन छ कि नाइ ? दुई–चार अक्षर मैले पन रायाका छन् । क्या तमी भन्दा माथि हाकिम नाइ ?’

हाकिमले बाको कठालो समात्यो, बाहिर घिसार्दै भन्यो– ‘जाक्, यसलाई खोरमा ।’

डरले मेरो मुटु फुट्लाजस्तो भो । म घरतिर दौडेँ । जाँदाजाँदै  सुनेँ– ‘डुम साल्या ।’

म घर पुगेँ र आमालाई सबै कुरा भनेँ । मलाई ‘भाइ हेर्’ भनेर आमा थानातिर दौडिन् । भाइ जोडले रुन थाल्यो ।

साँझतिर आमा बालाई डोर्‍याउँदै घर आइपुगिन् । बाको नाकबाट रगत बगेको थियो, ओँठ काटेको थियो । मेरा बा, बाजस्ता थिएनन् त्यतिबेला ।

दिदी, सबै हेरिरही । केही बोलिन । आमा जाइलागिन् ऊमाथि ‘तेराइ लाग्दा यसो भयाको हो । जन्मिँदै मरेको भए बरु शान्ति  पाउँना हौ ।’

बाले बिस्तारै भने– ‘चुप लाग् ।’

म अँगेनाको छेउमै निदाएँ ।

एकाबिहानै आमा चिच्याएको आवाजले बिउँझेँ ।

‘लौन, जैसराका बा, लौन बाहिर आऊ ।’

सबै घर बाहिर दौड्यौं ।

आँगन छेउको ओखरको बोटमा, दिदी झुण्डिएकी थिई । मान्छेहरु जम्मा हुन थाले ।

साँझ खोलाबाट फर्केपछि बाले भने–
‘म यै ठौर बस्दैन, अब भोलि बाइजान्याँ हौ ।’

‘आफ्ना मान्ठ याँइ, यो ठौर छाडी उठी काँ जानु हो ? जाँ गयापन यसाइ मान्ठ त हुन् । काँ बस्न्या, खान्या ? ठौर फेरियापन, देश फेरिन्याँ होइन । मान्छेको मन फेरिन्याँ होइन ।’ आमाको विरोध आयो ।   

‘जाँ गया, झाउँला । तर दिनदिनै मेरी छोरी मारन्या ठाउँ हेरी बस्तैन ।’ हामी भोलिपल्टै हिँड्यौं ।

बा नेपालगञ्जको अफिस जान थाले । हाम्रो घर एउटा कोठामा खुम्चियो । मलाई भने बानी पर्दै गयो । यता पनि खच्चडजस्ता साना घोडा भेटेँ । ती नुन बोक्दैनथे, टाँगा तान्दै रुपैडिहा जान्थे । चैतेको सट्टा सलिम भेटेँ, बजार घुम्ने साथी । हामी गर्मीमा असिनपसिन हुँदै दौडिन्थ्यौं र कलको चिसो पानी घटघट पिउँथ्यौं । त्यो पानीमा मैले मार्तडीको पानी बिर्संदै गएँ । भाइ त झन् सानो, उसलाई त नेपालगञ्ज नै घर लाग्थ्यो । आमा फतफताउँथिन्– ‘यै घामले जिउँदै डडाउँन्याँ हो कि मान्दो छौं ।’ डढाउन त धेरै डढायो । गर्मीले मात्र होइन । 

एकदिन बा काममा गएपछि आमाले भनिन्– ‘आज जैसराको एक वर्ष पुग्यो ।’ त्यही राति चर्को आवाजले बिउँझेँ । बा ऐनामा आफ्नै अनुहारमा थुक्दै चिच्याउँदै थिए– ‘डुम साल्या ।’ घरभेटी दाइले एम्बुलेन्स बोलाइदिए । 

