_1834446249.jpg)
— राजेन्द्र अधिकारी
एक हप्ता लामो अफिसियल कन्फरेन्स अनि त्यसको व्यवस्थापन प्रेसरले थकित महसुस भइरहेको थियो । कतिखेर घर पुगूँ र आराम गरूँ जस्तो भइरहेको बेला खराब मौसमका कारण सम्पूर्ण उडान रद्द भएको सूचना आयो । किंकर्तव्यविमूढ भएर म पुनः होटल फर्किनै लागेको थिएँ, अकस्मात् झ्वास्स उनीसँग आमनेसामने भएँ । ओहो ! कस्तो नमीठो ! कस्तो असहज ! कस्तो दयनीय !
यस्तो कुरूप पनि त हुन सक्दो रहेछ नि है यो प्रेमको अनुहार ?
हिजो एक–अर्कालाई देख्दा दुनियाभरको खुशी पोल्टोमा खसेजस्तो मान्ने तिनै प्रेमी–प्रेमिकाको अनुहारमा आज किन बाह्र बज्यो यसरी ?
अनायास स्मृतिको कडा चट्टानमा बजारिएर थिलथिलिएको वर्तमान उसको अनुहारभरि स्पष्ट देखियो । उसको मुहारका सम्पूर्ण पार्टपुर्जाहरू चलायमान हुन थाले । त्यसै–त्यसै भित्रैदेखि अमिलिएर ऊ दाँतले ओठलाई बेस्सरी टोक्न थाली । एकै छिनमा रक्ताम्य उसको ओठ र व्यथित अनुहार देखेपछि मभित्र एउटा पीडाको युद्ध तत्काल छेडियो ।
विचलित मानसिकतामा होमिँदै सोच्न थालें— रक्ताम्य हुने गरी ओठ टोक्ने उसको बानी फेरि फर्किएछ, मेरो जिन्दगीमा चुरोट फर्किएजस्तै ।
के यी दुबै आकस्मिकताबीच समान उछाल होला ? म बजिसकेपछिको मन्दिरको ठूलो घण्टीजस्तै भित्रभित्रै ध्वनित भइरहें ।
यो त्यो जमानाको कुरा थियो, जतिबेला हामीहरू अद्भूत प्रेमी थियौं । उसमा स्ट्रेस व्यवस्थापनसम्बन्धी समस्या थियो । केही स्ट्रेस बढ्यो कि ऊ आफ्नो ओठ चपाउन थाल्थी । अनि रक्ताम्य हुन बेरै लाग्दैनथ्यो । यसै कारणले गर्दा उसको तल्लो ओठको दाहिने कुनामा सधैं घाउ देखिन्थ्यो । तर, ऊ मलाई यति सुन्दर लाग्थी कि त्यो घाउ त जूनमा हराएको दागजस्तै बेपत्ता हुन्थ्यो ।
पछिल्लो समय अलि बढी नै हुन थालेपछि मैले त्यसमा अलि ध्यान दिएको थिएँ । अनेक उपायहरू पनि अपनाएँ तर त्यो समस्या ठीक हुन सकेन । डाक्टरी औषधिले खासै मद्दत गरेन । ओखतीले घाउ त ठीक भयो तर त्यो समस्या हटेन । घाउ ठीक हुने अनि फेरि नयाँ घाउ लागिरहने भयो ।
धेरै खोजतलासपछि मैले एउटा उपाय पत्ता लगाएँ । मेडिटेसनबाट उपचार गर्ने । मैले उसलाई एउटा मेडिटेसन सेसन लिन राजी गराएँ, ऊ राजी भई तर सशर्त । कम्ता चलाख थिई र ऊ ! बदलामा एउटा ठूलै बलिदान मागी मसँग । मैले पनि चुरोट छोड्नुपर्ने भो ऊसँगै । दुबैमा सहमति भयो ।
गरे नहुने के रहेछ र ! विशेष त प्रेममा । हामी दुबै सफल पनि भयौं । यो सफलताले हाम्रो प्रेम झन् मजबुत भयो ।
एकदिन उसले भनी, “आउ आज दुबै मन्दिर जाऊँ ।”
मन्दिर गइयो । मन्दिर जानुको रहस्य फुसुक्क फुकाई उसले, “जस्तोसुकै मोड किन नआओस् जिन्दगीमा, वाचा सधैं कायम राख्नेछौं । सम्बन्ध सधैं कायम होस् या नहोस्, वाचा सधैं कायम राख्नेछौं । यो वाचाको सम्बन्ध हामी साथ हुनु÷नहुनुमा रहनेछैन । बुझ्यौ नि मेरो कुरो ?”
