
एउटी स्वास्नीमान्छेको अन्तरवार्ता
ज्यू,
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडौरी गुन्यू
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको ?
त्यो त हजुर आएको, गएकै थाहा छैन ।
खै जान्ने–सुन्नेले भनेको
मेरो जोवन त जिम्मुवालको उ त्यो
गहुँबारीमा सप्रिसकयो रे !
उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे !
खै , कुन्नि कस्तो अनौठो
मेरा आँखा र ओंठमा नफुलेर मेरो जोवन
अर्काको सम्पत्तिमा फुल्ने रे !
के भन्नुभयो, निकै हिस्सी परेको छु रे ?
ज्यू, त्यो दहको पानीमा हेर्दा
त्यस्तै–त्यस्तै लागेको थियो
तर के भरपर्दाे हुन्छ र पानीमुनिको छायाँ ।
ढाँटेको भए हजुरको मासु खाने
मेरी बास्सै !
लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
टोपीमा लालुपातेको फूल घुसारेर
निधारमा तीनवटा सितारा टाँसेर
गालामा अलि–अलि लाली घसेर
आएको मेरो अर्धबैंसे दुल्हा
आरनजस्तै अँध्यारो र
खलाँतीजस्तै धुस्रो थियो ।
ए, हाँस्नु भएको हजुर त !
यसको गोडा पखालेको पानी खानु
यो तेरो देवता हो भनी
बूढी बज्यैले भन्दा
घुम्टोभित्र म रोएकी
खै, कसरी देखाऊँ
गालामा आँसुको डोब बस्दैन हजुर
पहरामा खहरेको डोब बसेजस्तो ।
ज्यू, माइत सात खोला सात डाँडा उता
मैले बालखकालमा देखेकी सपनाजस्तै
मेरो मुटुभित्रै भएर पनि कति–कति टाढा ।
जै–जन्म सोध्नुभएको ?
ज्यू, यिनै दुइटा छोरा
च्याँसे र पुन्टे, डेढ वर्षको फरक छ
ढाँटेकी भए यो आगो हातैमा छ हजुर ।
यो च्याँसे
मुखियाको घर बनाउने ढुङ्गा बोक्दा–बोक्दै पाएको
नाम्लो त थाप्लोमै थियो गाँठे
फरियामा पोको पारेर ल्याएँ
छाप्रोमा साल–नाल काटेर
फेरि मुखियाको धान गोड्दा–गोड्दै हिलोमै जन्म्यो यो पुन्टे
हिलोमा जन्मनेहरुलाई
कहाँ लेखेको हुँदो रहेछ र सिमलको भुवा ?
ज्यू, हुर्काउँदैछु हजुर हुर्काउँदैछु
नाङ्गै–भुतुङ्गै
जनावरहरुजस्तै
कुकुर सुँगुरका बच्चाहरुजस्तै ।
ज्यू, माया लाग्छ यै बूढा कामीको
गरिबीभन्दा अर्को छनौट नै के छ र जीवनमा ?
म पनि त चायाँ र कलेटीले
तर्साउनेजस्तै भइसकेँ
के म स्वास्नीमान्छे जसती छु र ?
ल फेरि हाँस्नुभयो हजुर त !
जीवनको अर्थ
ज्यू, केही बुझ्या छैन
मेरो कामीको रङ्ग र फलामको रङ्ग
एउटै छ हजुर ।
च्याँसे–पुन्टेको छालाको रङ्ग र बाटोको धुलोको रङ्ग
एउटै छ,
म पनि त हजुर फोहर, मयल ध्वाँसोजस्तै छु
कामी रुने होइन कहिल्यै
उसका पसिनाको रङ्ग
र, मेरो आँसुको रङ्ग
एउटै छ हजुर
ज्यू, ज्यू काम गर्नेहरुको खान पाउनुपर्छ
भन्ने कुरा
भर्खर–भर्खर पो थाहा पाउन लागेकी छु हजुर ।
समय: तिमी कति पानीमा छौ ?
सङ्कटकालीन स्थितिमा
सुुस्केराजस्तो आवाज निकालेर
ब्युँझाएँ तिमीलाई
डर थियो निद्रा खल्बलिएकोमा
कतै झर्किन्छौ कि तिमी
तिम्रो पाइतालामा बिझेको
काँढो झिक्नभन्दा पहिले
समान कष्टको अनुभूति होस् भनी
आफ्नै पाइतालामा
पहिले सियो घोचेर हेरेँ,
ज्याला कमाउन होइन
सहभागिताको मर्यादा खातिर
कोसौं तिम्रो बोझ बोकेर हिँडेँ
प्रतिदान स्वरुप
सत्यताको पछ्यौरीमा
केही खस्ने समय
आएको छैन क्यारे !
मनभित्र आँसुको दियो बालेर
श्रमदान गर्नेहरुको निधारमा
टल्किरहेको पसिना पुछिदिने
हातहर सायद
स्थिर भइसकेका छैनन् क्यारे !
म अकारण दुःखी हुँदोरहेछु
प्रश्नै नसोधी
संवेदनशीलताको बोट
कति हुक्र्यो कति हुर्केन भनी ।
ओल्टेकोल्टे दुवै
काँढाको बिछ्यौनामा सुत्नेलाई
न्यायप्रेमी सजायँ दिन्छ भने
प्रश्न सोध्न अनिवार्य हुन्छ
कि समय !
तिमी अहिले कति पानीमा छौ ?
एकाएक पानी जम्छ र !
एकाएक वाफ बनेर उड्छ र !
कहाँ एकैचोटी फूm फुल्यो !
कहाँ यसै बज्र खस्यो ?
आखिर भेट हुने पुल हालेरै हो
तिमी र म
खुड्किलाहरु बन्ने सुरसार छैन
म बिनसित्ती पल्लो किनाराको
जलधार हेरेर बस्दोरहेछु !
आँखाको आकाशभित्र कतै
यसरी बादलका दुःखहरु
ओइरिन थाल्दारहेछन्,
सायद वर्तमानले जन्माएको यथार्थ हो यो
तरै पनि आँखाहरुले पल्लो किनाराको
जलधार हेर्न कहिल्यै छोड्दैनन्
सत्यताको पछ्यौरीमा पक्कै केही खस्ने विश्वासमा
श्रमदान गर्नेको उदास ओंठमा मुस्कान फुल्ने विश्वासमा ।
(२०५० सालमा नेपाल साहित्य गुठीद्वारा प्रकाशित पारिजातको कवितासङ्ग्रह ‘बैंसालु वर्तमान’ बाट)