मेरा स्कुलका कापीका खात जस्ता वर्षैवर्ष खात लाग्दै गए ।  बाको व्यथा झन्झन् चर्को हुँदै गयो । पछिपछि त बा केही गर्नै नसक्ने हुँदै गए । बा बोल्नै छोडे । सोधेको कुराको पनि बल्लबल्ल उत्तर दिन्थे । टोलाइराख्थे । जैसराको घाँटीमा कसिएको पासोले मेरा बलिया बालाई विचरा र बिरामी बनायो ।  

नेपालगञ्ज झरेको ठीक १० वर्षमा बा बिते । मर्ने बेलामा क्वारक्वार्ती आमाको मुखमा हेरिरहे, बोलेनन् । बा हुँदा र नहुँदा खासै फरक परेन । उनको तलबको सट्टा पेन्सन आउँथ्यो । आमाले होटेलमा भाँडा माझ्न थालिन् । हामी विस्तारै त्यो वातावरणमा बाँच्न सिक्दै गयौं ।

डीभी परेर अमेरिका हिँड्दा बा सम्झेर आमा रोइन् ।

बाहिर खेलिरहेका बच्चाहरु त्यहाँबाट हिँडिसकेका थिए । म पनि त काममा जानु छ भोलिदेखि ।

० ० ०

‘खडकजी, बरु एउटा ज्याकेट यतै छोडिराखे हुन्छ’ देवीजीले बियर–कोकहरु राखेको ठाउँतिर देखाउँदै थपे– ‘भित्र स्टोर–रुममा एकदम चिसो हुन्छ ।’

‘हस् ।’ मेरो छोटो उत्तर ।

‘ल अब मज्जाले सँगै काम गरौंला ।’

‘हुन्छ ।’

‘यो काउन्टर खोल न, सामानको मूल्य टाँस्न एकचोटि फेरि हेर्ने कि ?’

‘होइन, पर्दैन ।’

ग्यास स्टेसन ‘सेभन इलेवेन’ । अमेरिकाको मेरो पहिलो कर्मस्थल । ग्यास स्टेसन बाहिर दुई जना मान्छे बसेर चुरोट उडाइरहेका थिए ।

बाटोमा रमेशले भनेको थियो– ‘देवी दाइ एकदम सहयोगी छन् । उनीसँगै काम भएपछि त एकदम सजिलो हुन्छ । मैले केही भनिनँ । नौलो अनुभूति, नयाँ काम । भर्खर जन्मेको बच्चाजस्तो । सिक्नु छ, बोल्न, हिँड्न, खान सबै । छिटोभन्दा छिटो ।

देवीजी र मेरो रातभरिको सिफ्ट । साँझ ६ बजेदेखि सँगै जान्थ्यौं । बिस्तारै बोली पनि अलि बुझेजस्तो लाग्न थालेको थियो । स्टोरमा धेरै काला मान्छेहरु आउँथे । ढिला राति आउने ग्राहकहरु धेरै दोहोरिन्थे । अब अलि सहज हुँदै थियो काम ।

एक दिन बिहान स्टोरको पेटीमा ३/५ लेखेको देखेँ । देवीजी सँगै थिए । सोधेँ– ‘त्यो कसले लेखेछ ?’

‘एउटा काले बूढो छ । अलि होस हराएजस्तो । यतै वरिपरि घुम्छ । खान दियो भने जान्छ, केही गर्दैन । यिनै दुई अक्षर लेखी हिँड्छ ।

भोलिपल्ट एउटा अग्लो मान्छे पश्चिमपट्टिको सडकमा हिँडेको देखेँ । ऊ बिस्तारै स्टोरतिर आउँदै थियो । पेटीमा आएर उभियो । दाह्री फुलेका थिए । पुरानो मैलो ओभरकोट लगाएको थियो । एउटा हातमा प्लास्टिकको झोला थियो । अर्को हात बेला–बेला मुखमा लान्थ्यो– खान मागेजस्तो ।

म डोनट लिएर बाहिर निस्केँ । उसका आँखा चम्किला भए । सायद ६ फिट भन्दा बढी नै अग्लो होला । ह्वास्स गनायो । ननुहाएको होला । एकदम फोहोर । उसको हातमा डोनट दिएर हतार–हतार भित्र आएँ । त्यहीँ बसेर खायो । भोलिपल्ट बिहान ऊ बसेको ठाउँमा ३/५ लेखेको थियो ।

‘देवीजी यो मान्छे किन सधैं एउटै कुरा लेख्छ होला ?’

