site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीन कथाको सुन्दर ‘तीनकुने’

– बच्चु हिमांशु 


गत असार २७ देखि टेकुस्थित कौशी थियटरमा मञ्चन भइरहेको नाटक ‘तीनकुने’मा एउटा दृश्य छ । ड्रइङ रुममा भेना, दिदी र साली छन् । उनीहरू फलफूल खाइरहेका छन् । साली–भेना खाँदै एक–अर्कासँग जिस्किरहेका छन् । त्यो कुरा दिदीलाई मन परिरहेको छैन । बहिनी आफ्नी दिदीलाई फलफूल खान कर गर्छिन् । दिदी खान मान्दिनन् । उनी गर्भवती छिन् ।

बहिनी कर गर्दै भन्छिन्, “यत्ति त खा न, बाबुको लागि भए पनि ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यहाँ एउटा प्रश्न उब्जिन्छ— किन नियतवश राखिएको हो यो संवादको अंश ? जन्मिन बाँकी रहेको पेटको बच्चा कसरी बाबु (छोरा)नै हो भनेर निक्र्योल गरेर बोलिन् बहिनीले ? यसको उत्तर सहज छ । हाम्रो समाज पितृसत्तात्मक छ । हामीभित्र पुरुषवादी चिन्तन हावी छ । यसकारण पेटको बच्चालाई पनि नजन्मिँदै ‘बाबु’ भनेर सम्बोधन गरिन्छ ।

नाटक ‘तीनकुने’ले हाम्रो पितृसत्तात्मक समाजको पुरुषवादी चिन्तनलाई सादृश्य चित्रण गरेको छ । तीन कथाहरू— ‘चम्पाको नाम (बीएस राई)’, ‘एउटी अवकाशप्राप्त वेश्याको आत्महत्या (रमेश विकल)’ र ‘भिनाजुको स्वेटर (पोषण पाण्डे)’का कथानकहरू समेटेर बनाइएको हो यो नाटक । नाटकको नाम ‘तीनकुने’ राखिनुको खास कारण छ । नाटकमा सम्मिलित तीन कथाका तीन फरक विशेषता छन् । बीएस राईको कथा समाजमा व्याप्त आर्थिक विषमतामा आधारित छ । पीडित र असहाय महिला पात्रमाथि सद्भाव र सहानुभूति राखेर उनले यो कथा लेखेका छन् । रमेश विकलको कथा पुरुषवादी समाजविरुद्ध नारीले गरेको विद्रोहमा आधारित छ । त्यस्तै, पोषण पाण्डेको कथाले गृहिणी नारीको मनोविज्ञानलाई प्रस्तुत गरेको छ । यी कथामा तीन फरक महिलाका फरक अवस्था पाउन सकिन्छ । एक महिला चरम आर्थिक विषमताबाट गुज्रेर समाजमा बाँच्नका लागि संघर्षरत छिन् । अर्की महिला आफ्नो जीवनलाई स्वच्छन्द र स्वतन्त्र सावित गर्न अहोरात्र खटिएकी छन् । एक गर्भवती महिला कुण्ठाग्रस्त छिन् किनभने उनका श्रीमान् अचेल उनलाई पहिलाजस्तो समय दिँदैनन् । यी तीन कथाको परिकेन्द्र यो हो कि— तीनै कथामा समाजको पुरुषवादी चिन्तन हावी छ ।

नाटक निर्देशक सुलक्षण भारतीले तीन कथाको संयोजनबाट बनेको नाटकमा यसअघि काम (अभिनय) गरिसकेका छन् । ०७२ मंसिरमा मण्डला थियटरमा मञ्चित आशान्त शर्माद्वारा निर्देशित नाटक ‘कथा एक्सप्रेस’मा उनले ‘सुकमेल’ कथाको एक पात्रका रूपमा अभिनय गरेका थिए । त्यो नाटकमा नयनराज पाण्डेका तीन कथालाई फरक–फरक ढंगले प्रस्तुत गरिएको थियो । तर, यसपटक सुलक्षणले आफ्नै लेखन र निर्देशनमा केही फरकपन ल्याउन चाहेका छन् । उनले तीन कथालाई एउटै बनाएका छन् र कथाका लागि एउटै मञ्चको परिकल्पना गरेका छन् । यसले गर्दा नाटक छरितो देखिएको छ ।

यी दिनहरूमा मञ्चन हुने गरेका नाटकहरू दर्शकलाई बेलाबेला हँसाउनैपर्ने एक किसिमको पूर्वाग्रहबाट ग्रसित देखिन्छन् । यसो गर्दा नाटकमा अनावश्यक संवाद घुसाइएका उदाहरण प्रशस्त भेटिन्छन् । तर, नाटकमा प्रयुक्त कथाहरू स्वयंमा उत्कृष्ट भएकाले वा निर्देशकीय शिल्पको कमाल पनि हुन सक्छ— ‘तीनकुने’मा यस्तो भद्दा लाग्ने संवाद छैन भने पनि हुन्छ । नाटकमा पात्रहरूका गम्भीर दृष्टिकोणलाई संवादमा मिहिन ढंगले प्रस्तुत गरिएको छ । नाटकका संवादहरू गहन र दार्शनिक छन् । फरक अनुभव सँगालेका पात्रहरूको फरक दृष्टिकोणबाट उत्पन्न हुने द्वन्द्व र निचोडयुक्त संवादहरूले नाटकलाई वैचारिक रूपमा गुणात्मक बनाएको छ ।

नाटकमा प्रस्तुत द्वन्द्वविधानलाई नियाल्दा नाटकभित्रका महिला पात्रहरू पुरुषवादी चिन्तनले ग्रस्त समाजसँग पलपल लड्नु परेको अवस्था देखिन्छ । पितृसत्तात्मक समाजमा आफ्नो अस्तित्वका लागि लडिरहेका महिलाहरूको अवस्था नाटकको बाह्य द्वन्द्व हो । त्यही समय, नाटकमा पात्रहरूको आफैंसँगको लडाइँ पनि देखाइएको छ । गर्भवती पत्नी आफ्ना पतिलाई शंका गरिरहन्छिन् । अर्कातिर यौन व्यवसाय सञ्चालन गरेर बसेकी महिला आफ्नो कामलाई बिल्कुल सही ठान्छिन् । यसरी आफ्नै मस्तिष्कसँग अन्तर्संघर्ष गरिरहेका पात्रहरूको आन्तरिक द्वन्द्व पनि नाटकमा सफलतापूर्वक चित्रण गरिएको छ ।

नाटकमा मुख्य अभिनय सुलक्षण भारतीकै छ । उनी आफैंमा नेपाली रंगमञ्चका सीमित राम्रा कलाकारहरूमा पर्छन् । नाटकभित्र उनको मार्गनिर्देशन र व्यक्तित्वको प्रभाव अन्य कलाकारहरूको अभिनयबाट प्रस्टै झल्किन्छ । कलाकारहरूको अभिनयमा परिपक्वता हुनु यो नाटकको सबैभन्दा सबल पक्ष हो भन्दा अत्युक्ति नहोला । कथाका पात्रहरूको भावनालाई समाएर मञ्चमा दुरुस्तै अभिव्यक्त हुन सक्नु कलाकारहरूको परिपक्वताको प्रमाण हो । अभिनयभन्दा माथि उठेर पात्रहरूको मनोविज्ञानलाई दर्शकले प्रस्ट बुझ्ने गरी शारीरिक हाउभाउमा उतार्न सक्नु कलाकारहरूको अतिरिक्त प्रयास मान्न सकिन्छ ।

