site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘अल इन्डिया रेडियो’मा ४२ वर्ष

— नरेश फुयाँल


राजविराज (सप्तरी)मा मानविकी कलेजमात्रै थियो, विज्ञानको थिएन । वीरगन्जमा ठाकुरराम कलेजको नाम सुनेका प्रकाशप्रसाद उपाध्यायलाई त्यहाँ विज्ञान पढाइ हुन्थ्यो कि हुँदैनथ्यो— थाहा थिएन । विराटनगरमा विज्ञान पढाइ हुने कलेज थियो । तर, कोशी ब्यारेजको पुल बनिसकेको थिएन । भारतको बाटो हुँदै जानुपर्ने बाध्यता थियो । आफ्नै देश जाँदा पनि पराई देश गएजस्तो लाग्ने । त्यसमा पनि विराटनगरलाई नेपालको कालापानी भनिन्थ्यो । अर्थात् औंलोको अत्यधिक जोखिम क्षेत्र थियो । विज्ञान पढ्न असम्भवजस्तै भयो । तर, परिवारको चाहना प्रकाशलाई इन्जिनियर नै बनाउने थियो ।

काका हरिप्रसाद शर्मा ‘अल इन्डिया रेडियो’मा नेपाली समाचार वाचक थिए । उनले दिल्लीबाट घरमा चिठी पठाइरहन्थे । हजुरआमाका तर्फबाट हरिप्रसादलाई चिठी लेखिदिने प्रकाश नै थिए । हजुरआमाको चिठी सकियो । अन्तिममा प्रकाशले काकालाई सम्बोधन गर्दै लेखे, “मैले पनि एसएलसी (२०१४)को जाँच दिएँ । रिजल्टको पर्खाइमा छु । रिजल्ट आएपछि कहाँ पढ्न जाने हो, ठेगान छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काकाले प्रकाशका बुवालाई चिठी लेखे, “प्रकाशले एसएलसीको जाँच दिएछ । खुशी लाग्यो । पास भयो भने दिल्ली पठाइदिनुहोला । ऊ मसँग बसेर यहीँ पढ्छ ।”

हुन त काकाले बोलाउलान् र दिल्ली जान पाइएला भनेर प्रकाशले काकालाई चिठी लेखेका थिएनन् । भएको कुरामात्रै जानकारी गराएका थिए । तर, जब काकाले बुवालाई चिठी पठाए, प्रकाशका लागि दिल्लीको ढोका खुल्यो ।

उनका ठूला बुवाले भने, “यसलाई दिल्ली पठाइयो भने साइन्स पढ्न पाउँछ । हाम्रो परिवारमा इन्जिनियर कोही छैन । साइन्स पढ्यो भने यो इन्जिनियर हुन्छ ।”

प्रकाश लागे दिल्लीतिर । उनले राजविराजमा हिन्दी भाषामा पढेका, दिल्ली पुगेर अंग्रेजीमा पढ्नुपर्ने भयो । त्यो पनि भौतिकशास्त्र, रसायनशास्त र गणित । प्रयोगशालाभित्र विभिन्न ग्यासमा बसेर गरिने प्रयोग । उकुसमुकस भयो उनलाई ।

“मलाई लाग्यो— यो उकुसमुकुसमा बसेर साइन्समा सफल हुन सक्दिनँ । म इन्जिनियर बन्न सक्दिनँ । तेस्रो श्रेणीमा पास भए पनि इन्जिनियर भइँदैन । त्यसैले आर्ट्स नै पढ्ने निर्णय लिएँ,” प्रकाश सम्झिन्छन्, “तीन महिनामात्रै पढें साइन्स ।”

० ० ०

स्नातक प्रथम वर्षमा अध्यनन गर्दै थिए प्रकाश । ‘अल इन्डिया रेडियो’लाई समाचारमा काम गर्ने व्यक्ति चाहिएछ । प्रकाशलाई पैसा आउने काम चाहिएको थियो । ०१८ मा मासिक करारमा नियुक्त भए उनी । तत्काललाई पकेट खर्चको लोभ थियो । त्योभन्दा पनि ठूलो लोभ त यहाँ काम गरे अनुभव हुन्छ, पढिसकेर नेपाल फर्किएपछि रेडियो नेपालमा काम गर्न सजिलो हुन्छ भन्ने थियो ।

