
काठमाडौं । साहित्यिक अन्वेषक एवम् साहित्यिक पत्रकार जयदेव भट्टराईको नवीनतम कृति ‘स्मृतिमा छाडेर जानेहरू’ सार्वजनिक भएको छ ।
लेखक भट्टराईका पिताजी इतिहासकार एवम् दुई दर्जनभन्दा बढी कृतिका लेखक गुणदेव भट्टराईको मंगलबार सम्पन्न एघारौं पूण्यतिथिका दिन सो कृति सार्वजनिक गरिएको हो ।
नेपाली साहित्यको क्षेत्रमा नाम कमाएका र ओझल परेकाहरूसँगको स्मृति र तिनका बारेमा लेखिएका ३६ वटा संस्मरणहरू यस पुस्तकमा समेटिएका छन् ।
लेखक जयदेव भट्टराईले यसभित्र डायमनशम्सेर राणा, गोविन्द गोठाले, बालकृष्ण पोखरेल, फणीन्द्रराज खेताला, कमलमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, पुण्यरश्मि खतिवडा, बुलु शर्मा, देवी शर्मा, सुन्दरप्रसाद शाह दुखी, शिव रेग्मी, जगदीशशम्सेर राणा, जगदीश घिमिरे, दैवज्ञराज न्यौपाने, प्रेमा शाह, मनु ब्राजाकी, कृष्णभूषण बलआदिसँगका संस्मरण र शब्दचित्र प्रस्तुत गरेका छन् ।
जनता प्रसारण तथा प्रकाशन लि.ले प्रकाशमा ल्याएको उक्त कृति भन्दा अगाडि पत्रकार भट्टराईका मौलिक र सम्पादित गरी एक दर्जन कृति प्रकाशमा आइसकेको छ ।
मधुपर्क मासिकका सम्पादक जयदेव भट्टराई विगत ३३ वर्षदेखि लेखन र पत्रकारिताका क्षेत्रमा क्रियाशील छन् ।