-1738574869.jpeg)
काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ का १० महिनामा ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गरेका छन् । अघिल्लो वर्षका १० महिनाको तुलनामा यसपालि सेयर धितो कर्जा ३९.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको वैशाख मसन्तसम्म नौ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो । अघिल्लो वर्षको तुलनामा ०७९/८० का १० महिनामा यस्तो कर्जा १२.६ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार, एक करोडभन्दा माथिको सेयर धितो ऋण ५३.३ प्रतिशतले बढेको छ । एक करोडभन्दा बढी कर्जा लिएका ऋणीमा २९ अर्ब ८० करोड ८० लाख रुपैयाँ गएको छ । गत वर्षको वैशाखसम्म यस्तो ऋण आठ अर्ब नौ करोड ८५ लाख रुपैयाँ गएको थियो ।
५० लाखदेखि एक करोडसम्म सेयर धितो कर्जा लिएका ऋणीमा दुई अर्ब ६२ करोड ३२ लाख गएको छ । २५ लाखदेखि ५० लाख लिएका ऋणीमा दुई अर्ब २० करोड ३६ लाख गएको छ । २५ लाखभन्दा कम सेयर धितो कर्जा लिएका ऋणीमा ७९ करोड २६ लाख रुपैयाँ ऋण प्रवाह भएको छ । गत वर्षको तुलनामा यी चार शीर्षकमा ऋण बढ्दै गएको छ ।