
काठमाडौं । निर्देशक विनोद पौडेलले चलचित्रका लागि लेखेको स्क्रिप्ट एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । विश्वभरका ६० देशबाट प्राप्त ३८४ वटा स्क्रिप्टबाट २९ वटा छनोट हुँदा विनोदको स्क्रिप्ट पनि त्यसमा अटाएको हो ।
विनोदले आफ्नो परियोजनालाई एक्रोन इन्टरनेशनल नाम दिएका छन् । निर्देशक विनोद रहेको परियोजनामा निर्माता यातिन पर्खानी छन् । यातिन अमेरिकी नागरिक हुन् ।
एपीएमले एक्रोन इन्टरनेशनलाई २९ वटा परियोजना समावेश गरेको सूचीको दुई नम्बरमा राखेको छ ।
विनोद र उनका निर्माता यातिन अब कोरिया गएर त्यहाँ विश्वभरबाट भेला भएका निर्माताहरु समक्ष आफ्नो स्क्रिप्टबारे जानकारी दिँदै त्यसको महत्व र प्रभाव बताउने छन् ।
“हाम्रो स्क्रिप्ट प्रोड्युसरहरुले मन पराए भने उनीहरुले हाम्रो चलचित्र निर्माणका लागि लगानी उपलब्ध गराउने छन्,” विनोदले बाह्रखरीसँग भने ।
विनोदले आफ्नो चलचित्र निर्माणका लागि सवा पाँच करोड रुपौयाँ लाग्ने बताएका छन् । नेपालबाट तेस्रो देश पुगेका भुटानी शणरार्थीको कथा विनोदको स्क्रिप्टको विषय हो । केही समय अगाडि अमेरिका बसेर उनले यो स्क्रिप्ट लेखेका थिए ।
गत वर्ष विनोदले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ प्रदर्शन भएको थियो । उक्त चलचित्रबाट विनोद उत्कष्ट चलचित्र निर्देशकको राष्ट्रिय अवार्ड जितेका थिए ।