काठमाडौं । सर्लाहीकी २९ वर्षीया ललितमाया लामाको मिर्गौला बिग्रिएको ८ वर्ष भयो । सुरुमा उनलाई पिसाब पोल्ने र उच्च रक्तचापको समस्या देखिएको थियो ।
त्यस्तो समस्या देखिएको करिब १ महिनासम्म घरै नजिकको फार्मेसीबाट रक्तचाप नियन्त्रण र पिसाब पोल्न रोक्ने औषधि किनेर खाइन् । तर, औषधि सेवन गर्दासम्म केही निको भएजस्तो भए पनि शरीर सुन्निने, ज्वरो आउने, खान मन नलाग्नेलगायत अरू समस्या थपिँदै गए ।
हिँड्डुलमै समस्या आयो । उनले १० धुर जमिन बैंकमा धितो राखेर ४० हजार रुपैयाँ लिइन् । उपचारका लागि श्रीमानसँग त्रिवि शिक्षण अस्पताल आइन् ।
अस्पतालमा पिसाब, रगत र मिर्गौला जाँच गर्दा दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा पाइन् । मिर्गौला बिग्रिएपछि केही समय हेमोडाइलासिसमा बसिन् । तर, घरमा ७ वर्षको छोरा ५ वर्षकी छोरी छिमेकीका भरमा छोडेर आएकी थिइन् । सातामा दुईपटक अस्पताल धाउनुपर्ने बाध्यता थियो । अझ त्यसमाथि बैंकको ऋण छँदै छ ।
उनले श्रीमानलाई घर जान पनि भन्न सकिनन् यहाँ कोही आफन्त थिएनन् । होटलमा कति दिन बस्ने तनाव हुन थाल्यो । उनले घरमै पेरिटोनियल डाइलासिस गर्न सकिने सुनिन् । चिकित्सकसँग यसबारे बुझ्न श्रीमानलाई अह्राइन् ।
चिकित्सकले पनि केही साता पेरिटोनियल डाइलासिस गर्ने तरिका उनलाई र उनका श्रीमानलाई सिकाइदिए । महिनाभर डाइलासिस गर्न पेरिटोनियम फ्लड ९० प्याकेट चाहिन्थ्यो । त्यही लिएर घर गइन् ।
घरमै सरकारले घोषणा गरेअनुसार पेरिटोनियल डाइलासिस सेवा गत चैतसम्म लिइरहेकी थिइन् । जुन सरकारले निःशुल्क दिँदै आएको थियो । यदि कहिले–काहीं किन्नै परे पनि प्रत्येक प्याकेटको ४ सय ८ रुपैयाँका दरले ९० प्याकेटको ३६ हजार ७ सय २० रुपैयाँ तिरेर लिने गरेकी थिइन् । गत वैशाखदेखि भने उक्त औषधिमा प्रतिप्याकेट २२ रुपैयाँ बढाएर ४ सय ३० रुपैयाँ कायम गरियो । अहिले यो थप रकम आफैंले तिर्नुपरेको ललित मायाले बताइन् ।
यही रोगको उपचार गर्दा–गर्दै सबै सम्पत्ति सकियो, नि.शुल्क भनेकोे पेरिटोनियल डाइलासिसमा पनि वैशाखबाट २२ रुपैयाँका दरले १ हजार ९ सय ८० रुपैयाँ महिनैपिच्छे थप तिर्नुपरेको उनले बताइन् ।
०००
सल्यानकी ३४ वर्षीया मनदेवी पाख्रिनका दुवै मिर्गौलाले काम नगर्ने भएको ६ वर्ष पुग्यो । उनी डाइलासिसका लागि त्रिवि शिक्षण अस्पताल पुगिन् । चिकित्सकहरूले सातामै तीनपटक डाइलासिस गर्न सिफारिस गरे । आर्थिक अवस्था कमजोर भएको चिकित्सकलाई सुनाइन् । चिकित्सकले उनलाई पेरिटोनियल डाइलासिस जुन पेटमा प्वाल बनाएर गरिने र घरमै बसिबसी गर्न सकिने बताए ।
गत चैतसम्म सरकारले तोकेअनुसारै ९० प्याकेट निःशुल्क घरमै बसीबसी लिँदै आएकी थिइन् । तर, उनले पनि गत वैशाखदेखि प्रत्येक प्याकेटमा २२ रुपैयाँ थप तिर्नुपरेको सुनाइन् । उनले भनिन्, “निःशुल्क डाइलासिस काजमा मात्र सीमित भयो व्यहारमा लागु भएन ।”
महिनामा एकपटक पेरिटोनियल डायलासिसको औषधि ल्याएपछि घरमै बसी–बसी गर्न सकिने यो प्रत्येक प्याकेटमा २२ रुपैयाँ बढाएर लिँदा पनि सरकारले अझै निःशुल्क भनिरहेको उनको गुनासो थियो । महिनामा अन्य रगत जाच्नुपर्ने र सुई लगाउनेलगायत गरी छुट्टै १५ हजार रुपैयाँ खर्च हुने उनले सुनाइन् ।
सरकारले हेमोडाइलासिस गर्न प्रत्येकपटक २ हजार ५ सय रुपैयाँ दिँदै आएको थियो । यो सेवा सरकारले तोकेका अस्पतालमा निःशुल्क दिँदै आएको छ । तर, घरमै बसेर गरिने पेरिटोनियल डाइलासिसका लागि आवश्यक पेरिटोनियम फ्लड ९० प्याकेट सरकारले निःशुल्क दिँदै आएको थियो ।
यो औषधि सरकारले डीके सप्लायर्ससँग प्रत्येक प्याकेटमा ४ सय ८ रुपैयाँमा खरिदको सम्झौता गरेको थियो । तर, गत वैशाखबाट कम्पनीले यसको रकम बढाएर ४ सय ३० रुपैयाँ प्रतिप्याकेटमा लिने गरेको मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले बताए ।
“सरकारले निःशुल्क भनेको औषधिमा बिरामीबाटै प्रतिप्याकेटमा २२ रुपैयाँ असुलेको छ,” उनले भने, “सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क भन्ने तर उपचार गर्दा–गर्दै सबै सकिएकाबाटै असुल्ने गर्छ ।”
मिर्गौला रोग विशेषज्ञ डा. नारायण भुसालले मिर्गौलाले काम नगर्ने हुँदा तीन तरिकाले जीवनयापन गर्न सकिने बताए । उनले भने, “मिर्गौला फेल भएपछि हेमोडाइलासिस, पेरिटोनियल डाइलासिस र मिर्गौला प्रत्यारोपण रोज्नुपर्ने हुन्छ । हेमोडाइलासिसभन्दा पेरिटोनियल डाइलासिस घरमै बसेर गर्न सकिने हुँदा अलि सजिलो हुन्छ ।”
सरकार हेमोडाइलासिस, पेरिटोनियल डाइलासिस निःशुल्क दिँदै आएको छ । मिर्गौला प्रत्यारोपणका लागि ५ लाख रुपैयाँसम्म दिने गरेको छ । मन्त्रालय स्रोतले भन्यो, “मन्त्रालयले सम्झौताअनुसारको पुरानै मूल्यमा औषधि दिनुपर्ने अडान राखेको छ तर डीके सप्लार्यसले पुरानो मूल्यमा औषधि दिन नसक्ने भन्दै पत्र पठाएको थियो ।”