_398346835.jpg)
— प्रमोद अमात्य
पर्ख पर्ख मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागौंला
न मैले कसैलाई ‘रेलको झ्याल समाएर सँगै भागौंला’ भनें न कुनै नक्कलीले मलाई यसो भनिन् । हाम्रो पालामा यस्तो भन्न न रेल नै थियो न त यो गीत । यस्तो गीत होइन, रेलको रामकहानी सुनाउँछु म आज ।
म सानो छँदा विराटनगरबाट वीरगन्ज आउन पनि भारत भएर रेलगाडीमा आउनु पथ्र्यो । त्यो रेललाई हामी छुक छुके रेल भन्थ्यौं । छुक छुक कराउने भएर होला । तर, बुवाले ‘६–६ पैसा ६–६ पैसा कराउँदै रेल दौडिन्छ’ भन्नुहुन्थ्यो । खै, त्यसबेला रेलको भाडा ६ पैसा हुन्थ्यो कि कुन्नि ! रेलमा माटोको गिलासमा पाइने चिया गजबै मीठो हुन्थ्यो ।
रेलको कुरा गर्ने हो भने मैले नेपालमा पहिलो पटक देखेको रेल भनेको वीरगन्जको माल गाडी हो । वीरगन्जको गहवानेर बुवाले पढाउनुहुने कलेज अफ एजुकेसनको छेउ भएर त्यो रेल कुद्थ्यो । कुद्थ्यो के भनौं, हिँड्थ्यो । कहिलेकाहीँ मानिसहरू पनि चढेको देखेको छु त्यो मालगाडीमा । पछि मैले देखेको रेल भनेको जनकपुर–जयनगर रेल हो । यी दुबै नेपाली रेल चढ्ने मौका भने कहिल्यै मिलेन । मैले चढेको नेपाली रेल भनेको भृकुटीमण्डपको फुच्चे रेलमात्र हो । अहिले त चीनको रेल, भारतको रेल, आकाशे रेल, पाताले (भूमिगत मेट्रो) रेल काठमाडौं उपत्यकामा दौड्ने खबरले मचाहिँ साँच्चिकै रोमाञ्चित भएको छु । यी सबैखाले रेल आउने हो भने रेलको ट्र्याकमा पनि ट्राफिक जाम हुन्थ्यो होला है ? यस्तो आधुनिक रेल उपत्यकामा दौडेको हाम्रै जीवनकालमा कसो देख्न नपाइएला ? के भन्नुहुन्छ साथी हो ?
यहाँ साक्रमेन्टोमा पनि अफिस जान–आउन म रेल नै चढ्छु । रेल वा कुनै पनि सार्वजनिक यातायात सेवा उपयोग गरेबापत अफिसले ७० प्रतिशत यातायात शुल्क अनुदान दिन्छ र उक्त रकममा कर पनि छुट हुन्छ । न सडक जामको तनाव न त पार्किङको झमेला नै बेहोर्नु पर्ने झन्झट । अर्को मजाको कुरा— रेलमा बसुन्जेल फेसबुक चलाए पनि भयो, किताब पढे पनि भयो । गीत सुन्दै गर्दा पनि भयो, गेम खेल्दा पनि भयो । मोबाइलमा फिलिम हेर्दा पनि भयो वा रेलभित्रका रमिता हेर्दै आए पनि भयो । थरीथरी र तालतालका यात्रुहरूका क्रियाकलाप हेर्न पाइन्छ, त्यो पनि सित्तैमा । साह्रै अल्छी लागे फुस फुस सुते पनि भयो ।
रेलमा सुत्न जति मजा छ, त्यति नै रोमाञ्चक पनि छ । मेरा मिल्ने एकजना मित्रको रोमाञ्चकारी कथा सुनाउँछु ।
एकदिन यी मित्र ट्रेनमै मस्तले सुकुला भएछन् । ट्रेन अन्तिम बिसौनीमा पुग्यो, साथी अझ फुस फुस थिए । केहीबेरपछि ट्रेन साक्रमेन्टोतिर फर्किन थाल्यो, साथी बेखबर सुतेको सुत्यै थिए । ट्रेन फर्केर साक्रमेन्टो शहरको अन्तिम स्टेसनमा पुग्दा पनि साथीले केही चाल पाएनन् । केहीबेरमा ट्रेन फेरि उनकै शहरतिर लाग्यो । कतै बीच स्टेसनतिर आँखा खुलेपछि थाहा पाए कि उनी त अन्तै आइपुगेछन् । निकै समय बितिसकेको थियो । ट्रेनमा अब भीडभाड थिएन । बल्ल उनलाई हेक्का भयो— ढिलो भइसकेकोले अब यो ट्रेन उनको शहरसम्म जाँदैन । उनी उत्रिनुपर्ने स्टेसनभन्दा दुई स्टेसन वर मेरो घर छेउसम्म मात्र पुग्छ । साथी जिल्ल परे र हतार–हतार मलाई फोन गरे, “मलाई लिन आऊ न यार, म त कता फसेछु । मेरो गाडी पार्क गरेको ठाउँसम्म छोड्देऊ न ।”
छैन त रोमाञ्चक ?
