site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुन फल्ने ठाउँ
Sarbottam CementSarbottam Cement

जनकलाल शर्मा
सुन फल्ने ठाउँ छ भन्ने सुनेको थिएँ बाल्यकालमा मैले । कहाँ फल्छ, कसरी फल्छ कुनै कुरा थाहा थिएन मलाई । सुनको महत्व भने निकै थियो त्यस समय पनि । कुनै व्यक्ति मृत्युश्ययामा छ भने त्यसलाई सुनपानी खुवाउने चलन छ समाजमा । त्यसैकारण अरु धातुभन्दा महँगो छ यो । पहेँलो सुनको कुरा गरेको हो मैले । सेतो सुन यसभन्दा महँगो भए पनि सुन कहलाउँदैन त्यो । महँगीकै कुरा गर्ने हो भने १२ रुपियाँ तोलाका हिसाबले सुन किनेका थिए अरे मेरा अभिभावकले मेरो विवाहका लािग । आफ्नु छोराको विवाहमा १६ सय रुपिँया तिरेको थिएँ प्रतितोलाका हिसाबले । अहिले नौ हजार रुपियाँजति प्रतितोला भए पनि नातिका पालामा १२ हजार प्रतितोला लाग्ला जस्तो छ त्यो । 

मेरो बाल्यकाल बित्यो भारतमा अङ्ग्रेजी साम्राज्य भएका समय । भारतमा सोझै साम्राज्य खडा गरेका होइनन् अङ्ग्रेजहरुले । व्यापार गर्न आएका थिए पहिले । अङ्ग्रेजभन्दा अघि आएका थिए पुर्तगालीहरु । बम्बईलाई आप्mनु अधीनमा पारेका थिए उनीहरुले । इस्वी सन् १६६१ मा विवाह भयो ब्रिटेनका राजा चाल्र्स द्वितीयको पुर्तगालकी राजकुमारीसित । राजकुमारीलाई दाइजोमा दिए पुर्तगालीहरुले बम्बई । वार्षिक १० पाउन्ड नगद तिर्ने गरी ठेक्कामा दिइन् भारतमा व्यापार गर्न आएको अङ्ग्रेजको व्यापारी संस्था इस्ट इन्डिया कम्पनीलाई ब्रिटेनकी महारानीले माइतीबाट दाइजोमा पाएको बम्बई भन्ने ठाउँलाई । १६६८ इ.मा ठेक्कामा लिएका थिए ब्रिटेनका व्यापारीले यसलाई । त्यसपछि नै विकास गरेका हुन् अङ्ग्रेजहरुले बम्बईको । तर त्यहीँ टिकेर बसेनन् उनीहरु । पूर्वतिर बढ्दै जाँदा बङ्गालको खाडीमा पुगे ती व्यापारी । इस्वी सन् १६९० देखि कलकत्तालाई प्रमुखता दिए आप्mनु कम्पनीका लागि । जहाजी बेडाका लागि बन्दरगाहको विकास गर्न उपयुक्त ठाउँ देखे त्यसलाई । सुतानटी, कालीकाता र गोविन्दपुर नामक तीन उपेक्षित गाउँ गिए त्यहाँ । केवल १२ सय रुपियाँमा त्यसको जमिनदारी किन्यो बङ्गालका नवाबसँग इस्ट इन्डिया कम्पनीले । त्यसपछि बन्दरगाहको विकास गर्दै लगे त्यस ठाउँमा । कालीकाता कलकत्ता भयो पछि । 

व्यापार गर्दागर्दै राज्यसञ्चालन गर्न थाले कलकत्ताबाटै समस्त भारतको । अर्थात् समस्त भारतको राजधानी भयो । कलकत्ता  दिल्लीमा राजधानी सारेको त १९११ इ. मा मात्र हो  अङ्ग्रेजहरुले ।