उसले सुनिश्चितता खोजी, मैले टाउको हल्लाएँ । गाम्भीर्यताको त्यस्तो गाढा रंग मैले यसअघि दुनियाँमा कहीँ कसैको अनुहारमा देखेको थिइनँ, जुन उसको अनुहारमा पढेको थिएँ ।
उसले चपक्क मेरो हात समाती अनि आफ्नो टाउकोमा राखी । उसैगरी उसको हात मेरो टाउकोमा ।
“ल खाऊ कसम,” उसले भनी ।
“ल तिम्रो कसम,” मैले भनें ।
“तिम्रो कसम,” उसले भनी ।
हाम्रा वाचा र कसममा कुनै दबाब थिएन, अपितु प्रेमको उपल्लो सम्मान थियो, खुशीको सीमाहीन आभास थियो । एक–अर्काका लागि आ–आफ्ना नराम्रा आदत त्याग्ने प्रण गरेर त्यसलाई सफल बनाएर छाडेका थियौं । वाह ! क्या प्रेम थियो त्यो !
० ० ०
“धोकेबाज,” एउटा तीखो र चर्को आवाज गुञ्जियो ।
म केही झस्किएँ अनि वर्तमानमा फर्किएँ । दशकपछिको भेटमा उसको पहिलो बोली यसरी चुहिएको थियो । अनि आँखाबाट बरर आँसु पनि ।
“निष्ठुरीसँग जिन्दगीमा कहिल्यै भेट नहोस् भन्थें,” जवाफको बेवास्ता गर्दै ऊ आक्रोशको डल्लो बन्दै गई । म भने प्रतिक्रियाविहीन ।
“कसरी मलाई यत्तिकै भुलेर जान सक्यौ तिमी ? पापी !” झरेर बाँकी आँसु अझै छताछुल्ल थिए उसका आँखामा । चुपचाप म भने हीनताबोधले खुम्चिँदै थिएँ ।
आश्चर्य ! दशकपछिको यो अनायासको भेटलाई उसले यसरी शुरुवात गरी, मानौं हामी हालसालै छुटेका हौं । उसका प्रत्येक क्रिया–प्रतिक्रियाहरू करौंतीजस्तै दर्फ¥याउने थिए ।
ऊ आरोपका पत्थरहरू शिशाजस्तै मेरो मुटु ताकी–ताकी फ्याँक्न थाली । म ती आरोपलाई ‘होइन’ भनेर सीधै भन्न सक्ने अवस्थामा पनि थिइनँ । त्यसो त ‘होइन’ भन्न पक्कै मुश्किल थिएन । मुश्किल थियो त विश्वास दिलाउन । उसलाई अनि आफैंलाई । मौन बस्नुजत्तिको मजबुत जवाफ यहाँ अरू केही हुन नसक्ने पक्का भयो । मैले त्यसै गरें ।
वर्षौंपछिको यो अनपेक्षित भेटले हामी दुबैलाई यस्तो कठघरामा उभ्याएको थियो, जहाँ शायद हामी दुबै गीतामा हात राखे पनि सत्य बोल्न सक्ने अवस्थामा थिएनौं । अनि सत्य बोले पनि मुश्किल त उही थियो कि सत्यलाई सत्य हो भनेर विश्वास दिलाउन सक्ने अवस्थामा थिएनौं । अथवा दिलाएको विश्वासलाई मान्न सक्ने अवस्थामा थिएनौं । यसको अर्थ हामी दुवै यो मुद्दामा पराजित हुने निश्चित थियो ।
“एकछिन क्याफेमा बसौं ?” थोरै शान्त भएपछि ऊ आफैंले यो आग्रह गरी । शायद मलाई अलि धेरै बुझ्न चाहन्थी । एक दशकको अन्तरालमा मभित्र घुलेका रंगहरू खोतल्न चाहन्थी । या मनमा जताततै खाडल परेर जमेका भडास ममाथि वमन गर्न चाहन्थी ।
“ए, ओके,” म संवादलाई लम्ब्याउनुभन्दा यहीँ विश्राम दिने मुडमा थिएँ तर यत्ति बोल्न बाध्य भएँ ।
“कि कसैलाइ कुर्दै हो ?”
अवसर नदिएकी त होइन उसले उम्किने तर ‘हो’ भन्न चाहिनँ आफैंले पनि । शायद प्यास बराबर थियो दुबैतिर— एक–अर्कालाई कोट्याउने र सुँघ्ने ।
उसको ‘कि कसैलाई कुर्दै हो ?’ भन्ने प्रश्न सहज देखिए पनि त्यो ‘कसै’को आशय त्यति सपाट थिएन । ‘कसै’ भित्र सर्लक्कै सम्भावित मेरी श्रीमती या प्रेमिका नै अटाएकी थिई भनेर मैले बुझिसकेको थिएँ ।
“हैन यत्तिकै हो, कसैलाइ कुरेको हैन,” सबै कुरो बुझे पनि केही नबुझेजस्तो गर्नु यतिखेर कता हो कता आरामदायी थियो, मैले त्यही रोजें । माहोलभित्र बढी घुस्न खोज्नु खतरापूर्ण सावित भइसकेको थियो । आखिर यतिबेला ऊ न त मेरी स्वास्नी नै थिई न प्रेमिका नै ।
“बिहे त पक्कै ग¥यौ होला ?” क्याफेको दिशातिर सोझिन पनि नपाउँदै उसले आफ्नो उकुसमुकुस हुलुक्क पारी । अलि रसिक पारामा ।
“हँ ? ए, अँ । गरें ।” ढाँटिदिऊँ कि जस्तो लाग्दालाग्दै मैले सत्यको पुच्छर समातें ।
“अनि तपा... तपा... तिमीले ?” ‘तिमी’ भनूँ कि ‘तपाईं’, द्विविधा भइरहेकै बेला मलाई याद भयो कि उसले त मलाई अघि नै ‘तिमी’ सम्बोधन गरिसकेकी थिई ।
हुन त यो सब नसोधूँ जस्तो नलागेको पनि होइन तर मलाई उसको पुरानो बानी याद थियो । सोचें तथ्यहरूको अस्त्र जम्मा पार्दै गर्नुपर्छ, नत्र यसका अनेक अट्याकहरूबाट आफूलाई बचाउनू कसरी ?
“देखेनौ यत्रो मंगलसूत्र झुन्डेको ?” हरे ! यो आइमाई पटक्कै परिवर्तन नभएकी नै हो त ? हेर न बोल्ने ढंग, जस्ताको तस्तै रहेछ ।
“अनि सन्तान ?” वाणजस्ता आँखाले तारो हान्दै उसले फेरि सोधी । घरिघरि लाग्थ्यो— म जागिरको अन्तर्वार्तामा छु । फेरि सोचें— पुरानी प्रेमिका हो यार, अलिकती ट्याक्स त भर्नै प¥यो ।
“दुई छोरी र एक छोरा ।” मेरो ठाडो जवाफले मुर्मुरिएकी हुँदी हो कि तर बिस्फोट भइहालेकी थिइन ।
“अनि हजुरका ?” जानेरै ‘हजुर’ टक्र्याएँ । यो शब्दले उसलाई केही झड्का त पक्कै दियो होला तर बाहिर देखिएको थिएन ।
“मेरो एक छोरा र एक छोरी ।” त्यत्ति बोलेर ऊ चुप लागी ।
के उसले भर्खर मबाटै सिकी यसरी औपचारिक जवाफ दिन ? असलमा यो उसको आदत त होइन ।
“कति वर्ष भो नि बिहे भाको ?” मलाई थाहा थियो, ऊ योभन्दा पनि धेरै जटिल ठाउँ अझसम्म पुग्न खोजिरहेकी छे । म आफूलाई भित्रैबाट तयार पारिरहेको थिएँ । र, चुपचाप जवाफ फर्काइरहेको थिएँ ।
“हम् ! सात वर्ष,” फेरि ढाँटूँढाँटूँ भएको मनको कान परक्क निमोठेर सत्य वचनमा होमिएँ ।
“मेरो त भर्खर ६ वर्ष भो बुझ्यौ ?” यो प्रश्न भने मैले सोध्नु परेन, आफैं जवाफ फुत्त झ¥यो तर प्रश्न मिसिएर । नढाँटी भन्दा यही प्रश्न उसलाई सोधिहाल्ने तयारीमा भने पक्कै थिएँ म । उसले ‘बुझ्यौ ?’ भनेर चाहिँ के बुझाउन खोजेकी थिई, पत्तो भएन ।
“कहिल्यै याद आउदैनथ्यो है ?” उसले फेरि पहाडजस्तै बोझिलो प्रश्न गरी । म फेरि नाजवाफ भइदिएँ । साला, कफी त सर्लक्कै बहानामात्रै पो रैछ । मुश्किलले दुई चुस्की लगाई होला कफीको, मेरो दिमागको भने पूरा केट्ली नै रित्तो पार्न आँटी ।
“अनि श्रीमती कस्ती छिन् ?”
“मतलब ? ठीकै छिन् । आई मिन सन्चै छ उसलाई पनि ।”
“मतलब मभन्दा त पक्कै राम्री होली भनेको नि बुद्धू ।”
ओह माई गड ! संवाद त पूरै अर्को चरणमा उक्लिएको थियो । एकैछिनअघिको उसको त्यो रोदन के देखावटी थियो ? पटक्कै बुझ्न सकिरहेको थिइनँ । हैन, एक्ससँग भेट हुँदा हुने संवाद यस्तै हुन्छ ? कि हाम्रो मात्रै यस्तो भइरहेको हो ? नमज्जाले अलमलमा थिएँ म । जीवनमा पहिलोपटक पूर्वप्रेमिकासँग जम्काभेट भएको थियो । त कोही साथीभाइले नै कहिल्यै यो विषयमा कुनै कुरा सुनाए । बडो अप्ठ्यारो समय हुँदो रहेछ यस्तो बेला । गाह्रो त के हुँदो रहेछ भने यस्तो बेला सबै सत्य नै भन्नुपर्ने हो कि या थोरै ढाँट्दा पनि हुने हो ? या केही सत्य नभनेर सबका सब ढाँट्नु पो पर्ने हो कि ? खै कुन तरिका सुरक्षित हुँदो हो, द्विविधाको उच्च शिखरमा भर्खर बजाएर छोडेको घण्टीको रालोजस्तै तुर्लुंग झुन्डिएको थिएँ म ।
के रे ? बुद्धू ? के यही भनी भर्खर उसले ? कि कानमा भ्रमको शंख बजेको हो ?
एउटा जमाना थियो त्यो, ऊ त्यसै भन्थी— लाडिएर, जिल्लिएर, रिसाएर, प्रेमले निथ्रुक्क रुझेर । पूरापूर सिंगो मलाई आफैंभन्दा पनि प्रिय मानेर । यस्तो लाग्यो— उसले पुरानो हक जमाउन खोजी । उसले त्यसो भन्दा आनन्द लाग्ने मौसम थियो त्यो ताका । अहिले त मौसम बिलकुल विपरीत छ । अर्काकी स्वास्नीले ‘बुद्धू’ भन्दा जुनसुकै अर्थमा भनेको किन नहोस्— कस्तो नमीठो सुनिँदो रहेछ ! छ्या !
“फोटो छैन ? देखाऊ त हेरौं ।”
हे भगवान् ! यो कुन तहको संवाद हो यार । ऊ त बिलकुल बेग्लै मान्छे देखिई । के ऊ खुशी भएकी हो ? या लाडिएकी हो यसो भन्दा ? उसको अनुहारमा यस्तो उज्यालो किन नि अचानक ? म अलमल्ल परें ।
“किन ? के भो ? पर्समा होला त फोटो !” बेपरवाह आँखा सन्काएर उसले भनी । मेरो अप्ठ्यारोलाई उसले रौंबराबर गनिन । उसको यो संवादले झल्याँस्स पुरानो कुरा ताजा भयो । म अवाक भएँ । यस्तो लाग्यो— ऊ अझै त्यो तर्कमा कन्भिन्स्ड छे ।
० ० ०
यो त्यो बेलाको कुरा थियो, जतिबेला हामी मुना मदन र रोमियो जुलिएट थियौं । एकदिन मैले उसलाई भनेको थिएँ, “जब प्रेमीको वालेटमा प्रेमिकाको र प्रेमिकाको पर्समा प्रेमीको तस्बिर साटासाट हुन्छ, अनि याद गर्नु त्यो प्रेम अमर हुन्छ । वालेट या पर्समा तस्बिर त्यत्तिकै आउँदैन, सीधै दिलको बाटो भएर ओर्लिन्छ मेरी जान ।”
आँखाभरि गाम्भीर्यता पोतेर त्यसो भन्दा यो कुरोमा म आफैं ऊभन्दा बढी कन्भिन्स्ड थिएँ क्यारे त्यो बेला ! प्रेम यस्तै हुने रहेछ । बरु विज्ञानले प्रमाणित गरेका तथ्यहरू झुट लाग्ने, तर मनले सिर्जना हरेका तथ्यहीन तर्कहरू ध्रुवसत्यजस्तो हुने ।
वालेटमा उसको तस्बिर देखाउँदै मैले त्यसो भनेको थिएँ त्यो दिन, जुन दिन मनमनै मैले यो जिन्दगी उसको नाम गरिदिने संकल्प गरेको थिएँ । ममात्रै कहाँ हो र ! उसको अनुहारको महाकाव्य झन् घनिभूत गहिरो देखेको थिएँ मैले । ऊ मभन्दा कम कन्भिन्स्ड पटक्कै थिइन र भोलिपल्टदेखि हामी दुबैका वालेट र पर्समा एक–अर्काका तस्बिर सुरक्षित बसेका थिए ।
० ० ०
नाइनास्ती गर्नु सुरक्षित थिएन । लुरुक्क परेर मैले वालेट तेस्र्याएँ । मलाई निश्चय भयो— उसले मेरो पुरानो बानी सम्झी र जाँच्न खोजी कि कतै पर्सको कुनामा अझै उसको तस्बिर लुकेर बसेको त छैन ! भन्छन् नि मान्छेहरू— साँचो प्रेम हो भने त्यो अमर हुन्छ । शायद ऊ मेरो प्रेम जाँचिरहेकी थिई ।
आशाको खिरिलो त्यान्द्रो हुँदो हो कतै— वालेटको कतै कुनामा लुकेर अझै पनि उसको तस्बिरमा मेरो प्रेम जिउँदै छ कि ?
उसलाई थाहा थियो— म उसको तस्बिर वालेटको छेउमै राख्थें । तर, त्यहाँ अब उसको तस्बिर थिएन, मेरी श्रीमतीको थियो । त्यो पनि मैले हैन, मेरी श्रीमतीले नै हालिदिएकी । त्यो देखेर ऊ अलि धेरै नै खिसिक्क परी । म कन्फ्युज्ड थिएँ— ऊ खिसिक्क परी किन ? के उसले मेरी श्रीमतीलाई आफूभन्दा धेरै नम्बर दिई ? या आफूजस्तीलाई गुमाएर यस्तीमा सल्केकोमा बुद्धूको अर्को स्टार थपिदिई ? अनि मनमनै ‘ठीकै भो यस्ता भुक्चुकको साथ छुटेर’ भन्ने घोषणा गरी ? प्रश्न बडा गम्भीर थियो तर जवाफ थिएन । न सोध्नै मिल्थ्यो ।
“अनि त्यो भित्रको फोटो कसको नि ? खै खै देखाऊ त !”
ऊ मेरी श्रीमतीको तस्बिरमुनि बसेको अर्को तस्बिरतिर आकर्षित भई । थोरै सम्भावना त्यहाँ जिउँदो भेटेको हुनुपर्छ उसले । आफैंले पर्स तानेर खोतली । देखेपछि उसको खिसिक्कको पारो झरेर झनै भुइँमा पुग्यो ।
“तिम्रा लालाबाला हुन् यी ?” भित्री तस्बिरमा देखिएका केटाकेटीप्रति संकेत थियो उसको । मैले सहमतिको लयमा टाउको हल्लाएँ । यस्तो लाग्थ्यो— भित्र लुकेको त्यो तस्बिर त कम्तीमा उसको हुनै पथ्र्यो भन्ने दलिल छ ऊसँग । नहुनु महाअपराध हो मेरो ।
म पनि के कम, उसको पर्सतिर संकेत गरें । उसले पनि शानले पतिको तस्बिर देखाई, जसमा पतिसँगै टाँसिएको उसैको फोटो प्रफुल्ल भावमा खुलेको थियो । लाग्थ्यो— उसलाई पाएर उसको पतिभन्दा पतिलाई पाएर ऊ सय गुणा बढी धन्य छे ।
केहि स्ट्रेस त पक्कै भएको हुनुपर्छ मलाई । शायद यो हुनु पर्ने अवस्था पनि हो कि ! तपाईंकी एक्सले तपाईंलाई काखी बजाउँदै जब उसको पोइ कति शानदार छ भनेर संकेत गर्छे नि, नमज्जा त नमज्जैसँग लाग्दो रहेछ ।
वेटरसँग मैले चुरोट मगाएँ । यो स्ट्रेसलाई धूलोपीठो पार्न अहिलेलाई यत्ति नै गर्न सकिन्थ्यो ।
लौ, के भो फेरि यसलाई ? उसको अनुहारमा अकस्मात् यो घना बादल खस्यो कहाँबाट ? उसको अनुहारमा भयभित र दयनीय दुबै किसिमका रेखाहरू खुज्मुजिएका थिए अचानक । मैले केही बुझ्न सकिनँ । बुझ्नु पनि कसरी ? आफ्नै स्वास्नीलाई त बुझ्न नसकेर तीन भाउन्न हुन्छु बेलाबेला, अब यो त झन् को हो को हो ! अर्कैकी स्वास्नी ।
“त्यत्रो कसम खुवाएर छुटाएको चुरोट फेरि खान थाल्यौ है ? कसरी सक्यौ यार त्यो चुरोटलाई हात लाउन ?”
उसको अनुहार विद्रूप हुँदै गयो । ऊ त घ्वाँघ्वाँ रोली भन्ने डर हुन थाल्यो ।
ओहो ! बल्ल पुरानो थोत्रो स्मृतिको ट्युबलाइट धिपधिप–धिपधिप भएर झिलिक्क ग¥यो ।
“सोचेकी थिएँ, कम्तीमा त्यो एउटा आदत भए पनि त्याग्यौ र मेरो त्यो प्रेमको सम्मान ग¥यौ,” उसले विगतको ज्वारभाटा तानेर फेरि अगाडि तेस्याई ।
“त्यतिमात्र देख्न नपरेको भए पनि म हाम्रो विगतसँग प्रेम गरिरहन्थें । त्यो बेलाका हाम्रा यादहरूलाई सम्मान गरिरहन्थें । तर, आज तिमीले कुनै ठाउँ बाँकी राखेनौ यार । साला कत्ति दुःख लाग्थ्यो मलाई कि कतै म आफैंले त्यो प्रेममाथि ठूलो अपराध त गरिनँ ? तिमीलाई गुमाएर जिन्दगीबाट असली जिन्दगी नै त गुमाइनँ ? तर, आज यो भेटले मलाई स्पष्ट बनाएको छ कि तिमी बुद्धूमात्र हैन, नालायक पनि रहेछौ ।”
ऊ अझै शान्त हुने मुडमा थिइन । मैले केही बोल्नु भयानकमात्र हैन, घातक पनि हुन सक्थ्यो । मौनताको तीतो न तीतो घुट्को फेरि घुटुक्क निलें ।
ऊ पोखिँदै गई, “मलाई सधैं त्यो तिमीसँग बितेको समयप्रति घृणा हुनेछ बुझ्यौ ? आजदेखि म तिमीलाईमात्र हैन, तिमीसँग जोडिएको त्यो यादलाई पनि घृणा गर्नेछु ।”
अहो ! कस्तो भयानक घोषणा !
“अनि तिमीले पनि त मेरो कसम खाएकी थियौ— त्यो ओठ कहिल्यै टोक्दिनँ, मेडिटेसनलाई निरन्तरता दिन्छु भनेर । रक्ताम्य हुँदा पनि चपाएको चपायै देख्छु त फेरि ?” उकुसमुकुसको हाँडीबाट ऊछिट्टिएर हुत्तिएँ म । तर, उसमा कुनै प्रभाव भने छोड्न सकिनँ ।
ऊ फेरि रगत पिचपिच थुक्न थाली । नजिकैको फ्लोर रगतका दागहरूले घिनलाग्दो देखिन थालिसकेको थियो । क्याफे मालिकले हप्काउला भन्ने डर भइरहेको थियो । धन्न बाहिर गार्डेनपट्टि बसिएछ र मात्रै ! बरु रुमाल दिन्छु भनेर पकेटमा हात पनि हालिसकेको थिएँ । कसोकसो अड्किएछु । सोचें— त्यो रुमालसँगै फेरि इतिहासको अर्को कुन गडे मूर्दा उखेल्नेछे यसले । भुइँमै थुकोस् बरु । म आफू शान्त रहन खोजें । कम बोलेरै प्रस्तुत भएँ, आखिर एउटाले त त्यो गर्नु जरुरी थियो । ऊ भने मनको भडास पोख्ने मौका चुकाउन तयार थिइन । त्यसो त त्यो बेला उही थिई हाम्रो बिहेको कुरो गर्दा अलमल्ल पर्ने ।
“तिम्रो र मेरो बीचमा त यो जातमै लफडा हुने भो यार । बहिनी शुलोचनाको घटनालाई लिएर अझै तनाव छ घरमा । घरकाहरू अन्तरजातीय विवाहमा पटक्कै सहमत हुने छैनन् । भागेर जाऊँ— मेरो हिम्मत छैन । माइतीलाई जीवनभरका लागि दुश्मन बनाउन पनि त सकिन्न नि । हेर त, शुलोचनाको जीवन कस्तो दयनीय भइरहेको छ । सही मानेमा उसलाई अहिले परिवारको सपोर्ट चाहिएको छ । तर... ।” निराशाले उसको अनुहार निस्पृह देखिएको थियो ।
“एनिवेज, कोसिस त म अनेक गर्छु, तिमी मेरो जवाफको प्रतीक्षा गर ।”
बाई भन्नु ठीक अगाडि उसले बोलेका यी वाक्यहरू आज पनि मलाई कण्ठस्थ छन् । एक दशक नाघिसकेछ मैले उसको आवाज नसुनेको पनि ।
गरें पनि मैले उसको प्रतीक्षा, धेरै दूरसम्म गरें । तर, कहिलेसम्म गरिरहन सक्थें म ? गर्थें पनि होला अनन्तसम्म, कम्तीमा कुनै संकेत त दिनुपथ्र्यो उसले । तर, अहँ ! बेवास्ता गरिदिई । चौतारीमा मलाई कुराएर ऊ कुन शहर उडी, पत्तो भएन ।
तर, आज उसले आरोप लगाइदिई कि मै उत्ताउलो थिएँ र उसलाई कुर्न सकिनँ ।
त्यस्तो पनि केही भएको हैन । ऊ थिई ठूलो जातकी, म सानो । बारम्बार भनिरहन्थी, “परिवारलाई दुश्मन बनाउनु हुन्न । भोलि तिमी मर्दको के भर, यो या त्यो बहानामा चित्त दुखाइहाल्छौ । म कता जानू त्यति बेला रुन ? प्रेम विवाह सधैं सार्थक हुन्छ भन्ने छैन । बहिनी शुलोचनाको जस्तै दुःख हात लाग्न पनि सक्छ जिन्दगीमा । अनि सहारा त चाहिन्छ चाहिन्छ । यो मानेमा माइती त जीवनभरि चाहिने चिज हो । सके परिवारको सहमतिमै बिहे गर्ने हो, नत्र विद्रोह गर्ने सामथ्र्य छैन मसँग यार । कम्प्रमाइज नै लास्ट अप्सन पनि हुन सक्छ ।”
एक हिसाबले उसले आफ्नो निर्णय सुनाएको भनेर बुझेको थिएँ मैले, अनि हाम्रो प्रेमको पराजय । दुखद अन्त्य । तर, आज खै कुन तर्कलाई टेकेर मलाई पोलिरहिछे ऊ, म जान्दिनँ ।
कहिलेकाहीँ मान्छे आफूले गरेको अपराधको बोझ धान्न नसकेर अरूलाई आरोप लगाउँछ— बिनाआधार । शायद आज ऊ त्यही बिन्दुमा उभिएकी थिई । उसले लगातार मलाई आरोप लगाइरही । म नै धोकेबाज ठहरिएँ उसको फैसलामा । के उसले भनेजस्तो, ऊभन्दा चाँडै बिहे गर्दैमा म धोकेबाज ? उसको भन्दा चाँडो सन्तान जन्माउँदैमा म धोकेबाज ? या वालेटभित्र कतै लुकाएर उसको तस्बिर नराख्नु मेरो महाभूल ? कि यो चुरोट नै सबैभन्दा ठूलो दसी हो कि म धोकेबाज हुँ र मैले कहिल्यै साँचो प्रेम गरिनँ ?
एक वर्ष ढिलै सही— बिहे उसले पनि त गरी । त्यसले कसरी प्रमाणित गर्छ कि ऊ सही अनि म गलत ? अनि कसरी योचाहिँ बुझ्न सकिनँ कि बिहेअघिसम्म म पनि त उसैलाई कुरेर बसेको हुन सक्थें । जब हामीबीचमा कुनै संवादको निरन्तरता नै थिएन भने यो एकतर्फी तर्कको के अर्थ ?
मेरो वालेटको कुनै कुनामा उसको तस्बिर नअटाउनुलाई नै उसले त्यति ठूलो अपराध मानेकी हो भने मैले त्यही तर्क गर्न पाउने कि नपाउने ? जबकि उसको पर्समा पनि त मेरो तस्बिर अटाएको थिएन । खै त उसले देखाउन सकेकी ‘यी हेर, तिम्रो तस्बिर अझै छ मेरो वालेटभित्र’ भनेर ?
मैले यो सब भन्नुभन्दा पहिला नै ऊ सारा दोष ममाथि थोपरेर रुन थालेकी थिई । सही मौका र वातावरणै मिलिरहेको थिएन । एकछिन उसलाई रोएर सम्हालिन समय दिएपछि मैले केही बोल्ने आँट गरें ।
“मनिता ! विश्वास गर्छ्यौ, तिम्रो लागि भनेर छाडेको चुरोट तिम्रो यादमै कहिलेकाहीँ एकान्तमा पिउने गर्छु । यो चुरोटसँग जति जीवन्त बनेर तिमी आउँछ्यौ नि यादहरूमा, अरू केहीमा पनि मैले त्यति जीवन्त तिमीलाई पाउँदिनँ । अर्को कुरो— मसँग केही फरक दृष्टिकोणहरू छन् जीवनप्रति । सुन्छ्यौ भने सुन । मलाई माफ गर, जानी–नजानी मैले कुनै भूल गरेको रहेछु भने । तर, विगतलाई सम्मान गर्ने बहानामा म मेरो वर्तमान धमिल्याउन सक्दिनँ । तिमीले पनि त्यो गर्नु हुन्न । मेरी पत्नी मेरो वर्तमान हो । मेरा ती कलिला लालाबाला मेरा अमूल्य वर्तमान हुन् । म त्यो अतीतको स्मरणमा यो वर्तमानलाई अपमान गर्नु महापाप सम्झिन्छु । त्यो विगतलाई एउटा प्रेमिल यादको सिमानामा कैद गर्नु नै त्योप्रतिको सम्मान हो । बरु तिमी पनि यसै गर । आफ्नो वर्तमानलाई प्रेम गर, सम्मान गर । तिम्रो पर्सको कुनै कुनामा मेरो तस्बिर नअटेकोमा कसम मलाई कुनै खेद छैन । बरु खुशी लागेको छ कि तिमी पनि वर्तमानप्रति कटिबद्ध रहिछौ । जसरी आज एक दशकअघिको प्रेम सम्झेर हामी एक–अर्काको बफादारीको बहस गरिरहेछौं नि, सम्झ त अबको अर्को दशकपछि जिन्दगीको आजको हिस्सा सम्झिँदा के हामीलाई लाग्नु पर्दैन कि हामीले यो मिलेको जिन्दगीको अर्को हिस्सालाई न्याय गरेका थियौं ? माफ गर । अबको एक दशकपछि म पश्चात्तापमा नबाँच्ने प्रयत्नमा छु । मलाई लाग्छ— तिम्रो पनि प्रयास यही हुनु सही हुनेछ । ती संवादहरू, ती कसमहरू, पर्समा राखिएका तस्बिर, तिम्रो लागि छुटेका या बसेका आदतहरू उतिबेलाकै लागि सान्दर्भिक थिए, जुन आज हुन नसक्नु कुनै अपराध होइन । भलै तिमीले ग¥यौ, म त तिमीलाई त्यसरी जज गर्दिनँ मनिता । मेरो सुन्छ्यौ भने तिमीले पनि नगर्नु सही हुनेछ ।”
मेरा यी तर्कहरू चुपचाप सुनेपछि मतिर एउटा नमीठो हेयदृष्टि फ्याँकेर उसले सरक्क आँसु पुछी । उसका दाँतहरू कटटट किटिए । रिसले थामिनसक्नु भएको हुँदो हो शायद । अनि लात्ती भुइँमा बजार्दै जुरुक्क उठी ।
ऊ बाहिरिन चाहन्थी शायद । जाँदाजाँदै उसका मुखबाट एकहुल डरलाग्दा शब्दहरू बाहिरिए, “अफशोच ! जिन्दगीमा तिमीसँग मेरो भेट कहिल्यै नभएकै भए हुन्थ्यो !”
“तिम्रो कुरा हो, तिमीलाई त्यस्तै लाग्छ भने ठीकै छ । तर, मेरो लागि त त्यो एउटा सुनौलो विगत हो, खुशीले भरिएको । मलाई त ती यादहरू अमूल्य लाग्छन् । जिन्दगीमा तिमीसँग भएको भेटप्रति मलाई कुनै अफशोच छैन । न त आज बाँचिरहेको जिन्दगीप्रति नै । शान्त मनले सोच्यौ भने शायद बुझ्नेछ्यौ ।” मेरो मुखबाट पनि तात्तातो प्रतिक्रिया तुरुन्त झ¥यो ।
सुनेर झन्डै पाँच सेकेन्डजति ऊ मूर्तिवत् भई । अनि उसका पाइलाले बेजोडको गति टिपे । ऊ ‘बाई’सम्म नभनी अलप भई । मेरा कुराले उसमा कुनै प्रभाव परेजस्तो त अनुभव भरहेको थिएन । तर, सोचें— मान्छे हो, असर देखिन समय लाग्छ !
आशा गरें, उसले आफ्नो अफशोचलाई सच्याउनेछे । यही विश्वास ओढेर म होटलतिर लम्किएँ । होटलको कोठातिर लम्किँदै गर्दा श्रीमतीलाई फोन लगाएँ, “रमिला, के छ तिमीहरूको खबर ? आजको फ्लाइट पनि क्यान्सिल भो, वेदर एकदम खराब छ, सडक बाटो पनि बर्बाद छ ।”
“अँ, त्यही त । भर्खर समाचार हेर्दै थिएँ । हामी सब ठीक छौं । चिन्ता नगर्नू । गाडीको बाटो सुरक्षित छैन, धेरै ठाउँमा पहिरो गएको छ रे, बरु भोलि या नमिले अझ पर्सि आए पनि भैगो नि, प्लेनमै आऊ है आउन चाहिँ ।”
“त्यसै गर्नुपर्ला, मिलेसम्म भोलि बिहान आउँछु, टिकटको लागि कुरा गरिसकेको छु । शायद भोलि मौसम सफा हुने पूर्वानुमान पनि छ क्यारे । तिमी छोराछोरी र आफ्नो ख्याल राख ।”
“हस्, तिमी पनि आफ्नो ख्याल राख । हाम्रो चिन्ता नगर, आराम गर न ।”
“हस् ।” मैले फोन राखें ।
टाउको भारी भएको थियो । नहोस् पनि किन, भर्खरै निष्ठुरीले त्यो सब दिएर गई । अब थोरै टेको त दिनै प¥यो । होटल कोठामा छिर्नुअघि सितन र एक बट्टा चुरोटको साथमा जिनिस जोडजाममा लागें ।
म वर्तमानलाई धमिलिन नदिइकन यो रात एक्लै विगतलाई थोरै न्याय गर्ने योजनामा जुटें । बिथोलिएको विगतलाई केही थामथुम पार्नु जरुरी थियो ।
(विदूर, नुवाकोट । हालः ब्रिसबेन, अस्ट्रेलिया)