जाडोको मौसम थियो । ४ बजे आउनुपर्छ भनिएको थियो । प्रकाश ठीक ४ बजे नै पुगे । समाचार कक्षमा दुइटा टेलीप्रिन्टर थिए । एउटा ‘प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)’ र अर्को ‘रोयटर्स’को । टेलीप्रिन्टरमार्फत समाचार आइरहन्थ्यो । त्यसमध्ये आफूलाई चाहिने सम्पादकले छनोट गरे । प्रकाशले अनुवाद गरे । समाचार कक्षमा उनलाई डर लागेको थिएन । तर, जब उनी स्टुडियो छिरे, डर लाग्न थाल्यो । सास फुल्यो । बोली नै रोकिएला जस्तो भयो । समाचार छिटो पढेछन् । १० मिनेटका लागि भनेर लगेको समाचार ७ मिनेट नपुग्दै सकिएला जस्तो भएछ । अग्रज उनको पछाडि थिए । उनले फेडर डाउन गरेर भने, “गो स्लो । फास्ट भयो । १० मिनेटसम्म के पढ्छौ ?” उनले बेला–बेलामा फेडर डाउन गर्दै भन्दै गए, “अलि बिस्तारो है, अब पाँच मिनेट बाँकी छ । ... अब तीन मिनेट बाँकी छ ।”

‘अल इन्डिया रेडियो’मा विभिन्न विभाग छन्— विविध भारती, आकाशवाणी र विदेश विभाग । विदेश विभागबाट विभिन्न भाषामा प्रसारण हुन्छ । अंग्रेजी, चिनियाँ, रुसी, थाईलगायत भाषामा कार्यक्रम प्रसारण हुन्थे । त्यही सिलसिलामा नेपाली कार्यक्रम पनि शुरु भयो । नयाँ पद सिर्जना भयो । प्रकाशले त्यसमै काम गर्न थाले ।

प्रकाश अनुवादको काम गर्थे । अंग्रेजीबाट अनुवाद गर्नुपथ्र्यो । गोरखा सैनिकहरूका लागि समाचार दिइन्थ्यो । गोरखाली समाचारमा चार महिना काम गरेपछि ‘अल इन्डिया रेडियो’कै ‘एक्सटर्नल सर्भिस’मा जनशक्तिको माग भयो । त्यतैतर्फ गए प्रकाश ।

“६ महिनाको मासिक करार पाएको मैले त्यसपछि तीन वर्षको करार लिएँ,” प्रकाश भन्छन्, “तीन वर्षपछि पाँच वर्षको करार सेवा दिन थाले । मैले करार सेवामै जिन्दगी बिताएँ ।”

उनीसँगै काम गर्ने केही नेपालीले ‘नेसनालिटी’ लेखिएको फर्ममा ‘भारतीय’ लेखे र स्थायी भए । तर, प्रकाशले त्यसो गरेनन्, बरु करारमै काम गरे । ४२ वर्ष काम गर्दा उनले आफूलाई नेपाली नागरिक भनेरै चिनाए ।

० ० ०

त्यो बेला सञ्चारको प्रभावकारी माध्यम नै रेडियो थियो । त्यसमा पनि एउटैमात्रै रेडियो । रेडियो हुनेहरू प्रायः अधिकांशले सुन्थे । आसाम, दार्जिलिङ, सिक्किमका नेपालीहरू भेटमा प्रकाशलाई भन्थे, “प्रकाशप्रसाद तपाईं नै हो ? कस्तो राम्रो छ तपाईंको स्वर । मान्छे दुब्लो–पातलो तर स्वरचाहिँ कस्तो गहकिलो !” प्रतिक्रियाले थप उत्साही बनाउँथ्यो उनलाई ।

‘देशान्तर सर्भिस’मा हप्ताकै तीन–चार हजार चिठी आउँथे । चिठीहरू गीतका लागि फर्माइस गरेका धेरै हुन्थे । तर, व्यक्तिगत टिप्पणी र प्रशंसा गरिएका पनि हुन्थे, “प्रकाशप्रसादजीले फलानोसँग लिएको अन्तर्वार्तामा उहाँले अतिथिलाई बोल्न नदिएर आफैं धेरै बोल्नुभयो ।”

नेपालबाट दिल्ली पुगेका डा. तुलसी गिरीका आफन्त डा. जयनारायण गिरीसँग एउटा कार्यक्रममा उनको भेट भयो । गिरीले सोधे, “प्रकाशप्रसादजी तपाईं नै हो ? किन हो तपाईं आजकाल न्युज पढ्नुहुन्न ?”