‘खै कुनै दिन बोल्यो भने सोधौंला ।’

काम सुरु गरेको पाँच महिना भएको थियो । 

कोसिस गर्छु सबै बिर्सुं र बाँचुँ । घर सम्झन्छु । लाग्छ, सबै छोडेर दौडेर पुगुँ त्यहीँ र सबैलाई ग्वाम्लाङ्ङ अँगालो हालूँ । तर सक्दिनँ, जीवनलाई व्यावहारिक हुनुको पर्खालभित्र कैद गरेको छु । यहाँ केही समय बसेँ भने पैसा कमाउँला । त्यो पैसाले आमाको, भाइको दुःख कम गर्ला । त्यही आशामा चुहिने गाग्रोबाट थोपा थोपा बनेर चुहिरहेछ बहुमूल्य समय । दिनदिनै रित्तिँदै गएजस्तो लाग्छ आफू ।

त्यो दिन आकाश धुम्म थियो । पानी पनि पर्न नसकेको, खुल्न पनि नसकेको । मन पनि त्यस्तै थियो धुम्म । राति १० बजेतिर, म बेलाबेला बाहिर हेर्दै थिएँ । मार्कोस देखिन्छ कि । स–साना नियमितताको पनि कस्तो बानी पर्दो रै’छ । ११ बज्यो, १२ बज्यो । ऊ देखिएन । साढे १२ बजेतिर मैले ढोकामा टकटकको आवाज सुनेँ, त्यहाँ ऊ ट्वाल्ल परेर उभिएको थियो ।
म डोनट लिएर बाहिर गएँ । 

उसले डोनट लिँदै भन्यो– ‘यू लुक स्याड !’

‘आई लस्ट माइ ड्याड’ भनूँ कि नभनूँ हुँदाहुँदै भनिदिएँ । सुन्ने बित्तिकै एकदम रुन थाल्यो । एकछिन त्यसै उभिएँ । एक मन त लाग्यो, ऊ सँगसँगै रोइदिऊँ । बिरानो ठाउँमा यो अनौठो मान्छेको यस्तो प्रतिक्रिया । मभित्र डर र शङ्का दुवै बढ्दै थियो । सोच्न सकिनँ के गर्ने यस्तोमा । यौटा चुरोट सल्काएँ । बिस्तारै बोल्यो ऊ– ‘म  पनि उदास छु, तिमीजस्तै ।’

मैले केही भनिनँ । त्यहाँबाट भागिहालूँजस्तो लाग्दै थियो ।

‘मेरो छोरालाई भेट्छौ ?’

‘हुन्छ’ मेरो मुखबाट फुत्त निस्कियो ।

‘हिँड’ ऊ उठ्यो ।

‘ओहो, म त काममा छु नि ! उसलाई यतै बोलाऊ न ।’

‘इम्यानुएल आउन सक्दैन, सुतेको छ’ रुञ्चे देखियो ।

‘भोलि जान्छौ ? म बिहान आउँछु ।’ आफ्नो प्लास्टिकको झोला टिपेर हिँड्यो । जाँदाजाँदै उसको आवाज सुनेँ– ‘म एकदम उदास छु ।’

स्टोरभित्र छिरेपछि देवीजीले सोधे– ‘त्यो पागलसँग के कुरा गरिरा ? दुःख दियो भने ९११ फोन गरेर पुलिस बोलाउन पर्छ ।’
‘पर्दैन मलाई यति दिनसम्म देखिनँ भनेर सोध्दै थियो ।’

‘ए, तपाईं सधैं उसलाई खाना दिनुहुन्छ त्यसैले ।’

मार्कोसले बिहान आउँछु भनेको मनमा आइरह्यो लगातार । एक घण्टा जतिपछि देवीजीलाई भनेँ– ’मलाई एकदम सञ्चो भएन, म आज अलि छिटो घर जान्छु ।’

देवीजीले ‘हुन्छ’ भनेर ट्याक्सी बोलाइदिए ।
ट्याक्सीमा बसेपछि मन अलि शान्त भयो । देवीजीसँग झुट बोलेको ग्लानि पनि थियो । बिहान देवीजी डेरामा फर्केर भने– ‘आज अनौठो भयो ।’

मैले सोधेँ– ‘के भो ?’

