
काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन-लभस्टोरी फिल्म ‘जाइरा’को मगंलबार कुमारी हलमा ‘सेलिब्रेटी शो’ राखिएको थियो ।
समीक्षकबाट खासै राम्रो प्रतिक्रिया नपाएको चलचित्रले व्यापारमा पनि खासै राम्रो गर्न नसकेको बताइएको छ । तर नेपाली चलचित्रमा केही नयाँपन दिएकोमा जाइराले कलाकारबाट भने राम्रै प्रतिक्रिया पाएको छ ।
चलचित्र हेरेपछि ‘राते काइला’ उपनामले परिचित सुनिल थापाले अभिनेत्री नम्रताको मेहनतको प्रशंसा गरेर छन् । नेपालमा ‘जाइरा’ जस्तो फिल्म बन्नु ठूलो हिम्मतको काम रहेको बताउँदै उनले भने, “स्पोर्टस् लभर दर्शकले फिल्म नछुटाउँदा राम्रो हुन्छ । पर्दामा नम्रतालाई हेर्दा रियल फाइटर महशुस हुन्छ । बुलेटको भूमिका निभाउने श्रृजनाको काम पनि गजब लाग्यो ।”
त्यसैगरी अभिनेत्री केकी अधिकारीले चलचित्रमा नयाँपन भएको बताइन् । नम्रताको मेहनतको प्रशंसा गर्दै उनले भनिन्, “हामीहरु यस्तो फिल्म बनाउनुपर्छ भनेर सोच्छौं मात्र तर उहाँहरुले बनाएरै देखाउनुभयो । कल्पनामा मात्र हुने चिज देख्न पाइयो । फिल्म एकदमै राम्रो छ । मेरो दिमागमा अझै पनि क्लाइमेक्स सिन बसिरहेको छ । श्रृजना, प्रमोद, अनुप सबैको काम उम्दा छ ।”
स्पेशल शोमा उपस्थित रिमा विश्वकर्मालगायत सबैले नम्रताको अभिनय र आँटको तारिफ गरे । बुलेटको भूमिकामा डेब्यू गरेकी सृजना रेग्मी र प्रमोद अग्रहरीको अभिनयको पनि तारिफ गरेका छन् ।
चलचित्रमा आशुतोष राज श्रेष्ठको कथा र निर्देशन छ ।
चलचित्रमा नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सृजना रेग्मी, रेमनदास श्रेष्ठ, सम्राट मगर र सुजाता श्रेष्ठको अभिनय देख्न सकिन्छ ।