सञ्चार मन्त्रालयको रणनीतिअनुसार नै ‘अल इन्डिया रेडियो’को आन्तरिक विभाग मिलाउँदा केही वर्ष प्रकाश रहेको विभागमा कार्यरत समाचार वाचकले समाचार पढ्नै पाएका थिएनन् ।

० ० ०

इन्डियन भीभीआईपीको अन्तर्वार्ता प्रकाशले ४२ वर्ष काम गर्दा पनि लिन पाएनन् । कारण— हिन्दी देशान्तरले लिएर अन्तर्वार्ता नै नेपाली देशान्तरले प्रयोग गर्नुपथ्र्यो । तर, नेपाली भीभीआईपी र भीआईपीको समाचार संकलनको जिम्मेवारी भने प्रकाशलाई नै दिइन्थ्यो ।

राजा महेन्द्रको भारत सवारी थियो । नेपाल–भारत सम्बन्ध राम्रो थिएन । प्रजातन्त्र बन्धक थियो । पञ्चायतकाल लादिएको थियो । बीपी कोइरालालगायत नेताहरू जेलमा थिए । पञ्चायतकालमा राजा भेट्न त्यति सहज थिएन ।

लगातार तीन दिन महेन्द्र जता जान्थे, उनी त्यतै–त्यतै जान्थे । तर, सुरक्षा संयन्त्रले उनलाई छेउ पर्न दिएका थिएनन् । पुसा इन्स्टिच्युटमा महेन्द्रको भ्रमण थियो । एकदिन अगाडि नै पुसा इन्स्टिच्युट पुगर प्रकाशले समाचारका लागि आवश्यक सम्पूर्ण सूचना लिइसकेका थिए । महेन्द्र पुसा इन्स्टिच्युट पुगे । अवलोकन गरे । केही कुरा गर्नुपर्‍यो भनेर प्रकाश महेन्द्रनजिक जान खोज्थे तर महेन्द्रका एडीसी शेरबहादुर मल्ल ‘नट अलाउड’ भनेर छेकिहाल्थे ।

राजा महेन्द्र भ्रमण सकेर बाहिर निस्किए । राजा र एडीसीको गाडी फरक–फरक हुन्थ्यो । हिन्दी न्युज रिलका साथीले उनलाई भने, “प्रकाश, यही हो मौका, दौड ।”

उनी राजाको गाडीतिर दौडिए । राजाले गाडीको ढोका खोले । प्रकाशले भने, “सरकार ! म अल इन्डिया रेडियोबाट आएको । सेवकलाई दुई शब्द नेपालीमा बक्सियोस् ।”

महेन्द्रले मीठो मुस्कान दिए । दुई–चार वाक्यमात्रै के बोलेका थिए, हिन्दी न्युज रिलका ती साथी पनि आइपुगे । उनले अंग्रेजीमा पनि बोलिदिन आग्रह गरे । त्यसपछि नेपाली छोडेर महेन्द्रले दनादन अंग्रेजीमा बोले ।

राजा वीरेन्द्र पनि भारत गए । रिपोर्टिङ गर्ने जिम्मवारी प्रकाशकै । समाचार संकलनका लागि विमानस्थलमै पुगे प्रकाश । वीरेन्द्र र ऐश्वर्यलाई स्वागत गर्न विदेशमन्त्री अटलविहारी बाजपेयी गएका थिए । एकातिर राजा–रानी थिए, अर्कातिर अटलबिहारी थिए । अर्को छेउमा थिए प्रकाश । राजारानी र विदेशमन्त्रीबीच कुराकानी शुरु भयो । प्रकाश अगाडिको टेबलमा रेकर्डर राख्न जाँदा सुरक्षागार्डले भने, “नो ! नट अलाउड ।”

समस्या उही । बाहिर पनि अन्तर्वार्ता लिन पाएनन् । बन्द कोठाभित्रको कुराकानी पनि रेकर्ड गर्न पाएनन् ।

अधिराजकुमार ज्ञानेन्द्र भारत जाँदा पनि सुरक्षा नै अन्तर्वार्ताका बाधक भए । यद्यपि हिँड्दाहिँड्दै उनले दुई मिनेट अन्तर्वार्ता गरे । कोठामा पुगेपछि उसैगरी एडीसीले भने, “नो ! नट अलाउट इनसाइड ।”

० ० ०

४२ वर्ष पत्रकारिता गर्दा धम्कीको पनि अनुभभ सँगाल्नु पर्‍यो ?

प्रश्न सुन्नेबित्तिकै प्रकाशको मुखबाट हाँसो निस्कियो ।

पञ्चायतकाल थियो । भारत सरकारले नेपालमा नाकाबन्दी लगाएको थियो । कामविशेषले उनी नेपाली दूतावासमा पुगेका थिए । दूतावासका एक उच्च अधिकारीले भने, “तपाईंलाई थाहा छ प्रकाशजी, तपाईं के गर्दै हुनुहुन्छ ?”

