site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दाङमा मतदाता शिक्षा कार्यक्रम, ७४ हजार मतदातालाई शिक्षा

दाङ । दाङमा आजबाट मतदाता शिक्षा कार्यक्रम सुरू भएको छ । दाङका दुई स्थानमा हुन लागेको उपनिर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने प्रक्रियाबारे मतदाता शिक्षा दिनका लागि ५२ जना जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय घोराहीका जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्रीले जानकारी दिएका छन् ।

उनले मतदातासँग भेटगरी मतदाता शिक्षा प्रभावकारी बनाउन र मत बदरको संख्या घटाउने अभियान थालेको बताए । जसका लागि मंसिर १ गते मतदाताको घरघरमा पुगेर मतदाता शिक्षा दिने कर्मचारीहरूलाई मतदाता शिक्षासम्बन्धी तालिम प्रदान गरिएको छ ।

Argakhachi Cement Island Ad

"सकेसम्म चवक चौतारोमा भेला गराई उनीहरूको मनोविज्ञान बुझेर स्पष्ट रूपमा मतपत्र, मतदान गर्ने तरिका, स्वस्तिक चिन्ह लगाइसकेपछि मतपत्र पट्याउने तरिकालगायत मतदान केन्द्रमा जाँदा चाहिने मतदाता परिचय पत्र अनिवार्यताका बारेमा जानकारी दिन निर्देशन दिएका छौँ," जिल्ला निर्वाचन अधिकारी खत्रीले भने । मतदाता शिक्षा कर्मचारीहरुलाई नमूना पत्र, निर्वाचनसम्बन्धी पोस्टर र पर्चाजस्ता निर्वाचन सामग्रीका साथ सम्बन्धित क्षेत्रमा खटाइएको उनले बताए ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ । प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचन क्षेत्रमा ५० जना र घोराही उपमहानगरको वडा नम्बर १६ मा दुईजना गरी जम्मा ५२ जना मतदाता शिक्षा कर्मचारी परिचालन गरिएको उनले बताए ।

मतदाता शिक्षा कार्यक्रम आगामी मंसिर ११ गतेसम्म निरन्तर रूपमा सञ्‍चालन हुनेछ । दुई स्थानमा हुने उपनिर्वाचनका लागि ७३ हजार १ सय ७२ मतदाताले मतदानमा भाग लिन पाउने छन् । 

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा ४ हजार ४ सय ५३ जना रहेका छन् भने दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा ६८ हजार ७ सय १६ मतदाता रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १४:०६
प्रतिक्रिया दिनुहोस्