site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चियावाला निर्देशक

काउन्टरको पिलरमा लेखिएको छ– सेल्फ सर्भिस, पे फर्स्ट । नो वाइफाइ । टक टु इच अदर । त्यही पिलरको तल्लो भागमा लेखिएको छ– केही मिठो बात गर, वाइफाइ त घरमै होला ।  

तीनकुने भीएस निकेतन छेउमा बागमती करिडोरमा रहेको ‘चियावाला’को चिया पसलको दृष्य हो यो । जोडी चियादानी (किट्ली) झुण्डाइएको छ । जोडी किट्ली ‘चियावाला’का बुवा र आमाको प्रतीक हो रे ! मासु काट्ने ठूलो अचानोमा बुद्धको मूर्ति छ । हिंसालाई शान्तिका प्रतीक बुद्धको मूर्तिले किचेको रे ! सानो जुत्ता झुण्डाइएको छ, त्यो चाहिँ चियावालाको भान्जाको जुत्ता रे ! मायाको प्रतीक । ‘चियावाला’को चिया पसल प्रवेश गर्दा बायाँ छेउमा एउटा पेन्टिङ छ । कपमा चिया बनाउँदै गरेकी बूढी आमा र थर्मस बोकेकी सानी नानी । सानी नानी तिनै बुढी आमाकी नातिनी रे ! जो अझै पनि काठमाडौंको बसन्तपुरमा चिया बेच्छिन् ।

हरेक दिन आफूलाई उर्जा प्रदान गरुन् भनेर ‘चियावाला’ले यो पेन्टिङ बनाउन लगाएका ! पुराना कम्प्युटरलाई उत्तानो पारेर राखेका छन् । श्रव्य दृश्यसँगको उनको सम्बन्ध र मायाको प्रतीक ठानेका उनले छोरीले सानो छँदा चढेका साइकलको सिटमा काठको तख्ता राखेर त्यसैलाई टेबल बनाएका छन् । तीनै छोरी अहिले त्यही पसलमा माइकबाट ग्राहकलाई खबर गर्छिन्, ‘घनश्याम चिया यति नम्बर, जिन्जर ब्ल्याक टि यति नम्बर ।’ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले चिया पसल कन्टेनरमा थापेका छन् । त्यो कन्टेनर पनि काम नलाग्ने भनेर फालिएको नै हो । “यहाँ प्रयोगमा रहेका अधिकांश भौतिक सामग्री प्रयोगमा आउँदैन भनेर फालिएका थिए । मैले फालिएका वस्तुलाई प्रयोगमा ल्याएको हुँ,” गणेशदेव भन्छन्, “तपाईंले देखिरहनु भएका यी टेवल पनि फालिएका काठ जोडजाड बनेर बनाएको हुँ ।”

जिन्दगी क्यान्डल जस्तै उज्यालो होस् भनेर हरेक साँझ उनी चिया पसलमा क्यान्डल बाल्छन्, । उनलाई जे गर्दा आनन्द हुन्छ, उनी त्यही गर्छन् । 

‘चियावाला’ हुन्, कथानक चलचित्र ‘मालतीको भट्टी’, ‘मञ्जरी’, ‘गाजा बाजा’ चलचित्र निर्देशन गरेका गणेशदेव पाण्डे । 

नामको विषयलाई लिएर ‘गाजा बाजा’मा लामो ‘लफडा’ भएपछि वाक्क भएका गणेशदेव ‘चियावाला’ बनेका हुन् । हुन त ‘गाजा बाजा’ले उनलाई ‘चियावाला’ बनाएको हैन । ‘चियावाला’ बन्ने रहर उनलाई पहिले नै थियो । तर, सुशुप्त ।  

बुटवलको अमरपथमा उनको घर थियो । बुवा घनश्याम पाण्डे चिया पसल गर्थे । गणेशदेव त्यही चियापसलमा जन्मिए । त्यही चियापसलमा हुर्किए उनी । ४० वर्ष घनश्यामले त्यो चिया पसल चलाए । 

शुरुमा गणेशदेवलाई लाग्थ्यो, म पनि सम्पन्न परिवारमा जन्मिएको भए, कस्तो हुन्थ्यो ? तर, विस्तारै उनी बुझ्ने हुँदै गए । चिया पसल पनि व्यवस्थित र ठूलो हुँदै गयो । चिया पसल मिठाई पसमा विस्तारित हुँदै गयो । त्यसपछि भने गणेशदेवलाई सम्पन्न परिवारको छोरो भइदिएको भन्ने विचार हट्दै गयो । 

