site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रेशमका लागि किम्बु खेती

दाङ । दाङको देउखुरीमा रेशम धागो उत्पादनका लागि किम्बुको व्यवसायिक खेती गरिएको छ ।

२०७३ सालदेखि सुरू भएको किम्बु खेती अहिले ४५ बिगाह क्षेत्रफलमा फैलिएको हो । कपडा बनाउनका लागि प्रयोग गरिने रेशम धागो उत्पादन गर्न सकिने भएपछि दाङको देउखुरीका स्थानीय किम्बुखेतीतर्फ आकर्षित भएका छन् । 

Argakhachi Cement Island Ad

धागो उत्पादन हुने रेशम किराको मुख्य खाना किम्बु हो । २०७३ सालमा धादिङवाट देउखुरी गढवा गाउँपालिका वडा नं. ३ हडैयाँमा आईपुगेको महेशदत्त अधिकारीले १० बिगाह जमिनबाट सुरु गरेको किम्बु खेती पछिल्लो समय स्थानीयले समेत सुरू गरेका हुन् । दश विगाह जमिनवाट सुरु भएको व्यवसाय अहिले पश्चिम नेपालकै ठूलो व्यवसाय भएको अधिकारीको भनाइ छ ।

एक लाख ५० हजार किम्वुका बिरुवा रोपेर व्यवसाय सुरुवात गरेका उनले हाल १६ लाख विरुवा पुर्‍याएका छन । हालसम्म करिव ५० लाख रुपैयाँ लगानी गरेको बताउने अधिकारीले यस बर्षमात्र १२ लाख नयाँ विरुवा उत्पादन गरेका छन् । 

दाङमा एक सय बिगाह बढी जमिनमा किम्बु खेती विस्तार गर्ने लक्ष्य लिएका उनले किम्वुको व्यवसायमा ३० जनालाई रोजगारी समेत प्रदान गरेका छन् । 

उनले उत्पादन गरेको ८० प्रतिशत रेशम धागो जापान, अमेरिका लगायतका मुलुकसम्म पुग्ने गरेको छ । यसको व्यावसायिक खेतीलाई अघि बढाउन सके रोजगारीका लागि कोही पनि विदेशिन नपर्ने अधिकारी बताउँछन् । 

कम मेहनतमै धेरै उत्पादन हुने भएकाले पनि किम्वुको व्यावसायिक खेतीतर्फ धेरैको रुचि बढ्न थालेको छ । अधिकारीको सफलताबाट प्रभावित भएर पछिल्लो समय देउखुरीका धेरै किसानले यो व्यवसाय सुरुवात गरेका छन् । देउखुरीका गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका धेरै स्थानमा अहिले व्यावसायिक किम्बु खेती फस्टिँदै गएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १५:००
प्रतिक्रिया दिनुहोस्