
काठमाडौं । गायक आर्जन पाण्डेको गीतले महिलाको भद्दा मजाक उडाएपछि चर्को विरोध सुरु भएको छ । आर्जनको ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतले महिलालाई ‘वस्तु’का रुपमा प्रयोग गरेकोभन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो ।
गीतको अधिकांश शब्दले महिलाको मजाक उडाएपछि सांगीतिक क्षेत्रकै व्यक्तिले आलोचना गर्न सुरु गरेका हुन् । “छोरी मान्छेलाई हेर्ने नजर राम्रो भएको भए यस्तो घटिया गीत सुन्न र हेर्न पर्दैन थियो होला,” गायिका आस्था राउत भन्छिन्, “छोरी मान्छेलाई सेक्सको साधन बनाउने व्यक्तिले नै यस्तो गीत निकाल्छ ।”
अभिनेता निर्मल शर्माले गीतको आलोचना गर्दै फेसबुक स्टाटस नै लेखेका छन् । “बजारमा नयाँ गीत आएको रहेछ । गीतमा पुरुषले महिलालाई भन्छ ‘घाँटी भन्दा तल त राम्री नै छे’ भगवानसँग कामना गर्छु यो गीत मेरो छोराहरुले सुनेर नगाइदिउन् र श्रीमती ममी दिदी बहिनीको अगाडी मैले लाजले मुख छोप्न नपरोस । म महिलाहरुलाई ३३ प्रतिशत हैन ५० प्रतिशत नै हुनुपर्छ भन्ने पक्षमा छु । र, महिला हिंसाविरुद्धमा आवाज उठाउनेहरुको कानसम्म पुगोस यो गीत ।”
यता, महिला अधिकारका विषयमा आवाज उठाउँदै आएकी अमृता लम्साललाई गीत मात्रै होइन । गीतको भिडियो पनि चित्त बुझेन । उनी आफ्नो ट्विटर एकाउन्टमा लेख्छिन्, “एउटा गीत रिलिज भएको रहेछ, बोल ‘घाँटीभन्दा तल त राम्री नै छे’, एक सेलिब्रिटी महिला मोडलको इक्टिङ । उहाँले भिडियोको अन्त्यमा त्यही वाक्य दोहोर्याउँदै ह्वाट द्याट मिन ? पनि भन्नु भएको रहेछ ! नबुझेको पक्कै होइन होला । गीतको नाममा जे पनि लेख्न, गाउन नाच्न पाइने हो ?”
उनले भनिन्, “गीत गीत जस्तो हुनुपर्छ । गीतका नाममा जे पनि हुने भयो । यसले त महिलाको अपमान गर्यो ।” महिला र सामाजिक विषयमा आवाज उठाउँदै आएकी नायिका केकी अधिकारीले यो गीत सेयर गरेकी छन् । उनले केही पनि नलेखी आफ्नो फेसबुकमा उक्त गीत सेयर गरेकी छन् ।