बुवाआमा भन्थे, “हाम्रो जिन्दगी त चिया बेचेर जाने भयो । तँ चाहिँ ठूलो मान्छे हुनुपर्छ है ।” 

घरमै चिया पसल भएर हो या अथवा अरु कुनै कारण थाहा छैन, चियाका अम्मली भए गणेशदेव । उनी बच्चा छँदा रोए भने चिया दिए पुग्थ्यो । चियाको त्यो अम्मल अहिले पनि घटेको छैन उनमा । उनी भन्छन्, “अहिले पनि मध्यरातको निद्रामा मलाई ब्युँझाएर कसैले चिया खान्छस् उठ् भन्यो भने म खान्छु भनेर उठ्छु ।”

बुवाआमाले तँ पनि हामी जस्तै नहुनू भनेका थिए । ठूलो मान्छे बन्नू भनेका कारण पनि गणेशदेवलाई अरु नै नयाँ काम गर्ने दबाब थियो । चियाको स्वादका पारखी उनी काम विशेषले भारत पुग्दा त्यहाँ विभिन्न सहरमा कहाँ कस्तो चिया पाइन्छ भन्दै पिउँदै हिँड्थे । एउटा कामका लागि हिँडेका उनी चिया खोज्दै हिँड्थे । 

चियावाल, टि–पोइन्ट लगायत भारतमा चियाको क्षेत्रमा धेरै काम भइसकेको देख्दा गणेशदेवलाई त्यसले लोभ्यायो । त्यहाँ पुगेपछि उनलाई थाहा भयो चिया बनाउनु र बेच्नु हामीले सोचेजस्तो सामान्य काम होइन । चाहेर होस् या नचाहेर मानव जिन्दगीको अभिन्न अङ्ग बनिसकेको चिया बेच्नु कसरी सामान्य पसल हुनसक्छ ? उनलाई उत्साहित बनायो । म पनि यस्तै काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । अनजानमा कल्पिएको धनी बाउको छोरो हुन पाए भन्ने कुरा मनबाट हरायो । बुवाआमाले गरेको काम त सम्मानित पो रहेछ भन्ने लाग्यो । 

चलचित्रसम्म आउनुको कारण पनि चियापसललाई ठान्छन् उनी । चिया पसलले उनलाई बोल्न सिकायो । आत्मविश्वास भरिदियो । “त्यही आत्मविश्वासका कारण म आज चलचित्र मेकरसम्म भएँ कि भन्ने लाग्छ,” गणेशदेव सम्झिन्छन्, “त्यो बेला रवि गिरी हाम्रो चिया पसलमा पुग्नुभएको थियो । मैले उहाँलाई म चलचित्रमा आउन के गर्नुपर्छ भनेर सोधेको थिएँ  । मैैले त्यहाँ आउने असंख्य व्यक्तिका धेरै कुरा सुनेको छु । धेरै कुरा बुझ्ने मौका पाएको छु ।”

गणेशदेवसँग आइतबार बिहान गफिँदै गर्दा चलचित्र ‘साँघुरो’का निर्देशक जोयश पाण्डे आइपुगे । जोयश आएको एकछिनपछि चलचित्र ‘हरि’का निर्देशक सफल केसी पनि आए । एकपछि अर्को चलचित्रकर्मीहरु आउने क्रम चलिरहह्यो । रङ्गकर्मी राजन खतिवडा पनि त्यहीँ थिए । 

‘चियावाला’ चलचित्रकर्मीहरुको अखडा नै हो ? 

“चलचित्रकर्मीहरु मात्रै आउनुहुन्छ भनेर खोलेको चाहिँ होइन । तर, धेरै चलचित्रकर्मीहरु आउनुहुन्छ । खुसी लाग्छ । सुनील पोखरेलसम्म आउनु भयो । विपीन कार्की दिनहुँ जस्तै आउनुहुन्छ,” खुसी लाग्छ । 

गणेशदेवको पसलमा वाइफाइ छैन । त्यसैले मोबाइलमा कोही घोरिँदैन । आउनेहरु आपसमा गफ गर्छन् । “चलचित्रकर्मीहरु भेला हुनुभयो भने त चलचित्रकै विषयमा छलफल गर्नुहुन्छ । यसले केही न केही पक्कै फाइदा नै गर्छ,” उनको निचोड छ । 

‘गाजा बाजा’ प्रदर्शन गर्नका लागि जुन हैरानी उनले भोग्नुपर्यो, त्यसले उनलाई मानसिक तनाव दियो । चलचित्रमा कथा भन्नु भनेको समाजलाई चित्रित गर्नु हो । तर, समाजको चित्रण गर्दा उनले भोग्नुपरेको पीडाले उनलाई सचेत गरायो–समाजको कथा यही समाजका व्यक्तिले भन्न दिँदैनन् भने कसरी बनाउनु अर्को चलचित्र ? 

