काठमाडौं । शुक्रबार (भोलि) नेपालले सिंगापुरमा टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेविरुद्ध टि–ट्वान्टी खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्दैछ । नेपाली युवा टोलीका लागि अनुभवी जिम्बाब्वेका केही खेलाडी घातक हुनसक्छन् । टेष्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध नेपालले दोस्रोपटक खेल्न लागेको हो । उमेर समूहमा नेपाल जिम्बाब्वेसँग खेलिसकेको भए पनि राष्ट्रिय टोलीले टि–ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय खेल खेलेको छैन ।
यद्यपि २०१८ को मार्चमा नेपालले जिम्बाब्वेसँग एकदिवसीय विश्वकप छनोट खेलेको थियो । त्यहिपछि मात्र नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो ।
दुई नयाँ अनुहार र अधिकांश युवा सम्मिलित नेपाली टोलीको जोस र लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको जिम्बाब्वेको अनुभव हेर्नलायक हुनसक्छ । नेपालले जिम्बाब्वेपछि सिंगापुरसँग खेल्नेछ । टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज भएकाले नेपाल यो सिरिज आफ्नो पक्षमा पार्दै ओमानमा हुने सिरिजका लागि थप आत्मविश्वासी बन्न खोज्नेछ ।
कप्तान पारस खड्काले इशान पाण्डे र कुशल मल्ललाई मौका दिएको टोलीमा अधिकांश युवा खेलाडी छन् । जसमा उपकप्तानको जिम्मेवारी युवा खेलाडी दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ । अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल पारिवारिक कारण तथा शरद भेषावकर र वसन्त रेग्मी टोलीमा नपर्दा युवा खेलाडीको बाहुल्यता टोलीमा छ ।
परीक्षाको रुपमा युवा खेलाडीको प्रदर्शन रहँदा टोलीमाथि पनि चुनौती छ । केही महिनाअघि सिंगापुरमा कमजोर मानिएका प्रतिद्वन्द्वीसँगको हारपछि नेपाली टोली समर्थकमा परेको भ्रम पनि चिर्न चाहन्छ । अर्कोतिर टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा गतिलो प्रदर्शन गर्न नसकेको जिम्बाब्वेले हालै बंगलादेशमा भएको त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा अफगानस्तानमाथि मात्र जित निकालेको थियो ।
४ मध्ये ३ खेलमा ब्यहोरेको हारसँगै कमजोर मनोबलमा रहेको जिम्बाब्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सके नेपाली युवा टोलीले ऐतिहासिक नतिजा ल्याउन सक्छ । जिम्बाब्वेका कप्तानले एक साताअघि भएको सिरिजबाट संन्यास घोषणा गरेकाले उनको स्थानमा नयाँ खेलाडी टोलीमा आएका छन् । तर जिम्बाब्वेका यी तीन खेलाडी भने नेपालका लागि घातक बन्नसक्छन् ।
विलियङ्टन मस्काडाज
जिम्बाब्वेका युवा खेलाडी विलियङ्टन मस्काडाज नेपालविरुद्ध खतरनाक हुन सक्ने मध्येका एक खेलाडी हुन् । ९ खेलको मात्र टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका मस्काडाजले १० विकेट लिएका छन् । २५ वर्षिय मस्काडाजले २०१८ मा अन्तिमपटक अष्टे«लियाविरुद्ध टि–ट्वान्टी क्रिकेट खेलेका थिए । उनले २०१५ मा अफगानस्तानविरुद्ध खेल्दै टि–ट्वान्टी यात्रा सुरु गरेका थिए ।
सेन विलियम्स
जिम्बाब्वेका अनुभवी खेलाडी सियन विलियम्स नेपालविरुद्ध खतरनाक हुन सक्ने मध्येका एक खेलाडी हुन् । ३४ टि–ट्वान्टी क्रिकेटमा ६ सय ९१ रन बनाएका उनी जिम्बाब्वेका सर्वाधिक रन बनाउने चौथो खेलाडी हु्न् ।
मिडल अर्डर ब्याटसम्यान विलियम्स ब्याटिङसँगै बलिङमा पनि पोख्त छन् । उनले अहिलेसम्म टि–ट्वान्टी क्रिकेटमा ३४ खेलमा २६ विकेट लिएका छन् । २००६ मा बंगलादेशविरुद्ध खेल्दै टि–ट्वान्टी सुरु गरेका उनले हालै सम्पन्न त्रिकोणात्मक सिरिज खेलेका थिए।
क्रेन्ज इभिन
३४ वर्षीय खेलाडी इर्भिनले टि–ट्वान्टी क्रिकेटमा ४६१ रन बनाएका छन् । उनको हालसम्मको सर्वाधिक रन स्कोर ६८ रहेको छ । मिडल अर्डरमा चम्कने उनी बाँया हाते ब्याट्सम्यान हुन् । यो भन्दा पहिलो नेपाल र जिम्बाब्वेबीच भएको विश्वकप छनोटको खेलमा इर्भिनले ५० बलमा ३४ रन बनाएका थिए । उनी हाल नेपालसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा हेरिएका छन् ।