
अनेक विवाद र चर्चाका कारण कंगना रनौतको ‘जजमेन्टल है क्या’ बहुप्रतीक्षित फिल्म थियो । भारतीय सञ्चारमाध्यमसँगको निरन्तरको टकरावका कारण कंगना एक हिसाबले ती सञ्चारमाध्यममा बहिष्कृतझैं छिन् । केही सीमित व्यक्तिहरूले आफूलाई नियोजित रूपमा आक्रमण गरिरहेको आरोप उनले लगाउँदै आएकी छन् । ‘मणिकर्णिका’देखि उनले सञ्चार—बहिष्करणको सामना गरिरहेकी छन् । यही सेरोफेरोमा उनको ‘जजमेन्टल है क्या’ प्रदर्शन भएको छ । के यसले ती आलोचकलाई गतिलो जवाफ देला ? तटस्थ समीक्षकहरू यसकै उत्तर पर्खिरहेका छन् ।
शुक्रबारबाट प्रदर्शनमा आएको ‘जजमेन्टल है क्या’ यसकारण पनि प्रतीक्षित थियो कि यसमा प्रतिभाशाली कलाकार राजकुमार रावसँग कंगनाले पहिलो पटक स्क्रिन शेयर गरेकी छन् । उनीहरूको प्रस्तुतिलाई लिएर दर्शक ‘जजमेन्टल’ हुँदैनन् । बरु पूरै नम्बर दिएर उत्तीर्ण गराइदिन्छन् ।
मानसिक रोग ‘एक्युट साइकोसिस’की शिकार बबीवरपर रहेर फिल्मको कथा बुनिएको छ । सानो छँदा आमा–बुवाको झगडाका कारण मृत्यु भएपछि ऊ यो रोगबाट ग्रसित हुन्छे । यही रोगका कारण उसले सत्य र असत्यबीचको भेद छुट्याउन सक्दिन । अत्यधिक रिस, ‘ह्यालुसिनेसन’, भ्रम र भावदशा परिवर्तन (मुड स्विङ)को शिकार हुन्छे । ऊ डबिङ आर्टिस्ट हुन्छे, जसले दक्षिण भारतीयदेखि कयौं हरर फिल्ममा फरक–फरक पात्रका लागि आवाज दिन्छे । डबिङका क्रममा कयौं पटक उसले आफूलाई फिल्मकै पात्र ठानेर व्यवहार गर्छे । यही चक्करमा ऊ कहिले प्रहरी बन्छे, कहिले हरर फिल्मको हिरोइन । आवेगमा आएर हातपात गर्दा उसलाई तीन महिनाका लागि मानसिक अस्पतालमा समेत भर्ना गरिन्छ । त्यही बेला उसको घरमा केशव (राजकुमार राव) आफ्नी पत्नी रीमा (अमायरा दस्तुर)का साथ भाडामा बस्न आउँछ । बबी ऊप्रति आकर्षित हुन्छे । र, सँगै केशवका गतिविधि देखेर बबीले शंका गर्छे र उसको चियोचर्चो गर्न थाल्छे । यही क्रममा एक हत्या हुन्छ । बबीले हत्यारा केशव भएको भन्दै प्रहरी अधिकृत (सतिश कौशिक)लाई आश्वस्त पार्न खोज्छे । तर, त्यसको विपरीत केशवले आरोप बबीतर्फ सोझ्याइदिन्छ । हत्याको गुत्थी जेलिँदै जाँदा कथा यस्तो मोडमा आएर अडिन्छ, जसका लागि बबी र केशव दुवै तयार हुँदैनन् । फिल्मको सार यही हो ।
निर्देशक प्रकाश कोवलामुदीले लेखिका कनिका ढिल्लनको दमदार पटकथालाई पूरा न्याय गरेका छन् । मध्यान्तरअघिको थ्रिलर, सस्पेन्स र डरलाग्दो अन्दाजले बाँधेर राख्छ । थ्रिललाई बढाउन निर्देशकले जे–जस्ता औजार प्रयोग गरेका छन्, तिनले अलग्गै अनुभव गराउँछन् । मध्यान्तरपछिको शुरुवातमा कथा थोरै तन्काइएको छ तर नयाँ ट्र्याकमा कथाले पकड जमाउँछ । फिल्ममा रामायणका पात्रहरूलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ, जसले फिल्मलाई अझ परिस्कृत बनाएको छ ।
मनोरोगीको रूपमा कंगनाको दिमागमा चल्ने आवाजहरूलाई पनि निर्देशकले विभिन्न रूप दिन सफल भएका छन् । जिमी शेरगिल र कंगनाको भरोसासम्बन्धी दृश्यमार्फत मानसिक रोगका पीडितप्रति सकारात्मक सन्देश पु¥याउन खोजेका छन् । फिल्मको हास्यरसले कथालाई बोझिल बन्न दिँदैन । ब्याकग्राउन्ड स्कोर उत्तम छ । तर, क्ल्याम्याक्स पूर्वानुमान गर्न सकिने खाले छ । यो कुरा खड्किन्छ । निर्देशकले यसलाई अझै दमदार बनाउन सक्थे । तर, यति हुँदाहुँदै पनि फिल्मले अन्तिमसम्मै बाँधेर राख्छ । बलिउडले अँगालेको चल्तीको बाटोभन्दा फरक धारमा हिँडेको छ यो फिल्म । वा भनौं— यसले आफ्नै नयाँ बाटो बनाएको छ ।
यसमा दुईमत छैन— यो फिल्म कंगनाको हो र उनले बबी चरित्रको डर, छटपटी, आक्रोश र पागलपनलाई सुन्दर तरिकाले निभाएकी छन् । वेशभूषादेखि लिएर अनुहारको भावभंगिमासम्म उनी ‘पर्फेक्ट’ लाग्छिन् । उनको अभिनयले मानसिक रोगबाट पीडित व्यक्तिको वास्तविकता प्रष्ट हुन्छ ।
कंगनाजस्तै राजकुमार राव पनि कतै बीसको उन्नाइस छैनन् । सक्षम अभिनेताको रूपमा केशवको चरित्रका विविधतालाई उनले न्याय गरेका छन् । आमचल्तीका भूमिकाभन्दा यसमा उनी पृथक देखिन्छन् । यस्तो भूमिकामा उनी पहिलो पटक देखिएका छन् । र, पनि आफ्नो भूमिकामा उनी शतप्रतिशत खरो उत्रिएका छन् ।
छोटो भूमिकामा जिमी शेरगिलले राहत दिन्छन् । केशवकी पत्नीको भूमिका खेल्ने अमायराले ठीकठाक काम गरेकी छन् । फिल्ममा लेखिका कनिका धिल्लनको केमियो पनि छ । तनिष्क बागचीको संगीतमा बनेको ‘वखरा’ गीत सुन्दर छ ।
थ्रिलर फिल्मका शौखिन र कंगना–राजकुमारका फ्यान यो फिल्मबाट निराश हुँदैनन् ।