‘त्यो तिन वटा पाँच बिहानै स्टोरमा आयो । म रमेशलाई पर्खिरहेको थिएँ । सरासर भित्र आयो र तपाईंलाई सोध्यो ।’
मेरो मन ढक्क फुल्यो । नबोल्नुपर्ने रै’छ त्योसँग । हेर्दै त्यस्तो छ । त्यसको छोरो कस्तो होला । के लफडामा परेँ । देवीजीलाई भनांै कि जस्तो लाग्यो ।

‘अनि, मैले तपाईंलाई सञ्चो नभएकोले घर जानुभयो भनिदिएँ ।’

‘ए !’

‘ल म सुतेँ’ देवीजी अर्को खाटमा पल्टिए ।


मेरो निद्रा हरायो । फेरि आउँछ होला । हुन त त्यसको छोरालाई भेट्दैमा पनि के फरक पर्ला र ? आश्वस्त हुन खोजँे । एक त बिरानो ठाउँ, त्यसमाथि पागलजस्तो मान्छे । काममा नजाउँ, भएन । सोच्दासोच्दै मध्यदिन भयो । देवीजी उठे । म बेडमा बसिरहेको थिएँ । मतिर हेर्दै भने– ‘आँखा कस्ता राता, यसो गरौँ, आज राति तपाईं नजानु काममा । बरु भोलि बिहानको सिफ्टमा आउनु । म एक्लै पनि सम्हालुँला एक दिन ।’
‘हुन्छ’ लामो सास तानेर ढलेँ बेडमा ।

भोलिपल्ट बिहान काममा गएँ । दिनभरि व्यस्त हँुदा पनि दिनभरि डर लागिरह्यो ।  बेलाबेला बाहिर हेर्थें र भित्ताको घडी पनि । उसले मलाई दिउँसोमा कहिल्यै देखेको थिएन, त्यसैले आउँदैन होला । आफैंलाई सम्झाउन कति गाह्रो । सिफ्ट सकिन १५ मिनेट बाँकी थियो । लामो सास तानेँ । देवीजी आइसकेका थिए । रमेश र म डेरा फर्किने मुडमा थियौं । मैले मार्कोस स्टोरतिर आइरहेको देखेँ । अब भागेर भएन । डराएर पनि कतिञ्जेल चल्छ । के नै गर्ला र ! रमेशलाई भने– ‘तपाईं जानुस्, म पछि आउँछु ।’
म बाहिर निस्केँ । आज पहिलोपल्ट उसलाई उज्यालोमा देखँे । अग्लो, कपाल र दाह्री धेरै फुलेको । लगाएका सबै कपडा काला थिए । ऊ मतिर आयो ।

‘हिँड जाउँ । मैले इम्यानुएललाई भनेको छु, तिमी आउँछौ ।’
साँझको ६ बजेको थियो । अझै एक–डेढ घण्टा उज्यालो हुन्छ । आज यो विषय सक्किनै पर्छ ।