अचेल थियटरमा मञ्चन हुने प्रायः नाटकमा ‘लाइभ’ संगीत प्रयोग गर्न थालिएको छ । तर, यसको प्रयोग कत्तिको कलात्मक र प्रभावकारी सावित हुन्छ भन्ने कुराले धेरै अर्थ राख्छ । नाटक ‘तीनकुने’मा पात्रहरूको मनोदशा झल्काउन अप्रत्यक्ष रूपमा प्रयोग भएका गीतहरूले नाटकलाई थप सिर्जनात्मक बनाउन मद्दत गरेका छन् ।

रमेश विकल र पोषण पाण्डेका कथाहरू दशकौंअघि लेखिएका हुन् । त्यो समयका महिलामाथि लेखिएका कथाहरू अहिलेको समाजमा पनि उत्तिकै सान्दर्भिक देखिनुले यो अर्थ लाग्छ कि हाम्रो समाजको चरित्र वर्षौंदेखि उस्तै छ । समाजमा महिलाहरूको हैसियत अझै पनि उही छ, जुन हिजो थियो । माहिलामाथिको पुरुष दृष्टिकोण पहिलेजस्तै छ । अहिले पनि लैंगिक समानता र महिलाको अधिकारका मुद्दाहरू यथावत छन् । मुख्य कुरा त समाज नै पुरुष मनोविज्ञानबाट निर्देशित छ । महिलाका समस्याहरू एकपछि अर्को पुस्तामा पनि उस्तैगरी दोहोरिनु यो समाजका लागि राम्रो पक्कै होइन । यो कोणबाट हेर्दा नाटकको सान्दर्भिकतामा प्रश्न खडा गर्ने कुनै ठाउँ छैन । तर, के यो समाज सधैं यसरी नै चलिरहने हो त ? यसर्थ, नाटकले सामाजिक रुपान्तरणको अभियानमा रंगमञ्चमार्फत खेल्न खोजेको कलात्मक भूमिका सराहनीय छ ।

तीन फरक कथालाई जोडेर एउटै कथाको रूपमा प्रस्तुत गर्ने सवालमा लेखक सुलक्षणको प्रयास सफल भएको छ । तर, उनले एउटा कथाको उपसंहारी भने फरक देखाएका छन् । बीएसको कथामा चम्पा अन्त्यमा धर्म र नाम परिवर्तन गरेर ‘हन्ना’ बन्छिन् । यता सुलक्षणले चम्पालाई नितान्त एक्लो र बेसहारा भएको देखाएर नाटक टुंग्याउँछन् । चम्पाको त्यसपछिको विकल्प के त ? यो प्रश्न सबैका लागि छोडेर उनले नाटकलाई विश्राम दिन्छन् । जीवनभर उतारचढाव भोगेकी चम्पाको जीवनमा अब पनि उस्तै सिलसिला चलिरहन्छ भन्न खोजिएको हो कि ?

नाटक ‘तीनकुने’को सन्देश भने स्पष्ट छ । हामीले पुरुषवादी चिन्तन राखेर महिलामाथिको धारणा बनाउन अब बन्द गर्नुपर्छ । लैंगिक समानताको बहसलाई हामीले खुला हृदयले आत्मसात गर्न सक्नुपर्छ । समाजमा महिलाहरू दुव्र्यवहार र हिंसाबाट बढी पीडित छन् । यस्तो हुन नदिन सभ्य र सुरक्षित समाज निर्माणमा हामी सबैको पहल हुनुपर्छ । पारिवारिक उत्तरदायित्वबोध हरेक पुरुषमा हुनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा— महिला सशक्तीकरण आजको समाजको मुख्य ध्येय हुनुपर्छ ताकि फेरि अर्को पुस्तामा महिलाका समस्याहरू पुस्तान्तरित हुँदै जाने स्थिति नआओस् ।

‘पुरानो घर’द्वारा प्रस्तुत नाटक ‘तीनकुने’ साउन १२ गतेसम्म साँझ ५ः३० बजे टेकुस्थित कौशी थियटरमा मञ्चन हुनेछ ।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १०:४५
प्रतिक्रिया दिनुहोस्