site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महवाली !
SkywellSkywell

“पश्चिमी मकवानपुरको सिलिङ्गेमा विशुद्ध मह पाइन्छ ! ‘ब्रान्डिङ’ गर्न सके त्यहाँका चेपाङहरूलाई पनि फाइदा पुग्थ्यो, हाम्रो उद्यमशीलताको विकास पनि हुन्थ्यो !”
२०७५ मङ्सिरको एक दिन यो कुरा विभूति न्यौपानेलाई निमेष कर्माचार्यले पुलकित हुँदै सुनाएका थिए । निमेष फूर्तिला थिए । उद्यमशीलतालाई नयाँ आयामबाट सोच्ने कर्माचार्यले देशका विभिन्न भागमा उत्पादित वस्तुमा आँखा लगाएका थिए । र, उनको ध्यान खिचेको थियो– चेपाङवस्तीको महले ।

निमेषको कुराले विभूतिको पनि ध्यान तान्ने नै भयो ।

लम्जुङमा जन्मिए पनि काठमाडौंमै हुर्किएकी विभूतिको दिमागमा चेपाङबारे अलग्गै बिम्ब बनेको थियो । मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाका कुना–कन्दरा, खोल्साखाल्सी र ओढारमा सीमान्त जीवन बिताइरेका चेपाङहरूले मह उत्पादन गर्छन् भनेर उनलाई सुरूमा पत्याउनै कठिन भयो ।

KFC Island Ad
NIC Asia

पर्वतमालाको विकट पाखा–पखेरामा विपन्न र निम्छरो जीवन बाँचिरहेका चेपाङ अभावका बिम्ब हुन् भन्ने उनलाई थाहा थियो । तर ती उद्यमशीलतासँग जोडिन सक्छन्, उनीहरूको शिल्पले उत्पादन गरेको महले बजार लिन सक्छ भनेर विभूतिले कल्पना पनि गरेकी थिइनन् ।

पश्चिमोत्तर मकवानपुरको राक्सिराङ पुगेपछि उनका आँखा छ्याङ्ङै खुले । दिमागमा जकडिएर रहेको बिम्ब तुरुन्तै प्रतिस्थापन गरिन् । र, अलग्गै अठोट पनि गरिन् । राक्सिराङ–६ सिलिङ्गे पुगेपछि सुरूमा उनी भावविह्वल भइन् । पुसको आँतै ठिहि¥याउने ठण्डीमा उनी राक्सिराङ उक्लिएकी थिइन् । चेपाङ बालबालिकाको आङमा एकधरो लुगा थिएन । तिनका पैताला गरिबीको धापमा भासिएका थिए । किशोर उमेरमा पाइला राख्न नपाउँदै आमा बन्न अभिशप्त दीनहीन महिला क्षितिजतिर टोलाइरहेका थिए । उनीहरूको आँखामा दुःखको समुद्र छचल्किइरहेको थियो । अनु्हारमा अभावको आँधी मडारिइरहेको थियो ।

Royal Enfield Island Ad

विभूतिले ती आमाहरूको काखमा निदाइरहेका शिशुहरूको आँखामा नियालिन् । गन्तव्यहीन भविष्य र शून्य वर्तमानबाहेक केही देखिनन् । विभूतिलाई पीडाबोध भयो । ती चेपाङको गन्तव्यशून्य भविष्य देखेर होइन, आफ्नो ‘सुख–सयल’ सम्झेर । 

विभूतिले गरिबीले थिल्थिल्याएका राक्सिराङका डाँडाकाँडा एकसरो नियालिन् । पाखा–भित्तामा आँखा पुर्‍याइन् । चेपाङहरूको रछ्यान, आँगन पनि हेर्न छुटाइनन् । वास्तवमा ती विपन्न थिएनन् । गरिबीको मानक मान्न सकिँदैनथ्यो तिनलाई । ती त पैसामा ‘विनिमय’ गर्न नसकिएको ‘वस्तु’ थिए ।

चेपाङका करेसाबारी, रछ्यान, कर्मजीवी मौरीहरूको साङ्गीतिक भुनभुनाहटमा निमग्न थियो । घरनजिकै चिउरीको बोट । चिउरीको बोटको आडमा लस्करै मौरीको घार सजिएको थियो । ‘अमृत’ उत्पादन गर्ने बस्ती गरिबीको आहालमा डुबुल्की मारिरहेको देख्दा को भावुक नबन्ला र ! त्यही थलोमा बसरेर विभूतिले चेपाङको श्रम, सीप र ज्ञानलाई उद्यमको रूप दिने सङ्कल्प गरिन् ।

नागीको महको जन्म !

चार–पाँच वर्षअघिदेखि नै उद्यमी बन्ने हुटहुटी थियो उनको मनमा । शैक्षिक र बेरोजगार दुवैको प्रमाणपत्र बुझ्नेबाहेक जीवनले अरू प्रगतिको मुख देख्न पाउँदैन भन्ने सहपाठी, समवयीहरू विदेशको बाटो तताइसकेका थिए । कति निराशा र कुण्ठाको भुङ्ग्रोमा पिल्सिइरहेका थिए । विभूतिका दुई आँखाले सम्भावना मात्रै देख्थ्यो । उद्यमीबाहेक अरू कुनै आकाङ्क्षा थिएनन् ।

एमबीएलाई औपचारिकरूपमा बिटमार्नुअघि नै उनले उद्यमी बन्ने सपना झलझली देखेकी थिइन् । तथापि, सम्भावनाको पहारिलो घाममा सपनाको रङ छुट्याउन सकेकी थिइनन् उनले । 
राक्सिराङको जीवनदशा र चेपाङहरूको अन्तर्दशा नियालेपछि विभूतिको मनमा सपनाको मूर्त तस्बिर खडा भयो । चेपाङ समूदायकै लागि उमेर, ऊर्जा र ज्ञान खपत गर्ने निष्कर्षमा पुगिन् उनी ।

चेपाङहरूको जीवनको दुर्दशा ननियालेको भए र उनीहरूको थाप्लोमाथिको आकाशमा उदाइरहेको सम्भावनाको घाम नदेखेको भए सायदै विभूतिले उद्यमी बन्ने सपना देख्थिन् ।
सिलिङ्गे पुगेको महिना दिन बित्न नपाउँदै विभूतिले ‘नागीको मह’ जन्म दिइन् ।

‘नागीको मह’को सूत्रपात गर्न कुनै कठिनाइ आइपरेन । जीवन–संस्कृतितुल्य चिउरीको छहारीमा हुर्किएका चेपाङ सदियौंदेखि मह–उत्पादनसँग जोडिँदै आएका थिए । यति हो– उनीहरूले त्यसलाई ‘उद्यम’ मानेका थिएनन् । पुँजीकृत गर्न सकेका थिएनन् । बजारीकरण गर्न सकेका थिएनन् । मह संस्कृतिलाई जिउँदो राख्नुबाहेक मूर्त उपलब्धि हासिल गर्न सकेका थिएनन् ।

चेपाङको रैथाने कर्मलाई व्यवसायको रङ्ग र रूप दिइन् विभूतिले ।

आ–आफ्नै ज्ञान–सीपले मह उत्पादन गर्दै आएका चेपाङसँग सुरूसुरूमा घुलमिल हुन निकै गाह्रो भयो । भाषागत समस्याका कारण सञ्चार अधुरो हुन्थ्यो । काठमाडौंैबाट आएको भनेपछि चेपाङहरूको हेर्ने नजरिया नै अर्कै हुन्थ्यो । त्यसलाई छोटो समयमै विभूतिले चिरिन् ।

“यिनीहरूको श्रम, सीप र रैथाने क्षमतालाई खेर जान दिनुहुँदैन । उद्यम अभिवृद्धि गरेर यिनीहरूको जीवनस्तर उकास्नुपर्छ भन्ने अठोट लिएकी थिएँ, कुनै अप्ठ्यारो महसुस गरिनँ,” विभूति अहिले सम्झन्छिन् ।

‘नागीाको मह’को जन्मदिनु अगाडि चेपाङहरूले महको कुनै मूल्य पाएका थिएनन् । हेटौंडा, चितवनका बजार पुगे पनि चेपाङको मह लिन भनेपछि दिगमिग मान्थे मानिसहरु । पैसाको सट्टा धान, चामल, कोदोमै चित्त बुझाउनुपर्थ्यो । बजारिया महभन्दा गुणस्तर, पोषणयुक्त र मिसावटरहित त हुन्थ्यो, तर इतरसमुदायले नाक खुम्च्याउँथ्यो । लिन हिच्किचाउँथ्यो ।

‘नागीको मह’ खुलेपछि सिलिङ्गेका चेपाङको महले बजारका अतिरिक्त यथोचित मूल्य पनि पाउन थालेको छ । ‘गाँजा खेती’को आधार इलाकाको परिचय पाएको राक्सिराङ मह उत्पादनको ‘पकेट क्षेत्र’को रूपमा उत्तरोत्तर विकास हुँदैछ । सिलिङ्गेको महको विकासको श्रेय विभूतिलाई नै जान्छ ।

गरिबी अन्त्यका लागि उद्यमशीलता नै अस्त्र

चेपाङको जीवनस्तर निकै पिँधमा छ । सूचीकृत ५९ आदिवासीमध्ये पुछारमा चेपाङ नै छन् । उचित आहारको अभावमा विषालु च्याउमा निर्भर हुनुपर्ने दयनीय अवस्था उनीहरूकै भागमा परेको छ ।

गत महिनामात्रै राक्सिराङ–७ मा विषालु च्याउँ खाँदा दुईजना दीनहीन चेपाङको अनाहकमा ज्यान गयो । उनीहरूको जीवनस्तर माथि उकास्न सरकार र गैरसरकारी तवरबाट प्रयास नभएको पनि होइन । उनीहरूको प्रयासले धेरै चेपाङ ओढारबाट बाहिर आएका छन् । तर जङ्गली जीवनबाट माथि आउन सकेका छैनन् । पाखो–भिरालो जमिनमा थातथलो बनाएकाले कृषिकर्ममा पनि आश्रित हुन सक्दैनन् । 

उनीहरूको जीवनस्तर उकास्ने भरपर्दो माध्यम हो– मह उत्पादन ।

यसैमा ऊर्जा थपिरहेकी छन् विभूतिले । परम्परागत ज्ञान, सीप उजिल्याउन समय–समयमा तालिम, परामर्श पनि गर्दै आएकी छन् । वनजङ्गल छेउछाउ बस्न रुचाउने र चिउरीलाई ‘जीवन’मान्दै आएका चेपाङले प्रशस्तै मह उत्पादन गर्न सक्छन् । घर बनाइदिएर, बेलाबखत खाद्यान्न, लत्ताकपडा दिएर चेपाङको मात्रै होइन कसैको पनि गरिबी अन्त्य गर्न सकिँदैन । बरु त्यसले गरिबीको जगेर्ना गर्छ ।  “उद्यमशीलताको विकास गर्न सकियो भने चेपाङको गरिबी यही पुस्ताले बिर्सन्छ,” विभूति ठोकुवा गर्छिन् ।

सिलिङ्गेका १० घर चेपाङ ‘नागीको मह’सँग आवद्ध छन् । नागी चेपाङकै भाषा भएकाले उनीहरूले अपनत्व पनि बोध गरेका छन् । स्थानीय भाषामा ‘नागीको मह’ भन्नाले हाम्रो अर्थात् चेपाङको मह भन्ने बुझिन्छ । त्यसले झनै उनीहरूलाई आत्मीय बनाएको छ र मह उत्पादन गर्न हौस्याएको छ ।

पहिलेजस्तो बजारको समस्या पनि छैन ।

‘नागीको मह’ले सिलिङ्गेका अतिरिक्त काठमाडौंमा पनि कार्यालय खडा गरेको छ । र, राक्सिराङका पाखाका महको स्वाद देश–विदेशलाई चखाइरहेको छ । कोखिलामा हालेर घरघर डुल्दा पनि मूल्य नपाउने सिलिङ्गेका चेपाङले उत्पादन गरेको मह अहिले प्रतिकिलो ११ सयमा बिक्री हुन्छ । स्वदेश–विदेशमा माग बढिरहेको छ । ‘पतञ्जली’ र ‘डाबर’ले ओगटेको बजारमा ‘नागीको मह’ प्रतिस्पर्धी बनेको छ ।

‘नागीको मह’ सुरू भएको गत पुसबाट हो । छोटो अवधिमा चेपाङहरूले तीन हजार किलोग्राम मह उत्पादन गरिसकेका छन् । विभूतिको समूहले यथोचित ढङ्गले प्याकेजिङ र बजारीकरण गरिरहेको छ ।

“मह भर्न आवश्य पर्ने सिसाका भाँडालगायत अन्य कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने अथवा उद्यमीहरूका लागि भन्सार सहुलियत हुने हो भने बजारीकरण गर्न झनै सहज हुन्थ्यो,” विभूति भन्छिन्, “सरकारले यसमा ध्यान पुर्‍याएको देख्दिनँ ।”

पञ्चामृतमध्ये एक अमृत मानिए पनि महबारे जनमानसको मथिङ्गलमा अनेक मिथ छन् । कुनै समय घरघरमा उत्पादन हुने महको महत्वबारे पछिल्लो पुस्ता अनभिज्ञजस्तै छ । 
उद्यमशीलताका अतिरिक्त भ्रम र अज्ञानता निवारणका लागि पनि विभूतिहरूले समय खर्चनु परिरहेको छ । पुर्खाहरूले मह काढ्नेले हात चाट्छ भनेर आहानको सिर्जना गरे । आज मह काढ्ने चेपाङहरूले मनग्गे पैसा काढिरहेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro