
— उज्जवलराज घिमिरे
म उँचो बढ्दै जाँदै छु
मलाई कदमा घट्न मन लाग्दै छ
म रहस्य बुझ्दै जाँदै छु
मलाई सत्य ढाँट्न मन लाग्दै छ ।
मान्छेहरू मनमा आगो बाल्छन्
उनीहरूलाई थाहा छैन—
जलन कति कठोर हुन्छ ।
उनीहरू व्यर्थै ईष्र्या पाल्छन्
म मान्छे बुझ्दै जाँदै छु
मलाई एक्लो जीवन हाँक्न मन लाग्दै छ ।
ऊ भगवानको गुण गाउँछ— एकोहोरो
आज उसलाई बिपत्ति परेछ
भोलि उसले त्यही ईश्वरलाई सराप्यो— एकोहोरो
यो भगवान् अजबको बनायो मान्छेले ।
म ईश्वर पुज्दै जाँदै छु ।
मलाई विधि छाँट्न मन लाग्दै छ ।
पहिले म एक थोपो थिएँ, शीतसरि
अहिले म समुद्र भएँ ।
छालहरू केवल सतहमा लहराउँछन्
मोतीहरू सब अन्तरमा हराउँछन्
तिमी कलिलै छ्यौ अहिले, जूनकीरीजस्ती
हडबड किन गछ्र्यौ ? पर्खी हेर
चन्द्र बनुन्जेल तिम्लाई दाग नि सुहाउँछन् ।
म दृश्यहरू बुझ्दै जाँदै छु
मलाई दृष्टि बाँड्न मन लाग्दै छ ।
पत्थरमाथि हिउँको ढाँचा
बन्छ विशाल त्यो मनोहर हिमाल
कंकाल बाहिर मासुको बुख्याँचा
मान्छे केवल दम्भको पहाड
धर्ती यही छ, एकै स्तरको
खस्छ केवल मनमा
शान्त कसरी सुत्न सकेको
यो पर्खालहरूको वनमा ?
म गहिराइ बुझ्दै जाँदै छु
मलाई शिखर आँट्न मन लाग्दै छ ।
म असल हुँ ?
या एक छल हुँ ?
यही धराझैं म पनि जलथल छु
कतै म एक ग्रह त होइन ?
मती हराएको एक लघु ग्रह !
स्थिर पनि त म कहिल्यै छैन ।
छन् मभित्र पनि कति सागर
छन् मभित्र पनि कति पहाड
बस्छन् भित्र कति जीवनतन्तु
जस्तो भूतलका यी सब जीवजन्तु ।
म आफैंलाई बुझ्दै जाँदै छु
मलाई आफैंभित्र फाट्न मन लाग्दै छ ।
सिक्दा सिक्दै एकदिन भो
मैले थाहा पाएँ कि मलाई थाहा छैन
तब मलाई बडो अलमल भो
मलाई के थाहा छैन ? मलाई त्यही थाहा छैन ।
कोही आखिरमा भेटे नि हुन्थ्यो
जो बिनाशब्द बात सुन्थ्यो ।
शायद तब उज्जवल कवि नभई
केवल एक मान्छे हुन्थ्यो ।
हाय ! कस्तो गजब त्यो बात हुन्थ्यो ।
म जीवन बुझ्दै जाँदै छु
मलाई ग्रन्थका कुरा काट्न मन लाग्दै छ ।
म रहस्य बुझ्दै जाँदै छु
मलाई सत्य ढाँट्न मन लाग्दै छ ।