मेरो फेसबुक र रेलको कथा पनि रोचक छ है साथीहरू । एकदिन अफिसबाट घर फर्किन रेल कुर्दै थिएँ । रेल त आएकै होइन । पाँच मिनेट बित्यो, दश मिनेट बित्यो, अझै आइपुगेन । आज गडबड ग¥यो रेलले । त्यसैले रेल पनि कुर्ने, फेसबुक पनि हेर्ने भन्दै लागें फोनतिर । एकछिनपछि रेल आइपुग्यो । फटाफट चढें र डटें फेरि फेसबुकतिरै— एकचित्तले । अलिबेरपछि हेरेको त ट्रेनमा नयाँ अनुहारहरू अलि बढी देखिएजस्तो लाग्यो । अरू बेला गोरा र एसियाली बढी देखिन्थे, आज किन हो— अफ्रिकन अमेरिकन बढी देखिएजस्तो लाग्यो । ‘होला त नि कुनै कारण’ भन्दै लागें फेरि आफ्नै सुरमा । केहीबेरपछि बाहिर हेरेको त नौलो ठाउँजस्तो लाग्यो । फरक परिवेशको शहरजस्तो लाग्यो । हो रहेछ । ट्रेन त बिल्कुल अर्कै शहर पुगेछ । साक्रमेन्टो शहरको दक्षिणमा रहेको ‘एल ग्रोभ’ पुगेछ, जबकि म पुग्नु पर्ने ‘गोल्ड रिभर’ शहर उत्तरमा छ । अब बल्ल बुझें किन नयाँ–नयाँ अनुहारहरू देखिएको भनेर । फेसबुक हेर्ने चक्करमा म त गलत ट्रेनमा पो चढेछु । रमितै भएन त ?
अब सुनौं फरक किस्सा । एक अधवैंशे महिला म चढ्नेभन्दा दुई–तीन तलको बिसौनीबाट रेल चढ्छिन्, सधैं । तिनको नियमित कार्यचाहिँ सिटमा बस्नासाथ चट्ट शृंगार बट्टा निकालेर मुहार लिपपोत गर्नु, परेली र आँखीभौं मिलाउन थाल्नु हो । म दिनदिनै सोच्छु— के तिनको काममा शृंगारिएर जानैपर्छ होला त ? हो भने घरबाटै शृंगार गरेर आउन किन भ्याउँदिनन् होला ? बच्चाहरूलाई तयार पारेर स्कुल छाड्न जानु परेर पो हो कि ? या अल्छी गरेर अबेरसम्म सुत्छिन् होला ? आफूलाई बिहान झिसमिसेमा निद्रा खुलेर तनाव छ, यिनको तनाव किन लिनु प¥यो मैले ? आऽऽ जेसुकै होस् ।
रेलमा कस्ता–कस्ता रोचक पात्रहरू भेटिन्छन्, त्यसको अर्को एक झलक देखाउँछु । यस्ता पात्रहरूमध्ये एक हुन् हाम्रै अफिसका र धेरै पढेलेखेकी महिला । यिनी विशेष छिन् । विशेष यस मानेमा कि रेलको गद्दादार सिट उनलाई साह्रो लागेर होला, सिटमाथि आफूले ल्याएको चकटी चट्ट ओछ्याएर त्यसमाथि बस्छिन् र सँगैको सिटमा आफ्नो झोला राख्छिन् । मतलब अर्को यात्रीको ठाउँ पनि ओगट्छिन् । यस्तो गर्न उनलाई कुनै संकोच लाग्दैन । रेलमा जस्तोसुकै भीड किन नहोस्, उनले आफ्नो झोला सिटबाट निकाल्दिनन् । यिनको यो पारा अलि रिस उठ्दो नै छ । यिनको अर्को पारा अझ चर्को छ । रेलबाट झरेपछि दायाँ–बायाँ जोसुकै होस्, कुनै मतलब नराखी चकटीको धूलो टक्टकाउँछिन् उनी । यो पाराचाहिँ कम्ता रिस उठ्दो छैन, हैन त साथी हो ? के तपाईं भए यस्तो गर्नुहुन्थ्यो त ?
अब सुनाउँछु एक युवा महाशयको कहानी । दुई आँखीभौंबीच पातलो, मसिनो रातो टीका लगाई चिटिक्क परेर आउने युवा महाशय भने हाम्रा छिमेकी मुलुकका हुन् । यी महाशय र म एउटै बिसौनीबाट रेल चढ्छौं । चढ्नुअघि यी युवा फोन वार्तामा देखिन्छन्न् । रेलमा बसुन्जेल फोनमै र झरेपछि पनि फोनमै हुन्छन् । हैन, यति विघ्न कुरा गर्दा पनि ब्याट्री नसकिने कुन फोन रहेछ भनेर जान्न मन छ मलाई । त्यसपछि कोसँग यति लामो प्रेमालाप हुन्छ ? जान्न मन छ । श्रीमतीसँग भए घरतिर किन प्रेमालापका लागि फुर्सद भएन होला ? पियारीसँग भए त अर्कै कुरो भयो । ‘रेलमा सबैले सुन्ने गरी ठूलो स्वरमा प्रेमालाप गर्न मिल्छ र ?’ भनेर सोध्न मिलेन । मिल्छ त साथी हो ? रमाइलो छैन त रेलको यात्रा ? कारमा कुदेको भए ट्राफिकको तनावबाहेक के भेटिन्थ्यो ? त्यसैले मोटर गाडी होइन, रेल गाडीलाई नै जोड गरौं है साथी हो ।