
काठमाडौं । कतारको राजधानीदोहामा आफूलाई दोश्रो पटक प्रस्तुत गर्न लोक रक ब्याण्ड नेपथ्य यही साता कतार जाने भएको छ । ईश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अलअदा’को सार्वजनिक विदाको समयमा त्यहाँ बसोबास गर्दै आएका नेपाली समुदायलाई सांगीतिक कोशेली लिएर नेपथ्य त्यसतर्फ जान लागेको हो । नेपथ्यले साउन २७ गते बेलुकी सात बजेदेखि दोहास्थित ‘एशियन टाउन एम्पीथिएटर’मा आफूलाई प्रस्तुत गर्नेछ ।
यसअघी सन् २०१४ को सेप्टेम्बर १९ मा यो ब्याण्डले आफूलाई पहिलोपटक कतारमा आफ्नो सांगीतिक प्रस्तुती दिएको थियो । “यसपाला फेरि हामीलाई नेपाली दाजुभाइसँग भेटघाटको अवसर जुराइदिएकामा आयोजकलाई धन्यवाद दिन चाहन्छु,” गायक अमृत गुरुङले भने ।
कतारमा कन्सर्टको आयोजना ‘लेभलएफएन एडभटाईजिङ एण्ड इभेन्ट’कातर्फबाट लक्ष्मणप्रसाद चौलागाईले गरेका हुन् । आयोजकले त्यस दिनका लागि टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन् । “स्रोता तथा दर्शकको माया पाएको कतारमा प्रस्तुतीका निम्ति सँधैजस्तै यसपटक हामीले गीतहरुसमेत विशेष तवरबाट छनौट गरेका छौं,” नेपथ्यका मुख्य गायक अमृत भन्छन्, “हामी दोहाको प्रस्तुतीलाई अविस्मरणीय बनाउन तत्पर छौं ।”
सँधैजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।