‘हिँड’ मैले भनेँ । ऊ केके बड्बडाउँदै अघिअघि हिँड्यो र म पछिपछि ।

स्टोरबाट निस्केर पश्चिमपट्टिको सुनसान बाटोमा झण्डै १५ मिनेट हिँड्यौ । हामी जहाँ अडियौं, त्यहाँ गेट थियो । मैले टाउको उठाएर हेरेँ । फलामका अङ्ग्रेजी अक्षरमा लेखिएको थियो– ‘रिजबुड सिमेटरी’ । मार्कोसले मतिर हे¥यो । उसका आँखाबाट आँसु झरिरहेका थिए । गेट ठेल्दै भन्यो– ‘आऊ ।’ भित्रपट्टि लहरलहर मिलाएर विभिन्न आकारका ढुङ्गा ठड्याइएका थिए । मेरो मुटु एकदम तीव्र गतिमा दौडिन थाल्यो । म लामोलामो सास फेर्दै, शान्त हुने कोसिस गरिरहेको थिएँ ।

हामी भित्र पस्यौं । ती ठडिएका ढुङ्गाहरु विभिन्न आकारप्रकारका थिए । सबैमा केही न केही लेखिएका थिए । दुबो काटेर मिलाएको । बीचबीचमा ठूला रुखहरु । कुनैकुनै ढुङ्गामा फूल राखिएको थियो । सरासर मध्यभागसम्म हिँडेपछि मार्कोस दायाँ मोडियो । एउटा ठूलो रुखको नजिकै पुग्यौं । रुख नजिकैको ढुङ्गा देखाउँदै उसले भन्यो–
‘मेरो छोरा’ । त्यो चारपाटे ठाडो, कालो स्लेटजस्तो ढुङ्गा थियो । मैले निहुरिएर हेरेँ ।

‘इम्यानुएल स्मिथ,

प्यारो छोरा
१९९८–२०१५
तिम्रो अनुपस्थिति, न्यायको अनुहारमा लागेको दाग ।
तिम्रो जीवन सुन्दर सम्झना ।’ 
मार्कोस छेवैमा बस्यो । म पनि बसेँ । ‘यो मेरो छोराको चिहान हो ।’ उसका ओँठ थरर्र कापे, नाकको सिँगान बाहुलाले पुछ्दै भन्यो– ‘१७ वर्षको थियो ऊ, मात्र १७ वर्ष । कलेज जाने तयारीमा थियो । पुलिसले मार्‍यो उसलाई । आफ्नै टोलमा । उसको ज्यानभरि १७ वटा गोली थिए । उसको जीवनको हरेक वर्षको लागि एक गोली ।’

मेरो मनमा डरको सट्टा तीव्र जिज्ञासो उठ्यो । बिस्तारै भनेँ ‘कसरी ?’

‘हामी भर्खर नयाँ घरमा सरेका थियौं । डिसेम्बरको चिसो साँझमा ऊ बाहिर निस्केको थियो । कसैले फोन गरिदिएछ पुलिसलाई । कालो शङ्कास्पद मान्छे घुम्दैछ । एक्कासि इम्यानुएलको पछाडि पुलिसको गाडी रोकियो ।’ मार्कोसको सास एकदम तीव्र सुनेँ मैले । 

‘गाडीको आवाज सुनेर, कुकुर अँध्यारोमा दौड्यो र कुकुरको पछि दौडियो मेरो छोरो । तर उसको पछि लागेका पुलिसका गोलीले भेट्टाए उसलाई– १७ पटक ।’

‘१७ गोली’ उसले फेरि भन्यो ।

म सन्नँ भए । के भनाैं । बोली घाँटीमै अड्क्यो ।

मार्कोस बोलिरह्यो ।

‘अदालत गएँ । मुद्दा लडेँ । निर्णय आयो– पुलिसको गल्ती देखिएन ।’ मार्कोस अत्यन्तै उत्तेजित सुनियो । 

‘कसैले शङ्का गर्‍यो, छालाको रङ्ग देखेर । पुलिसले उसलाई समातेन, सोधपुछ गरेन । गोली हान्नु सजिलो भयो ।’
आँखाभरि आँसु लिएर भन्यो– ‘इम्यानुएल कालो हो । त्यही हो कारण ।’

ऊ रोइरहेको थियो । अलि विषय परिवर्तन हुन्छ कि भनेर सोधेँ–
‘तिमी किन ३/५ लेख्छौ ?’

