काठमाडौ । सरकारले पाँचौं दादुरा रुबेला खोप अभियान कार्यक्रम आगामी फागुन र चैतमा सञ्चालन गर्ने भएको छ । दादुरा रुबेलाको खोप कभरेज ९५ प्रतिशत पुर्याउने उद्देश्यले फागुन र चैतमा पहिलो र दोस्रो चरणमा अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाअर्न्तगतको बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
पहिलो चरण अर्न्तगत फागु १ गतेदेखि ३० गतेसम्म प्रदेश १, २ र ५ का ३४ जिल्लाका सञ्चालन हुनेछ । जसमा १८ लाख २४ हजार चार सय ३३ बालबालिकालाई खोप लगाइने शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।
“जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाइने छ,” उनले भने “झापादेखि कञ्चनपुरसम्मका १८ जिल्ला (चितवन र नवलपरासी बाहेक) का जिल्लाका बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाइने छ ।” देशभरका नौ महिनादेखि पाँच वर्षभित्रका करिब ३० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने शाखा प्रमुख डा. गौतमको भनाई छ ।
त्यसैगरी, दोस्रो चरण अर्न्तग चैतमा ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी भएको छ । जसमा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
सरकारले राष्ट्रिय दादुरा खोप अभियान कार्यक्रमका लागि करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । “यस अभियानमा कोही पनि बालबालिका दादुरा खोप लगाउनबाट बञ्चित नहुन् भनेर गाउँगाउँमा बालबालिका खोजेर खोप दिइनेछ,”उनले भने,“अभियानमा देशभरका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहका जनप्रतिनिधिलगायतको सक्रिय सहभागितामा अभियान सञ्चालन हुनेछ ।”
सरकारले दादुरा खोप जन्मेको नौ महिना पुगेपछि पहिलो मात्रा र दोस्रो मात्रा १५ महिनामा दिँदै आएको छ । प्रत्येक १० लाख जनसंख्यामा पाँच जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । हाल देशैभर करिब ७० प्रतिशत बालबालिकाहरु मात्र दादुरा विरुद्धको खोपको पहिलो मात्राको पहुँच पुगेको छन् । दोस्रो खोपको मात्रा लिने बालबालिका ६७ प्रतिशत मात्र रहेको रहेका छन् । दादुराको खोप पहुँच पनि ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । यसै आर्थिक वर्षको सुरुवातमा मोरङ, दाङ, कपिलवस्तु लगायतका जिल्लामा दादुराको महामारी फैलिएको थियो ।
सरकारले यो खोप अभियान हरेक चार-चार वर्षमा सञ्चालन गर्दै आएको छ । पहिलो दादुरा रुबेलाको खोप अभियान सन् २००४ मा सञ्चालन गरेको थियो । त्यसयता सन् २००८, २०१२ र २०१६ मा सञ्चालन भइसकेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सन् २०२० सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको छ ।
सांकेतिक तस्बिर