
काठमाडौं । सरिता अर्यालको नियात्रा संग्रह ‘मेरो अपहरण’ शुक्रबार सार्वजनिक भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार तारानाथ शर्मा, माया ठकुरी, प्रतीक ढकाल, निर्मोही ब्यास, हरिमाया भेटवाल, कुर्मराज शाही र लेखिका सरिता अर्याललगायतले नियात्रा संग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
“त्यो कथा बिर्सिसकेको थिएँ । दिदीले किताब लेख्दैछु भन्नुभएपछि त्यो घटना झल्झली याद आयो,” युद्धबिरामका बेला कालिकोटका गाउँ बुझ्न त्यहाँ आएकी सरिता अर्यालसँगै अपहरणमा परेको पीडादायी क्षण सम्झँदै कालिकोटका प्रदेशसभा सदस्य कुर्मराज शाही भने ।
किताबबारे साहित्यकार एवम् समीक्षक हरिमाया भेटवालले सशस्त्र युद्धकाबेला घर छोडेर त्यसतर्फ जानु नै ठूलो कुरा रहेको बताइन् । “युद्धको बेला परिवार छाडेर कालिकोट जानु ठूलो बहादुरी भएको,” भेटवालले टिप्पणी गरिन्, “यस पुस्तकले द्वन्द्वरत सरकार र माओवादी पक्षद्वारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनलाई जस्ताकोतस्तै पस्केकाले युद्धभित्रको प्रताडना बुझ्न पुस्तक उपयोगी देखिन्छ ।”
यस्तै साहित्यकार प्रतीक ढकालले भने, “किताब पाँच घन्टाको फिल्मजस्तो बनेको र लेखिकाले साहसपूर्ण काम गरेको ।” आफ्ना अनुभूति सुनाउदै लेखिका सरिता अर्यालले मनभित्रको पीडा १५-१६ वर्षपछि पाठकसामु राखेको बताइन् ।
३५० रुपैयाँ मूल्य राखिएको २२२ पेजको किताब बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।