
कभी किसी को मुकम्मल जहाँ नही मिलता
कहीँ जमीं तो कहीँ आसमाँ नही मिलता...
सन् १९८१मा रिलिज भएको यो चलचित्रको गीतका सङ्गीतकार को हुन् ? सङ्गीतप्रेमीहरुबाट जवाफ निश्चितरुपमा आउँछ, प्रशिद्ध सङ्गीतकार ख्ययाम । उनै सङ्गीतकार ख्ययाम, जसले सन् १९४७मा सुरुभएको आफ्नो फिल्मी करिअरको पहिलो पाँच वर्ष शर्माजीको नामबाट सङ्गीत दिएका थिए ।
भारतीय सिनेमाका दिग्गज सङ्गीतकार मोहम्मद जहुर ख्ययाम हासमीको गएको सोमबार ९३ वर्षको उमेरमा निधन भयो । केही समयदेखि उनी स्वासप्रस्वाससम्बन्धी रोगबाट पीडित थिए र मुम्बईकै एक अस्पतालमा उपचाररत् थिए ।
शर्माजी र वर्माजी
प्रारम्भमा ख्ययामले सङ्गीतकार रहमानसँग मिलेर काम गर्दै आएका थिए । यो जोडीको नाम थियो शर्माजी र वर्माजी । पछि वर्माजी पाकिस्तान गए । बाँकी रहे शर्माजी ।
कुरो सन् १९५२को हो । शर्माजीले केही फिल्ममा सङ्गीत दिइसकेका थिए । त्यसैबेला उनले जिया सरहदीको फिल्म ‘फुटपाथ’मा सङ्गीत दिने मौका पाए ।
त्यसैमा दिलीप कुमारमाथि छायाङ्कन गरिएको गीत थियो– ‘साम ए गम की कसी, आज गमगी है हम...।’
दूरदर्शनको एउटा पुरानो अन्तरवार्तामा ख्ययाम भन्छन्, “एक दिनको कुरो हो । जिया सरहदीले मलाई सोधे– तपाईंको पूरा नाम के हो ? मैले पनि आफ्नो पुरा नाम भनेँ– मोहम्मद जहुर ख्ययाम । त्यसपछि उनले भने अरे, तिमी ख्ययाम नाम किन राख्दैनौ ? बस्, त्यसै दिनबाट म ख्ययाम भएँ ।”
यिनै ख्ययामले फिल्म ‘कभी–कभी’, ‘बाजार’, ‘उमराव जान’, ‘रजिया सुल्तान’ जस्ता फिल्ममा उत्कृष्ट सङ्गीत दिए ।
अभिनेता बन्न चाहन्थे
१८ फरवरी १९२७मा पञ्जाबमा जन्मिएका ख्ययामको परिवार फिल्मी संसारबाट कोसौं टाढा थियो । उनको परिवारसँग कुनै नाता थिएन फिल्मी जगत्को । परिवारमा धार्मिक गुरुहरू थिए ।
तर त्यसबेलाका धेरै युवामा जस्तै ख्ययाममा केएल सहगलको नशा चढेको थियो । उनी पनि सहगलजस्तै गायक र अभिनेता बन्न चाहन्थे । यही नशाका कारण सानै उमेरमा उनी भागेर दिल्ली आइपुगे काकाकहाँ ।
सुरुमा त घरमा सबै रिसाए । तर फेरि कुरो टुङ्गियो उनले पण्डित हुसनलाल भगतरामको संसर्गमा रहेर सङ्गीतको शिक्षादीक्षा लिनेमा ।
केही समय सङ्गीत सिकेपछि युवावयको रन्कोमा उनी आफ्नो भाग्यसँग जुध्न मुम्बई पुगे । त्यहाँ पुगेपछि उनलाई थाहा भयो, अझै पनि सिक्न धेरै बाँकी छ ।
सङ्गीत सिक्ने चाहनाले ख्ययामलाई लाहौर बाबा चिस्ती (सङ्गीतकार गुलाम अहमद चिस्ती)को सामु पु¥यायो । उनको फिल्मी घरानासँग गहिरो सम्बन्ध थियो । बाबा चिस्तीसँग ख्ययाम एक सिकारुले जस्तै सङ्गीत सिक्न थाले ।
दूरदर्शनमा दिएको एक अन्तरवार्तामा ख्ययामले एउटा कथा सुनाएका छन्, “एक पटक बीआर चोपडा बाबा चिस्तीको घरमा आएका थिए । चिस्ती साहब त्यसबेला सबैलाई तलब बाँड्दै थिए । तर मलाई तलब नदिइएको बीआर चोपडा हेरिरहेका रहेछन् । अनि बाबा चिस्तीसँग चोपडाले सोधे– ‘यो केटालाई किन तलब नदिएको ?’ बाबा चिस्तीले भने– ‘यो केटाले मेरो घरमै बसेर सङ्गीत सिक्ने कुरो तय भएको छ । त्यसै कारण यसले तलब पाउँदैन । तर बीआर चोपडाले ध्यान दिएका रहेछन्– मैले धेरै काम गरिरहेको । चोपडाले मलाई मासिक १२० रुपैयाँ तलब तोकिदिए । त्यसैबेलादेखि मेरो सम्वन्ध चोपडा खानदानसँग जोडियो ।”
