
काठमाडौं । पूर्वपरराष्ट्रसचिव डा.मदनकुमार भट्टराईले मिहिन अध्ययन, असंख्य अन्तर्वार्ता र गहिरो खोजबिनबाट तयार पारेको पुस्तक ‘परराष्ट्रका पात्र’माथि शनिबार काठमाडौंमा अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरुले नेपालको कुटनीतिक मामिला बुझ्ने र अध्ययन गर्नेहरुका निम्ति यो पुस्तक गतिलो स्रोत सामग्री बन्ने बताएका छन् ।
‘पुस्तक सम्मोहित गर्ने किसिमको छ,’ किताब पब्लिसर्सद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘हिजो हाम्रा पुर्खाले केही त गरेका रहेछन्, उनीहरुको केही क्षमता त रहेछ नि, त्यही कुटनीतिक चातुर्यका जगमा अहिलेको नेपाल बनेको रहेछ भन्ने कुरालाई मदनजीले तथ्य र वृत्तान्तसहित राम्रोसँग प्रकाश पार्नुभएको छ ।’
डा.भट्टराईका विद्यार्थीकालका मित्र श्रेष्ठले नेपालको परराष्ट्र अड्डा यस क्षेत्रकै पुरानो कुटनीतिक कार्यालय रहेको उल्लेख गर्दै प्रश्न गरे, ‘के अहिले हामीले हिजोको त्यो विरासत जोगाउन सकेका छौं ?’
मुलुकको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका डा.भट्टराईको पुस्तक विदेश अड्डाका प्रमुख सञ्चालकहरुको भूमिका वरिपरी घुमेको छ । त्यसमाथि टिप्पणी गर्दै पूर्वराजदूत एवम् योजना आयोगका पूर्वउपाध्यक्ष डा.शंकर शर्माले हाम्रो परराष्ट्र मन्त्रालय जैशीकोठा र कौशीखानाको पृष्ठभूमिबाट यहाँसम्म कसरी आइपुग्यो, कुन–कुन पात्रले इतिहासमा के–के भूमिका खेले, त्यसबारेमा पुस्तकमा राम्रोसँग विवेचना गरिएको बताए ।
‘नेपालको कुटनीतिक इतिहास बुझ्न चाहने जो कसैले पनि परराष्ट्रका पात्र पुस्तक पढ्नै पर्ने हुन्छ,’ उनले थपे ।
दुईवर्ष राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार एवम् जर्मनी र जापानमा राजदूतसमेत रहिसकेका मदनकुमार भट्टराई कूटनीतिअघि अध्यापन र पत्रकारितामा संलग्न थिए ।
‘मदनजीले हामीले थाहा नपाएका वा बिर्सिसकेका थुप्रै तथ्यहरुको अभिलेख सार्वजनिक गरेर मुलुकलाई गुण लगाउनु भएको छ,’ अन्तर्राष्ट्रिय संस्थाहरुमा लामो समय सेवा गरेकी डा.रिता थापाले भनिन्, ‘उहाँले आफ्नो पुस्तकमा अग्रणी महिलाहरुको भूमिकाबारे पनि उल्लेख गर्नुभएको छ । तर पुस्तक पढ्दै जाँदा के थाहा हुन्छ भने हाम्रो यति लामो कुटनीतिक इतिहासमा एकाध महिलामात्र नेतृत्वदायी पदमा पुगेका रहेनछन् । यस्तो लैंगिक भेदभाव किन भयो ?’
कार्यक्रमको सञ्चालन पत्रकार घनश्याम खड्काले गरेका थिए । विभिन्न सरकारी एवम् सार्वजनिक सेवामा संलग्न वरिष्ठ व्यक्तित्वहरुको जमघट रहेको कार्यक्रममा लेखक भट्टराईले आफूले परराष्ट्र मामिलामा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्झिन चाहेको उल्लेख गरे । ‘यो पुस्तक लेख्नुको मेरो उद्देश्य यस क्षेत्रकै पुरानो परराष्ट्र कार्यालयबारे थप अध्ययन र अनुसन्धान, खोजी र संहिताकरणलाई झकझक्याउनु हो,’ डा. भट्टराईले भने, ‘मेरो पुस्तक नेपालको परराष्ट्र कार्यालय र यसका स्रस्टा वा प्रमुख पात्रहरुको भूमिकाको व्याख्या हो ।’
पुस्तकको प्रकाशन किताब पब्लिसर्सले गरेको हो ।