काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि हिंसात्मक बन्दै गएपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गृह मन्त्रालयकै निर्देशनमा विप्लव समूहका गतिविधिविरुद्ध सुरक्षा ‘अलर्ट’ मा राखिएको हो । विस्फोट, आगजनी र चन्दा आतंकलगायतका गतिविधि बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले देशभरमा प्रहरी कार्यालयलाई कानुनी शासनको पालनाका लागि कठोरतापूर्वक प्रस्तुत हुन निर्देशन दिएको छ ।
‘एकीकृत जनक्रान्ति’को कार्यदिशा बोकेर अगाडि बढेको विप्लव समूहको केही महिनाअघि बसेको केन्द्रीय वैठकले सुरक्षा, सन्तुलन र आक्रमणको नीति पास गरेको छ । यो नीतिअनुसार सरकारले प्रतिबन्ध लगाएको अवस्थामा सबैभन्दा पहिले आफू सुरक्षित रहने, वार्ता र सम्वादलाई प्रयोग गरेको देखाउन सन्तुलित कुरा गर्ने र मौका मिलेमा आक्रमण नै गर्ने योजना हुने स्रोत बताउँछ ।
आन्तरिक रुपमा सैन्य संरचना निर्माणमा जुटेको विप्लव समूह आन्तरिक सुरक्षामा ठूलो चुनौती बन्दै गएको सुरक्षा विश्लेषण छ ।
विप्लवविरुद्ध निर्मम बन्छौं– प्रहरी प्रवक्ता
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर संयुक्त रुपमा विप्लव समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ अपरेसन चलाउँदै आएका छन् । यसक्रममा हालसम्म ७ सय बढी नेता कार्यकर्ता पक्राउ समेत परेका छन् । तर पछिल्लो समय विप्लव समूहका गतिविधि बढ्दै गएपछि देशभरका दुर्गम गाउँमा समेत प्रहरीले विप्लव समूहका सम्भावित स्थानमा छापा मार्न थालेको छ ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल विप्लव समूहका गैरकानुनी क्रियाकलापविरुद्ध प्रहरी कठोरता साथ प्रस्तुत हुने बताउँछन् । उनले भने, ‘‘राज्यले प्रतिबन्ध लगाएको समूहले चन्दा आतंक मच्चाउने, सुरक्षामा चुनौती थप्ने, जनजीवन आतंकित पार्ने गतिविधि बढाउँदै लगेको देखिन्छ । यसविरुद्ध प्रहरी कठोरतापूवर्क प्रस्तुत हुन्छ । हामी नागरिकलाई पनि यस्ता प्रकारका सूचना दिएर सहयोग गर्न आग्रह गर्छौं ।’’
पछिल्लो समय देशभर सुरक्षा सतर्कता बढाइएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (एसपी) सुदीप गिरी विप्लव समूहका गतिविधिविरुद्ध प्रहरी सर्तक रहेको बताए । उनले भने, ‘‘सूचना संकलन, प्रहरीको परिचालन र सुरक्षा सतर्कता बढाएका छौं । नेता–कार्यकर्ताको खोजी पनि जारी राखेका छौं ।’’
केही दिनअघि कैलालीमै विप्लवका कार्यकर्ताले आफैँले बोकेको बम विस्फोट भएको थियो । विस्फोटमा विप्लव समूहकै एकजनाको ज्यान गएको थियो । विप्लव समूहले विकट पहाडी जिल्लामा आफ्ना गतिविधि बढाउँदै लगेको सुरक्षा निकायको निस्कर्ष छ ।
पहाडी जिल्लामा स्थानीय तहसँग तोकेरै चन्दा समेत माग गरिएको छ ।
पहाडी जिल्लामा विप्लव समूहका गतिविधि नियन्त्रण गर्न व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धव भाट बताउँछन् ।
डीएसपी भाटले भने,‘‘बाजुरामा सुदूरपश्चिमको विकट जिल्ला हो । यसलाई मध्यनजर गर्दै हामी सर्तक छौं । उनीहरुको खोजी पनि गरिरहेकै छौं । प्रहरी–समुदाय कार्यक्रमलाई पनि प्रभावकारी रुपमा अगाडि बढाइरहेका छौं ।’’ बाजुराका विकट हिमाली क्षेत्र र अन्य दुर्गम गाउँमा समेत प्रहरी गस्ती र सक्रियता बढाएको उनको भनाइ छ ।
विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले शनिबार एक विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म आर्थिक संकलन अभियान सुरु गरेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक संकटको समाधान क्रान्तिले मात्रै सम्भव छ । त्यसैका लागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ ।’’
वार्ता पक्षधरलाई अघोषित कारवाही