पूर्णस्वतन्त्र भएर इमान्दारपूर्वक कथा भन्न पाइँदैन भने कसरी चलचित्र बनाउने ? सम्झौता गरेर बनाइएको चलचित्रले न सन्तुष्टि दिन्छ न समाजको कथा हुबहु भन्न सकिन्छ । त्यसैले उनले निर्देशनको विकल्प खोजिरहेका थिए । त्यहीबेला उनले सोचे– म बुवाले गरेको काम किन नगरुँ ? 

“नाम र दामका लागि हैन म काम गर्छु भन्ने सोचेँ । चलचित्र छोड्छु नै भन्ने त हैन तर तत्कालचाहिँ गर्दिन भन्ने निर्णय गरेँ,” गणेशदेव एक वर्ष अगाडि फर्किन्छन्, “घरमा मैले बुवालाई भनेँ– अब म चिया पसल खोल्छु ।” 
बुबाले सोधे, साँच्चै तँ फिल्म गर्दैनस्, अब ?

“फिल्म सधैँका लागि छोड्छु छोड्दिन त्यो अहिले म भन्न सक्तिन । तर, अहिलेलाई चिया पसल खोलेपछि तत्काल चलचित्रमा फर्किन्न । एकाग्र भएर लाग्छु र चिया पसललाई सफल बनाएरै छोड्छु,” उनले अठोट गरे । 

आमाले भनिन्, “ठिकै छ, आँटिहालिछस् । तलाईँ म सकेको सहयोग गर्छु । 

सरसापट लिएर चियापसल सुरु गर्ने तयारी थाल्दै थिए । त्यहीबेला उनका बुवा बिरामी परे । भारत लगेर अप्रेसन गर्नुपर्ने भयो । ठूलो रकम खर्चिनु पर्यो । फेरि उही समस्या, चिया पसलका लागि आर्थिक अभाव ।

तर, चिया पसल खोल्छु भनेर तयारी थालिसकेका थिए । मनमा जोश र शरीरमा जाँगर आइसकेको थियो । साथीभाइसँग भने । सरसापट चल्यो । सात महिना अगाडि ‘चियावाला’ नामक चिया पसल खुल्यो ।  

सानो लगानीबाट सुरु गरे । पसलबाट आएको पैसाले थप विस्तार गर्दै गए । अहिलेम्म करिब ३० लाख लगानी भइसक्यो ‘चियावाला’मा । कन्टेनरको माथि पनि बस्ने व्यवस्था मिलाएका छन् । भन्छन्, “अझै यसलाई विस्तार गर्दै जानुछ । सुरु गरेँ अब यसलाई विस्तार गर्दै जानुछ ।”

भारतका विभिन्न सहरमा गएर टि–स्टेशन पसल हेरेका गणेशले नाम राखे ‘चियावाला’ । 

नेपाली नाम । किन ? 

चिया पसल खोल्छु भन्दा उनलाई बुवाआमाले सोधे नाम के राख्छस् ? उनले भने, ‘चियावाला’ । “सायद उहाँहरुले सोच्नुभएको थियो होला केही अंग्रेजी नाम राख्छ होला त्यसको पछाडि क्याफे भन्छ होला । तर मैले चियावाला राखेँ । किनकी मलाई ‘चियावाला’को छोरो भएकोमा घमण्ड छ । त्यसैले म पनि ‘चियावाला’ बन्नुमा घमण्ड गर्छु । मलाई चियावाला हुनुमा र भन्नुमा लाज छैन । बरु गर्व छ । म लाउड्ली, प्राउड्ली भन्छु म चियावाला हुँ ।”

