site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सारा दिन अरुलाई बाँड्ने’ सुन्दर मामा !
SkywellSkywell

दसैं सुरु हुनासाथ म सधैं मामाघर पुगेको हुन्छु । यो क्रम अहिले पनि जारी छ ! मेरो मामाघर, सिरहा भलुवाही । शरीर यतै छ, राजधानीको भीडभाडमा । मन भने अहिले पनि उतै छ, स्मृतिमै भए पनि ।

यतिबेला म विचरण गरिरहेको छु, भलुवाहीको डगहर (बाटो) । फूलबारी । पोखरी । खत्ता । मुसहरी टोली । चमर टोली । अर्थात्, टण्डेलिनुमा (बिनाअर्थको घुमाइ) चलिरहेको छ । यी शब्दहरूसँगै पुगेको छु म त्यहाँ, जहाँ मैले दशकभन्दा बढी दसैं मनाएँ । 

०००
गाउँमा दसैं । दसैंको वातावरणले छपक्कै छोपेको छ सबैलाई । सबैलाई आफ्नो–आफ्नै चटारो छ । थरिथरिको चटारो छ । बासमती, गमढी र आँसु धानको चिउरा ढिकीमा कुट्नेदेखि खसीबोका काट्नेसम्मको चटारो, सबैमा उस्तै ! 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

कृष्णहरि काकाको चटारो चण्डीपाठ कसरी भ्याउनेमा छ भने अरूलाई अरू नै चटारोले चेपेको छ ।

उता मामाहरूको चटारो, टीकाको दिन बेलुकी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्नुमा अल्झेको छ । यसैले गाउँमा कसैलाई फुर्सद छैन । सबै व्यस्त छन् । स्टेजमा ओर्लने कलाकारको सूचीमा हाम्रो नाम त छैन, तर हुट्हुटी छ । उत्साह छ । (उत्प्रेरणा पनि जाग्दैछ ।)

मञ्च काठका खाटहरू जम्मा गरेर बनेको छ, दरबज्जा (खलियान)मा । मञ्चमा उज्यालो म्यान्टुल (पेट्रोम्याक्स)को छरिएको छ । कलाकारहरू थुप्रै छन् । राजधानी र अरु सहरबाट दसैंमा जम्मा भएका ठूलाबडा पनि मञ्चमा उक्लने तयारीमा छन् । गाउँकै कलाकारहरू त हुने नै भए ।

टीकाको दिन बेलुका । कोही गीत गाउँछन् । कोही नाच्छन् । कोही प्रहशन मञ्चन गर्छन् । यसरी नै घण्टौं बित्छ ओपन थिएटरमा । कात्तिके शीत टाउकोमा झरिरहेको छ । कसैलाई मतलब छैन । सबै रमाएका छन्, गीत–सङ्गीतमा ।

यस्ता धेरै दसैं र धेरै सांस्कृतिक कार्यक्रम मैले भोगेको छु, भलुवाहीमा । त्यसैले पनि मेरो स्मृतिपटमा मेरो घरतिरकोभन्दा मामाघरतिरको दसैंको सम्झना अधिक छ । घरतिरको त खासै सम्झना पनि छैन !

७–८ वर्षदेखि १६–१७ वर्षको हुँदासम्म प्रायः हरेक दसैं मेरो भलुवाहीमै बित्थ्यो । बुवा–आमा र भाइहरू काठमाडौं अनि जनकपुरमै हुन्थे । म मात्रै भलुवाही जान्थेँ । किनभने सानैदेखि त्यहीँको दसैंको चस्का लाग्यो । (सायद, बाल्यकालमा मामाघरमा पाइने दक्षिणाको अर्थशास्त्रले पनि काम गरेको थियो कि !)

बितेका ३०–३५ वर्षअगाडिको दसैंको सम्झना हो यो । त्यसको धङधङीले अझै छोडेको छैन । त्यसैले, मानसिकरूपमा उपस्थिति आज पनि गाउँमै छ । जब कि, भलुवाहीका उतिबेलाका अधिकांश कलाकार (?) आज राजधानीमै छन् ।

हो पनि । मालश्री धुन बज्न सुरु भएलगत्तै म भलुवाही पुग्छु । अनि सम्झिन्छु ती कलाकारहरू, जसले मलाई कलाकारिताको रङ्गमा रङ्गिन मद्दत गरेका थिए ।

म सम्झिरहेछु त्यो रङ्गमञ्च– जहाँ मेरा मामा र फुपाजू स्टेजमा उक्लिएर प्रहशन भन्थे-

‘लखपतिया जनकपुर कितना दूर है ?’
‘चलिएचलिए हुजुर, अब थोड्बे दूर है ।’ 

तालीको पर्रा छुट्थ्यो । त्यही पर्रासँगै हामी उफ्रिन्थ्यौं । नाच्न नआए पनि नाच्थ्यौं । 

बीचबीचमा गीत गाउन अघि सर्थे, हारमोनियमसहित सुन्दर मामा । नामजस्तै सुन्दर थियो उनको स्वर । सुन्दर मामा (सुन्दरमणि उपाध्याय) गीत गाउँथे । हारमोनियम बजाउँथे । अभिनय सिकाउँथे । वास्तवमा भर्सटाइल कलाकार थिए उनी ।

कलाप्रति सुन्दर मामाको प्रेम र समर्पणले हामीलाई पनि यता तानेको हो कि भन्ने महसुस हुन्छ अहिले । यथार्थ पनि सायद यही नै हो !

सुन्दर मामा गीत गाउने र बाजा बजाउने मात्र गर्दैनथ, उनी गोलबजारको हाइस्कुलमा अङ्ग्रेजी विषय पनि पढाउँथे । अर्थात् उनका हामीजस्ता नौटङ्कीबाज चेला मात्रै थिएनन्, एकसे एक धुरन्धर चेलाहरू छन् उनका, जसले गोलबजारको स्कुलमा शिक्षादीक्षा पाएका थिए ।

यिनै सुन्दर मामाले हारमोनियम फेट्दै गीत गाउँन सुरु गर्थे-

सारा दिन अरूलाई बाँडेँ
सायद यी रात मेरा 
मेरा सुखहरू अरूको 
सायद यी आँसु मेरा । 

हामी सबै उनको गीतमा झुम्थ्यौं । यो क्रम निक्कै वर्षसम्म जारी रह्यो । किनभने हरेक वर्ष गाउँमा नाटक र सांस्कृतिक कार्यक्रम हुन्थ्यो । अनि सांस्कृतिक कार्यक्रममा गानाबजाना गर्ने र नाटक खेल्न लगाउने मूल कार्य सुन्दरमणिकै निर्देशनमा हुन्थ्यो ।

यसैले पनि जलेश्वर, जनकपुर अनि काठमाडौंको दसैं मलाई जहिले पनि फिक्का लाग्थ्यो । जलेश्वर, जनकपुर वा काठमाडौंको दसैं त के दसैं ! भलुवाहीको पो दसैं ! भन्थेँ म ।

०००

आज पनि स्मृतिमा छ भलुवाहीको दसैं । कहिल्यै विस्मृतिमा जाँदैन त्यो । युगौंदेखि यहीँ छ । मनमा । मस्तिष्कमा । 

सुन्दरमणि उपाध्यायले गाएको यो गीतले आज पनि मलाई तरङ्गित गराउँछ । सुन्दा अनुभूत हुन्छ, ‘यो गीत नारायणगोपालले गाएका हैनन्, सुन्दर मामाले गाएका हुन् !’

एक–दुईवटा दसैं मामाघरमा बित्यो । दुई–चार वर्ष मामाघरै बसेर पढियो । गाउँको बसाइ लम्बिएसँगै अग्रज दाइ अनि मामाहरूले नाटक र सांस्कृतिक कार्यक्रममा अभिनय र गायनका लागि हामी केटाहरूलाई प्रेरित गरे । 

समयसँगै कर्ममा पुस्ता हस्तान्तरण हुँदैगयो । युवाहरू अघि बढ्न थाले । ती युवासँगै हामी १५ वर्षे ठिटाहरू पनि स्टेज बनाएर त्यसकै वरिपरि रमाउन थाल्यौं । 

स्टेज खाटकै हुन्थ्यो । बिजुली थिएन । त्यसैले म्यान्टुलको विकल्प थिएन । माइक र स्पिकर हुने कुरै भएन । गीत गाउँथे । त्यो बेला हिन्दी नाटक ल्याएर नेपालीमा अनुवाद गरिन्थ्यो । अनि मात्रै नाटक मञ्चन हुन्थ्यो ।

उमेरअनुसार नाट्य अभिनयका लागि पात्र चयन गरिन्थ्यो । महिला पात्र पनि केटाकै भागमा पथ्र्यो । सबै कुनै न कुनै रूपमा मञ्चमा सहभागी हुन्थे । 

र, निर्देशनका लागि सुन्दर मामाको साथ र सहयोग हमेशा हुन्थ्यो । उनी अभिनय सिकाउँथे । अर्थात्, उनलाई अभिनयकलामा पनि ज्ञान थियो । नाटक र सांस्कृतिक कार्यक्रमको रिहर्सल, कहिले कसैको गोहाली (गोठ)मा हुन्थ्यो भने कहिले गाउँ टाँस्सिएकै फूलबारीमा ।

अनि अग्रज पुस्ताका सुन्दरमणि युवा र किशोरहरूलाई प्रशिक्षित गर्दै आफै पनि एक–दुई गीतको जिम्मा लिन्थे । र, फेरि गुञ्जिन्थ्यो मञ्चमा, सारा दिन अरुलाई बाँडेँ...।

