प्रधानमन्त्रीको सल्लाहकार भन्ने पद रमाइलो हुन्छ । बालुवाटारको पर्खालबाहिर सल्लाहकारको प्रतिष्ठा प्रधानमन्त्रीको भन्दा थोरै मात्र कम हो कि झैँ हुन्छ । अझ प्रधानमन्त्रीलाई नै सल्लाह दिने भनेपछि प्रधानमन्त्रीभन्दा बुद्धिमान र विद्वान् भन्ने पनि सोचिन्छ । प्रधानमन्त्रीले भाग लिने बाहिरी कार्यक्रममा सबैतिर बिनारोकटोक घुम्ने र सकभर अगाडिको पंक्तिमा बस्ने, झन्डावाल कार केडमा प्राडो र पजेरोमा हुइँकिने यस्ता सल्लाहकारको नजिक पुग्न पाउँदा पनि धेरै कर्मचारी र कार्यकर्ता आफूलाई भाग्यशाली सम्झन्छन् ।
धेरैको विचारमा प्रधानमन्त्रीका नजिकका व्यक्ति, नातेदार र राजनीतिकरुपमा केही भागबन्डामा नपरेका व्यक्ति प्रधानमन्त्रीका सल्लाहकार हुन पुग्छन् । कतिपय व्यक्तिका लागि प्रधानमन्त्रीका सल्लाहाकार भनेका त्यस्ता बिचौलिया हुन् जो प्रधानमन्त्रीको पद र शक्तिको प्रयोग र दुरुपयोग गरेर आर्थिक लाभ प्राप्त गर्छन्, गराउँछन् । कतिपयले त प्रधानमन्त्रीलाई थाहै नदिई सरुवा, बढुवा, टेन्डर, ठेक्कामा ठूलै रकम कुम्ल्याउँछन् भन्ने पनि छ । धेरै नयाँ, पुराना सल्लाहकारको हकमा फेरि यो आरोप पूर्णतः गलत पनि होइन ।
परन्तु, जो सुकै प्रधानमन्त्री भए पनि प्रधानमन्त्रीका सल्लाहकारको बालुवाटारभित्र भने कुनै इज्जत र प्रतिष्ठा हुँदैन । सल्लाहकार कुनै ढोके, बैठके, हुक्के बराबरको सम्मानमा बालुवाटारमा हराएको हुन्छ । सल्लाहकार साधारणतया बुद्धिमान, विवेकी र सही सल्लाह दिने व्यक्तिको रुपमा नभई भाषण लेख्ने, सन्देश बनाउने, शुभकामना ड्राफ्ट गर्ने कर्मचारीमा परिणत हुन्छ । त्यही काम पनि प्रधानमन्त्रीले दिँदा प्रफुल्लित हुने र नदिँँदा आपसमा बसेर कसले गरेको काममा के गल्ती भयो भनेर अरुको कुरा काटेर सन्तुष्टि लिँदै समय बित्छ । कतिपय सल्लाहकारबीच सबैभन्दा ताजा समाचार प्रधानमन्त्रीलाई कसले सुनाउने भन्ने होड चल्छ । प्रधानमन्त्री एउटा बैठक कोठाबाट अर्कोमा जाँदा दस सेकेन्ड बोल्न पाए उसलाई त्यसदिनको जागिर पाकेको भान हुन्छ । त्यही समयमा कुनै बाहिरी व्यक्तिले प्रधानमन्त्रीलाई भेट्न खोजेको थाहा दिने र भेट गराउने काम गर्न सक्दा उनलाई ठूलै काम गरेको भान हुन्छ । प्रधानमन्त्रीलाई कुनै कार्यक्रममा लैजाने वा नलैजाने विषयमा बहस गर्दै समय कट्छ तर अन्तिम समयमा सल्लाहकारको सोचलाई खासै महत्त्व पनि दिइँदैन ।
बालुवाटारभित्र वा प्रधानमन्त्रीको कार्यालयमा सल्लाहकार सबैको अफिस हुन्छ तर गर्ने काम केही हुँदैन । प्रधानमन्त्रीको तोक आदेशका लागि मन्त्रालयबाट आएका फाइल अधिकांश मुख्य सचिव वा सम्बद्ध मन्त्रीको ब्रिफिङ्गको आधारमा नै निर्णय हुन्छन् । जति फाइल अध्ययनका लागि सल्लाहकारकहाँ पठाइन्छ त्यसमा पनि लुछाचुँडी हुन्छ । अझ मुख्य सल्लाहकार भएको अवस्थामा अरु सल्लाहकारको भूमिका झनै गौण हुन्छ ।
बालुवाटारमा सल्लाहकार अफिस आयो वा आएन कसैलाई मतलब पनि हुँदैन । एउटा सल्लाहकार सिंहदरबारको आफ्नो अफिसमा बसेर के गर्दैछ, किन गर्दैछ र सो कार्यले राज्य सञ्चालनमा कति महत्त्व पुर्याउँछ वा पुर्याउँदैन कसैलाई थाहा हुँदैन । तर, कुनै पनि बेला सल्लाहकारलाई मुख्य सल्लाहकार वा स्वकीय सचिवले केही सोध्लान् र उत्तर दिन नसकिएला भन्ने आशा र डर हुन्छ । हुनत, सल्लाहकारबाट राम्रै सल्लाह गयो भने पनि प्रधानमन्त्रीलाई कसको बुद्धि हो भन्ने थाहा हुँदैन । जस्ले सुनायो सल्लाह उसैको भयो, गलत भयो भने बल्ल फलानोले दिएको सल्लाह भनेर दोष टाउकोमा आइपुग्छ ।
वास्तवमा सल्लाहकारको भूमिका ‘जसको साथमा भगवान त्यो गधा नै पहलवान’ भन्ने प्रकारको हुन्छ । प्रधानमन्त्रीले नजिकै राखेको व्यक्ति छ भने उसले सम्पूर्ण विषयमा हालीमुहाली चलाउँछ र स्वकीय सचिवको हकमा पनि यस्तै हुन्छ । कोठा कोठाभित्र डुल्ने सानो कुकुर र बाहिर खोरमा राखेको ठूलो कुकुरजस्तै फरक हुन्छ भित्रिया र बाहिरीयाका बीचमा । स्वकीय सचिव पनि को प्रमुख भन्ने हुँदैन, को भित्रिया भन्ने महत्त्वपूर्ण हुन्छ । जो व्यक्ति प्रधानमन्त्रीको सुत्ने कोठामा पुगेर खाना खुवाउँछ, औषधि खुवाउँछ वा लुगा मिलाउँछ ऊ भित्र नपुग्ने पीएचडी विद्वान्को हाकिम हुन्छ । प्रधानमन्त्रीले सोधेका र चाहेका कुरा ती विद्वान्लाई सोधेर वा खोज्न लगाएर ऊ हाकिम बन्छ ।
भर्खरै प्रधानमन्त्रीका सल्लाहकारहरूले राजीनामा दिएको समाचार सार्वजनिक भएको छ । अन्य प्रधानमन्त्रीका सल्लाहकारले जस्तै यी विद्वान् मित्रहरूले पनि सायद कहिल्यै सँगै बसेर देशको आन्तरिक र बाह्य स्थितिका विषयमा गम्भीर विचार, विमर्श गरेर प्रधानमन्त्रीलाई समयमै सूचित गर्ने मौका पाएनन् होला । यिनलाई पनि प्रधानमन्त्रीले विद्वान् व्यक्ति हुन् मैले इज्जत दिनुपर्छ भन्ने भावले व्यवहार गरेनन् होला । यिनीहरू मैले दिएको जागिर खाएर बसेका छन् भन्ने हेय भावका सिकार भएका भए अचम्म मान्नु पर्दैन । जस्तै लोकतान्त्रिक वा जनतान्त्रिक व्यक्ति प्रधानमन्त्री भए पनि नेपालमा कुर्सी नै सत्य हो । कुर्सीमा बसेको जङ्गबहादुरले बाङ्गो रुखलाई कस्तो सोझो रुख है भनेर सोध्दा वरिपरिका चाटुकारले ‘हो सरकार हो’ भन्नुपर्थ्यो रे । अहिलेका प्रधानमन्त्रीका सल्लाहकारको भूमिका र स्तर त्यही चाटुकारको भन्दा धेरै फरक छैन ।
त्यसैले अहिले सल्लाहकारको पद खाली भएको समयमा यस पदको विषयमा विचार गर्नु अत्यन्त सान्दर्भिक हुन्छ । वास्तवमा सल्लाहकारको भूमिका भनेको ‘किचेन क्याबिनेट’को हुनुपर्छ । अर्थात्, देशको परिस्थितिको विषयमा आन्तरिकरुपमा मूल्यांकन गर्ने र त्यस विषयमा छलफल गरेर प्रधानमन्त्रीलाई सत्य र तथ्यको जानकारी गराउने भूमिका यस्तो समूहको हुनुपर्छ । कुनै पनि सल्लाहकारले प्रधानमन्त्रीलाई सातामा दुईपटक पनि भेट्न पाउँदैन भने त्यस्तो सल्लाहकारको पद लिने व्यक्ति चाटुकार, हुक्के, बैठकेबाहेक केही हुन सक्तैन । यस्ता सल्लाहकारभन्दा साता वा महिनामा एकपल्ट बोलाएर प्रधानमन्त्रीले कुनै पनि स्वतन्त्र विद्वान्सँग परामर्श गरे भै हाल्छ । सल्लाहकार भनेर आफ्नो वरिपरि पुच्छर हल्लाउने समूहलाई राष्ट्रको सम्पत्ति खुवाएर राख्नुको कुनै औचित्य छैन ।
प्रधानमन्त्रीले राज्य भार सम्हाल्ने मन्त्रीमार्फत् हो । तर, कतिपय मन्त्रीले सही ढंगले काम गरेका हुँदैनन्, कतिपय मन्त्री प्रधानमन्त्रीको अगाडिमात्र ठिक्क पर्ने तर काम गर्नै नसक्ने प्रकारका हुन्छन् र कतिपय भ्रष्ट हुन्छन् । यस्ता मन्त्रीको काम कारबाहीमा नजर राख्न र प्रधानमन्त्रीलाई समयमै सचेत गराउन लागि सल्लाहकारको भूमिका हुन्छ । तर, मन्त्रीलाई प्रश्न गर्न नसक्ने, सचिवसँग कसरी आफ्नो व्यक्तिगत फाइदाको काम गराऊँ भनेर चाकरी गर्न चाहने व्यक्तिलाई सल्लाहकार बनाउनुको कुनै अर्थ छैन । देशको शासनभार चलाउन प्रधानमन्त्रीलाई सल्लाह दिने व्यक्तिले प्रधानमन्त्रीको हरेक गलत कदमलाई औल्याउन सकोस् र कुनै पनि बेला प्रधानमन्त्रीसँग भेट गर्न कसैले रोकटोक नगरोस् । त्यस्तो व्यक्ति सल्लाहकार होस् जोसँग प्रधानमन्त्रीको विचार मिलोस् र ऊप्रति देशको सर्वोच्च कार्यकारीले इज्जत पनि देखाओस् । अन्यथा, सल्लाहकार पदमा केही कार्यकर्तालाई भर्ती गर्नुभन्दा स्वकीय सचिवालयमा विज्ञहरू भर्ना गरेर काम गर्दा देश र देशको प्रमुख कार्यकारीलाई फाइदा हुन्छ ।