प्रकाशः के गर्दै छु ?

दूताबासका अधिकारीः नेपाली भएर नेपालका बारेमा यसरी बोल्ने हो ?

प्रकाशः नेपालका बारेमा के बोलेको छु मैले ? म त नोकरी गर्न बसेको हो । भारत सरकारले जे दिन्छ, म पढ्दिन्छु । नेपाल मेरो जन्मभूमि हो । मेरा बुवा–आमा सबै नेपालमै हुनुहुन्छ । मैले केही बोल्ने कुरै आउँदैन । ठीक छ, तपाईंलाई मैले बोलेको चित्त बुझेको छैन भने मलाई दूतावासमा जागिर दिनुस् । म आजै अल इन्डियाको जागिर छोड्दिन्छु ।

दूताबासका अधिकारीः त्यस्तो त कहाँ हुन्छ र ? हाम्रो आफ्नै नियम छ कर्मचारी राख्ने ।

प्रकाशः त्यसो भए चुप लागेर बस्नुस् ।

विवाद भयो । ती अधिकारीले प्रकाशको काम गरिदिन मानेनन् । हुँदैन भने । ठीक त्यहीबेला ती अधिकारीभन्दा उपल्लो पदकी कर्मचारी महिला आएर भनिन्, “के भयो ?”

प्रकाशले आफूले कामका लागि ल्याएको कागजात देखाए । ती महिलाले भनिन्, “डकुमेन्ट ठीक छ त । उहाँको काम गरेर पठाइदिनुस् ।”

त्यसपछि ती अधिकारीले रातो मुख लगाएर उनको काम गरिदिए । पछि ती अधिकारी विभिन्न ठाउँमा भेट भए तर न उनले बोलाए, न प्रकाशले ।

० ० ०

पहिलोपटक ‘नेपाल टेलिभिजन’ शुरु हुन लागेको थियो । रुद्रप्रसाद गिरी सञ्चारमन्त्री थिए । उनले मन्त्रीलाई भेटे । रुद्रप्रसादले भने, “ओहो प्रकाशजी ! तपाईंजस्तो अनुभवी मान्छे चाहिएको छ । जानुस् नीर शाहलाई भेट्नुस् ।”

मन्त्रीले तोक लगाइदिए । प्रकाशले पनि निवेदन लेखेर ल्याएका थिए । नीर शाहले बोलाए र भने, “कार्यक्रम निर्माण, अनुवाद, वाचन सबैमा अनुभव भएको तपाईंजस्तो व्यक्ति हामीलाई चाहिएको छ । तपाईंजस्तो मान्छे भयो भने त म ढुक्क प्रकाशजी ।”

प्रकाशले ‘क्लास वन’ दरबन्दी मागेका थिए । नीर शाहलाई पत्यार लागेनछ, दोहो¥याएर सोधे, “प्रकाशजी ! तपाईंको दरबन्दी अल इन्डिया रेडियोमा क्लास वन नै हो ?”

प्रकाशः हो सर ।

नीरः दरबन्दी ल्याउन सक्नुहुन्छ ?

प्रकाशः सक्छु सर ।

प्रकाश त्यही दिन रक्सौलको गाडी चढे । रक्सौलबाट दिल्ली पुगे । प्रशासकीय अधिकृतसँग अनुरोध गरेर भोलिपल्टै प्रकाश काठमाडौंका लागि हिँडे ।

‘क्लास वन’को दरबन्दी देखेर नीर शाह छक्क परे । चिठी हेरर उनले भने, “ओहो प्रकाशजी ! त्यहाँको सचिवसरहको तलब छोडेर यहाँ आउँदै हुनुहुन्छ ? मैले यहाँ साथीभाइसँग कुरा गरेको थिएँ । उनीहरूले ‘तपाईं कसरी क्लास वनमा स्टाफ राख्नुहुन्छ ? तपाईं आफैं क्लास टु खानुपर्छ, आर यु रेडी ?’ भन्छन् ।”

प्रकाशलाई झनक्क रिस उठ्यो तर उनले ‘हुन्छ’ भने । फेरि नीरले भने, “तपाईं रिक्स लिँदै हुनुहुन्छ । किन लिनुहुन्छ यो रिक्स ? तपाईंले २ हजार रुपैयाँ तलब पाउनुहुन्छ । कसरी म्यानेज गर्नुहुन्छ ?”