Prabhu Bank
Agni Group
NIC Asia

बाल्यावस्थामा पढिएका हरेक भूगोलका पुस्तकमा समावेश पाइन्थ्यो, बर्मा पनि ब्रिटिस भारतभित्रै । कलकत्तामा कम्पनीको सदरमुकाम भएपछि पूर्वतिर पनि बढ्दै गए उनीहरु । स्याम अर्थात् थाइल्यान्डबाहेक अन्य ठाउँमा कब्जा जमाएर बसेका थिए ब्रिटेनबाहेक अन्य युरोपीय मुलुकका मानिसहरु । बर्मा र मलायामा कब्जा जमायो ब्रिटेनले नै । तीन पटक युद्ध गर्नुप¥यो इस्ट इन्डिया कम्पनीलाई बर्मा हात पार्न । इस्वी सन् १८२४–२६, १८५२ र १८८५ को समय थियो त्यो । बर्माको प्रशस्त विकास गरे अङ्ग्रेजहरुले । पेट्रोल, तामा, दामी पत्थरको खोजी भयो त्यसै समय । चामल निर्यातमा निकै नाम कमायो बर्माले । अङ्ग्रेजहरु परिचित थिए गोरखा–अङ्ग्रेज युद्धको समय १८१४–१६ इ. देखि नै नेपालीका लागि । अर्काका लागि युद्ध गर्न, भारी बोक्न, कृषिकार्य गर्न र पशुपालनमा अग्रणी थिए नेपालीहरू । यस्ता सबै नेपाली वैरिए बर्मामा अङ्ग्रेजी शासन कायम भएपछि । दुई लाख ६० हजार वर्गमिलको देश थियो त्यो । जम्मा एक करोड जनसङ्ख्या थियो पहिले । एक करोड ६० लाखको जनसङ्ख्या भयो अङ्ग्रेजहरूले बाहिरिया मानिस ल्याएर बसाएपछि । कृषि, पशुपालन र कुल्लीबाहेक बन्दुक उचाल्ने काम पाए नेपालीले । व्यापार र साधारण कुल्लीको काम गर्न थाले भारतीयहरुले । इस्वी सन् १८८५ देखि १९३५ सम्म भारतभित्र रह्यो बर्मा र त्यसपछि छुट्ट्याइयो अलग अस्तित्व स्वीकार गरेर भारतबाट । त्यसै बर्मालाई म्यानमार भनिन्छ आजकाल । 

धेरै नेपालीहरु पुगे बर्मामा आफ्नू भाग्य अजमाउन बर्मा अङ्ग्रेजी साम्राज्यमा समावेश भएपछि । मेचीदेखि महाकालीसम्मका मान्छे पुगे बर्मामा । इलामको माघे भन्ने ठाउँका भट्टराई पनि पुगेछन् त्यहाँ । मेरा पिताका छेत्रिनीपट्टिका मामा रहेछन्  तिनी । ब्रिटिस आर्मीमा जागिर पाएछन् उनले । हुँदाहुँदै सुबेदारसम्म भएछन् उनी । सुबेदारको निकै हकडक हुन्छ सेना बाहिरी फिल्डमा खटिएका समय । टाढा पुगेपछि आफ्ना नातागोता सम्झिन पुग्छ मान्छे । भानिजको सम्झना भएछ मामालाई त्यस समय । बाल्यकालदेखि किशोरावस्थासम्मका खेल्ने साथी थिए उनीहरु । चिठी लेखेर पठाए सुबेदारले भानिजले बर्मा आउनुप¥यो भनेर । एक्लै जाने आँट आएन भाञ्जाको । पिता–पुत्र दुवै प्रस्थान गरे बर्माका लागि । कलकत्ताबाट हप्तामा तीन जहाज जान्थे बर्माका लागि भनेर यात्रु लिएर । प्रतिव्यक्ति दस रुपियाँसम्ममा पनि टिकट पाइन्थ्यो कलकत्ताबाट जहाजको । जहाज भन्नाले पानीजहाजको कुरा हो यहाँ । हवाईजहाज हुँदै नभएको त होइन दुर्लभ थियो त्यस समय । पानीजहाजबाटै गए सुबेदारका भानिज र भिनाजु । भव्य स्वागत भयो अरे रङ्गुन पुगेपछि । रङ्गुनलाई याङ्गुन भन्दछन् आजकाल । अपर बर्माको सदरमुकाम माण्डले पुगे दुवै जना । 

Global Ime bank

सुबेदारका भानिज र भिनाजु बर्मा पुगेको केही समयपछि एउटा धार्मिक यज्ञ गराउने विचार गरेछन् ब्रिटिस सेनाका गोरखाली फौजका अधिकृत र जवानहरुले । सजधजका साथ बनियो यज्ञमण्डप । यज्ञमा आचार्य र उपाचार्य भए बाबु–छोरा । झन्नै ३० हजारजति दानदक्षिणा जम्मा भएछ यज्ञमा । कागजका नोटको चलनै थिएन त्यस समय । भिक्टोरियाका टाउका भएका शुद्ध चाँदीका मुद्रा पाइन्थे जताततै । चवन्नी, अठन्नी र एक रुपियाँका सबै मद्रा हुन्थे चाँदीका । त्यसपछि अन्य मुद्रा हुन्थे तामाका । अन्न भरेझैं चाँदीका मुद्राले पाथी भ¥यो भने एक हजारले भरिन्थ्यो एउटा पाथी । सुन किनेर राख्न पनि भाउको तल–माथिको सम्भव थिएन त्यस समय । चाँदीका मुद्रामा एकरत्ति फरक पर्दैनथ्यो भाउमा । एक रुपियाँ भनेपछि एकै रुपियाँ हो त्यो । यत्रो नगद लैजाने कसरी ? छोडेर हिँड्ने कुरा पनि भएन त्यो । अराकान हुँदै मणिपुरसम्म पु¥यादियो ब्रिटिस सेनाले नै । मणिपुरमा ठूलाठूला काने कसौंडी किने बाबु–छोराले । अनेक कसौंडीमा राखिए चाँदीका मुद्रा । ब्रह्मपुत्रको बाटो व्यापारी जहाज (स्टिमर) मा चढेर चटगाउँ पुगे उनीहरू । त्यसपछि सिलीगुडी पुगे पार्वतीपुर हुँदै । भरिया लगाउनु पनि समस्या थियो नगदको गुरुत्वले गर्दा । के बोकेको होला कसौंडीमा सहजै अनुमान गर्थे भरियाहरु । आफ्ना विश्वासका मान्छे हुन्थे बोकेर लैजानका लागि । कसैलाई नभन्नू तँलाई मात्र भनेको भन्दै हिँड्थ्यो ओसारपसारमा सहभागी हुने भरिया । गन्धविहीन वस्तु ल्याए पनि त्यसको सुगन्ध फैलिन्थ्यो जताततै ।

सबभन्दा पहिले मेरा मावली आएछन् त्यसको सुगन्ध लिन । इलामको क्याबुङ गाउँका बासिन्दा हुन् मेरा मावली । पौडेल थर हो उनीहरूको । इलामका जङ्गल मासिएपछि दार्जीलिङको खासमहालमा पर्ने झ्याँपी भन्ने ठाउँमा पशुपालन र कृषिमा संलग्न भए उनीहरू । रिम्बिक बजारकै छेउमा पर्दछ यो ठाउँ मानेभञ्ज्याङ भन्दा दक्षिणपूर्व । दुहुना गाईको मासिक चार आना तिरेर वन विभागको पट्टा लिएपछि भएजति सबै गाईवस्तु चराउन पाइन्थ्यो सरकारी जङ्गलमा । बर्माबाट ल्याएको आर्थिक कोसेली भेटे मेरा मावलीले पनि । १८६५ इ. मा भुटानको एक भागमा पर्ने कालिम्पोङलाई दार्जीलिङ जिल्लामा गाभे अङ्ग्रेजहरूले सैनिक हस्तक्षेप गरेर । १८८१ इ. मा रेलमार्ग खोले दार्जीलिङको पहाडी इलाकामा । कालिम्पोङको छेउ गेलखोलासम्म पु¥याए रेलमार्गलाई । १९०४ इ. को योङ हजबेन्ड एक्स्पिडिसन अर्थात् तिब्बतमाथिको अङ्ग्रेजी आक्रमणपछि धेरै महत्व बढ्यो कालिम्पोङको । सैनिक दृष्टिले मात्र होइन व्यापारिक दृष्टिकोणले पनि निकै महत्व बढ्यो यसको । तिब्बत–भारत व्यापारमा आधारभूमि हुन आयो यो । हावापानी ज्यादै अनुकूल हुँदा अङ्ग्रेजहरूका शिक्षालयका निकै सङ्ख्या बढे त्यहाँ । शैक्षिक क्षेत्रमा अङ्ग्रेज भन्नाले ब्रिटिस मात्र होइन समस्त गोरो छाला बुझ्नुपर्दछ यहाँ । धर्मप्रचारको पनि मुख्य थलो हुन आयो यो । यस प्रकार त्यहाँ बसोबास गर्ने मानिसका लागि भोज्यपदार्थ पनि चाहियो त्यसै परिमाणमा । डेरी प्रोडक्सन अर्थात् दूध, दही, नौनी, तर अर्थात् क्रिम, घिउ (खारेको), छुर्बी अर्थात् चीज आदि सबै थोक चाहियो उनीहरुलाई । मासुलाई पनि डेरी प्रोडक्सनमा नै समावेश गर्ने चलन छ युरोपियनहरुमा । खुब पशुपालक भए अङ्ग्रेजहरु कालिम्पोङमा पहिले । पशुपालनमा आकर्षित गरे स्थानीय जनतालाई उनीहरुले । असल जातका गाईका बाछी र बाछो बिक्री गर्न थाले गाउँका मानिसलाई । गाई ब्याएपछि दूध पनि किन्न थाले अङ्ग्रेजहरुले खोलेका डेरी फार्ममा । गाउँबाट यसरी दूध आउन थालेपछि आफूले पालेका पशु कम गर्दै लगे उनीहरुले । बुचडका दलाल घरमै आइपुग्थे कृषिकर्मका लागि गोरु चाहियो किन्न पाऊँ भनेर । थाहै नपाएजस्तो गरेर गोरु बिक्री गर्थे गोपूजक नेपाली पनि । पशुपालनमा निकै नाम थियो मेरा मावलीको । मेरा मामाकी एउटी दिदिको विवाह भयो कालिम्पोङको इच्छे भन्ने ठाउँका एक जना अचार्य थरका उपाध्याय ब्राह्मणसित । दूधको व्यवसाय राम्रो चलेको छ भन्ने सुने आफ्नी दिदीबाट मेरा मामा कुलचन्द्र पौडेलले । दार्जीलिङ जिल्लाको खासमहालमा पर्ने झ्याँपी भन्ने ठाउँको सम्पूर्ण खायल बर्माबाट ल्याएको प्रसादमा थपेर जिम्मा लिनुपर्ने भयो मेरा पिताले । गोपालनका लागि कालिम्पोङ पुगे मेरा मावली । पहिले इच्छे बस्तीमा गोपालन गरे उनीहरुले । सफलता नै सफलता देखे त्यहाँ । इच्छे बस्तीबाहेक सिन्घेबुङ बस्ती, कालिम्पोङमा पनि नौ एकडको घडेरी किनेर घर बनाए उनीहरुले । कालिम्पोङ खुब फाप्यो उनीहरुलाई । मेरा मावलीको लगनशीलतादेखि प्रभावित भए अङ्ग्रेजहरु । १२ जिल्लामा विभाजित थियो सम्पूर्ण आसाम प्रान्त त्यस समय । आसाममा पनि कृषि र पशुपालनको विकास गर्न चाहन्थे अङ्ग्रेजहरु । कालिम्पोङको परिश्रम देखेर आसाम जान प्रेरित गरे अङ्ग्रेजहरुले मेरा मावलीलाई । साढे चार हजार एकड गोचरभूमि पट्टामा पाए उनीहरुले पशुपालनका लागि । त्यस समयको आसाम प्रान्तको १२ जिल्लामध्ये ग्वालपाडा जिल्लाको बोङ्गाई गाउँको छेउ पाटावारी भन्ने ठाउँमा बसोबास गर्न थाले उनीहरु । १२ जिल्ला आसामको लाइभस्टक परामर्शदाता पनि भए अवैतनिक रुपमा । ग्वालपाडा जिल्लाको अनरेरी बिट अफिसर थिए वन विभागको । एउटा हात्ती उपलब्ध गराइएको थियो जङ्गलको निरीक्षण गर्न । १६–१७ सय गाई पालेको त आफ्नै आँखाले देखेको थिएँ अङ्ग्रेजहरु भारतमा भएसम्म अर्थात् भारत स्वतन्त्र नभएसम्म । बोडो प्रभावित क्षेत्रमा प¥यो त्यो ठाँउ अहिले । परिवारका केही व्यक्ति शहीद पनि भइसके बोडो आन्दोलनकारीका हातबाट । छोड्न पनि सक्तैनन् मेरा मावलीहरु र उपयोग गर्न पनि पटक्कै सहयोग गर्दैन नेपालीमूलको मान्छेलाई भारत सरकारले । काउछो भइरहेको छ त्यो अहिले । केही जमिनमा तोरी र सुपारी खेती गरेर सन्तुष्ट छन् उनीहरु । खानु न निल्नु भएको छ त्यो अहिले ।

बर्माको प्रसाद लिने मावली मात्र होइनन् मेरा । नेपाल अधिराज्यदेखि सिक्किमसम्मका इष्टमित्र र नातागोता थिए त्यस समय । कसैको एक पैसा बैमान गर्दैनथ्यो कुनै व्यक्तिले । तिर्ने सावगास पनि हुँदैनथ्यो आर्थिक मन्दीले गर्दा । चार पैसा सेर चिनीको भाउ थियो त्यस समय । पैसा माग्यो भने जमिन देखाउँथे सबै र दिन्थे पनि त्यै पञ्चकीर्ते मोलमा । नेपाल अधिराज्यको सप्तरीदेखि सिक्किमको पल्लो छेउसम्म जताततै जमिनैजमिन भए मेरा पिताका । सबैभन्दा सस्तो वस्तु थियो जमिन त्यस समय । कुन राख्ने कुन फ्याँक्ने कुनै समझमा आउँदैनथ्यो हाम्रो परिवारलाई । मेरो दुई जना दाजु परलोक भएछन् मावलीले हामीलाई बेचेको झ्याँपी भन्ने ठाउँको खायलमा । ६० हलको मेलो बारी थियो त्यहाँ । घाँस, बाँस, दाउरा, पानी, चरन कुनै कुराको कमी थिएन एउटा गृहस्थलाई चाहिने कुरा त्यहीँ । हप्तैपिच्छे १२–१५ जना लाठेले खोर्सानीका भारी लिएर जान्थे पुलबजार भन्ने ठाउँमा । दार्जीलिङ जिल्लाको प्रसिद्ध बजार हो त्यो । प्रत्येक शुक्रबार ठूलो हाट लाग्दथ्यो त्यहाँ । चारैतिरका व्यापारी धुइरिन्थे त्यहाँ व्यापार गर्न । एक ढाकर खोर्सानीको मुस्किलले तीन वा चार रुपियाँजति आउँथ्यो पैसा । बोकेर चार आना र एक आना खाजा खर्च पाउँथ्यो बेलुकीपख सबै खोर्सानी बिक्री भएपछि एउटा ढाक्रेले । थोकमा बिक्री गर्दा केही कम मूल्य आँकिन्थ्यो खोर्सानीको । आर्थिक दृष्टिले फापे पनि दाजुहरुको निधनले अफाप सिद्ध भयो त्यो जग्गा । महँगोमा किनेर सस्तोमा बिक्री गर्नुप¥यो त्यसलाई । जग्गा बेच्न केही निहुँ चाहिन्छ मान्छेलाई । हजुरआमा परलोक हुनुभयो एउटा निहुँ त्यै भयो हाम्रा लागि । ठूली बहिनी परलोक भई त्यही भयो अर्को निहुँ । यसै प्रकार हजुरबुबा, भाइ, बुबा, मुमा सबैको भाग पु¥याउँदै ल्याएको छ हाम्रो परिवारले । त्यसै कारण झन्नैझन्नै विस्थापित हुन पुग्यो यो परिवार ।

बर्माको आवतजावतले निकै परिवर्तन आयो हाम्रो आर्थिक पक्षमा । दाजुभाइ, इष्टमित्र सबै ईष्र्या गर्न थाले त्यसको । त्यसलाई टार्ने उपाय पनि थिएन मेरा पितासित । द्वितीय विश्वयुद्ध प्रारम्भ हुनुभन्दा केही समयअघिको कुरा हो यो । ‘सुन फल्ने ठाउँ’ भन्ने नामकरण गरेका थिए मेरा पिताका इष्टमित्र र दाजुभाइले बर्मालाई । ‘बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै’ भन्थे बुढापाकाहरू । केवल काठमाडौं उपत्यका नेपाल कहलाउँथ्यो त्यस समय । सुन फल्ने ठाउँमा पठाइदे हामीलाई पनि भनेर मेरा पितालाई कचकच गरेको सुन्थेँ केटाकेटी हुँदा । अन्त्यमा दुई–तीन परिवारका मानिस जाने भए केही व्यक्ति घरकुरुवा बस्नेबाहेक सुन फल्ने ठाउँमा मेरा पिताको चिठी लिएर । बर्मातिर प्रस्थान गरिसकेका थिए काका र फुपूफुपाजुहरु । मेरा पिता तीर्थयात्राका लागि प्रस्थान गर्ने तयारीमा लागे त्यसै समय । बर्मातिर प्रस्थान गरेपछि तीन बर्षभन्दा घटीमा फर्कन मन गदैनथे कोही । नेपालमा ठूलो राजनीतिक घटना घट्यो त्यसको केही समयपछि । द्वितीय विश्वयुद्ध प्रारम्भ भयो त्यसै समय । कलकत्ताको शिवकुमार भवन छात्रावासमा अध्ययनरत थिएँ म । पिताजीको देहान्त भएको खबर आयो त्यसै समय । सम्भवतः विक्रम संवत् १९९७ साल फागुनको कुरा हो यो । स्र्वगद्वारीका महाप्रभु परलोक भएको पनि त्यसै साल मङ्सिरमा हो भनेर कुरा गर्थे मान्छेहरु । पिताको श्राद्ध सकेर पुनः कलकत्ता पुगेँ म । पिताको वार्षिक श्राद्धपछि अर्को पटक घर पुग्दा अर्को नराम्रो खबर सुन्नुप¥यो मैले । बर्माबाट ब्रिटिस सेनाले एउटा ट्रकमा राखेर बर्माको सीमा कटाउँदै थियो काका र फुपूफुपाजुको परिवारलाई १९४२ इ. मा । ब्रिटिस सेना भाग्दै छ भन्ने ठानेछ बर्मामा युद्धरत् रहेको जापानी सेनाले । त्यसै कारण बम प्रहार ग¥यो भाग्न लागेको ब्रिटिस सेनामाथि जापानी सैन्यले । अनेक परिवारका मानिस थिए त्यस काफिलामा । फुपूका परिवार त पूरै गएका थिए एक, दुई छोराबाहेक । ११ जना त एउटै परिवारका परे त्यसमा । पण्डित टीकालाल निरौला र नन्दलाल ढकालले श्राद्ध गरे आफ्नाआफ्ना मृतकको । पिताको वार्षिक श्राद्धमा घर गएका समय म पनि सम्मिलित भएँ त्यस दुर्घटनाको आशौचमा । सुन फल्ने ठाउँको नाम लिँदा कहाली लाग्छ आज पनि मलाई ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  ०६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय