site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आगो

— राजु अधिकारी


“गुहार, गुहार, घरमा आगो लाग्यो !”

गाउँ नै थर्किने गरी चिच्याएको आवाज सुनेपछि सबैका कान ठाडा भए । डाँडापारि पुनको घरमा आगो लागेको रहेछ, एकैछिनमा जताततै खैलाबैला मच्चियो । चैते अष्टमीको दिन थियो, बिहानको लगभग साढे ८ मात्र बजेको भए पनि प्रचण्ड गर्मी भइसकेको थियो । कसैले खाना खाँदै थिए भने कसैले भर्खर खाइसकेका थिए । आगो लागेको खबर सुनेपछि कसैले आफ्नो बाल्टिनमा, कसैले घैंटोमा पानी बोकेर पुनको घरतिर दौडिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गर्मीको महिना शुरु भएपछि गाउँमा आगो लाग्नु सामान्य नै हुन्थ्यो । पुनको घरमा लागेको आगो त शुरुवातमात्रै थियो, अझै कति घर जल्न बाँकी थिए ।

पुनको घरसँग आँठो जोडिएको रज्गैयाँको परिवारचाहिँ आगो निभाउनु भन्दा पनि आफ्नो घरका सामान निकालेर अलि पर बारीमा सुरक्षित राख्न तल्लिन थियो ।

पुन बूढोले घरसँगै जोडिएको गोठको शीतल छायाँमा बसेर हुक्का तान्दै थिए । त्यत्तिकैमा उछिट्टिएको झिल्काले सुख्खा गहुँको छ्वालीलाई समात्दा आगो लागेको थियो । तर, आगो लागेको थाहा पाउनेबित्तिकै उनीहरूले धेरैजसो सामान बाहिर निकाल्न भ्याए । बाकस, लत्ताकपडा, ओछ्यान सबै निकाले । गोठमा भएका बाख्रा र सुँगुरहरूलाई पनि छोडिदिए तर अन्न जोगाउन सकेनन् । हुन त त्यो गरिब पुनसँग के नै अन्न हुँदो हो र ! तैपनि भर्खर भित्र्याएको दुई–चार मुरी गहुँ पनि जलेर नष्ट भयो ।

४ सय मिटर पर रहेको भमई सोताको रहबाट सबैले पानी बोक्दै खन्याएर आधा घण्टामै आगो निभाए । रज्गैयाँको परिवारले सामान सबै बाहिर सारिसक्दा आगो पनि निभिसक्यो । त्यहाँ भेला भएका अन्य गाउँलेहरू पुन बूढोलाई सम्झाउनतर्फ लागे भने रज्गैयाँको परिवार फेरि बारीमा सारेको सामान घरभित्र राख्नमा व्यस्त भयो ।

पुनको घरका कसैले पनि बिहानको खाना खाएका थिएनन् । जेठो छोरो माथि जस्पुरेको घरमा सुँगुरको मासु लिन गएको थियो । आगो लागेपछि मासु नल्याई दौडेर आयो । चैते दशैंको दिन मासु खाने त परै जाओस्, सादा अन्न पनि नखाई भोकै बस्नुपर्ने भयो । त्यो थाहा पाएर पुन परिवारलाई हवल्दार बाजेले आफ्नो घरमा लगेर खाना खुवाए ।

हवल्दार बाजे गाउँमा जानेमानेका, सबैले इज्जत गर्ने मान्छेमात्रै थिएनन्, ३ नम्बर वडाका अध्यक्ष पनि थिए । वडाअध्यक्ष भएको नाताले पनि आगो लागेको परिवारलाई कमसे कम एक छाक खुवाउनु उनको नैतिक दायित्व पनि बन्थ्यो ।

गएको असारमा आफ्नी एउटीमात्रै छोरीको बिहे गरेर पठाएका हवल्दार बाजेले छोरी–ज्वाइँको राम्रोसँग खातिरदारी गर्न पाएका थिएनन् । छोराछोरीमा सबैभन्दा जेठी अनि एकमात्र छोरी भएकीले होला— बाजेले छोराहरूलाई भन्दा छोरीलाई धेरै माया गर्थे । असोजको दशैंमा छोरीको घरमा जुठो परेर छोरी–ज्वाइँ त्यतिबेला दशैं मान्न आएनन् त्यसैले चैते दशैंमा उनीहरूलाई घरमा बोलाएर राम्रोसँग स्वागत गर्ने भनेर उनले १० धार्नीको तिनपाने खसी ढालेका थिए ।

बाजेका छोरी–ज्वाइँ दुवै जागिरे भएकाले अघिपछि त्यति आउन पाउँदैनथे । चैते दशैं, राम नवमी अनि त्यसपछि शनिबार परेको हुँदा उनीहरू तीन दिनको छुट्टी मनाउने भनेर घोराहीबाट गएका थिए ।

पुनको परिवारलाई घरमा बोलाई बैठकमा लहरै बसालेर बाजेले पेटभरि खसीको मासुभात खुवाए । दश धार्नीको खसीको मासु जति खाए पनि नपुग्ला भन्ने चिन्ता थिएन, त्यसमाथि अरूलाई घरमा बोलाएर खुवाउन बाजेलाई निकै आनन्द आउँथ्यो । बाहुनको घरमा पाकेको चिल्लो, मसालेदार मासु अनि त्यसमाथि बज्यैको मीठो हातले पकाएको । सधैं सुँगुरको मासुमात्र खाएको पुन परिवारलाई घरमा आगो लागे पनि खाना खाँदाचाहिँ साँच्चै दशैं नै आएजस्तो भयो ।

पाँच जनाको पुन परिवारले पाँच माना पाक्ने कसौंडीको भात पूरै सिध्यायो । फर्किने बेलामा साँझको लागि भनेर हवल्दार बाजेले चामल, दाल र केही पुराना कपडा दिएर पठाए । आँखामा आँसु टिलपिल पार्दै केही भन्न नसके पनि हवल्दार बाजे र उनका परिवारलाई मनैदेखि आशिष दिँदै पुनको परिवार आफ्नो घर फर्कियो ।

दिउँसो सबै गाउँले मिलेर खर र बाँस जम्मा गर्दै जलेको घरमा छानो हाल्न थाले । गर्मीको समय भएकाले सुत्नको लागि कुनै चिन्ता थिएन । बाहिर खटिया हालेर उनीहरूले त्यो रात बाहिर आँगनमै गुजारे ।

अर्को दिन पुनको परिवारलाई कसैले एक पाथी गहुँ, कसैले दुई माना चामल, कसैले दुई सेर तेल दिए । त्यो सबै जोड्दा शायद उसको घरमा आगो लाग्नुभन्दा पहिले भएको अन्नपानीभन्दा पनि धेरै भयो होला । त्यसैले घर जलेको पनि उसलाई खासै फरक परेन । रामनवमीको दिन सबै गाउँले मिलेर पुनको घर पहिलेजस्तै बनाए । धूवाँले भित्तामा बनाएका राँटाबाहेक अरू सबै पहिलेजस्तै भयो ।

पुनको घरभन्दा उत्तरतिर लगभग सय हात जतिको दूरीमा आशाराम नेपालीको घर थियो । उसको काम भनेको वरपरका गाउँका जुत्ता–चप्पल मर्मत गर्नु र छालाका अरू केही सामान बनाउनु थियो । ऐलानी डाँडामा घर बनाएर उसको परिवार बसेको थियो । गाउँका कुनै कुरामा पनि उसलाई अधिकार थिएन । साँझ सबैले भरेर सकेपछि मात्र उसकी श्रीमतीलाई भमई खोलाको जरुवामा पानी भर्न अनुमति थियो । अरू त के कुरो, पुनको घरमा आगो लाग्दासमेत उसले एक बाल्टिन पानीसम्म हाल्न पाएन । तर, एउटा कुरोमा चाहिँ उसको एकाधिकार थियो— गाउँमा मर्ने सबै गाईवस्तुको सिनो । उसको अनुमतिबिना गिद्धहरूले पनि सिनोमा जुठो हाल्ने हिम्मत गर्दैनथे । आशारामको परिवारले मरेका अलि स्वस्थ गाईवस्तुको मासु खान्थ्यो अनि तिनका छाला काढेर छालाका जुत्ता र पेटी बनाउँथ्यो ।

चरम गरिबी थियो । निहुरेर पस्नुपर्ने ढोका भएको सानो छुपडीमा खरको छानासमेत हाल्न नसकेर वनबाट स्याउला ल्याएर छानो हालेको थियो । घर भने पनि गोठ भने पनि त्यही थियो । एउटा कोठामा खाना पकाउने चुल्हो थियो, अर्को कुनामा सुत्ने खाट अनि तेस्रो कुनोमा सुँगुरको खोर । कहिलेकाहीँ मागेर पनि खानु पथ्र्यो । सधैं मकैको ढिँडोले चित्त बुझाउनु पथ्र्यो । सेतो चामलको भात खान दशैं कुर्नु पथ्र्यो । दशैंमा राँगाको मासु ल्याए पनि किन्नुपर्ने हुनाले पेटभरि खान पाइँदैनथ्यो । सुँगुरको मासु पनि भाग्यमा थिएन । घरमा पालेको सुँगुर खानलाई थिएन, बेच्नलाई थियो । धेरै पालौं भन्दा पनि पाल्ने ठाउँ थिएन, चराउने ठाउँ थिएन । जमिन्दारहरूले आफ्नो खेतबारीमा घाँस काट्न दिँदैनथे । सुँगुरलाई बाहिर छोडिदियो भने अर्काको बारीमा गएर बिराम गथ्र्यो अनि कहिले भालाले हानेर, कहिले मुसा मार्ने विष हालेर मारिदिन्थे । खसी त अरूको घरमा पालेको जिउँदो देख्नेमात्रै हो, आफूले पाल्न सक्ने कुरै नसोचे हुन्थ्यो । पुन बूढोले कहिले आफ्नो घरमा सुँगुर काट्यो भने पकाएको एक बोता आशारामको छोरोलाई भनेर दिन्थ्यो ।

आशारामले गर्न नचाहेको चाहिँ होइन तर उपाय थिएन । न त कुनै काम मिल्थ्यो न मेहनत गर्न खेतबारी नै थियो । धेरै गाईबस्तु, कुखुरा, सुँगुर पालेर जीवन उकास्न उसले सबै कोसिस गरेको हो तर गाउँलेहरूले हुनै दिँदैनथे । गाउँमा कतै डकर्मीको काम मिलिहाले पनि अछुतले बनाएको घरमा बस्न हुन्न भनेर उसलाई कसैले पनि काम दिँदैनथे ।

पुनको कान्छो छोरो टीके र आशारामको छोरो धने निकै मिल्ने साथी थिए । एक–एक वर्षको अन्तरमा एउटी निमोनियाले र अर्की हैजाले छोरीहरू गुमाएपछि धनेमात्रै बाँकी थियो आशारामको सन्तान । ६ वर्ष जति पुगेका भए पनि उनीहरू दुवै स्कुल जाँदैनथे । दिनभरि जसो सँगै खेल्थे, जातभात उनीहरूलाई अझै थाहा थिएन । त्यसैले उनीहरूको मित्रता बलियो थियो ।

पहिलो दिन टीकेले हवल्दार बाजेको घरमा खाएको खसीको मासुको कुरा धनेलाई सुनाएको थियो । हवल्दार बाजेको घरमा पेट फुट्ने गरी मासुभात खाएर मख्ख परेको टीके घर नगई सरासर धनेसँग खेल्न उसको घर गयो । उनीहरू गुच्चा खेल्न थाले । गुच्चा खेल्दा पटक–पटक टीकेले आफ्नो हात सुँघेको देखेर धनेले सोध्यो, “टीके, तैले किन घरिघरि हात सुँघेको हँ ?”

“खसीको मासु र भात खा’हम् आज, त्यै सुँघ्या हो,” टीकेले फुर्तीका साथ भन्यो ।

“काँ खायौ ?” आश्चर्य र इश्र्याको भावमा धनेले कुरो खोतल्यो ।

“हल्दार बाजेको घरमा ।”

“कस्तो हुन्छ हँ खसीको मासु ?” धनेले आफ्नो खुल्दुली मेटाउन सोध्यो ।

“भस्मे मीठो हुन्छ नि । तैले कहिले खा’छस् ?” टीकेले सोध्यो ।

“अहँ । मलाइ पनि सुँघ्न दे न,” धने अघि स¥यो ।

“एउटो चिड्डी गोली (गुच्चा) दिन्छस् भने दिन्छु,” टीकेले मौकामा चौका हान्दै शर्त राख्यो ।

धनेले आफ्नो खल्तीबाट गुच्चाहरू निकालेर हे¥यो । तीनवटा साना गुच्चा पनि थिए । मासुको स्वाद सुँघ्न पाइन्छ भने एउटा गुच्चा टीकेलाई दिए पनि घाटा नहुने देख्यो । तीनमध्ये सबैभन्दा नराम्रो छानेर टीकेलाई दियो ।

टीकेले गुच्चा लिएर आफ्नो दाहिने हात धनेतिर पसा¥यो । धनेले पनि आफूले किनेको त्यो स्वाद मनभरि सुँघ्यो । त्यहीबेला टीकेले डम्म डका¥यो । त्यो डकारमा पनि खसीको स्वाद थियो । धनेले सित्तैमा पाएको त्यो डकारको बासना झन् किन छोड्थ्यो ! उसको मुख रसायो । स्वादको त्यो व्यापारपछि उनीहरू पुनः गुच्चा खेल्न लागे तर धनेको मनमा चाहिँ खसीको स्वाद नै खेलिरहेको थियो । तर, मनमा जति खेले पनि धनेको भाग्यमा खसीको मासु थिएन । धनेको लागि हैन, खसीको मासु त धनीले मात्र खाने कुरो भइसकेको थियो महँगी बढेर । कुनै समय धार्नीभन्दा कम मासु नआँक्ने गोतामे बाजे पनि बिसौलीमा झरिसकेका थिए ।

रामनवमीको दिन पुनको घर बनाउने सबै काम सकाएर गाउँ फेरि शान्त भएको थियो । अर्को दिन शनिबार बिहान खाना खाने समयमा आशारामको घरमा आगो लागेको खबर आयो । फेरि गाउँले सबै आफ्ना बाल्टिन, घैंटो बोकेर त्यतातिर दौडिए । आगो दनदन दन्किरहेको थियो ।

आशाराम निकै चिन्तित भएर यताउता गर्दै आगोमा पानी खन्याउँदै थियो । गाउँलेहरूको सहयोगमा आगो बिस्तारै कम हुँदै गयो । आशाराम बम्किँदै थियो, “कसले यो आगो लगायो ? मैले त्यसको छाला काढ्न सकेनछु भने मेरो नाम पनि आशाराम हैन ।”

उता धने भने निकै चिन्तित थियो । त्यहाँ जम्मा भएका सबैका मुखमा हेथ्र्यो तर उसलाई हेर्न भने कसैलाई फुर्सद थिएन । आँखाभरि आँसु पारेर आमाको धोती समातेर उसले बाउलाई हे¥यो । बाउ अझै बम्किँदै थियो । अनि डाँको छोडेर रुन थाल्यो । धने रोएको देखेर आमाले उसको टाउको मुसार्दै फकाउँदै थिई । तर, ऊ झनपछि झन् ठूलो डाँको छोडेर रुँदै थियो ।

आशारामले छोरोलाई हेर्दै भन्यो, “किन रुन्छ यो ? के भो फेरि यसलाई ? नरो, हाम्रो घरमा आगो लगाउनेलाई मैले छाला नकाढी छोड्नेछैन ।”

त्यसपछि झन् ठूलो डाँको छोड्दै उसले आमालाई भन्यो, “मैले हो ।”

अब बाउले मरेका गाईबस्तुको छाला काढेजस्तै आफ्नो पनि छाला काढ्ने भए भनेर उसलाई डर लागेको थियो । त्यसैले ऊ रोएको थियो ।

“के रे ? तैले आगो लगाइस् ?” आशाराम धनेतर्फ हेर्दै रन्कियो ।

“अँ,” एकटकले बाउलाई डरमिश्रित आँखाले रुन्चे बोलीमा धनेले स्वीका¥यो ।

“तँलाई त अब म नमारी छोड्दैन,” आशाराम छोरोलाई पकड्न झम्टिँदै थियो, आमाले रोकी अनि धनेलाई सोधी, “मर्न नसकेको ! किन लगाइस् आफ्नै घरमा आगो ?”

“खसीको मासु खान पाइन्छ भनेर,” रुन्चे स्वरमा धनेले उत्तर दियो ।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  ०८:४५
प्रतिक्रिया दिनुहोस्