
काठमाडौं । चेलिबेटी बेखबिखनविरुद्ध क्रियाशील माइती नेपालमा आश्रितहरुलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ । विदेशबाट स्वदेशमै केही गर्न भनेर फर्किएका युवाहरुले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी दातृ संस्था फ्रि गर्लको संयोजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे संचालनमा ल्याएको हो ।
यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम नेपालका चेलीबेटीहरुको उद्धार गरी नयाँ जीवन दिन सफल माइती नेपाललाई दिइने क्याफे संचालक समिर पन्थीले बताए । माइती क्याफेमा माइती नेपालमा आश्रित चेलिबेटीहरुले रोजगारी पाएका छन् । आफ्नो नेपालको नेतृत्व गरेका युवा उद्यमी तथा अभियन्ता पन्थीले अमेरिकामा लामो विभिन्न ब्यवसाय संचालन गरेका थिए ।
उनलाई उपेन्द्रबहादुर श्रेष्ठ, प्रविरशम्शेर राणा र मनिष कोइरालाले साथ दिएका छन् । आफ्नो नेपालको माइती क्याफे पहिलो प्रोजेक्ट हो ।