उनको चिया पसलमा थरिथरिका चिया पाइन्छ । मेनुमा ४५ प्रकारका चिया छन् । मेनुका चियामा फ्यिुजन गरेर एक सयभन्दा धेरै चिया बनाउँछन् । गफिरहँदा उनी मोरिङ्गा चिया पिउँदै थिए । ग्रिन टिमा मिलाएर मोरिङ्गा बनाएका हुुन् उनले । पल ग्रिन, जिन्जर चिया, मेरो खुसी चिया, घनश्याम चिया यस्ता धेरै चिया पाइन्छ उनकोमा ।

मेरो खुसी चिया ग्राहकले जे भन्छन्, त्यही हालेर बनाउने चिया हो । घनश्याम चिया उनले आफ्नो बुवाको नाममा राखे । यो सबैभन्दा सस्तो चिया हो । ४० रुपैयाँ । ब्लुमिङ टि उनकोमा भएका चियामध्ये सबैभन्दा महँगो चिया हो्, आठ सय रुपैयाँको । “ब्लुमिङ टिले ब्लड प्युरिफाइ गर्छ । तपाईँले खाइरहेको यो मोरिङ्गाले लिबर डिजिज, ब्लड प्रेसर र सुगरका विरामीलाई फाइदा गर्छ,” गणेशदेवको दाबी छ, “यी सबै चिया बनाउने काम मेरो हो । भारतमा जाँदा कति देखेको थिएँ, कतिपय गुगल र युट्युबबाट जानकारी लिएँ । इच्छाशक्ति भयो भने जे पनि गर्न सकिने रहेछ ।”

चिया बनाउने मुख्य जिम्मेवारी उनको हो । गणेशदेव भएनन् भने मात्रै अरुले चिया बनाउँछन् । उनीसहित पाँच जना हरदिन चियापसलमा खटिन्छन् । छोरी र छोरा पनि फुर्सदमा सहोग गर्छन् । 

बिलबिना चिया बेच्दैनन् उनी । आफूले खाएकोबाहेक प्रत्येक कप चियाको बिल बन्छ उनको चियापसलमा । दैनिक चार सयसम्म उनले बिल काटेका छन् । चार सय बिल काट्दा दैनिक ५ हजार नाफा कमाउँछन् ।
गणेशदेवले भारतमा गएर टेलिभिजनमा काम गरे । सोनी, स्टार प्लस, जीटीभी प्रोडक्सनमा उनले काम गरे । बुवाआमा टीभीको स्क्रिनमा छोराको नाम देखेर दङ्ग पर्थे । तिनाउ एफएम र बुटवल एफएममा पनि काम गरे । बुवाआमा उनको स्वर सुनेर मख्ख पर्थे । काठमाडौं आएर चलचित्र निर्देशन गरे । निर्देशकका रुपमा फोटोसहितको अन्तर्वार्ता आउँथ्यो । छोराको ‘प्रगति’ देखेर आमाबुवा मख्ख पर्थे । तर, उनीहरुको एउटै गुनासो थियो– गणेशदेवले कहीँ पनि दिगो भएर काम गरेन । 

तर, गणेशदेवले चियापसल खोल्दा भनेका थिए– यो काम सफल नबनाई म अरु काममा लाग्दिन । सन् १९५६ मा चिया पसल सुरु गरेका उनका बुवाले तीनकुने छेउमा छोराले खोलेको चिया पसल हेर्दा मुहारमा अनौठो चमक देखे । “त्यो बेला उहाँको अनुहारमा मैले चिया पसल सफल बनाउँछु भन्ने अपेक्षासहितको खुसी पढेको थिएँ,” उनी भन्छन् । 

चियावाला बने गणेशदेव । तर, चलचित्रको मोह उनबाट हराएको छैन । चियापसलको उत्तरपूर्वको भित्तामा उनले चार जना भेट्रान निर्देशक मार्टिन स्कोरसेसे, क्वेन्टिन ट्यारेन्टिनो, वोङकर वाई र अनुराग कश्यपकोे फोटो पेन्ट गराएका छन् । चलचित्रप्रतिको श्रद्दा र आकर्षण घटेको छैन । त्यसैले उनी तस्बिर खिच्न त्यतैतिर लम्किए । र, पृष्ठभूमिमा विश्व चलचित्रका चार महान हस्तिलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाए ।

उनको पसलमा थरिथरिका व्यक्ति आउँछन् । गणेशदेव आफ्नो पसलमा आउने हरेक व्यक्तिमा चलचित्रको पात्र देख्छन् । फरक चरित्रले उनलाई लोभ्याउँछ ।

तस्बिरहरूः सरिता खड्का

प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  ०९:५९
प्रतिक्रिया दिनुहोस्