site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीज कार्यक्रममा कडाइ– भड्किलो तरिकाले मनाए कारबाही 

काठमाडौं । नेपाली महिलाहरुको चाड तीज नजिकिँदै गर्दा प्रशासनले भड्किलो तरिकाले तीज नमनाउन आग्रह गर्दै आएको छ । काठमाडौं, कास्कीलगायत केही जिल्ला प्रशासन कार्यालयले भड्किलो पाराले तीज नमनाउन आग्रह गरेका छन् । 

समय परिस्थिति अनुसार चल्नुपर्ने भन्दै समाजलाई नै असर पर्नेगरी तीज नमनाउन काठमाडौं जिल्ला प्रशासनले अनुरोध गरेको छ । “तीज मनाउँदै नमनाउनू भनेको होइन । तर संस्कृति नै मेटिनेगरी भड्किलो तरिकाले नमनाउनु भनेको मात्रै हो,” काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बाह्रखरीसँग भने, “तीज हाम्रो संस्कृति हो । परम्परादेखि मनाउँदै आएको चाड हो, यसलाई जोगाउनु पनि पर्छ । तर तीजका नाममा विकृति भित्रिनु भएन भन्ने हाम्रो अनुरोध हो । अनावश्यक रुपमा धेरै गहना लगाएर हिँड्दा चोरी, डकैती, अपहरण तथा अन्य आपराधिक घटना बढ्न सक्ने भएकाले त्यसबाट सतर्क रहन हाम्रो अनुरोध हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीजका नाममा आडम्बर, उत्ताउलोपना तथा तडकभडकले तीजको मौलिकतामा नै अतिक्रमण भएको भन्ने गुनासो आएकाले तीजको विशिष्टतालाई कायम राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह गरेको छ । स्थानीय पालिका तथा प्रहरीसँगको समन्वयमा मात्रै यस्ता तीजका कार्यक्रम गर्न पनि जिल्ला प्रशासनले सचेत गराएको छ । 

जिल्ला प्रशासनको अनुरोधलाई बेवास्ता गर्दै भड्किलो तरिकाले तीज मनाए सरकारले कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । उनले सरकारी संयन्त्रले अनुगमन गरिरहेको जानकारी पनि दिए । तीजका नाममा हप्तौं अगाडिबाट पार्टी प्यालेसमा भड्किलो तरिकाले तीज मनाउने प्रचलन बढेपछि प्रशासनले सचेत गराएको हो ।

गायिका राधिका हमाल विगतका वर्षहरुमा जस्तो तीजको रौनक नभए पनि कार्यक्रमहरु भने भइरहेको बताउँछिन् । “तीजको रौनक केही कम भएको छ । सार्वजनिक ठाउँमा र ठूलो स्तरमा नगर्न सरकारले भनेका कारणले पनि होला,” उनी भन्छिन्, “तर, सानो स्तरमा भने कार्यक्रमहरु भइरहेका छन् । भड्किलो तरिकाले मनाउनु हुँदैन भन्ने जायज पनि हो ।”

यो वर्षको तीजमा १२ वटा तीज गीत रेकर्ड गराएकी हमाल यो वर्षको तीजमा विदेशमा यूएई जाँदैछिन् भने नेपालमा मकवानपुर, रामेछाप, कास्की, पाल्पा, स्याङ्जा, काठमाडौं लगायत जिल्लाका तीज कार्यक्रममा सहभागी हुँदैछिन् ।  गायिका शान्तिश्री परियारलाई भने तीजका कार्यक्रम घटेजस्तो लाग्दैन । यो वर्ष २६ वटा तीज गीत गाइसकेकी उनले चारवटा तीजका कार्यक्रम गरिसकिन् । अब गोरखा, धादिङ र काठमाडौंमा गरेर ८ वटा कार्यक्रम तय भइसकेको परियार बताउँछिन् । 

फाइल तस्बिर
 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  ०९:४१
प्रतिक्रिया दिनुहोस्