
काठमाडौं । लवर गर्लको छविलाई एक्सन मार्सल आर्ट खेलाडीको रुपमा परिणत गर्दैछिन् अभिनेत्री नम्रता श्रेष्ठ । उनले ‘नम्रता’ बाट ‘जाइरा’ मा आफूलाई पूर्ण परिवर्तन गर्न ८ महिना कडा मार्सल आर्टको प्रशिक्षण लिएकी थिइन् । योसँगै नम्रताले आफ्नो वजनदेखि लिएर लामो राम्रो कपाल पनि मुण्डन गराएकी थिइन् ।
नेपालमै बनेको पहिलो महिला केन्द्रित एक्सन चलचित्र दाबी गरिएको ‘जाइरा’ आगामी भदौ ६ गते अल नेपाल रिलिज हुँदैछ । जाइरा को छायांकनका क्रममा नम्रताले पेनकिलरको इन्जेक्सन लगाएर आफ्नो भूमिकालाई निभाएको निर्माण टिमले बताएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा नम्रताले रोज नामाजुनस उनको बक्सिङ आइडल भएको बताइन् । “उहाँको फाइटिङ स्टाइल एकदमै राम्रो लाग्छ । उहाँको प्रशिक्षण र खेलहरु म धेरै हेर्छु । उहाँ पनि मजस्तै सानो तर एकमदमै राम्रो फाइटर हुनुुन्छ,” उनले भनिन्, “यदि मैले उहाँको जस्तो केही प्रतिशत पनि गर्न सकेँ भने जाइरा क्यारेक्टरलाई न्याय दिन सक्छु जस्तो लागेर उहाँलाई फलो गरेकी छु ।”
चलचित्र ‘जाइरा’ मा नम्रता मुख्य भूमिकामा छिन् जो समाजको सिस्टमको विरुद्ध लड्छिन् । चलचित्र जाइरा महिला सशक्तिकरणमा आधारित भएको नम्रताले बताइन् ।