पार्टीभित्र विवाद बढ्दै गएपछि स्थायी समिति र पोलिटब्युरो भंग गरिएको छ । अन्य १७ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त बनाइएको छ । एक नेताका अनुसार पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्ने माग निरन्तर उठ्न थालेपछि विप्लव स्वयम्ले स्थायी र पोलिटब्युरो भंग गरेका हुन् । १७ जना केन्द्रीय नेतालाई जिम्मेवारीबाट मुक्त गर्दै खुला मोर्चामा पठाउने निर्णय गरिएको जिम्मेवारीबाटै हटाइएका एक नेताले बताए ।
बाह्रखरीको सम्पर्कमा आएका एक नेताले भने,‘‘पार्टीभित्र वार्ताको कुरा जोडदार रुपमा उठेकै हो । यसबीचमा हामीलाई एकाएक केन्द्रीय सदस्यबाट निकालियो । कुनै कारण दिइएको छैन ।’’ स्रोतका अनुसार पार्टीका गोप्य सूचना समेत ‘लिक’ हुन थालेपछि शुद्धीकरण अभियान भन्दै विप्लवले यस्तो कदम चालेका हुन् ।
प्रतिबन्धपछि विप्लवले आफ्नो आन्तरिक संरचनामा दोस्रोपटक फेरबदल गरेका हुन् ।
सचिवालयमा महासचिव विप्लवसँगै खडकबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बास्तोला कञ्चन र सन्तोष वुढामगर र जेलमा रहेका हेमन्तप्रकाश वली छन् । अन्य ३१ जना नेतालाई केन्द्रीय सदस्यका रुपमा समेटिएको छ । पोलिटब्युरो सदस्यलाई केन्द्रीय सदस्यमा झारिएको छ ।
यी हुन् केन्द्रीय समितिबाट हटाइएका १७ जना
देवीदत्त पाण्डे, कृष्ण धमला, रामप्रसाद तिमिल्सिना, टेकबहादुर केसी, बालाराम थापा, डम्बरबहादुर विक, धनबहादुर महर्जन, नन्दबहादुर बुढा, कृष्ण अधिकारी, बालाराम सुनार, पुरुषोत्तम विष्ट, मकर गुरुङ, सम्झना बुढा, शंकर खड्का, भेषराज भुषाल, सन्तोषी विक रहेका छन् ।
केन्द्रीय समितिमा ३५ जना (नामसहित)
केही दिनअघि बसेको स्थायी समितिले ५७ सदस्यीय केन्द्रीय समितिलाई ३५ सदस्यीय मात्रै बनाएको छ । अब पोलिटव्युरो सदस्य पनि केन्द्रीय सदस्यकै हैसियतमा छन् । बाह्रखरीलाई प्राप्त विप्लव समूहको केन्द्रीय समिति यस्तो छ ।
१) नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव
२) खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सचिवालय सदस्य
३) धर्मेन्द्र वास्तोला, ‘कञ्चन’ सचिवालय सदस्य (अन्तर्राष्ट्रिय विभाग प्रमुख)
४) हेमन्तप्रकाश वली ‘सुर्दशन’ सचिवालय सदस्य (हाल जेलमा)
५) सन्तोष बुढामगर, सचिवालय सदस्य (पूर्वी कमाण्ड इञ्जार्ज)
६) अनिल शर्मा विरही केन्द्रीय सदस्य (प्रकाशन विभाग प्रमुख)
७) भरत बम, केन्द्रीय सदस्य
८) उमा भुजेल, केन्द्रीय सदस्य
९) ओमप्रकाश पुन, केन्द्रीय सदस्य
१०) चन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य (विप्लवका दाजु)
११) माइला लामा, केन्द्रीय सदस्य (हाल जेलमा)
१२) सावित्रि दुरा, केन्द्रीय सदस्य
१३) मोहनलाल चन्द, केन्द्रीय सदस्य
१४) सन्तोषी विक, केन्द्रीय सदस्य
१५) उदयबहादुर चलाउने केन्द्रीय सदस्य ‘दिपक’ (सैन्य फाँटको जिम्मेवारी)
१६) सन्देश पौडेल, केन्द्रीय सदस्य
१७) गुणराज लोहनी, केन्द्रीय सदस्य
१८) चेतबहादुर पुन, केन्द्रीय सदस्य
१९ ) वसन्त श्रेष्ठ, केन्द्रीय सदस्य
२० ) दिपेश राई, केन्द्रीय सदस्य
२१) केशबहादुर वाठा मगर, केन्द्रीय सदस्य
२२) बलवहादुर ओली, केन्द्रीय सदस्य
२३) धुव्र घिमिरे, केन्द्रीय सदस्य
२४) खम्वबहादुर वुढा, केन्द्रीय सदस्य
२५) बन्धु चन्द, केन्द्रीय सदस्य
२६ ) देवनारायण शाह, केन्द्रीय सदस्य
२७ ) थमनसिंह राई, केन्द्रीय सदस्य
२८) मोहनबहादुर कार्की , केन्द्रीय सदस्य (जेलमा)
२९) बाबुराम गजमेर, केन्द्रीय सदस्य
३० ) खुमा सुवेदी, केन्द्रीय सदस्य
३१) अमर झाँक्री, केन्द्रीय सदस्य
३२) श्यामवहादुर वोहोरा, केन्द्रीय सदस्य
३३ ) चन्द्रवहादुर खडका, केन्द्रीय सदस्य
३४) चुडामणि ओली, केन्द्रीय सदस्य
३५) नविन विश्वकर्मा, केन्द्रीय सदस्य
विप्लव समूहले आफ्नो केन्द्रीय समिति गोप्य राख्दै आएको छ । स्थायी र पोलिटब्युरो समिति भंग गरेपछि समूहभित्र व्यापक अन्तरविरोध र असन्तुष्टि चुलिएको एक नेताले जानकारी दिए ।
तस्बिर सौजन्यः बाजुरा प्रहरी