
काठमाडौं । पहिलो पटक शुरु भएको मौलिक सांगीतिक रियालिटी ‘शो’ ‘नेपाल लोक स्टार’मा उत्कृष्ट २० जना प्रतिस्पर्धी बाँकी रहेका छन् । बिहीबार भएको प्रतिस्पर्धाका आधारमा डेन्जर जोनमा परेका १० जना मध्ये एकजना प्रतिस्पर्धीलाई निर्णायकले शुक्रकबारको प्रस्तुती हेरेर अघिल्लो चरणमा प्रवेश दिएका छन् ।
शुक्रबार गाउने १० जना मध्ये सबैभन्दा राम्रो गाउने विनोद दनुवार सुरक्षित भएका छन् । उनी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
यस्तै डेन्जर जोनमा परेका १० जना मध्ये बिहीबार प्रस्तुती दिएका मध्ये सबैभन्दा धेरै भोट मुना अर्यालले पाएकी छन् । यद्यपि उनले कति भोट पाइन् त्यो भने आयोजकले जानकारी दिएको छैन ।
उत्कृष्ट २० मा पुगेपछि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकमा निर्णयको अधिकार रहेको । ८० प्रतिशतमा ४० प्रतिशत मोबाइल एसएमएस र बाँकी ४० प्रतिशत अनलाइन भोटिङबाट निर्णय लिइने छ । ग्रान्ड फिनालेसम्म निर्णायकको फम्र्याट यही रहनेछ । उत्कृष्ट पाँच ग्रान्ड फिनालेमा पुग्नेछन् ।
कार्यक्रमको ३६ औं श्रृंखला ग्रान्ड फिनाले हुनेछ ।
विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । एपीवान एचडीबाट ‘नेपाल लोक स्टार’ प्रशारण भइरहेको छ ।