site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एउटा मान्छेको माया

– पुण्यसागर मरहट्टा


स्वाभाविक छ— न्यानोको पर्खाइमा करिब सात महिना गुप्तबास बस्छन्, क्यानडामा मान्छेहरू । जब बसन्त अल्छी मानेर आउँछ र गइहाल्छ फटाफट, त्यो बसन्त र ग्रीष्म छोप्न, त्यसको रसस्वादन गर्न र आनन्दित हुन मान्छेहरू छिचिमिराजस्तै रेस्तराँका प्याटियोमा निस्किन्छन् । पार्कमा पिकनिक जान्छन् । वनमा बनवास जान्छन् ।

तुलनात्मक सानो, शान्त र कम घच्चमघच्चाको शहर रिजाइनामा पनि बल्ल ग्रीष्म आएको छ । त्यसै मेसो मेरो इन्स्टाग्राममा फोटोसहित एउटा मेसेज आयो, “ओइ भाते, तँ मलाई चिन्छस् भने आउँदो शनिबार कर्नवाल सेन्टर अगाडिको बियर ब्रोजको प्याटियोमा आइज । साढे ११ बजे बिहान । सँगै खाना खाऊँला, गफ गरौंला ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीन कुराले झक्झक्याए—

१) यो बिरानो ठाउँमा मेरो करिब ३० वर्षअघिको स्कुले होस्टेलको भाते उपनामले बोलाउने को हो ?

२) त्यसै पनि सस्काचेवन प्रदेशको स्वास्थ्यसेवा मेरै हातमा छ भनेर घमण्ड गर्ने मलाई ‘तिमी’ भन्ने त कुनै नेपालीले हिम्मत गर्दैन, ठाडै ‘तँ’ भन्ने यो को होला ?

३) अनुहार त सबै परिवर्तन भइसकेछ तथापि दायाँ आँखीभौं खर्लप्पै काटिएको दाग लिएर आजन्म विचरण गर्नुपर्ने प्रारब्ध लेखिएको हामी सबैले ‘गुरु’ भनेर सम्बोधन गर्ने कतै ऊबेलाको होस्टेलको हाम्रो साथी सुरजरत्न तुलाधर त होइन यो ?

तेस्रो प्रश्नले गुत्थी सुल्झायो । हो, यो त सुरज नै हो । जब सुरज हो भन्ने पक्का भयो, मेरो स्मृतिपट फास्टेस्ट रिवाइन्ड मोडमा गयो र सम्झनाका तरेलीसँगै मलाई लगेर हाम्रो स्कुलको होस्टेलको ब्लक ‘सी’मा लगेर बजा¥यो । हत्त न पत्त ‘तँ नै त्यो बेलाको सुरज यानेकि गुरु हुँ भनेर कबोल गर्, ज्यान हाजिर शनिबार’ भनी मेसेज फर्काइहालें । सुरज गुरु नै त रहेछ नि ।

कक्षा ४ मा पढ्दाको कुरो हो, हामी दुबैको निकनेम रहेको । आमाले खाजा ल्याइदिनुभएको टिफिन बट्टामा मैले नित्यजसो होस्टेलको मेसबाट भात चोर्थें । भातमात्रै नि फेरि, अरू होइन । मलाई ऊबेलादेखि नै बुगुल्टो भात मन पथ्र्यो । एकदिन बंक बेडको माथि बसेर एकसुरमा त्यही चोरेको भात खाँदै थिएँ, वार्डेन सर आएछन्, देखेछन् र गोदे । त्यसपछि उपनाम रहन गयो— ‘भाते ।’

‘गुरु’को प्रसंग त अझ रोचक छ । होस्टेलको मेसको खाना, धनाड्य साहुजीको छोरो हाम्रो सुरजरत्न । पहिलो, दोस्रो छाक पचायो क्यारे, तेस्रोमा गाह्रो भएछ । बंक बेडको माथि म, तल ऊ । अपच भएको कारणले जे नहुनु, त्यही भएछ । आठ जना कोचिएको तो कोठामा दुर्गन्ध त फैलियो नै, कसले ग¥यो त्यो कुकर्म भनेर छिनोफानो गर्नु पर्ने भयो । फेरि वार्डेन सर आए । सातै भाइ हामी चलायमान थियौं, सुरजरत्न इकिढिकी गर्दैनथ्यो ।

वार्डेनले भने, “लु हिन केटा हो बाहिर चौरीमा । त्यहीँ छिनोफानो गरौंला ।”

सातैभाइ निस्कियौं, सुरजरत्न निस्केन । रुँगेर बस्यो । त्यसैले ‘ऊ’ रुँग्नाले आजन्म हाम्रा लागि ऊ ‘गुरु’ भयो ।

अहिले गुरु यता आइपुगेछ, म यतै छु । लप्सी र डिब्बा टेक्सासमा छन् । फाक्से, कुरौनी, च्यान्ट्स अस्ट्रेलिया पुगेछन् । भुयुमात्र नेपालमा छ । लप्सी चोर्नाले लप्सी नाम भए पनि ऊ सिस्टम आर्किटेक्ट हो, आईटीमा काम गर्छ । बट्टा भन्न नजानेर डिब्बा भन्थ्यो तराईतिरको साथी । ऊ डिब्बा कहिए पनि राम्रो बालचिकित्सक भएको छ रे ! फाक्से त लाहुरे बाउको छोरो । लाहुर जाला भनेको, एमबीए पढ्न अस्ट्रेलिया गएको, उतै बसेछ । पौडेलका बा–आमा उतै स्याङ्जातिर बस्थे । काठमान्डू आउँदा कुरौनी ल्याइदिन्थे । उसको नामै कुरौनी रह्यो । कुरौनी वैकल्पिक ऊर्जाविद् भएको छ रे ! सरकारी जागिर गर्छ रे ! किरणचाहिँ सानो दार्पातको च्यान्टे घोडाजस्तो थियो— च्यान्ट्स भयो हाम्रा लागि । च्यान्ट्स त सानैदेखि पढ्न तेज थियो, जर्मनी गएर संस्कृत पढेछ । अहिले सिड्नी युनिभर्सिटीमा पूर्वीय दर्शन र ज्योतिषशास्त्र पढाउँछ रे ! रह्यो भुयुको कुरो । असन अन्नपूर्ण मन्दिरको ठीक पूर्वपट्टि घ्योआरेको छोरो, शंकरदेवबाट आईकम, बीकम सकेर पैतृक पेशा अँगाली बसेको छ रे ! अहिले त उसको लम्बाइ, चौडाइ, उचाइ एकै भयो होला भन्थे साथीहरू । हामी आठ जनामध्ये जो नेपाल गए पनि भेट्ने, अरूसँग भेटाउने उही भुयु त हो !

