site stats
बाह्रखरी :: Baahrakhari
खेल
 युवा टोलीलाई उपाधिमा ह्‍याट्रिक गर्ने अवसर

काठमाडौं । तेस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता पर्सी शुक्रबारबाट घरेलु मैदानमा सुरु हुँदैछ । आयोजनाको जिम्मेवारी पाएको अखिल नेपाल फुटबल संघ (एन्फा) साफ भव्य रुपमा सञ्चालन गर्ने तयारीमा छ भने खेलाडीहरु पनि घरेलु मैदानमा इतिहास रच्ने लक्ष्यमा छन् । अर्थात् युवा टोलीको योजना यू–१८ साफ च्याम्पियनसिपमा जितको ह्याट्रिक गर्ने हो ।

सिनियर टोलीले साफ च्याम्पियनसिपमा उपाधि जित्न नसके पनि उमेर समूहको साफ च्याम्पियनसिपमा भने नेपालको विगत राम्रो छ । नेपालले उमेर समूह अन्तर्गत यू–१८ साफमा यसअघि दुई पटक उपाधि जितिसकेको छ । लगातार उपाधि कब्जा गरेको  नेपाललाई घरेलु मैदानमा ह्याट्रिक गर्ने सुनौलो अवसर छ । 

मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ ह्याट्रिक गर्ने लक्ष्यसहित टोलीलाई अन्तिम तयारी गराइरहेका छन् । उनले भने, “हामीलाई ठूलो अवसर छ । घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै ह्याट्रिक गर्ने हाम्रो लक्ष्य हो । यसै रणनीतिका साथ खेलाडी तयार छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालले यसअघि २०१७ मा भुटानमा आयोजना भएको दोस्रो साफमा सेमिफाइनलमा भारत तथा फाइनलमा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । यसअघि २०१५ नेपालमै आयोजना भएको साफमा भारतलाई हराउँदै पहिलो पटक उपाधि कब्जा गरेको थियो । यो  संस्करण भने यू–१९ मा खेलाइएको थियो । 

प्रशिक्षक श्रेष्ठ पुरानै नतिजालाई निरन्तरता दिने टोली तयार भएकाले आत्मविश्वास बढेको बताउँछन् । “त्यो समय उपाधि जित्दाका खेलाडी सिनियर टोलीमा रहे पनि पछि आएका युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । टोली राम्रो बनेको छ,” प्रशिक्षक श्रेष्ठले भने ।

टोलीले करिब साढे ३ महिना अभ्यास गरेको छ । स्वर्गिय ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना भएको प्रतियोगिता र भारतमा एशियन स्कुल च्याम्पियनसिप खेलेका खेलाडी टोलीमा सम्मिलित रहेका कारण फर्वाड र मिडफिल्ड राम्रो रहेको उनले बताए । 

“खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव पनि छ । अभ्यासका क्रममा दुई विभागिय क्लब एपीएफ र पुलिससँग मैत्रीपूर्ण खेल खेलेका छौं । सागको तयारीमा रहेको यू–२३ टिमसँग पनि खेलेका छौं । कमिकमजोरी सुधार्दै टोली तयार भएको छ,” प्रशिक्षक श्रेष्ठले भने । 

उनका अनुसार टोलीको लक्ष्यमा मनिष डाँगी नायक बन्न सक्नेछन् । कोरियामा बी डिभिजन लिग खेलिसकेका स्टाइकर मनिष गोल गर्न माहिर रहेकाले प्रशिक्षक श्रेष्ठ मनिषको प्रदर्शनमा निकै आशावादी छन् । उनले भने, “मनिषले स्टाइकरको राम्रो भूमिका निर्वाह गरीरहेका छन् । अवसर सदुपयोग गर्न सके मनिष हिरो बन्न सक्नेछन् । उनीबाट टोलीले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ ।”

साफलाई केन्द्रित गर्दै टोलीले तीन महिनाअघिबाट प्रशिक्षण सुरु गरेको थियो । सातदोबाटोस्थित एन्फा र जावलाखेल मैदानमा अभ्यास गरेको नेपालले एकसाता पोखरामा पनि अभ्यास गर्यो । अभ्यासका क्रममा टोलीले पोखराका दुई क्लबसँग मैत्रीपूर्ण खेल पनि खेलेको छ । कास्की–११ र स्थानिय क्लवसँग खेलेको टोली काठमाडौं फर्किसकेको छ । 

सुरुआती ४६ खेलाडीबाट मुख्य प्रशिक्षक श्रेष्ठले मंगलबार मात्र अन्तिम टोली घोषणा गरेका थिए । ४६ बाट ३० अनि २५ गर्दै अन्तिम २३ सदस्यीय टोली छनोट भइसकेको छ । प्रशिक्षक श्रेष्ठले भने, “अन्तर्राष्ट्रिय अनुभव बटुलेका खेलाडीहरु टोलीमा छन् । हाम्रो खेलाडीको लेभल माथि छ । विपक्षीविरुद्ध आक्रमक खेल्नेछौं ।”

उनका अनुसार प्रतिद्वन्द्वी सबै टोली बलिया छन् । मुख्यतः भारतलाई इंगित गरेका उनले बंगलादेश पनि चुनौती हुनसक्ने बताए । यद्यपि नेपाली टोली जितका लागि लायक रहेको उनको भनाइ छ । पाकिस्तान सहभागि नहुने भएपछि साफमा ६ टोलीबिच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले शुक्रबार माल्दिभ्सविरुद्ध खेल्दै च्याम्पियनसिप यात्रा सुरु गर्नेछ । त्यसपछि नेपालले भुटानसँग खेल्नेछ । समूह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका छन् । 

नेपाली टोली 
गोलकिपरः विशाल सुनार, सूर्य अधिकारी र पुजन होना 
डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोसन दोङ, अलिक रुम्बा, अन्जल महर्जन 
मिडफिल्डः जय गुरुङ(कप्तान), नितिन थापा(उपकप्तान), सिसिर लेखि,रोसन राना मगर, आकाश बुढामगर, मनिष थापा, कुशल फुयाल
स्टाइकरः मनिष डाँगी, ब्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने र दर्शन गुरुङ

तस्बिरहरूः  रासस

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १५:०६
प्रतिक्रिया दिनुहोस्