त्यतिबेला ‘अल इन्डिया रेडियो’मा प्रकाशको तलब साढे ७ हजार थियो ।

नीरको बोलीमा शाही खानदानको झल्को आउँथ्यो । त्यसैगरी प्रकाशले पनि भने, “सर ! मलाई देश र नरेशको सेवा गर्न मन लागेको छ, त्यही भएर ।”

नीर मुसुक्क मुस्काए र भने, “ल, भोलि एउटा निवेदन लेखेर आउनुहोला ।”

प्रकाश तल झरे । उनलाई पर्खिरहेका भाइले भने, “दाइ, यो नेपाल हो । यहाँ रात रहे अग्राख पलाउँछ । अहिले नै निवेदन लेखेर दिइहाल्नुस् ।”

निवेदन लिएर नीरको कार्यकक्षमा पुगे प्रकाश । नीर तीन छक परे । सोधे, “किन यति हतार प्रकाशजी ? भोलि ल्याएको भए त भइहाल्थ्यो ।”

प्रकाशले दोस्रो दर्जाका लागि निवेदन लेखेर दिएका थिए । उता, ‘अल इन्डिया रेडियो’को सम्झौता सकिन एक सातामात्रै बाँकी थियो ।

“भोलि आउनुस्, म तपाईंलाई नियुक्ति दिन्छु,” नीरले भने ।

भोलि बिहान नियुक्तिपत्र लिन प्रकाश नीरको कार्यालय पुगे ।

“नमस्ते सर !”

“अरे प्रकाशजी ! मलाई नमस्ते नगर्नुस् । तपाईं मभन्दा सिनियर मान्छे,” नीरले भने, “हेर्नुस्, आज म मन्त्रीज्यूलाई भेट्न गएको थिएँ, मन्त्रीज्यू हुनुहुन्नथ्यो । यसो गर्नुस्, तपाईं भोलि हैन, पर्सि आउनुस् ।”

यता, भाका सरेको सर्‍यै उता समय छोटिएको छोटियै । मन वेचैन हुन्थ्यो । के गर्ने, के नगर्ने ? तनावमा थिए । भाका सारेको देखर वाक्क भएका प्रकाशलाई लाग्यो— माया मारौं भने तै भैहाल्ला कि भन्ने आश । भयो भने पालमा बस्न पाइन्छ । आश गरेर यता बसौं भने उता पनि कन्ट्र्याक्ट सकिएर यता न उताको भइने डर !

पर्सिपल्ट बिहान फोन गरेर प्रकाशले नीरलाई भने, “सर, म हुजरलाई एकछिन आज घरमै भेट्न चाहन्छु ।”

“हुन्छ, आउनुस्,” नीरले भने ।

प्रकाश नीरको घर पुगे । उनले सोधे, “भन्नुस्, किन आउनुभयो ?”

प्रकाशले भने, “रेडियोमा कन्ट्र्याक्ट सकिन पाँच दिनमात्रै बाँकी छ । यहाँबाट चिठी नपाइएला, उता ढिलो भयो भन्ला । म भोलि घरको न घाटको हुन्छु । मैले बच्चा कसरी पाल्ने ? हुन्छ भने हुन्छ भन्दिनुस् । हुँदैन भने मलाई आज्ञा दिनुस् ।” 

“हुन्छ, तपाईं १० बजे अफिस आउनुस्,” नीरले भने ।

१० बजे नीरको अफिस पुगे प्रकाश । त्यहाँ पनि नाटक भयो । 

ड्रयर खोलेर एउटा चिठी दिँदै नीरले भने, “ल यो हेर्नुस् ।”

प्रकाशले भने, “सर, यो मेरो नियुक्तिपत्र हो भने म हेर्छु, हैन भने म हजुरको चिठी हेर्दिनँ ।”

“हेर्नुस्, मन्त्रालयबाट चिठी आयो । यो वर्ष टेलिभिजन चालू नगर्ने अरे ! मन्त्रालयबाट जति पनि स्टाफ काजमा गएका छन्, फर्काइदिनू भन्ने पत्र आएको छ । मैले सबैलाई आज ४ बजेसम्म मन्त्रालय फर्काइदिनुपर्छ,” नीरले भने ।

“धन्यवाद सर !”

प्रकाश दिल्ली फर्किए र ‘अल इन्डिया रेडियो’को कामलाई सन् २००४ सम्म निरन्तरता दिए । करिब साढे चार दशक लामो दिल्ली बसाई पछि उनी नेपाल फर्किए । अहिले प्रकाश काठमाडौंमा पुस्तक लेखेर रिटायर्ड जीवन विताइरहेका छन् । 

तस्बिरः सरिता खड्का

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  ०८:०५
प्रतिक्रिया दिनुहोस्