‘म इतिहासको शिक्षक हुँ । अमेरिकाको इतिहास ।’ एकछिन रोकियो र आँसु पुछ्यो । 

‘सन् १७८७ मा जनगणना गर्दा ठूलो विवाद भयो । कालालाई गन्ने कि नगन्ने भनेर । राजनीतिज्ञहरु जम्मा भए र सहमतिमा पुगे । कालाहरुलाई पूरै मान्छेकोे रुपमा गन्न मिल्दैन । पाँच जना कालालाई, तीन जना मान्छेबराबर गन्न मिल्छ । यसरी कानुनी रुपमै कालालाई पूरै मान्छे मान्न इन्कार गरियो ।’ उसले मतिर हेर्‍यो र भन्यो– ‘मलाई लागेको थियो, यो इतिहासको कुरा हो । दासप्रथा उहिल्यै उन्मूलन भयो । समय १७८७ बाट धेरैअगडि आयो । आन्दोलन भए, कानुन बने । कागजमा विभेद मेटियो, तर मान्छेको मनभित्रको मैलोे पुछिएन । आज पनि अमेरिकाको जेलभरि कालाहरु धेरै छन् । उस्तै अवस्थामा फरक कारवाही हुन्छ । हरेक पटक जब निहत्था, निरापराध कालाहरु मारिएको सुन्छु, पूरै मान्छे नहुनुको पीडाले छटपटी हुन्छ ।’ 

उसले कोटको खल्तीबाट डायरी निकाल्यो । पाना पल्टाउँदै देखायो । त्यहाँ अनेक नामहरु थिए सबैको अगाडि ३/५ लेखेको थियो । 

‘यी सबै मान्छेहरु, काला भएकैले मारिएका हुन् ।’ उसका आँखाबाट तपतप आँसु डायरीमा खस्यो । मैले मार्कोसलाई हेरेँ । आँसुले भिजेको त्यो अनुहार घरी मेरी दिदीजस्तो, घरी मेरा बा जस्तो देखियो  ।

सबै कुरा भन्न भाषाले पनि दिएन । म पनि रोइदिएँ ऊसँगै । कुराको बोली पो फरक भयो । दुःखको बोली त उस्तै जहाँ पनि, जहिले पनि । उसलाई अँगालो मारेर भन्न मन लाग्यो– ‘बड्डा, म पनि तिमीजस्तै गन्तीमा नपरेकोे मान्छे । हामी जन्मँदा, कहाँ जन्मने भनेर रोजेनौं । कीराजस्तै जन्म्यौं । रुखपातजस्तै जन्म्यौं । अरु मान्छेजस्तै जन्म्यौं । तर समाजले हामीलाई पूरै मान्छे मान्न सधैं आनाकानी गरिरह्यो ।’

आँधीपछिको आकाशजस्तो देखियो मार्कोस । सिमेटरीका बत्तीहरु बले । जण्डिस लागेजस्तो पहेँलो प्रकाश वरिपरि छरियो । भन्न मन लाग्यो– ‘कति धेरै कुरामा फरक छौं तिमी र म, तर पनि एकै भोगाइ, एकै पीडा । तिमी सदियौं पछाडि फर्केर भेट्न खोज्छौ, आफ्नो छोराको ज्यानमा अड्केका गोलीहरुको बिऊ । म, मेरी जैसरा र बाको मृत्युमा इतिहास भोग्छु ।’

मलाई उसले बोकेको डायरी समातेर लेखिदिन मन लाग्यो– ‘मेरो नाम, जैसराको नाम, बाको नाम, धेरैधेरै नाम र ती सबै नामको पछाडि ३/५। यति भन्न सक्ने अङ्ग्रेजी मसँग कहाँ थियो र ! प्रकटमा भनेँ– ‘तिमीलाई कहिल्यै भोक लाग्यो भने म काम गर्ने ठाउँमा आऊ है बड्डा ।’

म उठेर हिँडेँ पूर्वतर्फ, आकाश अझै पनि धुम्म छ । खै, भोलि घाम देख्न पाइएला कि !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय