अग्नि सुख
तिमीसम्म पुग्न
आगोको बाटो देखाइदियो
चाहनाले मलाई
अनि, म हिँडेँ ह्वारह्वार्ती बल्दै
मसँगै सल्किन थाले
मेरा तृष्णाहरु
उन्मादहरु
छटपटीहरु
होसहरु सबै जलिरहे
मेरा दिनहरु जले
मेरा रातहरु जले
मेरा क्षणक्षणहरु जले
समयको समुद्रै जल्यो मेरो
ओ मेरो प्रेम !
तिमीलाई भेट्ने लालसाले
यी यसरी आगोको बाटोमा
आफैं आगो भएर हिँडिरहेँ म
जसै पुगेँ म तिम्रो नजिक
ओ मेरो ईश्वर !
मैले छोइदेला
र, आफू पनि जल्नुपर्ला
भन्ने डरले थर्रर काम्यौ तिमी
र, ढुङ्गामा परिणत ग¥यौ आफूलाई
तिमीलाई बताउनै पाइनँ मैले
आगोको बाटोमा हिँड्नुको मज्जा
यो सुखानुभूति बाँड्नै पाइनँ तिमीसँग
नडराए हुन्थ्यो नि तिमी
ओ मेरो ईश्वर !
कहाँ पोल्छ र आगोले– आगोलाई ?
० ० ०
दान
दुःखले माग्यो
र, दिएँ मेरा आँखाहरू
अनि त मसँग रिसाए
संसारका सारा सुखद दृश्यहरू
फेरि माग्यो
अँध्यारो राखेर आफ्ना लागि
भएभरको उज्यालो जम्मै दिएँ
दुःखलाई
रङ्ग माग्यो
इन्द्रेणी नै दिई पठाएँ
स्वप्न माग्यो
खुसी माग्यो
रहरहरू पनि माग्यो
सबैसबै दिएँ, दिँदै गएँ
र, अन्त्यमा जीवन पनि माग्यो
नाइँ भन्न सकिनँ
प्रेमको भेष धारण गरेर
भिक्षा माग्न आएको जोगी दुःखलाई
खाली हात कसरी फर्काउन सक्थेँ र म ?