
काठमाडौं । १७ वर्षीय विद्यार्थी शाश्वत घिमिरेद्वारा लिखित उपन्यास ‘होस्टल’ लोकार्पण भएको छ । उपन्यासको लोकार्पण नेपाली कांग्रेसका नेता नरहरि आचार्यले गरे ।
कार्यक्रममा आचार्यले शाश्वतको बालमस्तिष्कमा पनि कल्पनाशिलता रहेको टिप्पणी गरे । “उपन्यासमा पात्र चिनिँदैन । लेखकको कल्पनामा पात्र खडा हुन्छ । उसको भूमिका हुन्छ । त्यस भूमिकाका आधारमा पात्र चिन्न खोजिन्छ । जो पढ्छन्, उनीहरुको आफ्नो विषय पाएपछि उनीहरु आफैंलाई पात्र ठान्दछन्,” उनले भने । कल्पनाशिलताले उपन्यासलाई स्तरीय बनाएको उनको भनाइ छ ।
किताबको समीक्षा गर्दै प्रा.डा. गणेशप्रसाद घिमिरेले १५ शीर्षकमा लेखिएको उपन्यास सुरुमा मनस्थितिबाट प्रारम्भ हुने र होस्टलमा पुगेर समाप्त हुने बताए । “कुनै विषय नलुकाई प्रस्तुत गर्नु यस उपन्यासको क्षमता हो । यति सानो मानिसले लेखेको योे उपन्यास अब्बल छ,” उनले भने ।
प्रा. टेकप्रसाद घिमिरेले वैज्ञानिक शीर्षकमा गरिएको कल्पनाशिलतालाई महत्व दिइएको बताए ।
सत्य साई शिक्षा सदन स्कुलका प्राचार्य प्रा.डा. नरोत्तम उपाध्यायले विद्यार्थीहरुलाई कडा अनुशासनमा भन्दा पनि व्यवहारले पढाउन कोसिस गर्ने बताए । किताबको भूमिका साहित्यकार कृष्ण धरावासीले लेखेका छन् ।