गुरुले मेसेज पनि सोमबार बिहान ७ बजे ग¥यो । त्यसलाई भेट्न अझ मंगलबारदेखि शनिबार बिहानसम्मको चोटिलो पर्खाइ हुने नै भयो । शरीर त अहिले पनि यतै लेक्रिजतिरै छ तर दिमाग आजभन्दा ३५ वर्षअघि फर्काउँदो छ मलाई । वायुवेगले उडाउँछ र लगेर ९० को दशकको चुनदेवीतिर लगेर पछार्छ ।

हामी शायद त्यतिखेर कक्षा ५ मा पढ्थ्यौं । मीनपचासको बिदा थियो । म कमलपोखरीबाट हिँडेर जमल, जमलबाट महाराजगन्ज जाने टेम्पु चढी निर्मल निवासको चेपैचेप ‘तुलाधर निवास’ पुगेको छु । उतिबेला हामी न अपहरणमा पर्ने गथ्र्यौं मोटरगाडीको अहिलेजस्तो किचाघान थियो । काठमान्डूका रैथाने करिब–करिब एक–अर्कालाई सहजै चिनिन्थ्यो । हाम्रो उपत्यकाको पनि डाउनटाउन, अपटाउन र सबअर्ब थियो । सुरजका बाले त्यौडको डाउनटाउन छोडेर महाराजगन्जको सबअर्ब रोजेका थिए शायद । म देख्दै छु— फाकट आँगन भएको करिब डेढ रोपनी जग्गामा चाइनिज इँट्टाले बनेको घर छ । आँगनको दक्षिण–पश्चिम कुनामा एउटा आकासे रंगको ड्याट्सन कार रोकिइराखेको छ । एक जोडी वेतको कुर्सी छ, त्यसमा आकाशे रंगकै चकटी हालिएको छ र त्योमध्ये एक कुर्सीमा अमिताभ बच्चनजस्तै देखिने अधवैंशे मानिस छन् । त्यहाँ ती मानिससँगै एल्सिसियन कुकुर ‘ज्यांगो’ छ, जसले मलाई देख्छ र एक आँखाले हेपाहा तरिकाले हेर्छ । मानौं भन्दै छ, “यस्तो फुच्चेले मेरो मालिकको विरासतको केही बिगार गर्न सक्दैन ।” र, फेरि उँघ्छ । ती मानिस शायद सुरजका ‘डेन्जर’ बाउ हुन्, जो हिन्दी सिनेमाको अजितले जस्तै पाइप तानेर धूवाँ फुकिरहेका छन् । फलामे गेट खुन्द्रुङ्ग खोलेर म भित्र पसेको छु र तिनै मानिसलाई सोध्छु, “सुरज छ ?”

उनले जवाफ दिँदैनन बरु कौलास्छन्, “एई सुरज्चा, ठन वा, छिम पासा वल !”

घरको मूलढोका खोलेर सुरज आउँछ, मलाई भित्र लैजान्छ र भन्छ, “आज बाउको मुड ठीक छैन ।”

मैले सोध्नुभन्दा अघि नै भन्छ, “मैले अनाहकमा गोदाइ खाएँ जबकि गल्ती सरासर मैयाको थियो ।”

मैया उसकी बहिनी । मैले सम्झाएँ, “जेठो हुनुको भुक्तमान भोग् साथी ।”

त्यतिखेर नै ऊ मसँग विलौना गर्छ, “मेरो बाउले मलाई माया गर्दैन । सधैं मैयाको कुरो सुनेर मलाई गोद्छ ।”

मैले ढाडस दिँदै भन्छु, “सबैका बाउ उस्तै हुन्, गोद्छन् मात्र ।”

उसले सोध्छ, “तँलाई तेरो बाउले गोद्ने भए यी यस्तो नीलडाम देखा त, सक्छस् ?” उसले आफ्नो गन्जी उचालेर पिठ्यूँ देखाउँछ । म अवाक् हुन्छु केहीबेर र भन्छु, “हैन, मलाईचैं नीलडामै बस्ने गरी गोद्दैनन्, आँगनको नास्पातीको बोटमा नांगै बाँधिदिन्छन् ।”

ऊ पत्याउँछ र भन्छ, “बरु त्यही ठीक । दुख्न त दुख्दैन ।”

मलाई यो जीवनमा एकबाजी चंगा किन्न पैसा चोरेको उपलक्ष्यमा ‘तँलाई पाजी’ भनेर बाले कान जर्काएको र आमाले ‘भो भो, अब फेरि गर्दैन, छोडिदिनुस्’ भनेको बाहेक गोदेको, बाँधेको आदि स्मृतिमा छैन ।

