काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य केही घटेको छ । हिजो मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय घटेर प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो । त्यसैगरी, तेजावी सुनको मूल्य पनि घटेको छ । मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भएको थियो भने आजर ७ सय घटेर प्रतितोला ७० हजार रुपैयाँ निर्धारण भएको छ ।
बाह्रखरीसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले विश्व बजारमा नै सुनको मूल्य घटेको बताए । विश्वकर्माका अनुसार सुनको मूल्य अझै घट्न सक्छ । “आज थोरै घटेको छ । २–४ दिनसम्म मूल्य घट्ने अनुमान गर्न सकिन्छ,” उनले भने ।
गत एक हप्तादेखि निरन्तर मूल्य बढेर रेकर्ड कायम भएको सुनको मूल्य बुधबार तोलामा ७ सयले घट्यो तर कारोबार भने न्यून नै रहेको छ । “मूल्य केही घट्यो तर कारोबार न्यून नै छ । २–४ दिन निरन्तर घट्छ भन्ने ग्राहकले अनुमान गरेका छन् । यस्तो सोचाइ सामान्य हो । त्यसले गर्दा कारोबार न्यून छ । तीज आउन लागिसकेकोले भोलिसम्म मूल्य घट्यो भने कारोबार बढ्छ,” उनले भने । आज १० देखि १२ किलोसम्म मात्र सुन किनबेच हुने अनुमान विश्वकर्माले गरेका छन् ।
नेपालमा दैनिक सरदर २० किलो सुन खपत हुने गरेको छ । मुख्य सिजनमा यो परिमाण ४० किलोसम्म पुग्छ । तर पछिल्लो एक हप्तामा सुनको मूल्य अकासिएसँगै कारोबार एकदमै न्यून थियो । तीजको सिजन सुरु भइसक्दा पनि काठमाडौंका सुन पसलमा ग्राहक नबढेको र किन्नेभन्दा बेच्ने बढी रहेको व्यवसायीहरुले बताएका छन् ।
पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, आन्तरिक प्रतिस्पर्धा तथा विश्व बजारमा सेयर बजार कमजोर भएका कारण सुनको मूल्य बढेको बताइएको छ ।