काठमाडौं । नेपालमा साङ्गीतिक क्षेत्रमा वार्षिक करिब १५ अर्ब रुपैयाँ लगानी हुने गरेको पाइएको छ । दैनिक करिब दुईसय गीत रेकर्ड हुन्छन् र त्यसको ८० प्रतिशतको म्युजिक भिडियो निर्माण लगानी हुँदा वार्षिक १५ अर्बको हाराहारीमा लगानी हुने गरेको हो । नेपालमा करिब दुईसय रेकर्डिङ स्टुडियो छन् । यसमा दुई दर्जन स्टुडियो काठमाडौं बाहिर छन् । दुईसयमा व्यावसायिक स्टुडियो डेढसय छन् भने होम स्टुडियोको संख्या ५० को हाराहारीमा छ ।
दुई सयवटा स्टुडियोमा प्रत्येकमा दैनिक कम्तिमा एउटाका दरले करिब दुई सयवटा गीत रेकर्ड हुने गरेको स्टुडियो सञ्चालक तथा संगीतकार बीबी अनुरागी बताउँछन् । एउटा गीत गीतकारसँग किन्दादेखि रेकर्ड गरेर मिक्सिङ गर्दासम्म औसतमा ६० हजार लगानी पर्छ । यद्यपि केही गायक गायिकालाई लिएको खण्डमा भने महङ्गो पर्ने गायक हेमन्त शर्मा बताउँछन् ।
गायिका विष्णु माझी एउटा गीत गाएबापत कम्तिमा एक लाख रुपैयाँ लिन्छिन् । यति महङ्गो पारिश्रमिक लिने उनी एक्ली गायिका हुन् । गीतकारले १० हजार, संगीतकारले १० हजार, गायकले १५ हजार, स्टुडियो चार्ज १० हजार, एरेन्जर १० हजार, बाजागाजामा ५ हजार लाग्ने गरेको छ ।
दिनको दुईसय गीत रेकर्ड हुँदा महिनाको ६ हजार गीत रेकर्ड हुन्छन् । एउटा गीत तयार गर्न औसतमा ६० हजार रुपैयाँ लगानी लाग्छ । प्रतिमहिना ६ हजार गीत रेकर्ड हुँदा ६० हजारका दरले हरेक महिना ३६ करोड रुपैयाँका गीत रेकर्ड हुन्छन् ।
प्याकेजमै गीत तयार पारेर बेच्ने केही संगीतकारहरु पनि छन् । उनीहरुले कम्तिमा डेढ लाखदेखि सुरु गर्छन् । प्याकेजमै गीत बेच्नेमा प्रायः चलचित्रमा गीत बेच्नेहरु छन् । नेपालमा केही संगीतकार यस्ता पनि छन् जसले प्याकेजमा भिडियोसहितको गीत तयार पारिदिएको १५ लाखसम्म लिन्छन् ।
रेकर्ड भएका गीतमा ८० प्रतिशतभन्दा धेरैले म्युजिक भिडियो बनाउने गरेको बीबी बताउँछन् । “सिङ्गल ट्रयाकको जमाना आयो । सिङ्गल ट्रयाक गाउने अधिकांशले म्युजिक भिडियो बनाउँछन्,” उनी भन्छन् ।
एउटा म्युजिक भिडियो बनाउन गीतको लगानी छोडेर औसतमा १ लाख ८० हजार लाग्ने गरेको गायक हेमन्त शर्मा बताउँछन् ।
यद्यपि अहिले बजारमा लोकप्रिय मानिएका पल शाह, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, स्वस्तिमा खड्का, केकी अधिकारीलाई लिएर भिडियो बनाउँदा भने प्रति म्युजिक भिडियो तीनलाख रुपैयाँ लाग्ने हेमन्तको भनाइ छ । यसबाहेक युट्युबमा चलेका कार्टुन क्रुज, भिमफेदी गाइज तथा भारतीय रियालिटी शोमा पुगेर फर्किएका केही ग्रुपले भिडियो तयार गरेको चारदेखि छ लाखसम्म लिने गरेका छन् ।
एक लाख ८० हजार रुपैयाँका दरले रेकर्ड भएका गीतको ८० प्रतिशत गीतको म्युजिक भिडियो बनाउँदा प्रतिमहिना ८६ करोड ४० लाख रुपैयाँ म्युजिक भिडियोमा मात्रै लगानी भैरहेको छ ।
म्युजिक भडियो र गीतमा गरेर प्रतिमहिना एक अर्ब २२ करोड ४० लाख रुपैयाँ लगानी भैरहेको छ । यो तथ्याङ्कका आधारमा नेपालमा प्रतिवर्ष गीत सङ्गीतमा मात्रै १४ अर्ब ६८ करोड ८० लाख रुपैयाँ लगानी भैरहेको छ ।
गायक हेमन्त शर्मा बलियो सिर्जनाभन्दा पनि व्यक्तिका पछाडि साङ्गीतिक बजार कुदिरहेको बताउँछन् । “अहिले बजारमा चलेको औसत लगानीभन्दा कममा पनि राम्रा गीत तयार पार्न सकिन्छ,” गायक शर्मा भन्छन्, “तर अहिलेको बजार सिर्जनाको स्तरभन्दा पनि व्यक्ति र लहडका पछि लागिरहेको छ ।”
साङ्गीतिक उद्योगमा अनपेक्षित लगानी भैरहे पनि त्यसको प्रतिफल भने लगानीकर्तालाई खासै नभएको संगीतकर्मी बताउँछन् ।
डिजिटल युग आएसँगै संसारभरका सङ्घसंस्था धनी हुँदै गए पनि नेपालका गायकगायिका भने गरिब हुँदै गएको प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तथा गायक तुलसी पराजुली बताउँछन् ।
“डिजिटल प्लेटफर्म विकास हुँदै गएपछि संसारले फड्को मार्यो । तर नेपाली श्रष्टा भने गरिब हुँदै गएका छन्,” पराजुली भन्छन्, “डिजिटल मार्केट पारदर्शी हुन्छ भन्छन्, तर यहाँ कुनकुन पोर्टलमा आफ्नो गीतसंगीत बिक्री भएको छ भन्ने श्रष्टालाई नै थाहा हुँदैन ।”
नेपालमा मात्रै गायकगायिका तथा संगीतकर्मीका सिर्जना निशुल्क प्रयोग भइरहेको उनको गुनासो छ ।
नेपालमा पनि प्रयोगकर्ताले डाउनलोड गरेर अथवा कुनै पनि माध्यमबाट प्रयोग गर्दा पैसा तिर्ने गरेको तर ब्रोकरहरुले श्रष्टाहरुलाई ठगिरहेको घिमिरेको भनाइ छ ।