गुरु अर्थात् सुरजको र मेरो आज प्ले डे । गोदिएको कुरो गरेर समय व्यतीत गर्ने कुरो पनि भएन । उसका कमिक संग्रह सबै पढ्छौं हामी— चाचा चौधरी, फ्यान्टम, टिन्टिन आदि । म बेलाबेलामा ती सुपरहिरोमा आफ्नो बालाई भेट्छु र आल्हादित हुन्छु । देख्छु— गुरु खलपात्रमा उसको बाउलाई देख्छ, झस्किन्छ । उतिखेर त मैले बुझ्दिनथें, अचेल त्योबेलाको उसको घर–परिवेश सम्झिन्छु र त्यतिखेर उसको घरभित्र एउटा गह्रुंगो, ओसिलो र अत्यन्त नकारात्मक ऊर्जा उत्सर्जित भइरहेको महसुस गर्छु ।

मलाई सुरज मन पर्छ किनभने उसले मलाई ‘भाते’ भन्छ, म उसलाई गुरु भन्छु । गुरु धनी बाउको एकमात्र छोरो । म सामान्य निम्नमध्यम वर्गीय सरकारी कर्मचारीको तेस्रो सन्तान । उसलाई सबै भौतिक सुविधा छ, मलाई जाबो सुपरम्यानको कमिक किन्न दक्षिणा कुर्नुपर्छ । तथापि मलाई बाले हम्मेसि गोद्दैनन्, मायै गर्छन् । गुरु सदैव धोबीको ढुंगाजस्तो हुँ भन्छ । अचेल मलाई लाग्छ— यो गुरुको होइन, उसका बाउ–आमा गुज्रिरहेको अवस्थाको दोष हो ।

यत्तिकैमा ‘बाजे’ आउँछन् हातमा दुइटा स्टिलको प्लेट लिएर । प्लेटमा आलु र छ्यापीको तरकारी, अलिकति च्युरा र अन्डा पोच राखिएको छ । ‘बाबुहरू खाजा खानुस् रे, माँले भन्नुभएको’ भनेर जान्छन् । ओहो ! अन्डा, च्युरा, तरकारी खाजा ? यो त कहिलेकाहीँ जाउलाखेलबाट विष्ट भिनाजु आइसिँदामात्र बन्छ हाम्रो घरमा, कल्पिन्छु । नत्र त सधैंको चिया–पाउरोटी हो हाम्रोमा त । छेडोबाहिरको कृष्ण पाउरोटीको कमाल होला ।

मैले एकोहोरो प्लेटमा हेरेको देखेर गुरु भन्छ, “खा खुरुक्क । कस्तो लोभी भएर हेरेको ?”

म भन्छु, “गुरु, तँ भाग्यमानी होस् । यस्तो खाजा मेरो घरमा त फुपाजु आउँदामात्र बन्छ ।”

ऊ जोडजोडले हाँस्छ र भन्छ, “मलाई माँले घरमा भएको बेला बनाइदिने खाजा असाध्यै मीठो लाग्छ । माँले पनि गोद्ने भए त म ब्रेक बिग्रेको साइकल पानीपोखरीको ओरालोमा हाँकेर मरिदिन्थें ।”

अहिले सोच्छु— त्यो ११ वर्षे उमेरमै किन मर्ने कुरा गरेको होला गुरुले ? पर्सि शनिबार सोध्नैपर्छ मैले ! स्मृतिका तरेली न हुन्, सजिलै किन मसाङ्ग्रिन सक्थे र !

फेरि अर्को घटना सम्झिन्छु । कक्षा चडेका छौं, सात पढ्ने भयौं । फागुन १ गते ४ बजे होस्टेलभित्र छिरिसक्नु पर्नेछ । मलाई त ठुल्दाइले ट्याम्पु चढाएर दिनको सवा १ बजे नै छोडेर गए । अरू सबै आइसके, गुरु आउँदैन । अरूको फिक्री छैन, मलाई त गुरुकै फिक्री छ । करिब पौने ४ बजे गुरुको आकाशे रंगको गाडी रोकिन्छ स्कुलको ढोकाअघि । ड्राइभरले ओर्लेर कारको ढोका खोलिदिन्छन् र सुरज गुरु गाडीबाट उत्रिन्छ, सरासर भित्र आउँछ । पाले दाइको हातमा एउटा हरियो नोट थमाएर आएकै बाटो त्यो गाडी फर्किन्छ । गुरु सरासर आउँछ, बेडमा आफ्नो भारि बिसाउँछ, मेरो खण्डमा उक्लिन्छ र मलाई अँगालो हालेर रुँदै भन्छ, “आज पनि बाउले गोद्यो, पु¥याउन आएन ।”

मैले भनें, “छोडेदे, आएनन् त के भो ! मेरा बा पनि त आएनन् !”

उसले भन्यो, “तेरो बाउले तँलाई गोद्दैन ।”

म फेरि अवाक भएँ । नियालेर हेरें । सुरज यानेकि मेरो गुरुको आँखावरिपरि नीलो भएको छ । त्यो दिन त मीठा कुरा भएनन् भन्दा पनि भयो । भोलिपल्टदेखि गुरु फर्ममा आयो । उही चञ्चल गुरु, पृथक र किशोरावस्थाको गुरु । झकास क्यारिकेचर गर्ने गुरु, मदनकृष्ण र हरिवंशको ‘यमलोक’ भन्ने प्रहसन कण्ठाग्र–मुखाग्र भएको सुरज गुरु । जाबो एकै रातको साथीभाइको संगतले हाम्रो गुरु बौरियो । अब त ऊ चुलबुले भयो ।

मैले सोधें, “किन तँ यसरी फुर्किएको ?”

सहजै भन्यो, “यहाँ अनुशाशनभित्र बसेर मनखुशी गरुन्जेल कसैले गोद्न सक्दैन ।”

मलाई लाग्थ्यो र अझै लाग्छ— यसका बाउले किन यसलाई गोद्छन् ? यो यस्तो नरम मिजास, हलुंगो, साथी बनाउन सक्ने निरपराध मेरो साथी किन बारम्बार प्रताडित भइरहेको छ ? मैले एकबाजी सोधी हेरें । कहिले त भन्दा जिन्दगीमा एकपल्ट स्कुल हापेर विश्वज्योतिमा ‘जीवनरेखा’ भन्ने सिनेमा हेर्न जाँदा । मलाई त्यो दृश्य कण्ठ छ । हामी सिनेमा हेरेर निस्कियौं र सोडावाला ठेलानजिकै उभ्भिएर सोडा अर्डर ग¥यौं । कागती सोडा बन्दै थियो, उसले भन्दै थियो, “मेरा बाउ–आमाको सम्बन्ध...।”

यत्तिकैमा ‘का वलः’ भनेर ऊ थुचुक्क ठेलाले छेलिने गरी बस्यो । एकछिनपछि उठ्यो र भन्यो, “मेरो बाउको सुचीकार आएको थियो । देखेको भए फेरि गोदाइ खानुपर्ने भयो ।”

हामी छेलिने, लुक्ने र जसरी हुन्छ— होस्टेल छिर्ने उपायतिर लाग्यौं । ‘गुरुले किन गोदाइ खान्छ ?’ को जवाफ आउनै बाँकी थियो । होस्टेल छिरियो, कसैले थाहा पाएनछन्, बाँचियो । नत्र त्यहाँ भने मैले पनि गोदाइ भेट्ने प्रचुर सम्भावना थियो ।

कक्षा ९ पढ्दा एकदिन गुरुले भन्यो, “यार बाउले गोदे गोदोस्, वार्डेनले भकुरे भकुरोस् तर ८ कक्षाकी अर्चनालाई एउटा लभलेटर त दिनैप¥यो । हेल्प गर्छस् नि ?”

मैले भनें, “तेरो लागि म सधैं रेडी । बरु भन्, के खुवाउँछस् ?”

उसले भन्यो, “भोलि म त रञ्जनामा ‘अमर, अकबर, अन्थोनी’ सिनेमा हेर्न स्कुल हाप्ने हो, आइस् भने जे खान्छस् त्यही । आइनस् भने तेरो टिफिन बट्टा दे, त्यहीँ अगाडिको शोभा मःमःबाट एक प्लेट मःमः ल्याइदिन्छु ।”

म स्कुल हापेर सिनेमा हेर्न जाने आँट गर्न सक्दिनथें । आँटको ठाउँ त्रासले लिइसकेको थियो । उसले कबोल ग¥यो । मःमः ल्याइदिने भयो र त्यसका लागि मैले ऊ बनेर लभलेटर लेखिदिनुपर्ने भयो । उसले फिल्मी तरिकाको लेखाउन लगायो, मैले आफ्नै लागि लेखेझैं गरी लेखिदिएँ । यत्तिले के पुग्थ्यो ! उसैको साथ लागेर गइदिनुपर्ने पनि भयो । गइयो । मोरोले नजिकै गएर त्यो लेटर त दियो, स्वाभाविक थियो— अर्चनाले त्यो लेटर किन लिन्थी ? लिइन । मलाई देखाएर भन्यो, “ऊ त्यो भातेले दे भनेको भएर दिएको, नलिने भए नलिऊ ।”

त्यसपछि फरक्क फर्केर आयो र मलाई भन्यो, “यो केटीसँग म लभ गर्दिनँ, भो हिंड् ।”

“साले, अनि मैले दिन लगाएको किन भनेको त ?”

“नर्भस होइँदो रै’छ यार । तर, तँ पीर नगर्, तेरो मःमः पक्का ।”

वाचामुताविक भोलिपल्ट ऊ स्कुल हापेर सिनेमा हेर्न गयो र साँझ मःमः पनि ल्याइदियो । ९–१० मा त ऊ स्कुलको नम्बरी भगुवा भइसकेको थियो । बेलाबेला पाउँ, कहिले गुँदपाक, कहिले पुष्टकारी, कहिले दालमोठ, ऐठे, ग्वारामारी, लाखामारी ल्याएर खुवाइरहन्थ्यो हामीलाई । दिमाग तेजिलो थियो गुरुको, हामीतुल्य पढ्थ्यो । हामी घोकन्ते, ऊ बुझन्ते । एसएलसीमा उसको पनि फस्र्ट डिभिजन, हाम्रो पनि । एसएलसीपछि म आईएस्सी पढ्न पाटन क्याम्पस भर्ना भएँ, ऊ आईकम पढ्न सरस्वती क्याम्पस भर्ना भयो । हाम्रो सम्पर्क पातलिँदै गयो र त्यतिखेर टुट्यो, जब म पब्लिक हेल्थ पढ्न छात्रवृत्तिमा पाकिस्तान पुगें । गुरु नजाने कुन कारणले (पढ्न होला) क्यानडा गयो । यो भनेको १९९० तिरको कुरो हुनुपर्छ ।

त्यसपछि मैले धेरै साथीसँगको सम्पर्क गुमाएँ । त्यो चाहेरभन्दा पनि व्यवसायजन्य र साँघुरो सामाजिक सञ्जालका कारण थियो । उतिबेला अहिलेजस्ता विभिन्न एप थिएनन् । मान्छे स्मार्ट थिए । अधिक समय ओभरस्मार्ट भइबस्ने फोन थिएनन् । फिमेलहरू इमेलभन्दा बढी चित्ताकर्षक थिए । त्यसैताका पाकिस्तानको लाहोरबाट गोल्डमेडलसहित ब्याचलर्स र मास्टर्स डिग्री इन पब्लिक हेल्थ गरेर म नेपाल फर्केको थिएँ । तत्कालैजसो मलाई पीएचडीको लागि युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया, भ्यान्कुवरमा छात्रवृत्ति मिल्यो । म भर्खर विवाह गरेकी श्रीमती लिएर क्यानडा उडें । सन् १९९८ तिर पीएचडी सकें । तत्कालैजसो यो संसारकै चिसो ठाउँजस्तो लाग्ने रिजाइनामा प्रादेशिक सरकारको जागिर पाएँ, अझै खाँदै छु । नामका पछाडि जतिसुकै अक्षर भए पनि जब गुरुले मलाई आमन्त्रण दियो, शनिबार बियर ब्रोजको प्याटियोमा भेट्ने— म उही सन् ८० को मध्यतिरको भाते भएँ, त्यतै फर्किएँ— भलै थोरै समयका लागि किन नहोस् !

कन्दै–कन्दै लोसे पाराले आइपुग्यो त्यो शनिबार । आहा ! आज त गुरुले बोलाएको दिन । त्यो मुला गुरु कस्तो भयो होला ? त्यसको जीवनका उतारचढाव कस्ता थिए होलान् ? परिवार, छोराछोरी होलान् कि नहोलान् ? यी र यस्तै कुतूहलतासँगै थोरै कर्नफ्लेक्स, एउटा अण्डा र चिया खाएर निस्कें म गुरु भेट्न— डाउनटाउन रिजाइना । म बसेको सबअर्बबाट १० मिनेट, मेरो जागिरको आँगनी भन्दा पनि हुने ठाउँ हो, उसले डाकेको पबको प्याटियो । साँझको रमझमभन्दा बिल्कुल विपरीत हुन्छ, दिउँसोको पबको माहोल । धेरै त दिउँसो खुल्दै खुल्दैनन् । खुलेका जति बिल्कुल पारिवारिक रेस्तराँजस्ता हुन्छन् । सेन्ट्रल पब्लिक लाइब्रेरीअघि गाडी पार्क गरेर भिक्टोरिया पार्कको उत्तरी सीमा छिचोल्दै म जसै कर्नवाल सेन्टरतिर मोडिएँ, बियर ब्रोजको प्याटियो देखियो र त्यहाँ एक आप्रवासी अनुहारको अधवैंशे मान्छे देखियो । मलाई यकिन भयो— त्यही हो गुरु यानेकि सुरजरत्न तुलाधर ।

नजिकै पुगेपछि ‘ए आइपुगिस् भाते ?’ भनेर जब उसैले भन्यो, मलाई यकिन भयो— गुरु यही हो । नियालेर हेरें, आँखीभौंको खतबाहेक मैले चिन्ने उसका निशानी सबै मेटिइसकेका वा छिप्पिएर रुपान्तरित भइसकेका थिए । पाखुरामा म्याडोनाको गीतको लाइन खोपिएको थियो, ‘पापा, डन्ट प्रिच ।’ अनि नेपालीमा शायद ‘बुद्धम शरणम गच्छामी’ समेत लेखिएको थियो । मैले हात मिलाउन अगाडि बढाएको हात पन्छाउँदै उसैले भन्यो, “म अब हिजोजस्तो छैन, अँगालो मार्न योग्य भइसकेको छु । आइज, अँगालो मार् ।”

मैले उसलाई त्यसरी हेरेको पनि थिइनँ । ऊ त मेरा लागि त्यही गुरु थियो— मेरो बंक बेड पार्टनर । मलाई त्यसको कुरोले चित्त दुख्यो र भनें, “तैंले मलाई म हिजोजस्तो छैन, अँगालो मार्न योग्य भइसकेको छु भनेर हेपिस् । तँ जुन, जस्तो अवस्थामा भए पनि मेरो साथी सुरज होस्, गुरु होस् ।”

उसले कुरा छल्यो, “नकरा, नकरा । के खान्छस् भन् ।”

“के खानु नि ! फिस एन्ड चिप्स । एउटा कोल्ड ड्रिंक । त्यत्ति हो,” मैले भनें ।

“बियर खान्नस् ?” सोध्या ।

“मैले पिउन छोडेको अब त बीसै वर्ष भयो होला,” मैले भनेपछि उसले थप्यो, “अचेल म पनि पिउन्न ।” दुबैले एकैचिज अर्डर गर्यौं ।

खाना आउँदै गर्छ भन्ने भएपछि मैले नै कुरो उप्काएँ, “बाब्बा ! ३५ वर्ष भो है हामी नभेटेको ?”

उसले स्मित हाँसोसहित भन्यो, “तैंले मलाई नभेटेको ३५ वर्ष, मैले तँलाई भेटेको त मात्र ४ वर्ष भयो ।”

अब म अवाक् हुने पालो आयो, “के भन्छ ?” स्वाभाविक रूपमा मेरो मुखबाट यो प्रश्न फुत्कियो ।

“२०१५ को जुलाईमा तँ भ्यान्कुवर गएको थिइनस् ?”

“हो, गएको थिएँ ।”

“त्यहाँको कन्भेन्सन सेन्टर पनि गएको थिइस् नि हैन ?”

“साले, जासुस त हैनस् नि ? गएको थिएँ । मेरो न्यासनल कन्फरेन्स थियो, पेपर प्रेजेन्ट गरेको थिएँ । तँ पनि थिइस् त्यो कन्फरेन्समा ?”

उसले गहिरो सास फे¥यो र भन्यो, “तँ निस्किँदै थिइस् कन्फरेन्स सकेर । म पार्किङ लटमा टोपी थापेर गितार बजाउँदै थिएँ ।”

“नकरा साले, गफ नदे,” मैले भनें ।

उसले किञ्चित अविचलित भएर भन्यो, “तँ कालो सुट र आकाशे रंगको टाई लगाएर आएको थिइस् । चश्माको फ्रेमसमेत आकाशे नीलो थियो । शायद लकोस्टे ब्रान्डको थियो । तेरो गाडी त्यतिखेर आउडी थियो ।”

अब मैले ‘त्वम् शरणम्’ भन्नुबाहेकको विकल्प थिएन । मैले आफू माथि पर्न भनें, “सबै थाहा रहेछ, देखेकै रहेछस् । नबोलाएको चाहिँ किन त ?”

बल्ल गुरु शुरु भयो । उसैले भन्यो, “मलाई गुरु भन्छस् नि, लौ गुरु ज्ञान सुन् । जोडले नठोक्किएसम्म दुख्दैन, नदुखी मान्छेले सिक्दैन । फरक यत्ति हो— तँलाई जुन ठोकाइले दुख्छ, मलाई नदुख्न सक्छ । मलाई पैसाको अभाव दुखेन, बाबुको मउपर लादिएको सपना दुख्यो, तँलाई उल्टो भयो होला । टमोटेले जसरी पाता ठोकेर गाग्री बनाउँछ, त्यसरी नै जिन्दगीले ठोक्छ र आकार, आवरण अनि आवश्यक वस्तु बनाइदिन्छ । यो साला जिन्दगीले मलाई क्या ठोक्यो भने नि । एउटा आकार दिलाइदियो । आज लाग्छ— म छु र मेरो आवश्यकता छ ।”

म अवाक भएँ र मनमनै सोधें, “यो त्यही सुरजरत्न तुलाधर त हो, जो हरदम स्कुल हाप्थ्यो, हामीलाई मीठा–मीठा खानेकुरा किनेर खुवाउँथ्यो ?”

मैले उही स्कुले पारा झिकेर आमाचकारी शब्दबाट वाक्य शुरु गरें, “ल सुना, किन त्यतिखेर बोलाइनस् मलाई ? यी हण्डर, ठक्कर सबैले कुनै न कुनै समय खाएकै हुन्छन् ।”

गुरु फेरि विगतमा गयो, “तँलाई त थाहा छ नि, मेरो घरमा कहिल्यै शान्ति भएन । भलै माँको नाम नै शान्ति किन नहोस् !”

मैले ‘अनुमान लगाउन सक्छु’ भनें ।

उसैले भन्यो, “मेरो बाउ र आमाको सम्बन्ध कहिल्यै राम्रो थिएन । मलाई बाउ मोतीकाजी स्थापितजस्तो कहलिएको वकिल बनाउन चाहन्थे, म मदनकृष्ण श्रेष्ठजस्तो नामुद कलाकार बन्न चाहन्थें । हाम्रो घरमा सधैंको खाना खाने बेलाको झगडा नै त्यही हुन्थ्यो । बाउ ‘तँ वकिल हुनुपर्छ’ भन्ने, म कलाकार हुन्छु भन्ने । ‘मुखमुखै लाग्छस् ?’ भन्दै बाउले नदन्काएसम्म शान्ति नदारत । पछि माँ पनि घानमा पर्न थालिन् किनभने एकबाजी उनले भनिदिइन्, ‘बच्चाको पनि आफ्नै जीवन छ, उसले के ठीक, के बेठीक छुट्याउँछ ।’ त्यसपछि मैले र माँले समान दनक पाउन थालेका थियौं । मलाई लाग्दैन कारण त्यो सपनाको टकराव थियो । मेरा सपना त जिरहमात्र थिए तर दिनानुदिनको गोदाइबाट म ढिट भइसकेको थिएँ र बा भनेका दुश्मन हुँदा रहेछन् भन्ने निष्कर्षमा पुगिसकेको थिएँ । आज फर्केर हेर्छु, लाग्छ— बाका फुल्न थालेका र मेरा पलाउन थालेका जुँगाको लडाइँबाहेक यो अर्थोक केही थिएन । समस्या दुवै नझुक्ने इगोहरूको थियो । त्योभन्दा पनि माथि उभिएर हेर्ने हो भने मेरो बाउको जीवनमा गुज्रिरहेको प्रतिकूल अवस्थाको कारण त्यो अशान्ति, द्वन्द्व, घृणा, हिंसा छाएको थियो । बाउहरूको ल्हासामा गर्ने परम्परागत व्यापार थियो, हाम्रा केही आफन्त त अझै ल्हासामा छन् भन्छन् । तर, सन् ८० को दशकमा बिस्तारै त्यो व्यापार–व्यवसायमा हाम्रो पारिवारिक ग्रिप छुट्दै गयो, अरू प्रतिस्पर्धी आए, केही मारवाडीसमेत पसे । अब त्यो एकछत्र राज क्रमशः नासिँदै गयो । मुद्दा, मामिला, झमेला बढ्दै गए । त्यौडको चोक नै बेच्नुपर्ने भयो । चुनदेवीको घर–जग्गा लिलामीमा जाने भयो । वकिल आफ्ना भएनन् । शायद बा त्यसैले मभित्र वकिल खोज्थे, मभित्र वकिल थिएन ।”

मैले रोकें, “ठीक छ, त्यो सबै बुझें तर मलाई किन बोलाइनस् भ्यान्कुवरमा देखेर पनि ?”

“पख् न, भन्दै छु नि । मैले सुनाउने र हलुंगो हुन पाउने यो मौका किन छुटाउनु मैले ?” ऊ रोकिएन, “बाउलाई म कमर्स पढेको मन पर्ने कुरो थिएन । वकिल पढाउनु पर्ने उनलाई, घरको तनावबाट उम्किनु पर्ने मलाई, दुवैको स्वार्थ मिलेपछि १९९१ तिरै मलाई ओटावा पठाए, निजी खर्चमा । लेट टिन जीवनको स्वच्छन्दता रसस्वादन गर्ने क्रममा मैले कहिल्यै करिअर सोचिनँ । पब, ड्रग्स, केटी, म्युजिक, सबै उपभोग गरें । मलाई लाग्थ्यो— करिअर बनाउने, पारिवारिक जीवन बिताउने भन्नेहरू मूर्ख हुन् । बाउले दुःख गरेर पठाएको पैसाले उनीसँग बदला लिन जे–जे गर्नुपथ्र्यो भन्ने लाग्थ्यो, ती सबै गरें । त्यहीबीच बाउ मरे, आमा मरिन्, मैयाँ बिहे गरेर लन्डन पुगी । म भने ड्रग्सको केसमा भित्र परें, निस्किएँ र क्यानडाकै न्यानो मानिएको भ्यान्कुवर पुगें । सडकछाप थिएँ, दिनभरि गितार बजाएर मागी हिँड्थें, राति सरकारी शेल्टरमा सुत्न जान्थें । तँलाई त्यही बखत देखेको हुँ । तँ आफैं भन् त, तेरो सफेद करिअरमा म एउटा जंकी कसरी दाग बनिदिन मिल्थ्यो ?”

मेरा आँखा टिलपिल भइसकेका थिए । म अवाक थिएँ । ऊ भन्दै गयो, “भाते, तँलाई लाग्छ होला, मैले गफ लाइरा’छु । म त यही जीवनमा स्वर्ग र नर्क दुवै देखेर, भोगेर आएको मान्छे, तँलाई मैले गफ दिनु र नदिनुको अर्थ छैन । तँलाई लाइन अफ क्रेडिट, क्रेडिट कार्ड, मोर्ट्गेज, कार लोन आदिले किच्छ होला, मलाई पनि अचेल किच्न थालेको छ । हिजो त्यो किचाइ थिएन किनभने म ब्रोक थिएँ ।”

बल्ल मेरो बक फुट्यो, “तँ आज कसरी यो अवस्थामा आइपुगिस् त ?”

उही आफ्नो शैलीमा फेरि एकपल्ट आमाचकारी शब्दबाट वाक्यबाट शुरु गरेर उसले भन्यो, “मैले भनें नि, स्वर्ग–नर्क दुवै देखेको मान्छे हुँ म भनेर । तँलाई विश्वास नलाग्न सक्छ । वास्तवमै सडक विश्वविद्यालय हो, पुस्तकालय हो, प्रयोगशाला हो, स्वर्ग पनि हो, नर्क पनि । बाटोमा मगन्ते जीवन बिताउँदै गर्दा अनेकन किच्कन्ने भेटिए । मलाई लाग्थ्यो— मैले तिनको सर्वस्व लुटें, बदलामा उनीहरूले मलाई लुटेका रहेछन् । नर्कमा किच्कन्ने भएझैं स्वर्ग भनेपछि परीहरू पनि त हुने नै भए । त्यस्तै एक परी आइपरी । नाम उसको सृष्टि । सेन्टर फर साउथ एसियन स्टडिजकी रिसर्चर थिई त्यतिखेर ऊ । मेरो पाखुरामा खोपिएको ‘बुद्धम् शरणम गच्छामी’ले तानिएकी । एकदिन मैले मन्त्रमुग्ध भएर युकोलिली बजाउँदै बिटल्सको ‘यल्लो सबमरिन’ गाइरहेको बेलामा आएकी रहिछ, मैले आँखा खोल्दा मेरो टोपीमा सय डलरको नोट हाल्दै गरेकी सृष्टि र अलिकति खुलेका उसका छातीका फाँचा देखेर म पानी–पानी भइसकेकै थिएँ । उसले कन्नड लवजको अंग्रेजीमा भनी, “आई लाइक बोथ बिटल्स एन्ड बुद्धिज्म ।”

अब मेरो उत्सुकताको नदी पहाड कटेर मधेस पसेको थियो, शान्त तर बिराट, फैलिएको । सोधें, “ओहो ! के भयो भन् त्यसपछि ।”

भन्यो, “के हुनू नि ! मैले अंग्रेजीमै सुनाएँ, ‘तिमी मसँग एक रात बिताऊ, म तिमीलाई मैले जानेका बिटल्स र बुद्धिजमले लतपत पोतिदिन सक्छु ।’ सृष्टि पढेलेखेकी केटी थिई, मेरो सडकछाप कुत्सित आग्रह बुझ्थी । संयमित भएर भनी, ‘म असल परिवारकी छोरी हुँ, पढेकी छु । बिटल्स सुन्न र बुद्धिज्म सिक्न कुनै होमलेससँग रात बिताउन पर्दैन भन्ने भलिभाँती जान्दछु । तिमी चाहन्छौ भने भोलि साइमन फ्रेजर युनिभर्सिटीको मेरो अफिसमा आउन सक्छौ ? मलाई लाग्छ— तिमीसँग केही त्यस्तो तत्व छ, जसले मलाई आकर्षित गरेको छ ।’ आफ्नो बिजनेस कार्ड थमाएर सृष्टि जेब्राक्रसिङ पार गरेर भीडमा अलप भई ।”

ऊ भन्दै गयो, “मा... (स्वभावजन्य आमाचकारी) मलाई त्यो रात शेल्टरमा रात कटाउन हम्मे भयो । के गरौं, कसो गरौं भइरह्यो । भोलिपल्ट बिहानै सरसफाइ, नुहाइधुवाइ गरेलगत्तै जाने भएँ सृष्टिलाई भेट्न । तँलाई थाहा छ, त्यो बिहान मेरो मुखमा कुन गीत झुन्डिएको थियो ?”

मैले उसको बाल्यकालको प्रिय गीत अनुमान गरें र भनें, “दुइटा फुल देउरालीमा ...।”

दिल खोलेर हाँस्यो गुरु र भन्यो, “गुड गेस । सिंगर मिलाइस् तर गीत फरक थियो । उही क्या त ‘एउटा मान्छेको मायाले कति...।’

खुल्दुलीको पारो चढे पनि धैर्य नगुमाई सोधें, “यो त गुरु, उही हाम्रो बेलाको हिन्दी सिनेमाजस्तो भयो । सुना न त्यसपछि के भयो ?”

ऊ भन्दै गयो, “मैले पैतृक, परम्परा र परेर जानेका यावत् बौद्ध ज्ञान घोप्ट्याइदिएँ सृष्टिमाथि । पहिलो भेटका मेरा यौनाकांक्षा मिथ्या रहेछन, प्रेम अंकुरण भएको रहेछ । मैले जानेका बिटल्सका गीत सबै सुनाइदिएँ उसलाई । मलाई लाग्यो— यसले मलाई मान्छे बनाउँछे, मेरो हराएको शाश्वत खुशी फर्काइदिन्छे । हो रहेछ । किनभने, त्यो सडकछाप जीवनबाट उम्किने पहिलो उपाय त नियमित आम्दानी थियो, जुन उसैले दिलाइदिई । उसैले मलाई उसको रिसर्चमा काम लगाइदिई । अब म सडकमा गीत गाएर पेट पाल्नेबाट एक तह माथि उठें । जगत् यस्तो पनि त रहेछ भन्ने बुझें । एकदिन उसैले उसका बाउ–आमा भेटाई । बौद्धमार्गी रहेछन्, मेरा कुरा सुने । मेरा बौद्ध दर्शन रुखा, सडकबाट टिपिएका थिए । मलाई लाग्थ्यो— सृष्टिका जुँगामुठे बाउलाई यो मन पर्दैन । बाउ त सधैं खलनायक देखेको आफ्नो परिवेश, ठीक उल्टो भयो । मलाई आफ्नो बाउको सपनाबाट भाग्नु थियो र मेरो आफ्नै पहिचान बनाउनु थियो । मैले यस्तो पहिचान बनाएको थिएँ, जुन मलाई लाग्थ्यो— संसारका कुनै बाउलाई पनि मन नपरोस् । अचम्म ! त्यस्तो पहिचान सृष्टिको बाउलाई पाच्य, ग्राह्य र स्वीकार्य थियो किनभने सृष्टिमाथि उनको अदम्य विश्वास थियो । मैले मेरो यो पहिचान बनाउन जुन बाटो तय गरें, त्यो गलत थियो, तथापि यही बाटोमा समेत सृष्टि भेटिन्नथिई भने आज यो जुगपछि तैले मलाई भेट्ने थिइनस् । एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा ?! साँच्चै फरक पा¥यो । हामी एक परिवार बन्यौं । सृष्टि युनिभर्सिटी अफ रिजाइनाको प्रोफेसर भई । हामी २०१८ जनवरीदेखि यता स¥यौं ।”

मेरो सम्भवतः अन्तिम खुल्दुली थियो, जुन मैले रोक्दारोक्दै फुत्कियो, “तँ चैं गर्छस् के नि ?”

फेरि उही आमाचकारी बोलीबाट वाक्य शुरु गदै भन्यो, “केही गर्दिनँ । उता भुयुले पौभा, थान्का कलाकारसँग राम्रो संगत बनाएको छ । ऊ र म मिलेर यसो परम्परागत कलाको इम्पोर्ट गर्छौं । थर्तीन्थ एभेन्युको सानो कवल भाडामा लिएको छु, त्यहीँ बेच्छु ।”

मैले नि मौकामा प्याच्च भनें, “साले, दुई नम्बरी काम त हैन नि ?”

मुसुक्क हाँसेर उसले भन्यो, “म सृष्टि र सम्यक छोड्न सक्दिनँ । म तँजस्तै असल नागरिक बनें । यिनीहरूको भाषामा ट्याक्स पेयर गुड सिटिजन हुँ ।”

यति सबै सुन्दा, भन्दा हामीले फिस एन्ड चिप्स, कोल्ड ड्रिंक्स र दुई–दुई कप कफी बुत्याइसकेका थियौं । घाम मलीन भइसकेको थियो । मलाई मेरी छोरी प्रियाले फोन गरेर हकारिसकेकी थिई किनभने ६ बजे उसलाई मैले उसकी साथी अस्लेशाको बर्थडे पार्टीमा लगिदिनु थियो । मैले गुरुलाई भनें, “हेर साथी ! जीवन सिकाइ रहेछ । तैंले कठोर बाटोबाट सिकिस् । म त त्यो बाटोबाट ज्युँदै फर्किन्थें÷फर्किन्नथें । तँ फर्किस् । तँ महान् होस् । अब साथै छौं, यौटै शहरमा छौं, भेटिरहनु जरुरी छ । अब भने छुट्टिनुपर्छ । तेरी सृष्टिलाई मेरो तर्फबाट मेरो गुरुलाई रौरव नर्कबाट फर्काएर ल्याइदिएकोमा सहश्र प्रणाम सुनाइदे । मलाई लाग्छ— बुद्ध कहीँ थिए भने त्यो दिन त्यो समयमा बिटल्स, यल्लो सबमरिन, तेरो टोपी, सय डलरको नोट र तेरी सृष्टिका छातीतिर अल्झेर तेरो सामुन्ने आइपुगेका थिए । सडक साँच्चै ज्ञानसागर हो ।”

उसले ‘ओके, ल अब जा, प्रिया तँलाई कुरिरहेकी छे’ भन्यो ।

फर्किने क्रममा एउटा आभा बोकेर फर्केको महसुस हुँदो छ र नारायण गोपालको त्यो कालजयी गीत गुनगुनाइरहेको छु, जसले भन्छ— ‘कतै टाढा जाँदाखेरि सँगै हिड्यौं जस्तो लाग्छ ।”
 

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १०:५३
प्रतिक्रिया दिनुहोस्