थोरै, तर उत्कृष्ट काम
ख्ययामले अरू सङ्गीतकारहरूको तुलनामा निकै कम काम गरे । तर जति काम गरे सबै उत्कृष्ट मानिएका छन् । एक सङ्गीतप्रेमीका नाताले जहिल्यै म उनको गीत सुन्छु त्यसमा एक किसिमको स्थिरता पाउँछु । त्यसमा गहिरो भाव भेटिन्छ । जसलाई सुन्दा यस्तो महसुस हुन्छ मानौं कसैले दुखेको घाउमा मलहम लगाइदिइरहेको छ ।
अन्तिम समयको भेटको अवस्थालाई प्रस्तुत गरिएको फिल्म ‘बाजार’को गीत ‘देख लो आज हमको...’ होस् वा ‘उमराव जान’को प्रेमानुभवले भरिएको गीत ‘जिन्दगी जब भी तेरी बज्म मे लाती है मुझे...’ होस् । वास्तवमा आफ्नो सिर्जनाका लागि ख्ययाम अतिशय मेहनत गर्थे । उनी आफ्नो सङ्गीतलाई उत्कृष्ट बनाउन कुनै सम्झौता गर्दैनथे । उनको उत्कृष्टमध्येकै एकमा सन् १९८२ को फिल्म ‘उमराव जान’ लाई लिन सकिन्छ ।
यो ‘उमराव जान अदा’ उपन्यासमा आधारित फिल्म थियो । जसमा १९औं शताब्दीको एक ‘तवायफ’को कथा समेटिएको छ । ख्ययामले यस फिल्ममा सङ्गीत भर्न त्यो उपन्यासमात्रै पढेनन्, उनले त्यो समयको सूक्ष्मभन्दा सूक्ष्म विषयको अध्ययन पनि गरे । अर्थात् त्यसबखत कुन राग–रागिनीको प्रयोग हुन्थ्यो भन्ने विषयमा पनि अध्ययन गरे ।
एसवाई कुरैसीलाई दिएको एक भिडियो अन्तरवार्तामा ख्ययाम भन्छन्, “धेरै अध्ययन गरेपछि मैले र जगजितजी (उनकी पत्नी)ले तय गरेका थियौं ‘उमराव जान’को सुर कस्तो हुन्छ । हामीले आशा भोसलेलाई पनि उनको सुरभन्दा सानो सुर दियौं । मैले आफ्नो आवाजमा गीत रेकर्ड गरेर आशाजीलाई दिएँ । तर रिहर्सलको दिन जब आशाजीले गाइन्, त्यसबेला उनी चिन्तामा देखिइन् । उनले भनिन्– यो मेरो सुर होइन । मैले उनलाई धेरै सम्झाउने कोसिस गरेँ कि मलाई आशा भोसलेको सुर होइन, उमराव जानको सुर चाहिन्छ । यसमा उनको जवाफ थियो– तिम्रो उमरावले त गाउनै सकिरहेकी छैन !”
“फेरि हामी दुवैबीच एउटा सम्झौता भयो । आशाले भनिन्– तिमीले मेरो सुरमा पनि गीत रेकर्ड गर्नुपर्छ । मैले पनि विश्वास दिलाएँ– तिमीले पनि मैले दिएको सुरमा नै भिजेर गाउनुपर्छ । पछि आशाजीले ‘उमराव जान’कै सुरमा गीत गाइन् । आशा त्यसमा यति भिजिन्, उनी आफंै आश्चर्यचकित भइन् । यसरी त्यो विषयको टुङ्गो लागेको थियो ।”
फलतः ‘उमराव जान’का लागि ख्ययाम र आशा भोसले दुवैलाई राष्ट्रिय पुरस्कार प्राप्त भएको थियो ।
आफ्नो ८८औं जन्मदिनमा बीबीसीलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘‘उमराव जान’को सङ्गीत दिनुअघि उनी एकदम डराएका थिए । किनभने केही वर्षअघि ‘पाकिजा’ आएको थियो, जसको सङ्गीत बेन्चमार्क नै बनेको थियो ।’’
साथी कलाकारहरूमाझ ख्ययामबारे अनेकन किस्सा चर्चामा रह्यो । उनी कुनै पनि अवस्थामा आफ्ना गायकलाई आफ््नो धुनमा गीत गाउन मनाउँथे । अर्थात् धुनका पक्का थिए ख्ययाम ।
ख्ययामको फिल्मी यात्राका केही कुरा गरौं । उनले सन् १९४७मा आफ्नो यात्राको थालनी गरेका हुन् ‘हीर राँझा’लगायतका फिल्ममा उनले सङ्गीत दिए र गीत पनि गाए ।
सन् १९५०मा फिल्म ‘बिबी’को गीत ‘अकेले मे वे घबराते तो होँगे...’ले उनलाई परिचय दियो । यो गीत मोहम्मद रफीले गाएका थिए ।
सन् १९५३मा आएको ‘फुटपाथ’बाट ख्ययामलाई धेरैले चिन्न थाले र त्यसपछि यो क्रम रोकिएन । अगाडि बढी नै रह्यो । सन् १९५८मा फिल्म ‘फिर सुबह होगी’मा मुकेशको आवाजमा ‘वो सुबह कभी तो आएगी...’ बोलको गीत बनाएका थिए भने १९६१मा फिल्म ‘सोला और सबनम’मा रफीकै स्वरमा ‘जाने क्या ढुँडती रहती है ए आँखे...’ र १९६६मा फिल्म ‘आखिरी खत’मा लताका साथ ‘बहारो मेरा जीवन भी सवारोँ...’जस्ता गीत लिएर उनी आए ।
रमाइलो कुरो त के छ भने, उनले राज कपूरको फिल्म ‘फिर सुबह होगी’ पाउनुको एउटै कारण थियो । उनी मात्रै यस्ता सङ्गीत निर्देशक थिए जसले ‘क्राइम एन्ड पनिस्मेन्ट’ उपन्यास पढेका थिए र त्यो फिल्म त्यही उपन्यासमा आधारित थियो ।
ख्ययामले ७० र ८० को दशकमा ‘कभी–कभी’, ‘त्रिशूल’, ‘खानदान’, ‘नूरी’, ‘थोडी सी बेवफाई’, ‘दर्द’, ‘आहिस्ता आहिस्ता’, ‘दिल–ए–नादान’, ‘बाजार’, ‘रजिया सुल्तान’जस्ता फिल्ममा उत्कृष्ट सङ्गीत दिए । सायद यो उनको करिअरको गोल्डेन पिरियड थियो ।
प्रेम कथा
ख्ययामको जीवनमा उनकी पत्नी जगजित कौरको ठूलो योगदान रहेको छ । जसका बारेमा बताउन उनले कुनै मञ्चमा बिर्सिंदैनन् । जगजित आफंै पनि कुशल गायिका हुन् । उनले गाएको गीत ‘बाजार’को ‘देख लो जी भरके...’ र ‘उमराव जान’को ‘काहे को बयाहे...’ लाई लिन सकिन्छ ।
धनी सिख परिवारकी जगजितले त्यो समयमा ख्ययामसँग बिहे गरिन्, जतिबेला उनी सङ्घर्ष गर्दै थिए । धर्म र पैसा यी दुई प्रेमीका बीचमा तगारो कहिल्यै बनेन ।
दुवैको भेट गीत–सङ्गीतको क्रममा भई नै सकेको थियो । तर मुम्बईमा भएको एक सङ्गीत प्रतियोगितामा जगजित कौरको चयन भयो त्यसपछि उनले ख्ययामसँग काम गर्ने मौका पाइन् । यहीँबाट सुरु भयो यी दुईको प्रेमकथा । जगजित फिल्मबाट टाढा नै रहे पनि ख्ययामका फिल्महरूमा उनको साथ सधैं रह्यो । दुवैले मिलेर काम गर्थे ।
छुट्यो ‘अगाभी’कोे दाग
यहाँ सन् १९७६को फिल्म ‘कभी–कभी’को चर्चाबिना ख्ययामका विषयमा लेखिएको शब्द अधुरो हुन जान्छ । बीबीसीलाई दिएको एक अन्तरवार्तामा ख्ययामले भनेका छन्, “यश चोपडाले मलाई आफ्नो फिल्ममा सङ्गीतका लागि लिन चाहन्थे । तर सबैजना उनलाई मसँग काम गर्नबाट रोकिरहेका थिए । उनले मलाई भनेका पनि थिए– फिल्म उद्योगका धेरै मानिस तिमीलाई अभागी मान्छन् । अनि भन्छन्– उनको गीत हिट त हुन्छ, तर फिल्म जुबली जाँदैन ।’ तर मैले यश चोपडाको यो फिल्ममा सङ्गीत दिएँ । र, यो फिल्मले डबल जुबली मनाएर सबैको मुख बन्द गरिदियो ।”
वास्तवमा साहिर लुधियानबीको सायरीमा डुबेको र ख्ययामको सङ्गीतमा सजिएको ‘कभी–कभी’का सबै गीत उत्कृष्ट बने ।
त्यो युग जसलाई हिन्दी फिल्म सङ्गीतको स्वर्ण युग भनिन्थ्यो, त्यो युगको अन्तिम धागोसँग जोडिएको एउटा डोरी ख्ययामको महाप्रस्थानसँगै टुटेको छ ।
(बीबीसीबाट)