इतिहास विषयका ज्ञाता डा. विमलकुमार शर्मा सुन्दरमणि उपाध्यायको स्मरण गर्दै आफू पनि उनको सांस्कृतिक चेला भएको बताउँछन् । भलुवाहीमा रहँदा आफूले गीत–सङ्गीत र नाटक अनि प्रहसनका विषयमा सुन्दरमणि उपाध्यायसँगै धेरै कुरा सिकेको स्वीकार्छन् । 

केही दिनअघि मध्यवानेश्वरमा भेट भएका डा. विमल भन्छन्, “भलुवाहीमा सुन्दरमणि उपाध्यायसँग सिकेको कला भरतपुरमा काम लाग्यो । पिताजी भलुवाहीबाट बसाइ सर्नुभयो, महोत्तरीको गौशाला भरतपुर । उक्त गाउँमा पनि हामीले चाडपर्वमा नाटक र सांस्कृतिक कार्यक्रम प्रस्तुतिको परम्परा सुरु गर्यौं ।”

डा. शर्माका अनुसार सुन्दरमणि सरस्वतीका वरदपुत्र थिए । अङ्ग्रेजी भाषाका शिक्षक उनको ज्ञान सांस्कृतिक क्षेत्रमा अथाह हुनुले यो कुरा प्रमाणित गरेको शर्माको भनाइ छ । 
वास्तवमा, सुन्दरमणि उपाध्यायको गायन कला अद्भूत थियो । हरेक गीत कण्ठाग्र थिए । नारायणगोपालका त्यसबेलाका चर्चित गीतमात्रै नभएर उनले मोहम्मद रफी र मुकेशका गीत पनि उही सूर र तालका साथ गाउँथे ।

संविधानविद् डा. विपिन अधिकारी पनि सुन्दरमणिको गायन सुनेको बताउँछन् । भलुवाहीको कार्यक्रममा हैन, उनले लहानमा सुनेका थिए । त्यसबेला सुन्दरमणि उपाध्याय लहानको गोलबजार हाइस्कुलमा पढाउँथे । 

सुन्दर मामाको त्यो कलाप्रेम आज पनि मलाई सम्झना हुन्छ । लाग्छ, ममा कलाप्रतिको थोरै रुझान् सुन्दरमणि उपाध्यायको चेला भएकै कारण आएको हो ।

डा. विमल शर्मा पनि आफूलाई सुन्दरमणिको चेला भन्न रुचाउँछन् । र, उनले पनि केही आफ्ना चेला बनाए, रवि अधिकारी र सुनील अधिकारीहरूलगायत । जो पछि काठमाडौंको रङ्गमञ्चमा पनि देखिए । तिनको संलग्नता पछि पत्रकारितामा रह्यो । 

राजधानी प्रवेशपछिको केही वर्ष मैले पनि केही नाटकमा अभिनय गरेँ । अर्थात् राजधानीमा मञ्चन हुने केही नाटकमा सुन्दरमणिका चेलाहरू नाचघर र सभागृहमा अभिनय गर्दैथिए । कलामर्मज्ञ सुन्दरमणि कुनै न कुनै रुपमा काठमाडौंको रङ्गमञ्चमा पनि जोडिएका थिए ! 

डा. शर्मा भन्छन्, “४० को दशकको प्रारम्भमा रवि, सुनील, म र तिमी कुनै न कुनै रुपमा काठमाडौंको रङ्गमञ्चमा उक्लिएकोले; एकअर्थमा यहाँंको रङ्गमञ्चमा कलाकार दिने योगदान सुन्दरमणि सरलाई पनि जान्छ भन्न सकिन्छ । यसलाई अस्वीकार गर्न सकिन्न ।”

आज सुन्दरमणि हामीबीच छैनन् । उनको निधन भएको पनि धेरै वर्ष बितिसकेको छ । तर उनले हामीलाई प्रदान गरेको कलाकर्म आजपर्यन्त हामीसँगै छ । त्यसैले सुन्दर मामाको सुन्दर स्मृति हामीसँगै छ । 

मेरा कान्छा मामा कुमुद ढकालसँग सुन्दर मामाको कुरा उठाउँदा उनी भन्दैथिए, “सुन्दर दाजु उतिबेलै काठमाडौं आउनुभएको भए एकजना उत्कृष्ट कलाकार भएर उदाउने थिए !”
सारा दिन अरुलाई बाँडे...बोलको गीत गाउन त नारायणगोपालले नै गाएका हुन, तर मेरा लागि आज पनि त्यो गीत सुन्दर मामाले गाएका हुन् भन्ने लाग्छ ! मेरो मस्तिष्कमा उक्त गीत सुन्दर मामाको आवाजमा झङ्कृत भइरहन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १०:५२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro